नारी (कविता)
विमला अधिकारी देवकोटा
आफ्नो पन नभएको भीडमा
म आफैँलाई खोजिरहेको छु
मनले एकनास सोधिरहेछ
तिम्रो गन्तव्य कहाँसम्म ?
मौन छु, मसित कुनै जबाफ छैन
ऐना अगाडि बसेर
शृङ्गारिएको पहिरनमा
नियाल्दैछु आफैँलाई
शहरका ठूल्ठूला महल र
किचिरा गल्लीहरूमा
सत्य र विश्वास खोज्नका लागि
होसियार बनिरहेका छन् मेरा पाइलाहरू ।
म नारी हुँ !
कोमल हृदय भएकी
घमण्ड र सम्पत्तिले पहिचान
गुमाउन पुगेका ब्वाँसोहरूको भीडमा
नारीत्व जोगाउन त्यति सहज कहाँ छ र ?
औँसीसरि रातहरूलाई
पूर्णिमाको जून बनेर
जिन्दगीको अन्धकार हटाउने
लडाइँ लडिरहेको छु
परेलीबाट खसेका आँसु पिउँदै
व्यथाको पहाडहरूलाई लुकाएर खिस्स हाँस्दै
आफ्नो गन्तव्यमा अगाडि बढिरहेको छु
विश्वासको सानो त्यान्द्रो बोकेर
म शहर पसेकी
लड्नु छ जिन्दगीको लडाइँ
जित्नु छ विश्वास
बटुल्नु छ खुसी
चिनाउँनु छ नारीत्वलाई ।