कथा: रापताप
नारायण तिवारी
उसले ओठ हँसिलो पारेकोजस्तो लाग्यो । म जाँदै थिएँ, ऊ आउँदै थियो । आमनेसामने हुँदा खुलेका थिए उसका ओठ, हँसिलो भएर । आँखा जुधेका थिए । यद्यपि बोली फुटेको थिएन । बोलुँला–बोलुँलाजस्ता भने भएका देखिन्थे उसका ओठ । मैले पनि ऊ नगजक्क त म किन गजक्क ? भन्ने सोचेर ‘हँसिलो’ ओठको प्रत्युत्तर हँसिलो भएर फर्काइदिएको थिएँ ।
ऊ ओझेल भइसकेको थियो । तर, उसको चित्र मेरो मानसमा चलमलाइरह्यो ।
पहिला–पहिला यस्तो हँसिलो हुँदैनथे उसका ओठ, न अनुहार । एउटै टोलका बासिन्दा भएकोले धेरै पटक देखादेख हुन्थ्यो । तर, हर्दम ऊ गजक्क !
यस्तो होइन कि उसको अनुहार कहिल्यै खुलेको देखिएन, देखिन्थ्यो उसका वरिपरि उसलाई ‘नमन’ गर्नेहरूको भीड जम्मा गरेर ऊ खुल्दथ्यो हँसिलो अनुहारका साथ । चियापसलमा उनीहरू गफ चुटिरहेका देखिन्थे । टोलमा एउटा स–सानो पुस्तकालय पनि थियो । त्यहाँ चुप लागेर पत्रपत्रिका पढे हुने तर अहँ, यो महाशय त्यहाँ जोडजोडले डिङ हाँकिरहेको देखिन्थ्यो ।
पुस्तकालयमा यदाकदा जान मन लाग्दथ्यो तर त्यो मान्छे त्यहाँ देखेँ भने, म पुस्तकालयमा नपसेर खुरुखुरु अघि चल्दथेँ । र, पर पुगेर पुनः फर्किन्थेँ । र, घरतिर लाग्थेँ ।
यो मान्छे कुनै सामन्ती खलकको धनीमानी पनि होइन । न डाक्टर हो, न इञ्जिनियर...! ‘डाक्टर, इञ्जिनियर ठूला मानिस हुन् र यिनले गजक्क पर्नु पर्छ’ भन्ने मतलव पनि मेरो होइन । जति काबिल, जति विद्वान् त्यति मानिस नम्र हुनुपर्छ वा हुने गर्छन् भन्ने म ठान्ने मानिस । तर, यो हरिबहादुर बस्नेत खरिदार हो, बस् खरिदार ! उहिलेका जमानामा आफ्नो नाउँको अगाडि ख. वा खरिदार लेख्न रुचाउने खाले ओजस्वी, शक्तिशाली खरिदार पनि होइन । केवल एसएलसी उत्तीर्ण क्षमतामा जागिर खान मिल्ने लोकसेवा आयोगले निर्धारण गरेको पद खरिदार । प्रशासनिक अर्थमा राजपत्र अङ्कित होइन, अनङ्कित द्वितीय श्रेणीको खरिदार । तर, के प¥यो भन्नुहोला भने यो हरिबहादुर भन्सार कार्यालयमा जागिर भएको खरिदार रहेछ । अनि यसको मुखमा देखिएको ‘गजक्क’ को रापताप भनेको पैसाको रापताप रहेछ । सोझै भनौँ न, घुसको रापतापले यसको मुखमण्डल गजक्क हुने गर्दो रहेछ । अनैतिक आर्जन गरेर सम्पत्ति थुपार्दा लोकले के भन्लान् भनेर लाज मान्नुपर्नेमा ‘मसित पैसा छ र जोसित पैसा छ त्यही ठूलो हो’ भन्ने हावभावमा यो हरिबहादुर गजक्क पर्दो रहेछ...।
उसका तलुवा चाट्ने केही टोलका ‘हिँ हिँ’ टाइपका मानिस हर्दम उसका वरिपरि टोलमा हिँ हिँ गरिरहेका देखिन्थे । यस्तो हरिबहादुर आज मसित किन मुस्कुराउन खोज्दैछ ? पैसा नहुने, अलिक निम्न आर्थिक अवस्थामा जीवन निर्वाह गरिरहेको मजस्तो मानिससित किन हरिबहादुर मुस्कुराउन खोज्दैछ...? फेरि, हिँ हिँ, चाकरी केही नगर्ने, स्थिति कमजोर भए पनि आफ्नो शिर बलियो गरी ठाडो पारेर हिँड्ने मसित हरिबहादुरको यो मुस्कानको के अर्थ ? बाटाभरि मेरो मनमस्तिष्कमा यिनै कुरा खेलिरहे...।
ऊ गजक्क पर्ने मानिस । म उसका छेउमा पर्दा मैले चाहिँ मुस्कुराउनुपर्छ र ? अहँ, पर्दैन । म सोच्दथेँ । र, गजक्कको बदला गजक्क ! तर, आज ? अर्थात् हिजोआज यो किन फेरिएको ? यसका ओठ पहिलेझैँ किन नसाँगुरिएका ? बजार गएँ, घुमेँ । फर्किएँ । कुरा भने यी हरिबहादुरकै खेलिरहे...।
राति श्रीमती कमलालाई भने– “होइन हौ, त्यो हरिबहादुर बस्नेतलाई के भएछ ?”
