उफ् ! फेरि कोरोना
डा. रवीन्द्र पाण्डे
कोभिड महामारीको दोस्रो लहर नेपालमा पनि फैलिएको छ । छिमेकी देश भारतमा विकराल रूप लिएको तथा खुला सिमानाको कारण हुने आवतजावत नै यो लहरको प्रमुख स्रोत हो । भारतमा तीव्र गतिमा फैलिएको यो महामारीमा बेलायतको नयाँ प्रजाति प्रमुख रहेको छ भने दक्षिण अफ्रिका, ब्राजिल तथा क्यालिफोर्नियाको प्रजाति पनि पाइएको छ । त्यति मात्र होइन, भारतमै पनि कोरोना भाइरसको ‘म्युटेसन’ भएर ‘डबल म्युटेटेड’ कोरोना भाइरस पनि फैलिएको छ । हालै भएको अध्ययनअनुसार भारतमा ‘ट्रिपल म्युटेटेड’ कोरोना भाइरस पत्ता लागेको छ । यी र यस्ता अनेक प्रजातिका भाइरसले पहिले सङ्क्रमण भएका वा खोप लगाएका व्यक्तिलाई समेत गम्भीर असर गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । कोरोना भाइरसका यी प्रजातिमध्ये हाल नेपालमा फैलिएको बेलायतको प्रजाति प्रमुख रहेको छ । अन्य पनि थोरै मात्रामा जिम्मेवार छन् । नेपालमा सबै प्रजातिको आनुवांशिक परीक्षण गर्ने सुविधा नभएको कारण कुन कुन देशको प्रजाति छ भनेर छुट्याउन गाह्रो छ । यसै पनि कोरोना भाइरस आरएन भाइरस भएकोले छिटोछिटो ‘म्युटेसन’ हुने गर्छ ।
नयाँ प्रजाति कति सङ्क्रामक ?
सुरुमा बेलायतको नयाँ प्रजाति पुरानो प्रजातिभन्दा ७० प्रतिशत बढी सङ्क्रामक भएको तथा यसको मृत्युदर कम भएको बताइएको थियो । दोस्रो लहरको असरसँगै नयाँ प्रजाति पुरानो प्रजातिभन्दा धेरै गुणा सङ्क्रामक तथा घातक भएको पुष्टि भइरहेको छ । सङ्क्रामक बढी भएपछि ठूलो सङ्ख्या सङ्क्रमित हुने, अस्पतालमा चाप पर्ने तथा जोखिम वर्गका व्यक्तिको सघन उपचारको अभावमा मृत्यु हुने सम्भावना बढी हुन्छ नै । गतसाल नेपालमा फैलिएको कोरोना भाइरस कमजोर प्रजातिको रहेको, घरकै एकान्तवासमा सामान्य उपचार गरे निको हुने खालको तथा ज्येष्ठ नागरिकलाई बढी असर गर्ने प्रकारको थियो । यस पटकको प्रजाति भने तीव्र गतिमा फैलिने गुण रहेको, गत सालभन्दा फरक लक्षणयुक्त भएको, अचानक फोक्सोमा असर गरेर अस्पतालको सुविधा आवश्यकपर्ने खालको तथा बालबालिका र युवालाई पनि जोखिमयुक्त रहेको छ । कतिपय अवस्थामा पीसीआर परीक्षणमा नेगेटिभ आउने तर छातीको स्क्यान गर्दा कोभिड निमोनिया देखिने बिरामी पनि भेटिएका छन् । यसको साथै कतिपय बिरामीमा लक्षण नदेखिने तर अचानक कोभिड निमोनिया भएर अक्सिजनसहित सघन उपचार आवश्यक पर्ने अवस्था देखिएको छ । कतिपय प्रजातिका भाइरसका लागि हाम्रो एन्टिबडीले पनि काम गर्दैन । यो निकै चुनौतीपूर्ण अवस्था हो ।
नयाँ प्रजातिका लक्षण
