साहसिक खेल जिपलाइन
गोविन्द मरासिनी
साहसिक खेलहरूमध्ये ‘जिपलाइन’ पनि एक हो । नेपालका धेरै स्थानमा यो खेलको सुरुवात भइसकेको छ । बन्जी, प्याराग्लाइडिङले मात्र होइन, जिपलाइनले पनि नेपालमा ठूलो फड्को मारिसकेको छ । पछिल्लो समय ‘वल्र्डवाइड एड्भेन्चर प्रालि’ले सञ्चालन गरेको धुलिखेल जिपलाइनमा रमाउन पुग्ने युवाको सङ्ख्या पनि उत्साहजनक छ । काठमाडौँ उपत्यकाबाट नजिकै रहेको पर्यटकीय गन्तव्य धुलिखेलमा जिपलाइनको पनि मज्जा लिन पाइने भएपछि साहसिक खेलका पारखीहरू धुलिखेल पुग्ने गरेका छन् । पोखरामा रहेको जिपलाइनमा पुग्न नसक्नेहरू धुलिखेल पुग्ने गरेका छन् ।
काठमाडौँबाट करिब ३५ किलोमिटर यात्रा गरेपछि धुलिखेल पुगिन्छ । धुलिखेलबाट चार किलोमिटर पार गरेपछि जिपलाइन स्टेसन थाक्लेडाँडा पुगिन्छ । यही थाक्लेडाँडाबाट जिपलाइन ‘टेकअप’ हुन्छ । जिपलाइन चढ्नका लागि पहिले ओर्लने ठाउँमा लगिन्छ र त्यहाँबाट गाडीमा चढ्ने ठाउँमा पु¥याइन्छ ।
जिपलाइनलाई सिन्धुपाल्चोकका ३६ वर्षीय केदार थापा र काठमाडौँका २८ वर्षीय भूपेश श्रेष्ठ लगायतले करिब दुई वर्ष पहिले स्थापना गर्नुभएको हो । तर स्थापनाको पहिलो वर्षमै विश्वव्यापी कोभिड महामारीले ठूलै धक्का दियो । अन्य पर्यटन व्यवसायमा जस्तै यस व्यवसायमा पनि असर त ग¥यो नै । बन्दबन्दीपछि विस्तारै खुल्दै थियो तर फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी गरेको छ । त्यसैले फेरि अफ्ठ्यारो पर्ने सञ्चालक भूपेश श्रेष्ठ दुःखेसो पोख्नुहुन्छ । करिब पाँच करोड लगानी भएको जिपलाइन करिब २० रोपनी क्षेत्रफलमा पैmलिएको छ । यहाँ बालबालिकाका लागि ‘चिल्ड्रेन एड्भेन्चर क्याम्प’ पनि निर्माण गरिएको छ । नेपालका प्राविधिकसहित छिमेकी मुलुक भारत तथा अन्य राष्ट्रका प्राविधिकले यस जिपलाइनको निर्माण गरेका हुन् । यहाँ प्राविधिकसहित करिब २२ जना कर्मचारी कार्यरत छन् । जिपलाइनले आठ कोठाको सुविधायुक्त रिसोर्ट पनि निर्माण गरेको छ । यसका साथै यहाँ रूखमाथि बसेर खान मिल्ने गरी बनाइएको (ट्री अप) रेस्टुरेन्ट पनि छ ।
जिपलाइनमा तीन प्रकारको रमाइलो लिन सकिन्छ । सामान्यतया अन्य स्थानमा ‘क्लासिक’ जिपलाइन मात्र रहेकोमा यहाँ ‘सुपरम्यान’ र ‘टेन्डम’ पनि छ । ‘सुपरम्यान’ र ‘टेन्डम’ जिपलाइनका लागि यो नेपालकै पहिलो स्थान हो ।
क्लासिक जिपलाइनमा सामान्य तरिकाबाट बसेर रमाइलो गर्न सकिन्छ भने सुपरम्यानमा सुतेर डोरीमा जाने गरिन्छ । यस्तै टेन्डममा जोडी नै एकसाथ डोरीमा झुन्डिएर ओल्लो डाँडादेखि पल्लो डाँडामा पुगिन्छ ।
स्थापना भएको दुई वर्षसम्म करिब पाँच हजार व्यक्तिले यो जिपलाइन चढिसकेका छन् । जिपलाइन चढ्नेमा युवा धेरै छन् । उनीहरूमध्ये धेरैले ‘सुपरम्यान’ र ‘टेन्डम’ रोज्ने गरेका छन् । धुलिखेलको थाक्लेडाँडादेखि सुरु हुने जिपलाइन पाँचखालको खावामा पुगेर टुङ्गिन्छ । थाक्लेडाँडादेखि खावासम्म सञ्चालन भएको जिपलाइनको दूरी करिब एक हजार एक सय मिटरको छ ।
जिपलाइनमा अमेरिकी र क्यानडाली प्रविधिको गुणस्तरीय सामग्री प्रयोग गरिएको छ । खेलमा कुनै जोखिम नरहेको सञ्चालक श्रेष्ठको भनाइ छ । एउटा स्टेसनबाट अर्को स्टेसनसम्मको दूरी एक हजार एक सय मिटर छ । जिपलाइन चढ्दा लाङटाङ, दोर्जेलाक्पा, फुर्बीच्यापु लगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
‘चिल्ड्रेन एड्भेन्चर क्याम्प’ अन्तर्गत बालबालिकाहरूले बेबी जिपलाइन, भी सेप ब्रिज, टायर ब्रिज, प्लेइङ ब्रिज र हाई रोपलगायत खेल खेलेर रमाउन पाउँछन् । ससाना बालबालिका समेत यहाँ रमाउने हुनाले यो स्थान पारिवारका सबै सदस्यका लागि गन्तव्य बनेको छ । जिपलाइन चढ्न नेपालीहरूका लागि क्लासिकमा दुई हजार पाँच सय, सुपरम्यानमा तीन हजार पाँच सय र टेन्डममा चार हजार पाँच सय शुल्क लाग्छ । सार्क देशका लागि क्लासिकमा ३० डलर, सुपरम्यानमा ४० डलर र टेन्डममा ५० डलर तोकिएको छ । यसैगरी अन्य देशका नागरिकका लागि क्लासिकमा ३५ डलर, सुपरम्यानमा ४५ डलर र टेन्डममा ६० डलर तोकिएको छ । कम्पनीले पाँच सय रुपियाँ लिएर जिपलाइनको रमाइलो पलका गुणस्तरीय ‘ग्रोपो क्यामरा’बाट कैद गरिएका तस्बिर र भिडियोसमेत उपलब्ध गराउने छ । जिपलाइनले बेलाबखतमा विभिन्न अफर ल्याउँदै यो दरमा छुटसमेत दिने गरेको छ भने समूहमा जाने र विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ । यदि रिसोर्टमा ‘नाइट स्टे’ सहित रमाउनुहुन्छ भने त्यसका लागि प्याकेजको व्यवस्था पनि गरिएको छ ।