उनले कुरा बुझिनन् । मैले पनि बुझ्ने गरी भनेको भा’ पो बुझ्नेथिन् त । उनी हड्बडाएझैँ पो गरिन्– “किन ? के भयो र उनलाई...?”“नआत्तिउ न, मैले हरिबहादुर म¥यो भन्या छु र ?” यसो भनेर जुरूक्क उठेकी कमलालाई शान्त पार्न खोजेँ । र, फेरि भनेँ– “बहुलाएको हो हरिबहादुर...?”
उनी फेरि जुरूक्क । “आः नउठन भन्या...!” मैले फेरि ‘जुरूक्क’ लाई थिचथाच पारेँ । उनका आँखा विस्फारित थिए, मलाई घुर्दै । अहिले भने मलाई आँखा तरिन् उनले र भनिन्– “के नचाहिँदो कुरा गर्नु भा ? उसलाई आज पनि मैले सद्दे नै हिँडिरहेको देखेथेँ त...!”
फेरि थपिन्– “सधैँ हिँडिरहेको देख्छु । आखिर यसै टोलमा बस्छन् । सधैँ देखिन्छन् । केही त त्यस्तो देखिँदैन ।” अर्थात् उनी भन्न खोजिरहेकी थिइन्– सद्दे त देखिन्छन्, पागल देखिँदैनन्...। “पहिला कस्तो गजक्क पथ्र्यो होइन त्यो...?” मैले भनेँ । “अनि...?” उनले सोध्न खोजिन्– “त्यसो भए अनि के त...?”“सधैँ देख्छु, सद्दे छन् भन्छ्याँै । के ती देख्दा गजक्क नै देखिन्छन् त, कि हँसिला...?”
कमला अलमल्ल परिन् । मैले फेरि थपेँ– “तिमीलाई देखेर बोल्न खोजुँला–खोजुँलाजस्तो गरेनन् ? ओठ हँसिलो पारेर च्यातेनन् ?”
उनी झसङ्ग भएझैँ गरिन् । तर्सिएझैँ गरिन् । र, बुर्लुक्क उफ्रिएझैँ गर्दै जवाफ फर्काइन्– “ए, हो त नि...पहिलाका जस्ता छैनन् । ठीक भन्नू भो ! हिजै पनि बोलँुला–बोलुँलाजस्तो गर्दैथे । आज पनि...!” उनी रोकिइन् ।
मैले सोधेँ– “के आज पनि...?”
