कवितामा ऋतुराज
जीवनाथ धमला
कवितालाई अनुभूतिको प्रतिविम्ब मानिन्छ । कवि वा स्रष्टाले प्रकृतिभित्रैबाट अर्थहरू खोज्छन् । प्रकृति कविका लागि अनुभूतिको अन्तहीन भण्डार हो, जहाँ कविको हृदय घोलिन्छ, लुट्पुटिन्छ, एकाकार हुन्छ अनि ऊ मौरीले फूलबाट मह सोसेर लिएझैँ भाव र सौन्दर्यानुभूतिको रस खिच्छ ।
वसन्त प्रकृतिकै एक विशिष्टतम् र सुन्दरतम् स्वरूप हो । पृथ्वीले काँचुली फेर्छ, वसन्तमा । शिशिरको खडेरी, सुक्खाग्रस्त धर्ती र वनस्पति जगत्को लुप्तप्रायः हरियाली कलेबरलाई पुनर्जीवन दिँदै वसन्त ऋतुको आगमन हुन्छ । प्रकृति मुस्कुराउन थाल्छ कोपिला र फूलहरूमा, कोइली गाउन थाल्छ बगैँचा अनि वनवाटिकाका सियाँलहरूमा । मानिसको मुहारमा शुष्कता र खिन्नताको विम्ब निख्रिँदै मन्द मुस्कानको आभा सल्बलाउन थाल्छ । सर्वत्र सुन्दरम पोखिइरहेजस्तो, सर्वत्र सत्य गुन्गुनाइरहेजस्तो अनि सर्वत्र शिवम प्रतिध्वनित भइरहेजस्तो ! संसारभरिकै कवि÷स्रष्टाहरूले वसन्त ऋतुका बारेमा केही न केही कविता, गीत वा अन्य सिर्जना लेखेका होलान् भन्ने अनुमान गर्न सकिन्छ । कैयौँ नेपाली कविहरूले ऋतुराज वसन्तमा उत्पन्न भावानुभूतिलाई कवितामा अनुवाद गर्दै आएका छन् । माध्यमिककालीनदेखि वर्तमानसम्मकै कैयौँ कविहरूले वसन्तमा उत्पन्न आ–आफ्ना भावनालाई कविताका रूपमा अमर बनाउँदै आएका छन् ।
युवाकवि मोतीराम भट्टले ‘प्रीति सन्देश’ कवितामा पतिसँग विछोड भएर एक्लिएकी विरहिणीभित्र उत्पन्न विरहका भावनालाई व्यक्त गरेका छन् । ‘प्रीति सन्देश’मा ऋतुअनुसार प्रेमिकाभित्र उत्पन्न मनोदशालाई अभिव्यक्त गरिएको पाइन्छ । वसन्त ऋतुमा प्रेमिकाको बिलौना यस्तो रहेको पाइन्छ;
“आयो हेर वसन्त पक्षी त तँ छस्
साक्षी यति भन्दिएस्
आफ्नै हुन् अहवाल भनेर तइँले
सुन्दा खुपै मन दिएस्...।”(नेपाली कवितासङ्ग्रह १, सम्पादकः डा. तारा प्र. जोशी)
प्रेमी टाढा हुँदाको बेला प्रेमिकाको मनको व्यथा प्रीति सन्देशमा वर्णित छ ।
आशुकवि शम्भुप्रसाद ढुङ्गेल माध्यमिककालीन कवि हुन् । उनको ‘वसन्त’ शीर्षक कवितामा प्रेमीद्वारा प्रेमिकासँग हुन पुगेको विछोडको क्षणलाई वर्णन गरिएको छ । मनमा विछोड वा विरहका भाव मडारिएपछि वसन्तको सौन्दर्यले पनि शान्ति दिन सक्दैन, जताततै आँधीहुरी, मेघगर्जन र बिजुली, अशान्ति आदिमात्र अनुभूत गरिन्छ । वसन्तका दृश्यहरूद्वारा सुन्दरताको अनुभूति प्राप्त हुन नसकेको भावार्थ ढुङ्गेलको कवितामा पाइन्छ;
“...सारा भो बन्द खिड्की चमचम बिजुली चम्किचम्की करायो
प्यारी टाढा हुनाले थररर मन भै आज मेरो डरायो ।”(नेपाली कवितासङ्ग्रह १)