हाल फैलिएको कोभिड महामारीमा सङ्क्रमितका लक्षण फरक फरक रहेका छन् । गतसाल उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने एवं स्वाद र गन्ध हराउनेजस्ता लक्षण थिए । यस पटक भने यी लक्षणमध्ये केही लक्षणसहित बान्ता हुने, पखाला लाग्ने, अत्यधिक थकान हुने, रिँगटा लाग्ने, आँखा रातो हुने, छालामा बिमिरा आउनेलगायतका लक्षण पनि देखिएका छन् । बालबालिकामा उच्च ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने तथा झाडा बान्ता हुने लक्षण देखिएका छन् । कतिपय सङ्क्रमितलाई कुनै लक्षण पनि देखिएको छैन र गाह्रो भएपछि परीक्षण गर्दा कोभिड निमोनिया देखिएको छ । लक्षणविहीन हुनु र अचानक कोभिड निमोनिया भएर अक्सिजन तथा सघन उपचारको आवश्यक पर्ने अवस्था पनि देखिएको छ । केही सङ्क्रमितलाई पटकपटक पीसीआर गर्दा पनि परिणाम नेगेटिभ आउने तर केही दिनपछि कोभिड निमोनिया देखिएको पनि पाइएको छ ।
यी र यस्तै लक्षण देखिएमा, परिवारको कुनै व्यक्ति सङ्क्रमित भएमा, कार्यस्थल वा जमघटमा कुनै व्यक्ति सङ्क्रमित भएमा तथा सङ्क्रमितसँग भेटघाट भएको भए पीसीआर परीक्षण गर्नु जरुरी छ । चार÷पाँच दिन लगातार ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा तथा अक्सिजनको मात्रा ९४ भन्दा निरन्तर घटेमा तुरुन्त छातीको एक्स रे, सिटिस्क्यान तथा अन्य परीक्षण गर्नुपर्छ । लक्षण देखिएको तथा पीसीआर नेगेटिभ देखिएको अवस्थामा पनि केही दिनको एकान्तवासपछि परीक्षण गर्नुपर्छ ।
फरक प्रकृतिको महामारी
गतसाल एकै परिवारमा कुनै व्यक्ति सङ्क्रमित हुने तर बाँकी सङ्क्रमित नहुने अवस्था थियो । यस पटक भने एक जना सङ्क्रमित भएमा पूरै परिवार सङ्क्रमित हुने तथा एउटा जमघटमा एक जना सङ्क्रमित भएमा सबैलाई सङ्क्रमण भएको छ । त्यस्तै गतसालको कोभिड एकान्तवासमा बसेर तथा लक्षणअनुसार सामान्य औषधि सेवन गरेर निको भएको थियो । यसपटक चिकित्सकीय उपचार र निगरानी चाहिने अवस्था छ । सङ्क्रमणको दर गतसालभन्दा यस पटक तीव्र गतिमा बढिरहेको छ । यदि सङ्क्रमणको साङ्लो समयमै तोड्न हस्तक्षेप नगर्ने हो भने छिमेकी देश भारतमा जस्तै यहाँ पनि नियन्त्रण गर्न कठिन हुने जोखिम छ ।
गतसाल ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई धेरै जोखिम थियो । यस पटक बालबालिका, युवा तथा हरेक उमेरका व्यक्तिलाई गम्भीर असर गरेको छ । मृत्युको तथ्याङ्क केलाउने हो भने हरेक उमेरका व्यक्ति देख्न सकिन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक लगायत धेरै औषधि सेवन गरेका व्यक्तिलाई यसपटक औषधिले काम नगर्ने अवस्था दक्षिण एसियामै चुनौतीको विषय बनेको छ ।
खोपको प्रभावकारिता
नेपाल सरकारले छिमेकी राष्ट्र भारतसँग समयमै समन्वय गरेको कारण हामीले धेरै देशको तुलनामा छिटो खोप पायौँ । त्यस्तै चीन सरकारबाट पनि खोप पायौँ । त्यस्तै कोभ्याक्स सुविधाबाट पनि करिब साढे तीन लाख खोप पायौँ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति तथा ज्येष्ठ नागरिकले खोप लगाएको कारण ठूलो आत्मबल बढेको छ । सरकारले खोप किन्ने अधिकतम प्रयास गरेको छ । तर भारतमा अकल्पनीय अवस्था आएको हुँदा नेपालले खोप पाउन ढिलो हुने लक्षण देखिएको छ । युरोपका अधिकांश देशले पनि बाहिर खोप पठाउन निषेध गरेका छन् । कोभ्याक्स सुविधाबाट समेत खोप आउन ढिलो हुने देखिन्छ । खोपको उत्पादन, माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा पैसा तिरेर पनि खोप पाउने अवस्था छैन । नेपालले महामारी नफैलिएका वा कम फैलिएका चीन, रुसलगायतका देशसँग सहुलियतमा खोप किन्नेतर्फ उच्चस्तरीय पहल लगातार गरिरहनु पर्छ ।