“आज पनि उनलाई बिहान दूध लिन जाँदा देखेको थिएँ । बोल्न–बोल्न खोजेजस्तो लाग्यो । अहिले पो झस्किएँ । मैले त होइन होला, मलाई त्यस्तो लाग्या होला । यी ठालु मान्छे हामीसित के बोल्लान् भन्ठानेर उनीतिर विचारै नगरी हिँडे नि म...।”“त्यही त भन्या लाटी, पागल भयो कि क्या हो त्यो मान्छे ! मसित पनि हँसिलो अनुहार पार्छ । बोलुँला–बोलुँलाजस्तै गर्छ...।”यतिकुरा हामी दम्पत्तिबीच चले ।
“आ.. धेरै कुरा नगरौँ । अब सुतौँ । त्यसको मति फि¥यो होला । बहुलाउन त के बहुलाउँथ्यो”, भन्दै कमलाले कोल्टे फेरिन् । मैले पनि सोचेँ– आ.. यो संसारमा कस्ता–कस्ता, अनेक खालखालका मान्छे छन्, के टाउको दुखाउनु– सुतौँ...! भोलिपल्ट पनि हरिबहादुरको अनुहारले पिछा छोडेन । ऊ चिया पसलमा थियो । उसका सेनामेनाहरू थिएनन् । उसले मलाई देख्यो । उसको अनुहार हँसिलो देखियो । म चियापसलका लागि निस्किएको थिइनँ, मेरो गन्तव्य अन्तै थियो । त्यसैले उसको मुस्कानको बदलामा अलिकति मुस्कान मैले पनि आफ्नो ओठमा उमारेँ । र, फटाफट अघि चलेँ । ऊ त्यही बेला उठ्यो । उठ्दै थियो । सायद मसित केही बोल्न खोज्दै हो कि...? तर, ‘हो कि’ मात्रै लागेको हो कि...? म अघि चलिरहेँ ।
उबेला सुरु सुरुमा म मुस्कान उमार्थें– ओठमा । ऊ खुल्दैनथ्यो । गजक्क पर्दथ्यो । तर, अहिले ? के हो यो परिवर्तन...?फेरि राति ।
आज राति श्रीमती कमला आफैँले कुरा उप्काइन्– “कहाँ पागल हुनु नि हरिबहादुर...मसित त बोल्यो नि आज...!”म छक्क परेँ । अकमक्क परेँ । बोली बन्द भयो केही छिन्लाई मेरो । फेरि उनैले भनिन्– “भाउजू, सञ्चै हुनुहुन्छ ? भनेर मसित बोले उनी...!”
“ओहो, छक्कै परेँ हौ म त...। पहिला तिमीले गार्मेन्टमा लुगा सिउने काम गर्दा होच्याएर बोल्ने यही पाजी होइन ? काम सानो ठूलो हुन्छ ? अहिले मति फर्किएकै हो त पाजीको ?” रिसले आँखा नदेखेर म बोल्दै थिएँ ।
हो, हामी साना मान्छे ! आर्थिक स्थिति कमजोर भएका । तर, काम सानो ठूलो हुन्छ ? म प्राइमरी स्कुलको मास्टर ! मेरो एक जनाको कमाइले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन गाह्रो भए पछि यस सहरमा खुलेको गार्मेन्टमा मेरी श्रीमतीले काम गरेर परिवारको आर्थिक स्थिति सबल बनाउने प्रयत्न गर्दा अरूले हेप्नु पर्छ ? यो त्यही हरिबहादुर हो, जसले मेरी श्रीमती कमलाले सुन्ने गरी भन्यो अरे– “क्या हो हाम्रो टोलमा त कस्ता कस्ता मान्छे पो बस्दा रै’छन् । लुगा सिउने काम गर्दा रै’छन् ।” लुगा सिलाउने मान्छे होइन ? जातपात उँचनीच, छुवाछूत कसले चलायो, यही हरिबहादुरजस्तै सोच भएकाहरू, आफूलाई उच्च र अरू गरिब गुरूवालाई तुच्छ ठान्नेहरूले होइन ? यो कुरा कमलाले मलाई उसैबेला सुनाएकी थिइन् । मलाई त्यसपछि त झन् यो हरिबहादुर कुनै उच्च जातिवाल काजी होइन तुच्छ पाजीजस्तो लागेको थियो ।
पहिला, उति ‘अररो’ नदेखिए पनि यस टोलका दुई/चारजना आइमाईले गार्मेन्टमा काम थालेपछि ऊ हाम्रो परिवारप्रति पनि अररो देखिएको थियो ।
साले, पाजी ! त्यसले जस्तो भ्रष्टाचार गरेर राष्ट्रघात ग¥याछौँ हामीले ? परिश्रमको, इमानको कमाइमा गुजारा गर्नु अपराध हो ? हेप्ने हो त्यसले ? गधा, पाजी, केको हुन्थ्यो काजी...! म त्यसैत्यसै उसको बेहोरा सम्झिँदै आक्रोसित थिएँ । अर्को दिन एकाबिहानै यसै टोलकी रञ्जना दिदीले हाम्रो घरमा प्रवेश गरिन् । हल्ला गर्दै आइन्– “के छ हौ भाइ, सञ्चैसुविस्तै हुनुहुन्छ ?”
“हामी ठीक छौँ दिदी । दिदीलाई के कस्तो छ नि ?”
