राष्ट्रकै कवि
श्रीओम श्रेष्ठ ‘रोदन’
कति वर्ष बाँचियो भने मान्छेले आफ्ना इच्छा पूरा गर्न सक्छन् ?
उत्तर नभएको प्रश्न उब्जिरहन्छ मभित्र । गर्नेले त थोरै उमेरमा पनि धेरै गरेका छन् । नगर्नेका लागि जति उमेर बाँचे पनि नित्यकर्मबाहेक केही गर्न सकेका छैनन् । समय जसरी अमूर्त छ, त्यसरी नै आयु पनि अमूर्त नै छ । कविजी अर्थात् राष्ट्रकविको हकमा भने आयुको सार्थकताको उदाहरण । तर, अभाव पनि । चौँतीस दिनमात्र बाँकी थियो, एक सय एक वर्ष पुग्नका लागि । त्यसपछिको समय आफ्नो बन्न सकेन । कुर्न सकेन समयले कविजीलाई । शताब्दी पार गरिसक्दा पनि अधुरै रह्यो महाकाव्य लोकार्पणको अभीष्ट ।
कविजीले पाउनुभएको उमेर कम होइन । सबैले पाउने उमेर होइन यो । आशीर्वादमा भनिने कुरो हो । धेरै बाँच्न सकोस् भन्ने अर्थमा हो सय वर्ष । अग्रजको आशीर्वादभन्दा धेरै । भाग्यमानीमात्र होइन, महाभाग्यमानी हो– माधवप्रसाद घिमिरे । नामले भन्दा प्रतिष्ठा बढी कविजीको । पदले राष्ट्रकवि नै ।
समयले नपुग्ने कुनै काम हुँदैन । यस्तै लाग्थ्यो मलाई । तर, होइन रहेछ । सय काट्दा पनि ‘ऋतम्भरा’लाई पुगेन समय । महाकवि बन्ने धोको बोकेरै जानु भो कविजी । लाग्छ– यसरी नै होला बुझ्ने ।
व्यापकताको सीमा छैन कविजीको । जे गर्नुभयो अकल्पनीय गर्नुभयो । अन्याय भएको छैन उहाँप्रति । विशाल छ व्यक्तित्व । जताबाट व्याख्या गरे पनि पूर्णता दिन निकै गाह्रोे । हेर्दा सहज र सरल तर निकै गहन र गम्भीर । देखिँदा सुन्दर देखिने चित्रको अमूर्तताजस्तै । आठ–आठजनाले विद्यावारिधि गरिसकेका छन् । तर, सायदै सन्तुष्ट भएका होलान् । जति खन्यो त्यति महŒवको सामग्री निस्किरहने खानीजस्तै । कविजीको सिर्जना नै त्यस्तै । आठजना डाक्टर बनिसके । अझै बन्दा होलान् कति–कति । महाकविपछि डाक्टर बनाउने सिर्जनाको हैसियत कविजीकै बनेको छ ।
कानभरि राँै, कानेजुँगा । लामो नाक । धपक्कै बलेका आँखा । बाक्लो आँखीभौँ । त्यसमाथि कालो फ्रेमको चस्मा । थरथराउँदै लेखिने अक्षरका शक्ति । अक्षरले त्यत्रो सामथ्र्य बोक्न सक्छ भन्ने अक्षरलाई पनि थपिएको ज्ञान हुनुपर्छ । ढुङ्गा कुँदेर मूर्तिको सुन्दर स्वरूप निस्केजस्तै । जे भने पनि त्यस्तै । कविताको कुरै भएन । सगरमाथाभन्दा माथि कसैको पाइताला नपरेजस्तै । भर्खरै लेखिएजस्तो सदावहार गीत । कालजयी भनेको कविजीको गीतजस्तै । खण्डकाव्यको झन् के कुरा ? एउटै ‘गौरी’ आएपछि सबै पछि पर्ने । गीतिनाटकको कुरा गरे ‘मालतीमङ्गले’ नामै छ काफी । कलिला ओठमा ट्याप्पै झुन्डिने बालसाहित्य ।
साहित्यको नाममा लेख्नेका कमी छैनन् । सङ्ख्या कति हो कति । जे लेखे पनि कवि भनिएको छ । मानौँ कविता भनेको पाकेको दालभातजस्तै । फरक यत्ति हो, बाजा बजाउन नजान्ने यो लोकमा कोही पनि नभएजस्तो । जसरी पनि बजाउनु होइन बाजा । तालमा बजाउँदा पो बन्छ बाजा । अक्षरले मात्र सिर्जनामा कहाँ प्राण भरिन्छ र ? अक्षरमा ज्यान भर्ने कला सबैमा हुने भए किन माधव घिमिरेले मात्र लोकको वाहावाही पाइरहन्थे ? किन लोकप्रियताको अग्लो शिखरमा छुट्टिरहन्थे ? किन माधव घिमिरेको निधनमा देशले शोक मनाउँथे ? किन नेपाली साहित्यले आशोच बार्थे ? किन एकजना कवि नहुँदा नेपाली साहित्यको एउटा युगको अन्त्य भयो भन्थे ?
