शनिवार |

स्वर्णिम युगका नायक


प्रकाश सायमी

प्रेमध्वज प्रधानलाई धेरैले मखमली आवाज भन्ने गर्छन् तर उनको आवाजलाई मखमली भन्नुभन्दा रेशमी आवाजभन्दा बढी फिट हुन्छ । तर मखमली आवाज नै किन भनियो यसको ताŒिवक असर केही होला भनेर इतिहास खोतल्दा पत्ता लाग्छ । रेडियो नेपालमा पहिलो पटक स्वर परीक्षा दिँदा भारतका चर्चित गायक तलत महमूदको गीत ‘जिन्दगी देने वाले’ भन्ने गीत गाएर उनी माइक्रोफोनको अगाडि उभिएका थिए ।
उनको स्वरलाई जाँच्ने त्यतिबेला वाद्यशिरोमणि गणेशलाल श्रेष्ठ थिए । उनी तलत महमूदको गीत गाएर पास भए । भारतमा तलत महमूदलाई भेल्भेट भ्वाइस अर्थात् मखमली आवाजका गायक भन्थे त्यो बेला । घटना यति हो, प्रेमध्वज र तलत महमूदको मखमली सम्बन्ध ।
पछि केही कालावधिमा प्रेमध्वजले अम्बर गुरुङको सङ्गीतमा रत्न शमशेर थापाको शब्दमा मखमली घुम्टो भित्र भन्ने गीत गाए । त्यो पनि चर्चित भयो । यसपछि झन् उनलाई मखमली आवाजका धनी भन्न थालियो ।
नेपाली सङ्गीतका मखमली आवाजका धनी वैशाख २३ गतेका दिन मध्याह्नमा रहेनन् । प्रेमध्वजको एउटा युग थियो, प्रेम, माणिक र नारायणगोपाल । यी तीनको त्रैकोणिक सम्बन्धले नेपाली सुगम सङ्गीतमा नेपाली र नेवारी गीतमा करामत ल्याएको थियो । यिनका साथमा अलि अलि दुर्गालाल श्रेष्ठ अलि अलि राममान तृषित पनि जोडिए । आफ्ना अग्रजद्वय नातिकाजी श्रेष्ठ र शिवशङ्कर मानन्धरका निम्ति यिनले अर्को खुड्किला बनाए ।
प्रेम, माणिक र नारायणगोपालको यो त्रिकोण विस्तारै फैलियो । नारायणगोपाल गोपाल योञ्जन र नगेन्द्र थापा हुँदै अझै विस्तीर्ण हुँदै अघि बढे । प्रेमध्वज आफ्ना मित्र माणिकरत्न स्थापितसित प्रेम–माणिकका जोडीका रूपमा सङ्गीत गरिरहे । प्रेम–माणिकले गजब गजबका गीत गरे– ‘यो खोलाको सङ्लो पानी खाइदिउँ खाइदिउँ लाग्छ’, ‘गोरेटो त्यो गाउँको’, ‘सागरको छातीमा’, ‘खोलानालासँग सोधी सोधी गाउँ तिम्रो खोजी’ आदि । यी गीतका साथमा प्रेम–माणिकसित तारादेवी, सुशीला कंसाकार, कन्हैया कुमार पनि जोडिए ।
तर प्रेम–माणिकको जोडी पनि पछि पेसागत जीवनले गर्दा छुट्नु प¥यो । अब प्रेम–माणिकको जोडीमा प्रेमध्वज पनि छुटे्, माणिक एक्लै भए ललितपुरको ढोँला हिटीमा ।
मखमली आवाजका धनी प्रधानसँगै नेपाली सङ्गीतको एक युगको अन्त्य भएको छ । नेपालमा प्रजातन्त्र प्राप्तिपछि रेडियोको स्थापना भयो । रेडियो नेपालबाट गुञ्जिएको पहिलो मखमली आवाज थियो, प्रेमध्वज प्रधानको ।
आफ्नी आमा प्राणदेवी प्रधान र हजुरबुबाको प्रेरणाले नेपाली सुगम सङ्गीतमा प्रवेश गरेका प्रेमध्वजले निरन्तर छ दशक नेपाली सङ्गीतमा अतुलनीय योगदान दिनुभयो । गीतमा आधुनिकता र शब्दमा माधुर्य प्रस्तुत गर्ने पहिलो पुरुष गायको रूपमा प्रधानलाई लिइन्छ । उनले उस्ताद गणेशलाल श्रेष्ठसित सङ्गीतको लय र ताल सिकेर आफूलाई सरल गायनमा सुशब्द बनाए ।
निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का निम्ति पाश्र्वगीत गाउने प्रेमध्वज नै पहिलो नेपाली गायक हुन् । जसले बलिउडका प्रसिद्ध सङ्गीतकार जयदेव बर्मनको सङ्गीतमा मङ्गेशकर परिवारकी कुशल गायिका उषा मङ्गेशकरसित युगल गीत गाए । चलचित्र ‘माइतीघर’ पश्चात् प्रेमध्वजले ‘जीवन रेखा’मा आफ्नो स्वर दिएका थिए, अम्बर गुरुङको सङ्गीतमा ।
यसपछि उनले साठी वर्ष लामो नेपाली चलचित्रको इतिहासमा ‘मायालु’, ‘अन्याय’,
‘शान्तिदीप’, ‘पच्चीस बसन्त’, ‘जीवन सङ्घर्ष’,
‘विवश’ आदिमा धेरै नायकलाई आफ्नो रेशमी आवाज दिए ।
चलचित्रमा पाश्र्वगायनमा बसेका प्रेमध्वज आधुनिक गायनमा पनि पाश्र्वमै रहे, आफ्ना साथी नारायणगोपाल गुरुवाचार्य र माणिकरत्न स्थापितलाई गायनमा स्थापित गराउनमा ।
प्रसिद्ध गायक नारायणगोपालले रेडियो नेपालमा स्वर परीक्षाको निम्ति गाएको पहिलो गीतमा प्रेमध्वज र माणिकरत्नको सङ्गीत थियो । माणिकरत्नको पहिलो हिट गीत ‘यो खोलाको सङ्लो पानी खाइदिउँ खाइदिउँ लाग्छ’मा पनि माणिकरत्नका साथमा प्रेमध्वजको सङ्गीत थियो । नेपाली सुगम सङ्गीतमा एक समय प्रेम–माणिकको सङ्गीत भनेपछि अब्बल श्रेणीको मानिन्थ्यो ।
उस्ताद भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, शिवशङ्करको सङ्गीत पछि नेपालबाट भारतीय नेपालीका माझ प्रसिद्ध हुने सङ्गीतकार थिए, प्रेम–माणिक । यो जोडीको पहिलो हिट गीत बन्यो, प्रेमध्वजको स्वरमा–