कमलाको अनुहार पनि दिदीलाई देखेर हँसिलो भयो । यी दिदी, फरासिली थिइन् । मिलनसार उस्तै । टोलमा कुनै कार्य गर्नुप¥यो भने यी रञ्जना दिदी नै अघि बढ्थिन् । सबैलाई सहयोग गर्थिन् । कहिल्यै रिसाउँदिनथिन् ।
“चिया खाउँ है दिदी”, भन्दै कमला चिया पकाउन थालिन् । “चिया मात्रै किन अब बिया नै खाने नि हुन्न ?” कमला ओझेल परे पनि मैले कमलासित मुखामुख गर्न खोजेँ । ट्वाल्ल परेँ । फेरि दिदीले नै भनिन्– “बाबूको बिहे गर्ने होइन ? कुरा ल्याएकी छु...!”कमलाले हतारहतार चिया पकाएर ल्याएजस्तो थियो । उनको कानमा रञ्जना दिदीको बियाको कुराले असर गरेको जस्तो ।
दिदी बोल्दै थिइन्– “मलाई काजीले पठाएको । उनको छोरीको कुरा ल्याएकी छु । के भन्नुहुन्छ ?”
काजी हरिबहादुरको छोरीको अनुहार आँखामा उत्रियो । पढाइबारे कानमा जनजनको बोली गुञ्जियो ।
–रूप मात्रै राम्रो भएर के गर्ने । सधैँ चाटेर पुग्ने होइन क्यारे !–पढाइ त जिरो नि, एसएलसी पाँचचोटी लगाएर पास अरे । कति पढेकी भनेर कसैले सोध्यो भने त्यही एसएलसी पास ! –धनी बाबुकी छोरी भएर हो कि, त्यसले त कसैलाई मान्छे नै गन्दिन अरे हो...?
कमलाको अनुहार हेरेँ, अँध्यारो थियो । छोराको बिहेको कुराचल्दा त अनुहार उज्यालो पो हुनुपर्ने । सारा संसारका आमाहरू छोराको बिहेको कुरा चल्दा खुसी हुन्छन्, चहकिन्छन् । तर, कमलाको अनुहार औँसीको कालो रातजस्तै अँधेरो । मलाई के बोलुँ, के बोलुँजस्तो भयो । यति भने– “छोरालाई आफ्नो हैसियत नभए पनि राम्रैसित पढाइयो । ऊ स्वयं पनि मिहिनेती थियो । उच्च शिक्षाका लागि स्कलरशीप पाएर अमेरिका पुग्यो । अहिले पिएचडी पनि सकेको खबर छ । पढाइअनुसारको जागिर खाँदैछ । उसका लागि एसएलसी पास केटी सुहाउँछ र दिदी ?”
कमलाको अनुहार तमतमाइलो थियो । बोलिन्– “हामी त लुगा सिलाउने प¥यौँ होइनौँ र ? गार्मेन्टमा काम गरेपछि ! हाम्रो काजी परिवारसित कसरी हुन्छ सम्बन्ध ? भनिदिनुहोस्, हुँदैन ।”
रञ्जना दिदीले पनि समर्थन जनाइन्– “त्यही त
नानी ! ती मोरामोरीले अमेरिका गएको केटा खोजेको । ठीक भन्नुभयो । यस्ता हाम्रा पढेका छोरालाई त्यस्ती लक्षिन् नभएकी त्यो पनि एसएलसी मात्र पढेकी केटी कसरी हुन्छ भन्नु बाबै ।”फेरि बोलिन्– “मलाई त जा कि जा भनेर कहिलेदेखि हैरान् पारेका थिए र मात्रै आएकी । भैगो कुनै बहाना गर्दिउँला । उसले उतै केटी खोजिसकेको रहेछ भन्दिउँला...।”
“तपाईंलाई पो नराम्रो हुने भो हगि ?” मैले यतिमात्रै बोल्न सकेँ । “छैन, छैन भाइ, म आफ्नै छोरा भए पनि त्यस्ती केटी बिहे गर्ने थिइनँ । सम्पत्तिको रवाफले मात्रै कहाँ सबथोक पाउन सकिन्छ, मलाई थाहा छ भाइ । म त हारेर मात्रै आएकी...!”
त्यसपछि दिदी जान्छु भन्दै उठिन् । मलाई त्यो काजी, पाजीको आजकाल हँसिलो हुने गरेको अनुहारभित्रको कुटिलताले धेरैबेर बिथोलिरह्यो...।