शनिवार |

घाम–जून

यमबहादुर दुरा

‘घाम, जून र सत्य धेरैबेर लुकाउन सकिँदैन ।’ चिनियाँ दार्शनिक कन्फ्युसियस (ईपू ४७९–४७९) को यो कथनले घाम, जून र सत्यको गहन सत्यता उद्घाटन गरेको छ । एकातिर विज्ञान र अर्कातिर अध्यात्मसँग जोडिएका सर्वकालीन र सर्वव्यापक प्राकृतिक तìव घाम–जूनको महिमा अपरम्पार छ । हाम्रा लोकविश्वास र लोकवाङ्मयका तमाम आयामसँग घाम–जून जोडिएका छन् ।
हामीकहाँ घाम–जूनसँग सम्बन्धित अनेकन लोककथा र मिथकहरू छन् । सूर्यसँगको संसर्गबाट कर्ण जन्मिएको आध्यात्मिक कहानी होस् वा चन्द्रमा र चखेवाको अधुरो प्रेम–कहानी किन नहुन्, यी सबै प्रसङ्ग युगौँदेखि लोकजीवनसँग लुट्पुटिँदै आएका छन् । पाइला–पाइलामा लोकविश्वासको रुझान र लोकसंस्कृतिको बाछिटा भेटिने यस्ता अनगिन्ती प्रसङ्गहरूसँग हाम्रो लोकजीवन अभ्यस्त हुँदै आएको छ ।
पूर्वी गोलाद्र्धमा घाम–जून देवताको पुजिँदै आएका छन् । जसरी पूर्वी गोलाद्र्धमा घाम–जून पुजिँदै आएका छन्, त्यसरी नै पश्चिमी गोलाद्र्धमा पनि फरक नाम र फरक सन्दर्भमा घाम–जून पुजिँदै आएका छन् । खासगरी युनानी साहित्य र मिथकमा घाम (हिलियस) र जून (सिलिन) लाई देवताको स्थानमा राखेर प्राण प्रतिष्ठा गरिएका अनेकन प्रसङ्ग छताछुल्ल छन् । समग्रमा, दुवै गोलाद्र्धको लोकजीवनमा घाम–जूनले उच्च स्थान पाएका छन् ।
यता, हाम्रो दैनिक बोलीचालीमा प्रयोग हुने खुर्पे जून, झुल्के घाम, टहटह जून, जुनेली रात, टन्टलापुर घाम, रातो घाम आफैँमा सुन्दर प्राकृतिक विम्ब हुन्, जसले हाम्रो लोक अभिव्यक्तिलाई सुस्वादु बनाइदिएका छन् । लोकजीवन र लोकसाहित्यमा सधैँ मीठो विम्ब बनिआएको यस्ता शब्दावली हाम्रो मन र मुटुसँग मितेरी साइनु गाँस्न भुल्दै भुल्दैनन् । यी शब्दावली लोककण्ठमा अतिशय प्यारो विम्ब बनेर बसेका छन् । नेपालको राष्ट्रिय झण्डामै जून घाम अङ्कित छ ।
साहित्यिक जगत् घाम–जूनबाट अलग्गिएर बस्न सक्ने कुरै भएन । नेपाली साहित्यिक आकाशमा घाम–जून उदाएका छन् । रमेश विकलको नियात्रा ‘सात सूर्य एक फन्को’ (वि.सं. २०३४), ध.च. गोतामेको उपन्यास घामका पाइलाहरू (वि.सं. २०३५) र सिद्धिचरण श्रेष्ठको कविता सङ्ग्रह ‘कुहिरो र घाम’ (वि.सं. २०४५) लाई घामलाई विम्ब बनाएर लेखिएका कृतिको रूपमा लिन सकिन्छ ।
सूब सेनको उपन्यास ‘डाँडाको जून’ (वि.सं. २०४४) र जानु काम्बाङको कथा सङ्ग्रह ‘नउघ्रेको जून’ (वि.सं. २०७५) जून विम्बको रूपमा खडा गरिएका कृति हुन् । यसैगरी, नानु रानाको कविता सङ्ग्रह ‘घाम र जून’ (वि.सं. २०७५) आदि घाम–जूनलाई विम्ब बनाएर रचिएका कृतिका केही दृष्टान्त । यी त सामान्य दृष्टान्तमात्र हुन् । नेपाली साहित्यमा घाम–जूनलाई विम्ब बनाएर कोरलिएका कृति असङ्ख्य छन् ।
लालाबालाका लागि घाम–जून प्यारो वस्तु हुन् । यही सार्वजनीन मनोविज्ञान बालसाहित्यमा राम्रैसँग झल्किन्छन् । विश्वका विभिन्न भाषामा घाम–जूनबारे आख्यान र गैरआख्यान लेखिएका छन् । भाषिक अवरोेधका कारण तिनीहरू हाम्रो पहुँचमा छैनन् । सार्लेट ड्रट कलले लेखेको छोटो, सरल र सरस बालकविता ‘सन् एन्ड मुन’ बिछट्टै लोकप्रिय छ । उनको कविता यस्तो छ :