यस कविताका कविले वसन्तयामको प्राकृतिक सौन्दर्यको वर्णन गरेका छैनन् । शीर्षक ‘वसन्त’ भए पनि कवितामा ‘म’ पात्रको भयातुरता, पीडा, वेदना, छटपटी आदि विछोडका मनोदशाहरू अभिव्यक्त भएका छन् । कवि ढुङ्गेल वसन्तमा सौन्दर्य मात्र देख्दैनन् ।
कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित
‘ऋतुविचार’ (प्रथम प्रकाशन विक्रम संवत् १९७३) खण्डकाव्य छवटै ऋतुहरूको काव्यिक वर्णनमा केन्द्रित छ । उनका वसन्तसम्बन्धी अन्य कविता पनि छन् । यद्यपि, ‘वसन्त विचार’ वसन्त ऋतुको वृहत् काव्यिक अभिव्यक्ति हो । वसन्त ऋतुद्वारा मानव जगत्लाई प्राप्त हुने सम्पूर्णजसो भावनात्मक सुखानुभूतिको उद्बोधन यस कविता काव्यमा गरिएको छ;
“सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रस ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ।।११।।
प्रत्येक पुष्पको रुप, रेखा, रंग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ।।२८
मनुष्य जगत्ले सर्वाधिक आनन्दको अनुभूति वसन्तमा प्राप्त गर्न सक्छ । वसन्तले प्रकृतिको बाह्य रूप, रङलाई मात्र सुन्दर बनाउँदैन, जीवनकै लागि सिर्जनात्मकता, आशावाद, कल्पनाशीलता आदिजस्ता कोमल सौन्दर्यानुभूति एवम् जीवनानुभूति पनि प्रदान गर्छ । यसले जीवनलाई उन्नत र गतिशील बनाउन आन्तरिक ऊर्जा पनि प्रदान गर्छ भन्ने दार्शनिक तथा आध्यात्मिक सन्देश कवि शिरोमणिले यस ऋतुकाव्यमा व्यक्त गरेका छन् भन्ने बुझ्न सकिन्छ;
पृथ्वीको दिव्य सौन्दर्य नअटाएर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ।।(३२)
संसाररूपी नाट्यशालाका छवटा दृश्य वा पर्दाहरूमध्ये वसन्तरूपी दृश्य वा पर्दामा प्राकृतिक जीवन र मानवजीवन दुवै नै सँगसँगै सबैभन्दा खुसी र सन्तुष्ट रहने गरेको निष्कर्ष कवि शिरोमणि पौड्यालले वसन्त विचारमा निकालेका छन्;
संसार नाट्यशालाका छ पर्दा मध्य वास्तव ।
ज्यादा वसन्त पर्दामा खुसी छ जगतै सब ।। (१००)
कवि शिरोमणि पौड्यालले ‘वसन्त कोकिल’ शीर्षकमा पनि वसन्त कविता लेखेका छन् ।
नेपाली साहित्य जगत्का नाट्य सम्राट तथा कवि बालकृष्ण समले ‘चिसो चुल्हो’ महाकाव्यको एक अंश (सर्ग ७)को शीर्षक ‘वसन्त’मा वसन्त ऋतुका प्राकृतिक मनोहारी वा मोहकताको वर्णन गरेका छन् । कवितामा कवि सम कोकिलसँग अनेक जिज्ञासात्मक संवाद गर्दै स्रष्टाहरूले त्यसबाट प्रेरणा पाइरहेको बत(ाउँछन्;
“संसारभरका सारा कविका प्रेम विषयक
उत्तम कविता
कोकिल तेरो एक ‘को हो?’ मा डुबीडुबीकन बिलाउँछन् ।”
कोइलीको मधुर बोली आफ्नो नभएर पनि आफूभन्दा प्रिय लाग्छ भन्ने कविको अनुभूति अत्यन्तै मीठो छ;
“...को हो त्यो बोल्दै नबोली काम सबै पूरा गर्ने ? को हो त्यो आफ्नो होइन किन्तु आफूभन्दा प्रिय बन्ने ?”
