तिम्रो रूप (कविता)
कोपिला उषा बस्नेत
बैँसले धपक्कै बलेकी तिमी
धर्तीकी परी झैँ त्यो तिम्रो रूप
देखेर तिमीलाई,
कसलाई पो जलन नहँुदो हो
कसलाई पो रहर नजाग्दो हो
रहरले सजिएकी बेहुली रूप झैँ
सौन्दर्यको अनुपम नमुना हौ तिमी
धर्तीकी परी झैँ त्यो तिम्रो रूप ।
नजर नलाउने को होला तिमीलाई
आत्मीयता नगाँस्ने को होला तिमीलाई
सोह्रै शृङ्गारले सजिएकी तिमी
बत्तिसै लक्षणले भरिएकी तिमी
अनुभूत गराउने कला हौ तिमी
धर्तीकी परी झैँ त्यो तिम्रो रूप ।
मुटुभरि तिमीलाई सजाउने मन छ
छोएर तिमीलाई महसुस गर्ने मन छ
तिमीसँग मलाई प्रेम गर्ने मन छ
ऋतुको उत्कृष्ट सृष्टि हौ तिमी
तिमीसँग आफँैलाई हराउन मन छ
धर्तीकी परी झैँ त्यो तिम्रो रूप ।
अट्टहाँस गर्दै हासेकी छौ
फर्केर नहेर्ने को होला तिमीलाई
झपक्कै फुलेरै, पिरतीमा भुलेर
मायालु मनलाई बिथोलेकी छौ
साँच्चै राम्री, साँच्चै प्यारी
वसन्त ऋतुको शिरीषको फूल
धर्तीकी परी झैँ त्यो तिम्रो रूप ।