जून चाँदीझैँ सफासँग चम्किन्छ
घाम सूनजस्तै चहकिलो गरी चम्किन्छ
दुवै सुन्दर छन् र ज्यादै पुराना पनि
भगवान्ले तिनीहरूलाई आकाशमा
लाल्टिनझैँ झुण्ड्याएका छन्
घाम र जूनलाई कसैले पनि निभाउन सक्दैनन्
किनभने तिनीहरू धेरै उचाइमा छन्
स्विस लेखक मार्कस् फिस्टरले आफ्नो बालकथा सङ्ग्रह ‘सन् एन्ड मुन’ मा घाम–जूनबारे रोचक र घतलाग्दा कथा बुनेका छन् । अमेरिकी लेखिका लिन्जी याङ्कीले ‘सन् एन्ड मुन’ शीर्षकमै बालचित्रकथा प्रकाशन गरेकी छिन्, जसमा घाम–जूनबारे बालमनोविज्ञानलाई उद्वेलित पार्ने रोचक प्रसङ्ग छ । अलस्काको लोकसाहित्यमा आधारित भएर ब्रिटिस लेखिका अमन्डा हलले लेखेको बालकथा ‘द स्टोलन सन्ः अ स्टोरी अफ् नेटिभ अलस्का’ कम सरसपूर्ण र कम रोचक छैन ।
नेपाली लोकगीततिर फर्कंदा घाम–जूनका असङ्ख्य प्रसङ्ग यत्रतत्र छिरल्लिएको अवस्थामा भेटिन्छन् । लोकजीवनको सहज र सरस भावधाराको रूपमा स्थापित लोकगीतमा सर्वव्यापक र सर्वस्वीकार्य लोकविम्ब घाम–जूनको प्रतिविम्ब नहुने कुरै भएन । नेपाली लोकगीतमा घाम–जूनलाई बेजोड विम्बको रूपमा प्रयोग गरिएका बेहिसाब दृष्टान्त भेटिन्छन् ।
कुरा आर्थिक प्रसङ्गबाटै सुरु गरौँ । तमाम अर्थशास्त्री, तथ्याङ्कवेत्ता र समाजशास्त्रीबीच कतिपय आर्थिक एजेन्डामा एकअर्कासँग सहमत हुँदैनन् । तर, एउटा कुरामा उनीहरू पूर्ण सहमत छन् । त्यो हो, दुनियाँ असमानताग्रस्त छ । उनीहरूले एकमुख लाएर बरोबर भन्दै आइरहेका छन्, लोकधनको ९० प्रतिशतभन्दा बढी हिस्सा १० प्रतिशत धनाढ्यको पोल्टामा छ । नेपाली लोकगीतले पनि यही वास्तविकतालाई राम्रोसँग उजागर गरेको छ ः
सुखीलाई जून पनि घाम पनि
मै दुःखीलाई छैन नि माम पनि
मानव सम्बन्ध सधैँ जटिल छ । समयको गतिशीलतामा सम्बन्ध कहाँ एउटै बिन्दुमा बसिरहन्छ र ? यही गतिशीलतामा आजको महजस्तो गुलियो सम्बन्ध भोलि चिराइतोजस्तो तीतो बन्न सक्छ । आजको सुमधुर सम्बन्ध भोलि तम्तम्याइलो हुन पुग्छ । आजको माया भोलि बैरीमा परिणत हुन पुग्छ । ‘केमेस्ट्री’ बिग्रेपछि विगतका हराभरा अनुभूतिहरू पनि असिनाले थिचेको पोथ्रोजस्तो हुन सक्छ । कुनै समयमा रेडियो नेपालबाट निकै गुञ्जने झलकमान गन्धर्वको गीतले गतिशील सम्बन्धहरूको ज्यामितिलाई दर्साउँछ ः
आकाशमा जूनको भाइ चतुर
कहिले माया कहिलेको सत्तुर
साइत–कुसाइत हाम्रो लोकजीवनको व्याकरणभित्रै पर्छ । साइतले मीठो संयोग जुराउँछ भने कुसाइतले मीठो संयोगलाई भताभुङ्ग तुल्याउँछ भन्ने मान्यतामा हाम्रो विश्वास प्रणाली अडेको छ । साइतले जुराउने मीठो संयोगबारे लोकगीत मौन रहने कुरै आउँदैन । यसबारे लोकगीत मुखर छ । यसैको एउटा कडी ः
आज मेरो साइतै कस्तो
भेटेँ माया पूर्नेको जूनजस्तो