अहिले लगाइएको तथा उत्पादन भएको खोप गतसालको कोरोना भाइरसको आधारमा विकास गरिएको हो । यो साल देखापरेका बेलायत, दक्षिण अफ्रिका, ब्राजिल, क्यालिफोर्निया लगायतका प्रजातिका भाइरसलाई यो खोपले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ । अध्ययनहरूले के देखाएका छन् भने खोप लगाएको व्यक्ति सङ्क्रमित भएमा गम्भीर हुने वा मृत्यु हुने सम्भावना तुलनात्मक रूपमा कम छ । प्रायः खोपको प्रभावकारिता ६० देखि ७० प्रतिशत हुने भएकोले खोपले सबैलाई काम नगर्न सक्छ । अधिकांश खोप उत्पादक कम्पनीले नयाँ प्रजातिका भाइरसको आनुवांशिक कोड राखेर खोपलाई ‘अपग्रेड’ गर्ने बताएका छन् । जति नयाँ नयाँ प्रजातिका भाइरस आउँछन्, त्यति नै खोपलाई‘अपग्रेड’ गर्दै ‘बुस्टर डोज’ लगाउनुपर्ने अवस्था आउँछ ।
भ्रमको खेती
कतिपय व्यक्तिले चर्चामा आउनका लागि वा अन्य निहित कारणले कोरोना महामारी केही होइन, यो षड्यन्त्र हो, मास्क लगाउनु हुँदैन, खोप लगाए क्यान्सर हुन्छ आदि प्रचार गरेको सुनिन्छ । यस्तो अवैज्ञानिक तथा सपाट झुटको खेती गर्नेलाई निरुत्साहित गर्नुपर्छ । त्यस्तै, अमूक औषधि सेवन गरे कोरोना लाग्दैन तथा कोरोना लागेमा यी–यी औषधि खानुपर्छ भनेर कडा खालका एन्टिबायोटिक चिकित्सकको सल्लाहबिना सेवन गरेको पनि देखिएको छ । यसो गर्दा एन्टिबायोटिक प्रतिरोध बढ्ने तथा एन्टिबायोटिकले काम नगर्ने अवस्था समेत सिर्जना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएको हुँदा अरू सङ्क्रमणमा बाहेक एन्टिबायोटिकको कुनै भूमिका हुँदैन । त्यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाउने नाममा महँगा ‘सप्लिमेन्ट’को व्यापार निरुत्साहित गर्नु जरुरी छ । प्रतिरोधात्मक क्षमता बढाउन पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, आराम, तनावमुक्त जीवनशैली तथा सक्रिय जीवन नै सबैभन्दा प्रभावकारी उपाय हुन् । शरीरमा कुनै तìवको अभाव नभएसम्म ‘सप्लिमेन्ट’ले कुनै फाइदा गर्दैन ।
प्राकृतिक विपत्ति तथा महामारीको समयमा आत्मबल बलियो बनाउनु जरुरी हुन्छ । यसका लागि आधिकारिक सूचना मात्र ग्रहण गर्ने, विज्ञका कुरा मात्र विश्वास गर्ने तथा सरकारको निर्देशन पालना गर्ने बानी बसाल्नुपर्छ । अनावश्यक तथा सनसनीपूर्ण समाचारको विश्वास गरेर आत्तिनु हुँदैन । महामारीको समयमा आफू, आफ्नो परिवार र समाजलाई कसरी बचाउने भनेर योजना बनाउनु जरुरी छ । के–कस्ता लक्षण देखिए कहाँ परीक्षण गर्ने, सङ्क्रमित भएमा कुन अस्पतालमा उपचार गर्ने, एम्बुलेन्सको सेवा कसरी लिने, आफूले नियमित सेवन गर्ने