कार्टुन हिजो र आज
कार्टुन अलि फरक विधा रहेछ । जति स्वादिलो मानेर हामी आँखालाई कार्टुनमा गाढ्छौँ, त्यत्तिकै गाह्रो रहेछ बनाउने कला चाहिँ । नेपालमा नाम चलेका सबै चित्रकारहरू कार्टुन बनाउँदैनन् । कार्टुन बनाउनेहरूमा पनि लगभग ३५ जनाको मात्र चर्चा हुने गरेको छ । नेपालको कार्टुन विधाले पत्रकारिताको गरिमालाई पनि बढाएको छ । सामान्यभन्दा सामान्य पाठकदेखि लिएर विद्वान्हरू पनि कार्टुनलाई समाजको गतिविधि बुझ्ने कलाको रूपमा माया गर्छन् ।
ठूलो अक्षरमा छापिएको मुख्य समाचारभन्दा सानो कर्नरमा छापिएको कार्टुनले धेरै अर्थ बोध गराउँछ । कार्टुन कलामा कलम चलाउने काम सामान्यतः २०१२/१३ सालदेखि सुरु भएको मानिन्छ । त्यसपछि आजसम्मको यात्रामा धेरै पाठक भएका पत्र–पत्रिकाले एक÷एक कार्टुनिस्ट नै नियुक्त गरेर दैनिक कार्टुन प्रकाशित गरिरहेका छन् ।
नेपालको ६०/६२ वर्ष लामो पत्रकारिताको यात्रामा चर्चित बनेका कार्टुनिस्टहरूले जतिसुकै जटिल राजनीतिक घटनाक्रममा पनि आफ्नो कलालाई रोकेनन् । वात्सायन, खोकना, अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, अविन श्रेष्ठ, बासु क्षितिज, योगेश खपाङ्गी, देवेन्द्र थुम्केली, भानु भट्टराई, रविन्द्र मानन्धर, रवि मिश्र, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतमजस्ता कार्टुनमै रमाउने यस क्षेत्रका यात्रीहरू आफ्नो परिचय र भविष्य यही क्षेत्रमै देख्छन् ।
चन्द्रमान मास्के, मोदनाथ प्रश्रित, दुर्गा बराल, मोहनश्याम महर्जन, उज्ज्वल कुन्दन ज्यापु, टेकवीर मुखिया, अशोकमान सिं, शरद रञ्जितलगायतका हस्तीहरूले यस विधालाई स्थापित गरेको देखिन्छ ।
केशवराज खनाल स्वयम् पत्रकारिता र चित्रकारितामा परिचित नाम हो । लगभग एक दशकको कलालेखन तथा कार्टुनकारिताले उहाँलाई पुस्तक लेख्न अभिप्रेरित गरेको देखिन्छ । आफ्नो अनुभव र खोजीबाट उहाँले भर्खर मात्र ‘नेपालमा कार्टुन हिजो र आज’ नामको पुस्तक प्रकाशित गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले प्रकाशन गरेको यो पुस्तकले नेपाली कार्टुनको ऐतिहासिक पक्ष तथा आयामलाई बुझ्न निकै सघाएको छ । यसमा नेपालको कार्टुन कलाको सङ्क्षिप्त तर उपयोगी जानकारी दिने चेष्टा गरिएको छ ।
साथै विश्वमा कार्टुनको सुरुआत र प्रयोगका विषयमा समेत पुस्तक निकै जानकारीमूलक छ । त्यस्तै, पुस्तकमा कार्टुनमा चलेका विभिन्न परिवेश र तिनका विविध पाटालाई समेत केलाउन कोसिस गरिएको छ । नेपाली कार्टुनमा कला पक्षको अवस्था र त्यसको विमर्शका बारेमा पनि चर्चा गरिएको छ ।
कार्टुन प्रतिपक्षी हो यसले बाटो बिराएकालाई सही बाटो हिँड्न सहयोग गर्छ । नेपालमा पञ्चायती कालमा पनि गाईजात्राको बेला गरिने व्यङ्ग्यले शासक आफ्नो कामप्रति मूल्याङ्कन गर्न तम्सन्थे । क्यारिकेचरको पक्षलाई समेत कार्टुन कलासँग राम्ररी जोडेर प्रस्तुत गरिएको यो पुस्तक कार्टुन मन पराउने र कार्टुनको इतिहास सङ्क्षिप्तमा जान्न खोज्नेहरूका निम्ति उपयोगी छ ।
तेजविलास अधिकारी