नवयुग बोधका मिर्मिरे उषा ! (कविता)
तेजेश्वरबाबु ग्वंगः
समयलाई अलमलाउन खोजेझैँ
मलाई नि समयले च्याँखे थाप्न खोज्छ
जिन्दगी जुवाको खाल हो या,
जुवाको खाल जिन्दगी ?
अलमल, अलपत्र, अलमस्त पलपल
जुनीभरका महरूका अलमस्ती
हीनता बोधबाट अकर्मण्यता या,
अकर्मण्यता बस्बाटै हीनता बोध ?
जिन्दगीका जीवनहरू घात प्रतिघात पुञ्ज,
अथवा सीमान्तकृत युगका दुर्दशा या,
मेरो वर्तमानका हबिगत खुलाशा या,
मेरो नवयुग बोधका मिर्मिरे उषा ?
नवयुग बोधका क्षितिज उषाकालमै खुल्छ
प्रभात फेरिका पाइलाका पहल
अन्धकारका कलमश धुन्छ किरणले
धोइएपछि कसिङ्गर छर्छ किरण उषाले ।
त्यही किरणमा नुहिएर छर्छ अभिषेक
नवयुगका सुनौलो प्रहरका सामयिक
छाउँछ सार्थकता जीवन जगमा–
जय जननी ! जय मातृभूमि !! जय विश्वम्भरा आमा !!!