समाचार सुनाइने डाँडा
दीपेन्द्र राई
तुवाचुङ, रावाचुङ, सोरोचुङ र बोतोचुङजत्तिकै लावाचुङको ऐतिहासिक तथा साँस्कृतिक महत्व रहेको छ । तुवाचुङलाई केन्द्र मानेर हलेसीगढी (दुर्छिम), लावाचुङ (धितुङ) र खोक्चिलिपा पँधेरो
(सल्ले)लाई तीन चुला ठानेर ऐतिहासिक तथा साँस्कृतिक पाटो जोड्न खोजिँदै छ । हलेसी महादेवस्थान विकास समितिले किराती चुलाको दर्शनलाई आधार बनाएर हलेसीगढी, लावाचुङ र खोक्चिलिपा पँधेरोलाई तीन चुला मानेर ऐतिहासिक तथा साँस्कृतिक पाटो जोड्न खोज्दा लावाचुङ हिमालसरी अग्लिने नै भयो ।
चाम्लिङ राई भाषामा लावाचुङलाई मृतात्मा बस्ने डाँडा भन्ने गरिन्छ । चारैतिर जङ्गलले घेरिएको लावाचुङलाई साँस्कृतिक वन भन्दा अत्युक्ति नहोला । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, खोटाङमा रहेको लावाचुङको सुन्दरता भनेकै मुन्दुमी बोटबिरुवा र जडीबुटी पाइनु हो । ‘यहाँ वारिमेरी (वारिबुङ, मेरिबुङ) पाइन्छन् । किरात राई समुदायलाई माछाक्मा (पितृ) गर्दा वारिमेरी नभई हुँदैन,’ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ चिउरीबोटेका शिक्षक रकम रोदुङले जानकारी गराए, ‘वाडाको (पानीपूजा) गर्दा चाहिने क्रावाबुङ, मिछोलीबुङ पनि पाइन्छन् । त्यसबाहेक दवैबुङ (लालीगुराँस), बुङातुङ (कुरिलो), कुङ्ग्रापा, सालिकाबुङ, नाकिबुङ, द्वारेबुङ, जोगीबुङ, लिम्चुङबुङ, लुङ्टोरीबुङजस्ता वनस्पति पाइन्छन् । अपवादबाहेक धितुङे राईले पितृकार्य गर्दा वारिमेरीलगायत मुन्दुमी वनस्पति र फूलहरू लिन लावाचुङ पुग्नैपर्छ ।’
संस्कृतिकर्मीसमेत रहेका रोदुङका अनुसार लावाचुङको पश्चिमपट्टि सखुवा र सल्लेनी वन रहेको छ । दक्षिणपट्टि पनि सल्ला सुसाइरहेका हुन्छन् । पूर्व र उत्तरपट्टि मुन्दुमी बोटबिरुवा र जडीबुटी मगमगाइरहेका हुन्छन् ।
वनभोज स्थलका रूपमा समेत रोज्जा ठाउँ मानिएको लावाचुङमा वैशाखे पूर्णिमा (उँभौली)मा स्थानीय राई समुदायले सालिन्दा संसारीपूजा गर्छन् । गाउँघरमा देसान–मसान लाग्दा लावाचुङ पुगेर पूजाआजा गरिन्छ ।
लावाचुङबाट हलेसीगढी र खाम्तेलगढी प्रस्टै देखिन्छ । खाम्तेलगढी र हलेसीगढीबीचमा पर्ने लावाचुङलाई रुङहोर्खा चुङ पनि भनिन्छ । समाचार सम्प्रेषण गर्ने डाँडालाई चाम्लिङ राई भाषामा रुङहोर्खा चुङ भन्ने गरिन्छ । लावाचुङ समाचार सम्प्रेषण गर्ने गतिलो थलो मानिन्थ्यो । हलेसीगढीको समाचार खाम्तेलगढी र खाम्तेलगढीको समाचार हलेसीगढीतिर सम्प्रेषण गर्दा लावाचुङ पुगेर जानकारी गराइन्थ्यो ।
दुवैतिरका गढीका समाचार सम्प्रेषण गर्न यो डाँडा उपयुक्त मानिन्थ्यो । ‘यो परम्परा पञ्चायतकालसम्म रहेको थियो । पछिल्लो समय हर्कजङ्ग राईले लावाचुङबाटै दुवै गढीका समाचार सम्प्रेषण गर्थे,’ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ चिउरीबोटेका ७१ वर्षीय मौलसेर राईले सुनाए, ‘संवत् २०३३÷०३४ तिर पनि हलेसी गाउँ पञ्चायत सदस्य राईले त्यो भूमिका निर्वाह गर्थे । उनले समाचार सम्प्रेषण गरेको मेरै कानले सुनेको हुँ ।’
‘सामरिक केन्द्रसमेत मानिएको लावाचुङमा किरातीका हातहतियार उत्पादन गरिन्थ्यो,’ हलेसी तुवाचुङ नगरपालिका–७, तल्लो कात्तिकेनिवासी जितराज राईको भनाइ छ । विभिन्न कोणबाट त्यत्तिकै महŒव मानिने लावाचुङलाई पर्यटकीय स्थल बनाउन धितुङवासी लागिपरेका छन् । मृतात्मा रहने ठाउँ, समाचार सम्प्रेषण गर्ने डाँडालाई साँस्कृतिक वनका रूपमा समेत विस्तार गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास गरिँदै छ । वनसम्बन्धी अध्ययन गर्न चाहनेलाई त लावाचुङ सानो–सानो पाठशाला नै हो ।
एकताका लावाचुङलाई समेटेर भँगेरी सामुदायिक वन गठन गरिएको थियो । गठित वन समितिले काम गर्न छाडेको थुप्रै भयो । स्थानीयले लावाचुङमा विनारोकतोक घाँस–दाउरा गर्दै आएका छन् । घाँस–दाउरा गर्दा मुन्दुमी बोटबिरुवा मासिँदै गएका छन् । तसर्थ, लावाचुङको ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक महŒव जोगाउन लावाचुङ संरक्षण समिति गठन गरिएको छ । समितिले लावाचुङमा भएका मुन्दुमी बोटबिरुवा जगेर्ना गर्ने र मासिँदै गएकालाई फेरि रोप्ने भएको छ ।
स्थानीयले लावाचुङलाई लाहाचुङ पनि भन्ने गर्थे । लाहा पाइने भएकाले यस डाँडालाई लाहाचुङ भन्ने गरिएको कतिपयको ठम्याइ छ । ‘केको पाइनु नि,’ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडाध्यक्ष पृथ्वीराज राईको भनाइ छ, ‘यहाँ न पहिले न अहिले लाहा पाइन्छ । बरु लावाचुङको ‘वा’को सट्टा ‘हा’ उच्चारण गरेर लाहाचुङ भन्न थालिएको हो ।’ त्यसैले लाहाचुङ नाम परिवर्तन गरेर खास प्राचीन नाम लावाचुङ प्रचलनमा ल्याइएको छ ।