रहर गरेर हुने कुरा होइन यो । ईष्र्या गरेर सकिने कुरो पनि होइन यो । दुःख नहुने संसारमा कोही मानिस हुनै सक्दैन । कथा नबोकेर रित्तो मन हुने पनि कोही हँुदैनन् । तर, तिनीहरू लेखक नबनेजस्तै हो । मन सबैका हुन्छन् तर उर्वर थोरैका मात्र हुन्छन् । बीउ छर्नासाथ टुसाउने मन र हुर्काउन सक्ने मन । कविजीको कल्पनाजस्तै, कविजीको कलमजस्तै ।
गाउँछ गीत नेपाल नभने पनि नेपालीको गीत बनेको छ । गाउने ओठले नै हो तर गुनगुनाउँछ मनभित्रको पनि मनले । अक्षरले बोक्ने मनचिन्तन वा राष्ट्रिय चिन्तन घुसेपछि यस्तो हुन्छ । त्यसैले त कविजी अक्षरमा नै उतार्नुहुन्छ गाउँघर, हिमाल, पहाडलाई । नदी, झरना, पाखापखेरूलाई । बताससँग बग्ने भाकालाई । परम्पराको रौनकलाई । दुःखको सिमानासम्मै पुग्न सक्नुहुन्छ । सुखलाई सबैकोे बनाउन सक्नुहुन्छ । राष्ट्रियता ढुकढुकीसम्मै पु¥याउन सक्नुहुन्छ । अखण्डता त्यस्तै । यत्तिको मानवीय वकालत कुन पो अदालतमा हुन सक्ला र खै ? यही होला अक्षरको कला र अक्षरको शक्ति भनेको ।
कविजीको काम्दै निस्केको आवाज । आवाजमात्र हुन्थेन । हुन्थ्यो काव्य । सङ्गीतात्मक । धेरै अग्लो डाँडाबाट झरेको झरनाको आवाजजस्तो । सुनिरहन मन लाग्ने मीठो । प्रत्येक वाक्यमा गहिरो दर्शन उस्तै । आएर कहिल्यै ऋतु सिद्धिँदैन, लाएर माया मुटु रित्तिँदैन । यत्तिमै छ भव्य दर्शन । तराजुमा राखे ढुङ्गाको अक्षर पनि नतमस्तक बन्छ होला ।
सिर्जनाको यस्तै महाशक्तिले त हो नि लमजुङ पुस्तुनका माधवप्रसाद राष्ट्रकै प्रियकवि बन्न सक्नुभएको । राज्यले राष्ट्रकवि बनाएको । करोडाँैको मनमा बस्न सकेको । नेपालमात्र होइन, नेपाली मन पुगेको सातै महादेश र देवनागरी लिपि पुगेको सबै भूगोलमा उत्तिकै प्रिय र उत्तिकै सम्मानित हुन सकेको । लाग्छ– कहिलेकाहीँ यस्तो पनि सम्भव हुँदोरहेछ । कुरो भावनाको मात्र होइन । व्यवहारमा नै छन् कति–कति ।
कविकुञ्जको एउटा ठूलो कोठा सानो भएको छ, पुरस्कार र सम्मानपत्रहरूले । अटी–नअटी भएको छ ठाउँ । चाङमा परेका छन् देखिन नसक्नेगरी । सम्मानपत्रहरूलाई सम्मान गर्न सकेको छैन कोठाले । कविकोठाभन्दा यो कोठा सम्मान सङ्ग्रहालयजस्तो बनेको छ ।
पद र प्रतिष्ठाले पनि भरिपूर्ण नै हुनुभयो कविजी । अरू स्रष्टा जीवनमा एकपटक पुग्ने सपना देख्छन् प्रज्ञामा । कविजीले जीवन नैै बिताउनुभयो । प्राज्ञ परिषद्मै तीन कार्यकाल । त्यसपछि उपकुलपति र कुलपति पनि । विश्वविद्यालको महाविद्यावारिधि । सेनाको सहायकरथी । सरकारको राष्ट्रकवि । एउटा जीवनमा कल्पना गर्न पनि सजिलो नहुने । तर, सम्भव बनाइदिनुभयो कविजीले । कविजीको अद्भुत क्षमता नै बन्यो कविजीकोे कमाइ ।