गोरेटो त्यो गाउँको खोजी खोजी थाकेँ
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

यस गीतका निम्ति प्रेमध्वज पहिलो पटक स्टेजमा गितार लिएर उत्रे । नेपाली सुगम सङ्गीतमा गितार बोकेर मञ्चमा आउने पहिलो गायक पनि प्रेमध्वज नै थिए । उनले आफ्नो गीतको निम्ति कोलकाताबाट भर्खर फर्केका रामशरण दर्नालसित गितारको माइनर कर्ड सिकेका थिए ।
नेपाली सङ्गीत जगत्मा आफ्नो निजी खर्चमा मुम्बईमा गएर गीत रेकर्ड गराउने प्रेमध्वजले त्यतिबेलाका बलिउडका चर्चित सङ्गीत संयोजक मनोहरि सिंहलाई आफ्ना सबै गीतको एरेन्ज गराएका थिए ।
नेपाल बाहिर भारतको कोलकातामा गएर एचएमभीको निम्ति उनले रेकर्ड गराएको पहिलो गीत, रवीन्द्र शाहको शब्दमा, आफ्नै सङ्गीतमा
‘तिमी आयौ मेरो दिलमा’ थियो । यस गीतले उनलाई पूर्व पश्चिम मात्र होइन, दशैदिशामा नयाँ परिचय दियो । गत महिना मात्र यस गीतको रचनागर्भबारे उनी पङ्क्तिकारलाई भन्दै थिए, यो मैले बाहिरी सङ्गीतको प्रभावबाट बनाएको अलि फरक शैलीको गीत थियो । खूब चल्यो त्यो बेला ।
अङ्ग्रेजी फिल्म ‘कम सेप्टेम्बर’बाट प्रभावित यस गीतपछि प्रेमध्वजले आफ्ना समकालीनका माझ अलग्ग र स्पष्ट छाप बनाए । उनले उस्ताद गोविन्दलाल, भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, शिवशङ्कर, अम्बर गुरुङ, मनोहरि सिंह, ज्ञानबहादुर श्रेष्ठ, सीके रसाइली, बसन्त क्षेत्रीदेखि नयाँ पुस्ताका सङ्गीतकार अनिल शाही, सचीन सिंह, ज्योति घिमिरेको सङ्गीतमा सम्म गाएका छन् भने शरण–रञ्जितको जोडी टुटेपछि रञ्जीत गजमेरको सङ्गीतको पहिलो गीत पनि प्रेमध्वजले नै गाए, पिटर जे कार्थकको शब्दमा ।
नेपाली र नेवारी भाषामा समान रूपमा गीत गाएका प्रेमध्वजले आधुनिक बाहेक राष्ट्रिय गीत पनि प्रशस्त गाएका छन् । भूपि शेरचनको शब्दमा ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छन्’, दमननाथ ढुङ्गानाको शब्द, उस्ताद गोविन्दलालको सङ्गीतमा ‘यही हो नेपाल, नेपालीको घर’ उनका लोकप्रिय राष्ट्रिय गीत हुन् ।
आधुनिक, फिल्मी र राष्ट्रिय गीतबाहेक उनले लोकगायक झलकमान गन्धर्वको सङ्कलनमा गाएको लोकगीत अझै पनि यादगार मानिन्छ–

यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो बासना ...

