पहिलो शहीद ! (कविता)
दीपक थापा
जहरको नदीमा काँचको पुल थियो
बेखबर बाँचेको समयको हिसाब
ताम्रापत्र, शिलालेख वा अरू
वैकल्पिक थिए प्रयासहरू !
धागो र काँचको घर एकै दिन रोएका थिए
झोला र सपना एकै दिन नदीमा नाउ बनेर
प्रताडित थिए–
सबैको आँखामा आँसुको तलाउझैँ !
म खोलाको गीत
भरेर छालहरूको सङ्गीत
गुञ्जिएको हुँ– मानौँ, एउटा किनाराकृत आवाज !
म बाटोमुनिको फूल
रेटेर प्रेमको सारङ्गी
फैलाउन खोजेको हुँ–मानौँ, समावेशी सुगन्ध !
म एक नीलो आकाश
चिरेर घुरमैलो बादल
हुर्किन खोजेको हुँ–
मानौँ, बिसे नगर्चीको स्वर्णिम इतिहास !
पौरखी काखमा लुटपुटिएर
कोरेको हुँ जीवनको वृत्तचित्र !
आफ्नै मुटुमा उमारेको हुँ–गुराँसको फूल !
देउरालीमा मुस्कुराउँदै
शिरमा सिउरिएको हुँ–प्रेमको फूल !
निर्भीक भएर मेरै काँधबाट
उडाएको हुँ–जोडी परेवा !
मानौँ, म एक होर्डिङ बोर्ड,
उनी विज्ञापन,
र, हाम्रो प्रेम एक अन्तर्राष्ट्रिय समाचार !
वैशाखी टेकेर टुक–टुकु हिँडिरहने निर्दोष समयजस्तो
म हुन नसकेको
प्रेमको पहिलो शहीद !