कवि समले सङ्गीतविवनाको पृथ्वी मसानसरह हुने कुराको काव्यिक चिन्तन पनि गरेका छन् । कवि सम अनेक चराचुरुङ्गीहरूका क्रिडा र स्वरलहरीमा असीम आनन्दानुभूति गर्दै मानव सिर्जना पुरानो हुन्छ तर पक्षी जगत्को साङ्गीतिक सुमधुरता कहिल्यै पुरानो नहुने अनुभव गर्छन् । महाकाव्यको एक अंशका रूपमा रहेको यस वसन्त वर्णन सर्गको उत्तराद्र्धमा महाकाव्यकार समले सन्ते र गौरीको प्रेमप्रसङ्गको कथात्मकतालाई निरन्तरता दिएका छन् ।
यस्तै, युगकवि सिद्विचरण श्रेष्ठद्वारा रचित ‘फेरि वसन्त आयो’ (२००५ साल) कवितामा बर्सेनि आइरहने वसन्तलाई सम्झेका छन् । उनको कवितामा एकातिर वसन्त ऋतुमा देखिने प्राकृतिक परिवर्तन र सुन्दरताको वर्णन पाइन्छ भने अर्कातिर जीवनका सुख–दुःख र आँसुहाँसोका दृश्यहरू पनि चित्रण गरिएका छन् । प्रकृतिसँग कवि आफ्नो भावना प्रतिविम्बित गर्दै लेख्छन्;
“क्षणिकतामा अमरताको
दिव्यलहरी उठ्न लाग्यो ।
स्वप्नमा उड्ने परीले
प्राणमा चुम्बन चढायो ।” (मेरो प्रतिविम्ब)
कवि, वसन्त ऋतुमा पुत्रवियोगको पीडाले व्यथित एक गृहिणीसँग साक्षात्कार हुन पुगेको र उनीसँग सुख–दुःखको वार्तालाप भएको कल्पना गर्छन्;
“...दुःख–सुखको वात चल्ला
पुत्र सम्झी आँसु गिर्ला
तिक्त गुढ विषाद पोती
सरल वासन्ती छटामा...।”
वसन्तमा प्रकृति सौन्दर्यको मधुरता र मधुरसतामा गुञ्जित भइरहे पनि मनुष्यले पीडाका आँसुहरूसँग अभिन्न भएर बाँच्नुपर्ने नियतिलाई टार्न सक्दैन भन्ने जीवनको सत्यलाई कवितामा समावेश गरिएको छ ।
यसैगरी, महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा सिर्जित अनेकाँै कविता तथा काव्यहरूमा वसन्तबारे न्यूनाधिक वर्णन गरिएको पाइन्छ । देवकोटाका फुटकर कविताहरू अधिकाधिकमा प्रकृति र जीवनको अन्योन्याश्रितताको चित्रण छ । देवकोटाको स्वच्छन्दतावादी काव्यिक शिखरारोहणतर्फको वेगलाई पछ्याउन सक्ने स्रष्टा–सामथ्र्यको प्रतीक्षा नेपाली साहित्य जगत्का लागि सायद अन्तहीन रहला । उनको ‘वसन्त–सम्झना’ शीर्षकको कविता, २००५ सालमा सर्वप्रथम युगवाणी (१।१४) मा प्रकाशित भएको जानकारी पाइन्छ । समालोचक ईश्वर बरालद्वारा सम्पादित हिमालचुली (साझाबाट पहिलो, २०३०) मा पुनः प्रकाशित यस कविताका सम्बन्धमा सम्पादक बरालले सङ्क्षिप्त टिप्पणी लेखेका छन्; “यो कवितामा छन्द भङ्ग गरेर लयमात्र मिलाएर लेखिएको छ । छन्दध्वनि–लयदार बनाउँदा जिब्रोमा कति मिठाससँग खेल्न सक्छ भन्ने एक प्रयोग हो । छन्दोभङ्गको अर्को काम छ कल्पनाको र शब्दका अवरोध हटाउनु ।” यस टिप्पणीको आसय देवकोटाको यो कविता छन्दको बन्धनमुक्त तर लयबद्ध छ भन्ने बुझिन्छ;