कविता त्याग्न खोज्नुभएको थियो, कविजीले कुनै बखत । योगसाधनाको रहरमा डुबेर । तर, त्याग्न सक्नुभएन कविता बरु सिर्जनामा नै साधना गरिरहनुभयो । झन् गहिरो अध्ययन, गहिरै साधनाले जन्मिएका सिर्जना पनि गहिरो न गहिरै । त्यत्तिकै बनेका होइनन्, नोबेल पुरस्कार दाबी गर्ने एकमात्र कवि । प्रज्ञाले त्यत्तिकै अङ्ग्रेजी अनुवाद गरेर पठाएको थिएन । विश्व पुरस्कार हो धेरै हिसाब–किताब हुन्छ नै । तर, देशमै एक सय पचासभन्दा बढी पुरस्कार सम्मान पाउने कविजी एक्लो वृहस्पति नै बन्नुभएको छ । योभन्दा अग्लो प्रतिष्ठाको पहाड अब अर्को बन्न नसक्ला । एउटै गीतको आधा लाख पारिश्रमिक पाउने पनि कविजी मात्रै हुन सक्ला ।
सिर्जनाले सम्मानित, पदले पर्याप्त, पुरस्कारले पूर्णता अरूबाटै भएका हुन् । अरूका नजरमा पनि कविजी उमेरले भाग्यमानी, सिर्जनाले भाग्यमानी, जुन क्षेत्र, जुन उमेरका पनि प्रिय भएर भाग्यमानीमात्र होइन । आफ्नै लागि पनि भाग्यमानी ठान्नुहुन्छ कविजी । आफ्नो मृत्युको खबर आफैँ सुन्न पाएर ।
ताजै छ त्यो दिन । चौहत्तर सालको जेठ महिना । चौध गते रातको दस बजिसकेको थियो । फेसबुकमा कसैले दुःखद समाचार राख्यो कविजीको । हेर्दै थिएँ अन्योलमै । चल्तीको दैनिक अखबारको अनलाइनबाट फोन आयो । समाचारको पुष्टि गर्न खोज्यो । फोन गरेँ तुरुन्तै कविजीको घरमा ।
‘कविजी बिरामी हुनु भा हो ?’
‘होइन, उहाँ त सुतिसक्नुभो ।’
त्यतिन्जेल मै हुँ भन्ने स्रष्टाहरूले कविजीसँगको फोटो राख्दै श्रद्धाञ्जली दिइसकेका थिए । भाइरल भइसकेको थियो फेसबुक । कविजीको नाममा आफ्नो विज्ञापन गर्न सबै हतारिएका । स्रष्टाहरूको मात्र कुरो होइन । देशैभरिको छिटो सूचना पाउने गृहमन्त्रीले समेत शोकसन्देश नै राखे । मैले परिवारसँग कुरा भएको स्टाटस लेखेँ । केहीलाई जवाफ लेखेँ । त्यसपछि देश–विदेशबाट आएको फोनले विश्राम पाएन । फेरि अर्को स्टाटस लेखेँ अलि कडा । त्यसपछि केहीले मलाई र केहीले स्टाटसलाई उद्धृत गर्दै क्षमायाचना गर्न थाले । सन्देश र फोटा हटाउन थाले । केहीले जिउँदैलार्ई श्रद्धाञ्जली दिने भनेर गाली गर्न थाले । बाह्र बज्न लाग्दा फेसबुकको फोहोर सफा भएको थियो ।
कविजीले सपनामा मात्र आफ्नो निधन भएको गीत लेख्नुभएको थियो । आखिर सत्य नै साबित भएर छोड्यो । मान्नुपर्छ कविजीको दूरदृष्टि । मृत्युलाई नजिकबाट अनुभव गरेको बताउनुहुन्थ्यो । ‘प्रियजनको अवशानमा मृत्युुलाई स्पर्श गरेर जीवनको महŒव अनुभूत गरेको छु भन्नुहुन्थ्यो कविजी ।