औषधिको कसरी व्यवस्थापन गर्ने तथा बन्दबन्दी भएमा कसरी जीविका चलाउने आदि विषयमा योजना बनाएर अगाडि बढेमा अचानक तनाव झेल्नु पर्दैन । योग, ध्यान, प्रवचन श्रवण तथा सकारात्मक सोचले मानसिक शान्ति प्राप्त हुन्छ । अस्पतालमा भर्ना हुनुपरे पनि आफ्नो मानसिक अवस्था बलियो राख्न सकेमा धेरै पीडा बोक्नु पर्दैन । आफूलाई काममा व्यस्त राखेमा मनमा नकारात्मक भावना उत्पन्न हुँदैन । आत्म अनुशासनमा बस्ने हो भने सङ्क्रमण हुँदैन र भए पनि जित्न सकिन्छ ।
महामारीमा मानवता
महामारीको समयमा सबै ठाउँमा राज्यको ध्यान नपुग्न सक्छ । त्यसैले यस्तो अवस्थामा एकले अर्कोलाई सहयोग गरेमा धेरै सजिलो हुन्छ । खाद्यान्न, औषधि, मास्क, साबुन, यातायात, आर्थिक सहयोग तथा व्यवस्थापकीय सहयोगले हाम्रो सामाजिक सम्बन्धसमेत सुमधुर हुन्छ । हरेक टोल, क्लब, संस्था आदिले महामारी रोकथामका लागि प्रभावकारी अभियान सञ्चालन गर्न सक्छन् । त्यस्तै ठूलो सङ्ख्यामा रहेका राजनीतिक पार्टीका भ्रातृ संस्थाले सचेतना तथा सहयोग अभियान सञ्चालन गर्ने हो भने जनतालाई तथा राज्यलाई ठूलो राहत मिल्छ । जनशक्ति, प्रविधि, उपकरण तथा आर्थिक सहयोगमा प्रवासी नेपालीले पनि मातृभूमिलाई सहयोग गर्ने अवसर हो यो । महामारीको समयमा विगतका द्वेष र प्रतिस्पर्धा बिर्सेर सबै एकजुट हुनुपर्छ । विरोधका कार्यक्रमलाई केही महिना स्थगित गरेर त्यो शक्तिलाई नागरिकको जीवनरक्षामा बदल्नु श्रेयस्कर हुन्छ । महामारीको बेला सरकार जनताको साथ र जनतालाई सरकारको साथ नङ र मासुजस्तै हुनुपर्छ ।
कोरोना महामारीको समयमा औषधि सेवन गरिरहेका दीर्घरोगीलाई ठूलो मार परेको छ । मुटु, फोक्सो, कलेजो, मिर्गाैला आदिको समस्या, क्यान्सरलगायत अन्य जटिल रोग भएका बिरामीको मृत्युदर घटाउन कोभिड उपचार नगरिने अस्पताल भनेर तोक्नुपर्ने हुन्छ । त्यस्तै गर्भवती, सुत्केरी र बालबालिकाको उपचार, नियमित खोप कार्यक्रम तथा अस्पतालमा ढुक्कले जाने वातावरण सिर्जना गर्नुपर्छ । मानसिक बिरामीलाई उपचारको सहज व्यवस्था गरिनुपर्छ । यदि हामीले कोभिड नभएका बिरामीलाई अतिरिक्त व्यवस्था गरेनौँ भने कोभिडको महामारीमा अन्य रोगको मृत्युदर बढ्न सक्छ ।
हाल तराई क्षेत्रका अधिकांश अस्पताल भरिभराउ छन् । अक्सिजनको चर्को अभाव छ । आईसीयू तथा भेन्टिलेटर अपुग छन् । रेमडेसेभिर लगायत औषधिको अभाव छ । काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका सहरका अस्पतालमा ठूलो चाप देखिएको छ । सीमित अक्सिजन प्लान्ट पनि बिग्रेका अवस्थामा छन् । स्वास्थ्यकर्मीलाई निकै धपेडी छ । सङ्क्रमणको साङ्लो तोड्न नागरिक जागरुकता देखिएको छैन । सीमा वारपारले सङ्क्रमण निकै बढाएको छ । घना जनसङ्ख्या भएका सहरमा कोरोना महामारी फैलियो भने नियन्त्रण गर्न युरोप, ब्राजिल तथा भारतलाई समेत हम्मेहम्मे परेको अवस्थामा हामीलाई पक्कै पनि सहज हुनेछैन । स्वास्थ्य मन्त्रालयले आगामी जेठ र असारमा दैनिक एघारदेखि पन्ध्र हजार सङ्क्रमित हुने र यो अवधिमा छ लाखभन्दा बढीलाई सङ्क्रमण हुनसक्ने प्रक्षेपण गरेको छ ।