यो गीतले गोरखाको पालुङटारलाई निकै चर्चामा ल्याएको थियो ।
माओवादीको एक सम्मेलनमा राजनीतिज्ञ डा. बाबुराम भट्टराईले यही गीत गाएर एउटा सभा सञ्चालन गर्नु भएको थियो, माओवादी टुुक्रिनुअघि ।
सिन्धुपाल्चोकको चौतारामा जन्मेका प्रेमध्वजले आफ्नो गीतमार्फत् गोरखाको पालुङटारसित सम्बन्ध जोडे । त्यसले नेपाली सुगम सङ्गीतको अनुसेवीको पोखराको बाटुलेचौरका गान्धर्वजातिका गायक झलकमानप्रति गरिएको सम्मानको पनि सङ्गीत समीक्षकले खुलेर इतिहास लेख्छन् ।
गायनका हिसाबले प्रेमध्वज आफ्ना साथी माणिकरत्न र नारायणगोापल भन्दा एकदशक अघि ध्वनिमा आएका हुन् । ख्याति पनि उनलाई यी दुईलाई भन्दा पहिल्यै मिल्यो तर प्रेमध्वजमा एक रति पनि त्यो अहम् र घमन्ड कहिल्यै देखिएन ।
भन्छन्, प्रेमध्वज नेपाली वर्णमालाको पूर्णविरामजस्तै सीधा छन् तर उनले नेपाली सङ्गीतलाई पूर्णविराम लाग्न दिएनन् । उनले आधुनिक गायनमा मेलोडी अर्थात् मधुरताको श्रीगणेश गरे । उनले श्रीगणेश गरेको मधुरगायनको स्वरगाथालाई पछि कन्हैयाकुमार, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, उदय सोताँग, यम बरालसम्मले कायम गरे । नेपालमा मेलोडी गायनको श्री गणेश गर्ने यी गायकको संयोगले पहिलो नाउँ गणेश नै थियो ।
रत्नध्वज प्रधानको एक्लो छोरा गणेशध्वज प्रधानलाई स्कुल भर्ना गर्दा स्कुलका हेडमास्टर प्रेमबहादुर श्रेष्ठले तिमी जस्तो सुन्दर केटाको नाउँ प्रेम हुनुपर्छ भनेर प्रेमध्वज प्रधान राखिदिएका थिए ।
आवाजको दुनियाँमा अर्कै विशिष्टता बोकेर आएका प्रेमध्वजले आफ्नो समयमा धेरै प्रेमिल युगल गीतहरू गाए । जसध्ये तारादेवीसित गाएको युगल गीत ‘ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी’ सदावहार नै बन्यो । किरण खरेलको शब्द र शिवशङ्करको सङ्गीतको यो युगल गीत रेडियो नेपालको इतिहासमा फर्मायसी कार्यक्रममा सबभन्दा बढी बज्ने गीत हो ।
प्रधानले आफ्ना अग्रज अनुज सबै पुस्ताका स्रष्टाका गीत गाएका छन् । रत्न शमशेर थापा, मबीवि शाह, तुँगमर्दन थापा, यादव खरेल, चन्द्रमीत लक्सम, मिरन शाह, रत्नलाल श्रेष्ठ, ईश्वर श्रेष्ठ, राजेन्द्र थापा, राजेन्द्र रिजाल, डा कृष्णहरि बराल, उषा शेरचन, डा गीता त्रिपाठी आदि । आफ्नो पुस्ताकी गायिका तारादेवीदेखि पछिल्लो पुस्ताकी गायिका मीना पोखरेल निरौला, इन्दिरा जोशीसम्म पनि उनी युगल गीतमा उभिएका छन् ।
युगल गीत होस् वा एकल गीत प्रेमध्वजले त्यसमा पु¥याउने आफ्नो योग्यताको छविमा कसैले दाग लगाउन सक्दैनन् । चलचित्रमा जुनसुकै नायकका लागि गीत गाउँदा चरित्रअनुसारको भावभङ्गीमा प्रकट गर्न सक्नु उनको शतप्रतिशवादी छवि हो ।
चलचित्र ‘जीवन रेखा’मा अम्बर गुरुङको सङ्गीतमा किरण खरेलको शब्दमा गाएको गीत ‘हाँस्ने रहरहरू आँसुमा डुबेछ’ नेपाली चलचित्रको उत्कृष्ट गीतमध्ये एक मानिन्छ भने ‘तिम्रो नाम अझै छ’ ओठमा सर्वप्रिय उत्कृष्ट गीतमध्ये एक मानिन्छ ।