“आज कोयली काली सुन्दरी मञ्जरी चुचे छिर्बिराउँदी
पालुवाबुटे पंखले डटी झुलन–वागमा हो कराउँदी ।”
यस कवितामा देवकोटा प्रकृतिका कुञ्जकुञ्जमा गीत गाइरहने कोइलीसँगै साउती गर्छन् । बगैँचामा फुल्न आँटेका कोपिला र झर्झराउँदा फूलहरूको सुगन्ध पिउँदै आनन्दविभोर बन्छन् । देशको मुकुट शिवनिवास अर्थात् हिमालय पर्वतको आँगनमा आलुबखडा र दारिमका फूलको सौन्दर्य स्वच्छन्द एवम् नृत्यमग्न रहेको दिव्यता अनुभूत गर्छन्;
“झुप्पा पालुवा मलय पाहुना, उत्तरैतिर तुहिन–मन्दिर
शिव निवासको हेर माधुरी ! भन्लान् भावका नृत्यले भरी ।”
देवकोटा प्रकृतिमा मुस्कुराइरहेका फूललाई मानवीकरण गर्छन् र तिनलाई होलीका रङहरूमा नाचिरहेका कुसुम परीको संज्ञा दिन्छन् । सुन्तला र भोगटेका फूलसँग भुन्भुने भमरो होली खेलिरहेको देख्छन् । कवितामा वैशालु हरियालीसँगै हुर्कंदै गरेका फूलहरूमा सुनौला प्रभाती किरणहरू पोतिँदाका आनन्दी दृश्य एवम् चिडियाहरूका आकाशीय उडानको मोहकता आदिजस्ता अनेक भाव कुसुमहरू टिप्दै वसन्तयामले देशमा नवजागरणको दिव्यज्योति झल्मलाउन प्रेरित गरिरहेको अनुभूति गर्छन्;
“आज देशमा दिव्य जागृति जगमगाउँदै अग्निका शिखा
झल्मलाउँदो गन्धवाहमा भर्दो जोश हो रंगदीपिका ।” (२१)
देवकोटाले भावी जनक्रान्तिको आगमनको पूर्वसन्ध्यामा रचित यस ‘वसन्त–सम्झना’ कवितामार्फत नेपालमा प्रजातन्त्रोदयको कामना पनि गरेका छन् । प्रकृतिको सौन्दर्यबाट भावहरूका दाना बटुल्दै सुन्दर कविताको सिर्जना गर्नु देवकोटाको विशेषता नै हो । प्राकृतिक सौन्दर्यवेष्टित धर्तीको वर्णन गर्दै महाकवि देवकोटाले वसन्त शीर्षकमा अरू कविता पनि लेखेका छन् ।
यसैगरी, राष्ट्रकविका रूपमा सम्मानित कवि माधव घिमिरेद्वारा रचित ‘वैशाख’ (२००९) शीर्षक कवितामा वसन्त ऋतुको अत्यन्तै सुन्दर चित्रण गरिएको पाइन्छ । नेपाली जनजीवनसँग एकाकार भएर प्रकृति र जीवनलाई सुन्दर एवम् कोमल काव्यानुभूतिद्वारा तृप्ति गराउन सक्ने ‘वैशाख’ कविता घिमिरेका कवितामध्येको एक सर्वाधिक लोकप्रिय कविता हो भन्न सकिन्छ;
“डाँडाकाँडा चउर हरिया देखिए पालुवाले
बोकी ल्यायो वकुल वनको वास मीठो हावाले
डाकी मौरी कुसुम रसमा लेक पाक्यो गुहेली
गोठालाले वनवन घुमी हाल्न थाल्यो सुसेली ।”(वैशाख÷चैत–वैशाख)
कवितामा नेपाली ग्रामीण जीवनको महक मग्मगाउँछ । वैशाखले वा वसन्तले जीवनलाई नयाँ प्रण गर्न पनि प्रेरित गर्छ । धर्तीको शिरमा सजिएको हिमाल चुम्न बाँकी छ, अहिले नै पो चुमाँै कि ! नेपाली मनको कोमलता र निश्छलतालाई छुन बाँकी छ, यसै वसन्तमा साइत गरौँ कि;
“नेपालीको दिल छुन अझै छैन मैले सकेको...”