यस्तो अवस्थामा नागरिकको जीवनरक्षाका लागि सरकारले निकै कडा पाइला चाल्नुपर्ने अवस्था सिर्जना भएको छ । गृह प्रशासन सम्पूर्ण रूपमा परिचालत भएर हरेक बस्ती, टोल र गल्लीमा माइकिङ गर्ने, पर्चा छर्ने, मास्क नलगाउनेलाई अन्य देशमा जस्तो कडा जरिवाना गर्ने, भीडभाड हुन नदिने, जथाभावी मास्क फाल्ने तथा थुक्नेलाई कारबाही गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड पालना गराउन एक पल ढिला गर्नु हुँदैन । महामारी नियन्त्रणमा हरेक मन्त्रालयको उत्तिकै भूमिका हुन्छ । त्यस्तै आवतजावतलाई नियमन गर्ने तथा रेड जोनबाट एलो जोन वा ग्रिन जोनमा आवतजावत रोक्ने, सिमानामा कडाइ गर्ने, ‘कन्ट्याक्ट ट्रेसिङ’ तथा सामुदायिक परीक्षण बढाउने, अक्सिजन तथा ‘एन्टिभाइरल’ औषधिको स्टक राख्ने, हरेक जिल्लामा अक्सिजन बेडको सङ्ख्या बढाउने, आईसीयूको क्षमता बिस्तार गर्ने, खोपका लागि पहल गर्नेलगायत काम युद्धस्तरमा गर्नु जरुरी छ । आईसीयूका बिरामीको अनुभवलाई सञ्चार माध्यमबाट प्रसारण÷प्रकाशन गर्ने एवं प्रदेश सरकार र स्थानीय निकायलाई थप क्रियाशील बनाउने काम तत्काल गर्नु जरुरी छ ।
बच्ने उपाय
अधिकांश महामारीले औषतमा तीन वर्ष लिएको इतिहास छ । कोभिडको महामारीले पनि लामो समय लिने आकलन गर्न सकिन्छ । कोरोना भाइरसको आनुवांशिक परिवर्तन भएर कमजोर हुँदै गएमा महामारी अन्त्य हुनसक्छ । यस्तो नभएमा इन्फ्लुएन्जाको जस्तै हरेक वर्ष खोप लिनुपर्ने वा कोरोना भाइरससँग ‘लिभिंग सेपरेट्ली’को अभ्यास गर्नु जरुरी छ । हामीले के बिर्सिनु हुँदैन भने महामारी अघिको संसार र महामारीपछिको संसार फरक भएको छ । यो फरकपनमा बाँच्न तथा आफ्ना गतिविधि अघि बढाउन पुरानो जीवनशैली परिवर्तन गर्नुपर्छ । यसका लागि हामीले भित्री मनदेखि आफ्ना बानी बेहोरा परिवर्तन गर्नु तथा गराउनु जरुरी छ । महामारीको अन्त्य नहुन्जेलसम्म सही तरिकाले नाक र मुख छोपिने गरी मास्क लगाउने, भीडभाड नगर्ने, भीडमा नजाने, भेन्टिलेसन पर्याप्त नभएको कोठामा बैठक वा भेटघाट नगर्ने, हरेक व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, अनावश्यक यात्रा नगर्ने, पटकपटक हात सफा गर्ने, आफ्नो पालोमा खोप लगाउने तथा स्वस्थ जीवनशैली अवलम्बन गरेर स्वास्थ्यलाई मजबुत गर्नेतर्फ मन, वचन र कर्मले लाग्नुपर्छ । कोरोना भाइरस सबैभन्दा धेरै नाकबाट र त्यसपछि मुखबाट शरीरमा प्रवेश गर्ने भएकोले नाक र मुख पूरै छोपिने गरी मास्क लगाउनुपर्छ । नाकमुनि वा चिउँडोमा मास्क झुण्ड्याउने गल्ती कहिल्यै गर्नु हुँदैन । यी जनस्वास्थ्यका मापदण्डलाई जीवनशैलीको अभिन्न अङ्ग बनायौँ भने जुनसुकै प्रजातिको भाइरस आए पनि हामी सुरक्षित हुन्छौँ । यो जीवनशैलीमा अभ्यस्त हुन नसकेमा हामी जहिले पनि जोखिममा रहन्छौँ ।