गीतसङ्गीतको हरेक दशाब्दीमा हिट गीतको आरेख बनाएका प्रेमध्वज प्रधानले आफ्नै सङ्गीतमा गाएको ‘माया नमार मायालु’ ‘दिल नतोड मायालु’ भर्खर भर्खर सङ्गीत सिक्नेका निम्ति गितारको पहिलो पाठ मानिन्छ ।
प्रेमध्वज ती भाग्यमानी नेपाली गायकमध्ये हुन्, जसले भारतको बलिउडमा गएर फिल्मफेअर अवार्डमो एकल प्रस्तुति दिएर आफ्नो चमक देखाएका थिए । उनको यो प्रस्तुति देखेर पचासको दशकका प्रसिद्ध सङ्गीतकार खैय्यामले उनलाई मुम्बईमा बस्न अनुरोध गरेका थिए ।
जयदेव, खैय्याम, आरडी बर्मन, मनोहिर सिंहको साथ पाएर पनि उनी मुम्बई बस्न मानेनन् । आफ्नी एक्ली आमाको साथ छोड्न नसेकर उनी नेपाल फर्के र अन्तिम समयसम्म नेपाली सङ्गीतलाई साथ दिइरहे ।
मातुभूमिलाई माया गर्ने प्रेमध्वज ती विरलकोटिका गायकमध्ये हुन् जसलो आफ्नी आमाको सङ्गीतमा गीत गाउन पाए । स्मरणीय रहोस्, प्रधानकी आमा प्राणदेवी दरबारकी प्रिय गायिका थिइन् ।
आफ्नी आमाको शब्द र सङ्गीतमा गाएको गीतले इतिहास बनाउने प्रेमध्वजले २०१६ सालको चुनावमा कमरेड पुष्पलाल श्रेष्ठको निम्ति कवि दुर्गालाल श्रेष्ठको रचनाको चुनावी गीत गाएर लहरीमा यात्रा गरेका थिए । उनको स्मृति अनुसार चुनाव प्रचारमा गीत गाउँदा नारायणगोपालले तबलामा साथ दिएका थिए ।
गायक नारायणगोपालसित जोडिएको एउटा अविस्मरणीय इतिहासमा उनी सधैँ सम्झन्थे– नारान रेडियो नेपालमा स्वरपरीक्षा दिन जाँदा मेरो अफिसमा आएर मेरो साइकल मागेर लगेका थिए ।
नारायणगोपाल र उनको साङ्गीतिक यात्रा साइकलको दुई पाङ्ग्राजस्तै छुट्टियो । दुवैले एक अर्काको गीत त्यसपछि कहिल्यै गाएनन् तर सम्बन्धचाहिँ सधँै यथावत् रह्यो, निकट र स्नेही । नारायणगोपाल र उनकी आमा प्राणदेवी घनिष्ठ मित्र थिए भने नारायणगोपालकी पहिलो प्रेमिका बेबी (बोलाउने नाउँ) र प्रेमध्वज त्यस्तै घनिष्ठ थिए ।
नारायणगोपालको निधनपश्चात्् स्थापित नारायणगोपाल सङ्गीत कोषले आयोजना गरेको आधुनिक गायन प्रतियोगितामा उनी सम्मानित निर्णायक थिए । यसरी उनी नारायणगोपालसित सदैव जोडिइरहे । नारायणगोपाल, तारादेवी, नातिकाजी, शिवशङ्कर, अम्बर गुरुङको प्रस्थानपछि प्रेमध्वज नेपाली आधुनिक सङ्गीतका अन्तिम महान् गायक थिए, जसलाई नेपाली सङ्गीतको परिवर्तनका एक सूत्रधार मानिन्छन् ।
प्रेमध्वजको निधनले नेपाली सङ्गीतमा अपूरणीय क्षति भएको छ । यसमा दुई मत छैन तर उनको अनुपस्थितिले नेपाली सङ्गीतमा बर्खी परेको छ । आधुनिक सङ्गीतमा यति ठूलो क्षति हुँदा प्रधानको बिदाइमा सङ्गीत नाट्य एकेडेमी वा प्रज्ञा प्रतिष्ठान अथवा राज्य सञ्चालनका तर्फबाट शून्य उपस्थिति थियोे ।
विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजले १५ वर्षको उमेरदेखि नेपाली सङ्गीतको सेवा गर्दै आएको सत्य हो । नेपाली भाषीका निम्ति एक प्रमुख गायकका रूपमा चिनिएका प्रेमध्वजको युग नै नेपाली सङ्गीतको स्वर्णिम युग मानिन्छ ।