घिमिरेको वैशाख कविताले पाठकलाई डो¥याउँदै लेकबेँसी घुमाउँछ । वरपीपलको छहारीमा मन्दमन्द सिर्सिराइरहेको बताससँग थकाइ मेटाउँदै, लोकभाकामा गीत गाउँदै रन र वन गुञ्जाउन प्रेरित गर्छ ;
“चौतारीमा वरपीपलको बोट नौलो लगाऊँ
छहारीको तलतिर बसी गीत यौटा म गाऊँ”
रित्ता चौतारीहरूलाई वरपीपलका रूखहरू रोपेर बटुवालाई विश्रामको आनन्द दिलाउन सके हुन्थ्यो ! वसन्तले कर्मशील जीवनका लागि प्रेरणा दिन्छ । शीतलमा पसिना पुछ्दै माटोका गीतहरू गाइरहन सके हुन्थ्यो ! वसन्तले राष्ट्रभक्तिको उद्बोधन गराउँछ । वसन्त प्रेमिल हुन्छ, उत्सवमय रहन्छ । चैत, वैशाखहरू आइरहन्छन्, वसन्त कहिल्यै सकिँदैन;
“आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो ।”
घिमिरेका अनकाँै कविताहरूमा वसन्तको आह्वान र उपासना छ ।
यस्तै, भूपी शेरचन आधुनिक नेपाली गद्य कविता क्षेत्रका अत्यन्त लोकप्रिय कवि हुन् । उनी ‘वसन्त’ शीर्षक कवितामा प्राकृतिक सुन्दरतालाई बाह्य दृष्टिले मात्र वर्णन गर्दैनन् । वसन्तयामले प्राकृतिक सौन्दर्य चेतनामात्र दिँदैन । अन्तरदृष्टिगत सौन्दर्य चेतनाका आयामहरू कविपिच्छे भिन्नभिन्न हुन सक्छन् । चैत, वैशाखका दिनहरूमा उडिरहेको धूलो, धूँवाको पत्रले छोपिइरहेको सूर्यलाई भूपी ज्वरग्रस्त देख्छन् । समयको दृश्यलाई उनी उराठलाग्दो अनुभूत गर्छन् । बस्तीलाई अनि वसन्तको सुन्दरतालाई तुँवालोमय देख्छन् । २०१७ सालमा लेखिएको यस कविताले पर्यावरणीय प्रदूषणको सिकार भइरहेको खडेरीग्रस्त सहरको स्थितिलाई चित्रण गरेको छ भने अर्कातिर मुलुकमा तत्काल विद्यमान राजनीतिक हिसाबले अन्योलग्रस्त परिस्थितिलाई पनि स्मरण गराएको छ;
“आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पिरो हुन्छ
ज्वरपीडित सूर्य सकिनसकी हिँडिरहेछ आकाशमा ।”(घुम्ने मेचमाथि अन्धो मान्छे)
वसन्त ऋतुका दृश्यलाई भूपी यथार्थवादी, वस्तुवादी दृष्टिकोणले हेर्छन् । उनका कविताले पाठकलाई नौलो अनुभूति र चेतनाको नयाँ द्वार खोल्न प्रेरित गरेका छन् । वसन्त बडो अस्थिर र अस्थायी पनि छ । आरु र आलुबखडाका फूलहरूलाई अबिर र लावाको थाल बोकेर सडक किनारमा वा बाटामा विदेशी पाहुनाको स्वागतार्थ उभिएका स्कुले नानीहरूझैँ देख्दछन्;
“लावाका थाल बोकेका आलुबखाडाका रूखहरू,
अनि स्कुलका केटाकेटीझैँ
रङ्गीन झण्डाहरू हल्लाइरहेका फूलका सानासाना बोटहरू...।”