शारद ऋतुको अतुलनीय सौन्दर्यको वर्णनमा कविशिरोमणि लेखनाथ पौडेलले महारत हासिल गरेका छन् । उनको कविता सङ्ग्रह ‘ऋतुविचार’ शरद्कालीन समयको बेजोड वर्णन गर्नमा सफल छ । हुन पनि नेपालको सामाजिक तथा सांस्कृतिक परिवेशमा शारदीय समयकाल धेरै हिसाबले अर्थपूर्ण छ । शारदीय रातमा जूनको दुधिलो प्रकाशमा पोखिएको मादकताले प्रेमिल मनहरू भावनारूपी खेतबारीमा बयली खेल्न पुग्छन् । मादकतायुक्त जुनेली रातमा प्रेमिल मनले कसैको मीठो साथ र सुन्दर गन्तव्य रोज्छ, जुन लोकगीतमा यसरी प्रष्फुटन हुन्छ ः
जाऊँ हिँड साथैमा
टहटह जुनेली रातैमा
एकथरि मनोवैज्ञानिकहरू भन्ने गर्छन्– जुनेली रातले धेरैलाई ‘लुनाटिक’ बनाउँछ । जुनेली रातको मादकतापूर्ण परिवेशले मानिसलाई ‘लुनाटिक’ बनाउँदा उसको दिल–दिमागमा भावनात्मक उच्चतम ज्वारभाटा उठाइदिन्छ भन्ने उनीहरूको तर्क छ । त्यस किसिमको ज्वारभाटाको सघनता व्यक्तिपिच्छे फरक पर्न सक्छ । जनकवि केशरी धर्मराज थापा जुनेली रातले निम्त्याउने भावनात्मक ज्वारभाटाबारे यसरी वर्णन गर्छन् ः
हरियो भन्नु नि कान्छी त्यो रानी वन पहेँलो भन्न सुन खानी
जुनेली रातमा नि कान्छी ब्युँझेर हेर्दा कुटक्क नै मन खानी
सम्झना–बिर्सनाको लहर पनि कम मायवी छैन । विश्वविख्यात ब्राजिलियन साहित्यकार पाउलो कोवेल्होले भनेझैँ कसैको सम्झनाबाट मुक्ति पाउन ठूलो प्रयत्न आवश्यक छ । यो प्रयत्न धेरैका लागि असफल कदम बन्छ । बहुधाजन भन्ने गर्छन्, कसैलाई बिर्सने प्रयत्न गर्दा सम्झनाले झनै तीव्रता पाउँछ । सम्झनाले सताएपछि सम्झनाकै ग्राफ झन् उकालो लाग्छ । कसैको सम्झनाले अतिशय सताइरहने तर भेटघाट गरेर मनको व्यथा पोख्ने जौमेसो चाहिँ नजुट्ने । एउटा दुर्भाग्यपूर्ण अवस्था । यस्तो जटिल समयचक्रमा सम्झनाको मायवी लहरले निम्त्याएको छटपटी र मानवीय वेदना लोकगीतमा यसरी पोखिन्छ ः
तिम्लाई सम्झी म कति रुन्छु
सुर्जे ग्रहन लागेझैँ मै हुन्छु
अब एउटा अर्को प्रसङ्ग । सुन्दर कहलाउन गाउँबस्तीका लावण्यवतीहरूलाई प्रकृतिले दिएकै रूप काफी छ । तर पनि, थप रूपवती बन्ने रहरले उनीहरूलाई पछ्याइरहन्छ । विगतमा ग्रामीण लावण्यवतीहरू सुन्दरमाथि झन् सुन्दर दरिन गालामा चन्द्रमा आकारको ‘टयाटु’ खोपाउँथे, जुन कुनै समयमा ग्रामीण समाजको ‘सौन्दर्य मानक’ थियो । लोकजीवनले सकारेको त्यो ‘सौन्दर्य मानक’ लोकगीतमा यसरी प्रतिविम्बित हुन्छ ः
यो मायालाई आजै हो देखेको
दाहिने गाला चन्द्रमा लेखेको
हाम्रो लोकानुभूतिको भकारीमा जून–घाम टनाटन छ । सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजको विविधतापूर्ण लोकवाङ्मयमा जताततै जून–घामको बिस्कुन भेटिन्छ । अमूर्त लोकधनको रूपमा रहेका यस्ता सांस्कृतिक सम्पदालाई संरक्षण समृद्ध बनाउन त्यसलाई लोकहृदयमै लिपिबद्ध गर्न आवश्यक छ ।
जनजिब्रोमा झुण्डिएर बसेका यस्ता सांस्कृतिक विम्बहरू कुनै भौतिक सङ्ग्रहालयमा बाँच्न सक्दैनन्, जसको अश्रयस्थल हाम्रो मन–मस्तिष्क वा दिल–दिमाग नै हुन् । यस्ता सम्पदाको जति रचनात्मक किसिमले पुनः प्रयोग हुन्छ, त्यति नै त्यसले दीर्घजीवन पाउँछ । यसका लागि सांस्कृतिक जीवनमा विचारशीलता र कर्मठपनको झिल्को उत्पन्न हुन आवश्यक छ ।