नयाँ वर्ष (कविता)
विधान आचार्य
१
जीवन यो
सगरमाथाजस्तै उच्च होस्
लालीगुराँसजस्तै सुन्दर होस्
छन् केही पहाड चढ्ने उकालीहरू
छन् केही मधेस भेटिने ओरालीहरू
उकाली ओरालीमा हिँड्दा
नयाँ वर्ष,
पुराना वर्षका दुःख मेटाएर
विचलनका चलन निर्मूल पारेर
एकताको हात समातेर
अघि बढ्ने दिन बनोस् ।
२
पानीका धारा मात्र हैनन् ती
मेची काली छातीका पर्खाल बनून्
प्रत्येक समय,
नौलो युग बनोस्, सिर्जनाको
बस्तीका बसाइँ सहरजस्तै बनून्
सहरको आनन्द गाउँको जस्तै बनोस्
धारामा पानी र तारमा बिजुली
कहिल्यै नटुटोस्
चुलोको आगो र मनको शान्ति
कहिल्यै ननिभोस् ।
३
प्रत्येक रात जुनजस्तै होस्
र प्रत्येक दिन घामजस्तै होस् ।