सुन्दरताको उपस्थिति क्षणिक रहन्छ । प्राकृतिक रूपमा वसन्तको आगमन अल्पकालीन भएकोमा भूपी सुस्केरा हाल्छन् । आएर चाँडै फर्किहाल्ने विदेशी पाहुनाजस्तो वसन्त ! कविको काव्यिक चैतन्य दर्शनमय पनि छ । यस कवितामा पनि अन्यमा जस्तै, भूपीको व्यङ्ग्य चेतना अत्यन्त सशक्त देखिन्छ । वसन्तलाई कवि बाहिरबाहिर मोटो अनि पोटिलो देखिने तर भित्रपट्टि भने खोक्रो हुने बाँसजस्तै ठान्छन् । वसन्तमा मान्छे मुस्कुराउनुपर्ने हो तर निन्याउरा लाग्छन् । मानिसको अस्तित्व स्वतन्त्र हुनुपर्ने हो तर उसको कण्ठ, अन्तरध्वनि अवरुद्ध छ । मानिसभित्रको वास्तविक मानिसको मृत्यु भइसकेको छ । के वसन्तमा मानिस यसरी नै अस्तित्वहीन हुन्छ ? भूपीले समकालीन नेपालको तीतो यथार्थ कवितामार्फत् बोलेका छन् । मुलुकको सामाजिक, राजनीतिक विसङ्गतिप्रति वसन्तमार्फत चोटिलो व्यङ्ग्य प्रहार गरेका छन्;
“...न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरू
प्रत्येक घरको मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटेताल्चा अथवा हिन्दुस्थानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त ।”
भूपीले यस कवितामार्फत मुलुकमा लोकतान्त्रिक पद्धति र स्वतन्त्रताको अपहरण भएपछि उत्पन्न तत्कालीन शून्यवत् परिस्थितिलाई प्रतीकात्मक ढङ्गमा मर्मस्पर्शी चित्रण गरेका हुन् भन्ने महसुस गर्न सकिन्छ । ‘वसन्त’ कवितामा भूपी उद्यानका फूलहरूसँग हाँस्न सक्दैनन् । देशबाट वसन्त हराएको देख्छन् ।
नेपाली कविताका क्षेत्रमा ‘वसन्त’लाई विषयवस्तु बनाएर लेख्ने स्रष्टाहरू असङ्ख्य छन् । उनीहरूका कवितामा भिन्नाभिन्नै शिल्प, शैली र भाव सामथ्र्यको अनुभव गर्न सकिन्छ । वसन्तमा प्राकृतिक जीवनले पुनर्जीवन प्राप्त गर्छ । कविले सिर्जनामा पाइन हाल्छन् । वसन्तले प्रकृतिलाई तारुन्य प्रदान गर्छ । स्रष्टाहरू सौन्दर्यको आलाप गुन्गुनाउँछन् । अनुभूतिका आयाम र उचाइको कुनै सीमा रहँदैन, जता फैलिए पनि हुन्छ, जति आरोहण गरे पनि उचाइ अझै बाँकी नै रहन्छ । स्रष्टाका आँखाले असुन्दरलाई पनि अनुभूतिको प्रकाश छरेर जीवनका लागि अर्थ देखाउँछन् । वसन्त, त्यसैले अनुभूतिको स्वर्णोत्सव हो, सधैँ मनाइरहनुपर्छ । वसन्त जीवनको आरतिगान हो, गाइरहनुपर्छ । वसन्त ऋतु तथा नयाँ वर्ष २०७८ को हार्दिक शुभकामना !