कहिले बूढा बन्न चाहनुभएन कविजी । सकुन्जेल सधैँको भ्याइनभ्याइ । सधैँको कार्यक्रम नै कार्यक्रम । घरमा भेट गर्न आउने कहिले खाली नहुने । अन्तर्वार्ता गर्न आउनेहरू त्यत्तिकै । कार्यक्रममा बोल्न थालेपछि घडी नहेर्ने । बुढ्यौली बिर्सने । कामेको आवाजमा तार्किक र गहिरो बोल्ने । एकाउन्न सालजस्तो लाग्छ– समाज कल्याण भवनमा कविगोष्ठी थियो । सञ्चालन मैले गरिरहेको थिएँ । जाडो महिना थियो । अँध्यारो भइसकेको थियो । बत्ती गयो । ढिलो भएको र बत्ती पनि नभएकाले सूत्र रूपमा शुभकामनाका लागि आग्रह गरेँ । कविजीले आफ्ना कुरा नसकुन्जेल बोलिरहनुभयो मैनबत्तीको उज्यालोमा ।
धेरैपटक कविघर पुगेकोे छु । कार्यक्रममा लिएर जानलाई । भेट गर्नलाई, गराउनलाई । रचना माग्नलाई । अन्तर्वार्ता गर्न र गराउनलाई । कविबैठकमा बसेर कुथ्र्यौं हामी । तयारीमा केही समय लगाउनुहुन्थ्योे । रेलिङ समाउँदा काठको भ¥याङबाट ओर्लिएको आवाज सुनेपछि हामी उठ्थ्यौँ । दाही–जुँगा काटेर चिटिक्क । सधैँ उज्यालो । सधैँ उत्साही । बसेपछि जमेरै गफ गर्ने । फोटो खिच्न मज्जाले पोज दिने । कसैलाई गमलङ्ग अँगालो हालेर खिचिमाग्ने । सुनाउनेको कविता मनपर्दा पनि अँगालै हालेर स्याबासी दिने । सोचेभन्दा धेरै खुसी बनाएर फर्काउनुहुन्थ्यो आउनेजतिलाई ।
सिर्जनामा निकै सचेत हुनुहुन्थ्यो कविजी । सिर्जना गरेपछि सम्पादन गर्नुहुन्थ्यो आफँै । पाठक बन्नुुहुन्थ्योे आफैँ । कविता कुँदीकुँदी सुन्दर बनेर चित्त बुझेपछि मात्रै घरबाहिर पठाउनुहुन्थ्यो ।
सय वर्ष नपुग्दै कविजीलाई सय प्रश्न गरेका थियौँ– मधुपर्कमा ।
एक प्रश्न थियो– महाकविको मुनामदनजस्तै कविजीको कुनै छन् कि ?
‘अहँ, म त्यस्तो भन्दिनँ । मेरा सबै कृति प्रिय छन् ।’
जन्माएपछि सबैैलाई माया गर्नुपर्छ । सिक्नुपर्ने सबैले त्यही हो । सिर्जना अक्षर बनाउँदैमा बन्दैन । सिर्जनाले समय माग्छ । धैर्य गर्न सक्ने अक्षरमा मात्र रस बस्छ । नपाकेका अक्षर काँचा हुन्छन् । काँचोको आयु काँचै हुन्छ । सिक्ने पहिले अरूबाटै हो । त्यसपछि आफैँसँग हो ।
त्यसै हो र कविजी ओठ–ओठमा गुञ्जनुभएको । मनमनमा पुग्नुभएको । त्रिहत्तर वर्षभन्दा अघिको ‘गौरी’ अहिले पनि जवानै छ । सतसट्ठी वर्षअघिको ‘गाउँछ गीत नेपाली’ अहिले पनि घन्किरहेकै छ । उनान्साठी वर्षअघिको ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ अहिले पनि ताजै छ ।
कालजयी बनेका सबैका लागि र सधैँका लागि बनेर नै हो ।
शाश्वत बनेको हृदयसम्म पुग्ने ध्वनि बनेर नै हो ।
कविजीको भए पनि सबैले आफ्नै ठानेर नै हो ।
राष्ट्रियताको सर्वोच्च सन्देश भएर नै हो ।