सम्बन्ध (कविता)
विवश पोखरेल
तिमीसँगको सम्बन्धको सुनौलो पानालाई
ध्वार्र च्यातेर
मिल्काइदिएको थिएँ सडकपारि
अचम्म ! हावाले फेरि फर्काइदिएछ
अहिले कोठामा असरल्ल छरिएका
ती पानाहरू समेटिरहेछु
जहाँ दुःखेका मुटुहरू रहेछन्
रुझेका आँखाहरू रहेछन्
र रहेछन् प्रेमका जीवन्त अध्याय ।
बतासका कमजोर स्पर्शले
क्षत विक्षत हुने
कागजको घर होइन रहेछ सम्बन्ध
बादलले छेक्ने जून र
ताता घामका रापले पग्लने
बरफका पहाड पनि होइन रहेछ
सम्बन्ध त शब्द रहेछ अक्षर रहेछ
र रहेछ सुन्दर एउटा कविता ।
ऐनामा आफ्नो प्रतिविम्ब देखेर
चुच्चाले ठँुगिरहेको चराले जस्तै
ठुँगिरहँदो रहेछ सम्झनाले मन
सम्बन्ध प्रेमका इन्द्रेनी परिदृश्य र
अनुभूति रहेछन्
स्निग्ध शीतलता रहेछ जीवनको ।
चिसो हुस्सुबीच
सम्बन्धको न्यानो घाम तापेर
म सम्झिरहेछु
आवेगमा मान्छे
बाढीजस्तै अनियन्त्रित हुँदोरहेछ
चैतको आँधीजस्तै बहुला हुँदोरहेछ
द्विविधामा छु खै ! म के उत्तर दिऊँ ?
अहिले ती क्षत विक्षत पानाहरूमा
म खोजिरहेछु तिम्रा प्रश्नका सहज उत्तरहरू
तिमी मलाई प्रेम गर्छौं कि माया ?