शनिवार |

गुडबाई राजेन्द्र सर

लक्ष्मणप्रसाद गौतम


राजेन्द्र सर,

अक्षरहरूमा हामीलाई छाडेर, अझ भनौँ अक्षरहरूमा मात्र आफू बाँचेर तपाईंको यो महाप्रस्थानलाई मेरो ब्रह्मले पटक्कै पत्याउन सकेको छैन ! नपत्याए पनि, पत्याउन नमाने पनि यही अन्तिम सत्य त छ अहिले हाम्रा अगाडि ! तपाईंलाई औपचारिक श्रद्धासुमन लेख्न हात कामिरहेका बेला कसरी पोखूँ म तपाईंको विराट् व्यक्तित्वलाई ! हो, म स्तब्ध छु, निःशब्द छु !
इलामको क्याम्पस प्रमुखदेखि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र विभागीय प्रमुखसम्म, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षदेखि अनेक प्राज्ञिक सङ्घ संस्था र निकायका जिम्मेवारीपूर्ण अहम् भूमिकासम्म कहाँ–कहाँ सम्झुँ तपाईंलाई ! तपाईंले कोटेश्वरको सेतीओपी मार्गको एउटा घरलाई मात्र शून्य बनाउनुभएको हो र ? अहिले सिङ्गो साहित्यिक जगत् तपाईंको अभावमा शून्यता पालेर बसिरहेको छ । यति चाँडै तपाईंले महाप्रस्थान गर्नुहोला र निर्वाण प्राप्त गर्नुहोला भनेर मैले कल्पना पनि गरेको थिइनँ । प्राज्ञिक जगत्को उज्यालो नक्षत्र हराएको दिन आज साँच्चै अँध्यारो–अँध्यारो छ, चारैतिर राजेन्द्र सर !
पाँचथरमा २००२ सालमा आँखा खोलेर उदाएको रासु, विरोचन, विरूपाक्ष छयहत्तर वर्षमा काठमाडौँको यो महामारीको ताण्डव–भुमरीमा परेर सधैँका लागि अस्ताएको छ । साढे पाँच दशकको निरन्तर प्राज्ञिक साहित्यिक यात्रामा लागिरहनुभयो, घोटिइरहनुभयो । तपाईंको निरन्तर साधना र तपस्याको साक्षी म पनि त छु नि ।
२०२४ को ‘समर्पण’ पत्रिकामा ‘युवकको उद्देश्य’ निबन्ध प्रकाशित भएपछि थालिएको साहित्ययात्रामा अस्तिसम्म पनि लेख्दै हुनुहुन्थ्यो तपाईं । साढे पाँच दशकको यात्रामा लिखित र सम्पादित गरी शताधिक कृतिमा मात्र तपाईंको उपस्थिति देख्न विवश हामी तपाईंलाई आत्मैदेखिको श्रद्धाका दुई थोपा आँसुबाहेक के नै दिन सक्छौँ र अब !
कुन विधामा तपाईंको कलम चलेन र राजेन्द्र
सर ! ‘सुद्युम्न’, ‘स्वप्न संसार’ र ‘धितोकोख’ उपन्यासमा पौराणिक आख्यान र दर्शनदेखि सरोगेट मदर हुन विवश नारीका कथा र व्यथासम्मका कुरालाई पनि तपाईंको कलमले वाणी दिएको छ । तपाईंले आफ्नो उपन्यासमा खिचेको पुराणदेखि आजको समाजसम्मका विम्बचित्रको तेरिज कति घतलाग्दो छ हगि ?
नेपाली निबन्धमा त तपाईंलाई मैले धवलागिरि र नीलगिरिभन्दा कहिल्यै सानो देखिनँ । ‘खाली सिसी पुराना कागज’ केवल खाली सिसी र पुराना कागजमात्र पनि त थिएनन् नि । सीमान्तीकृतहरूका पीडा र कर्मशीलताका साथै अनेक सामाजिक यथार्थ र वर्तमानका कुरूप असङ्गतिप्रति तपाईंको व्यङ्ग्य, तपाईंको यथार्थचित्र अति नै र साँच्चै मीठो लाग्यो भनेर सायद अब कोही भन्न आउने छैन तपाईंसँग ।
‘अब मेरो क्यासेट बन्द हुन्छ’ तपाईंको बेजोड निबन्धसङ्ग्रह हो भन्ने कुरा अब कसले भन्ला तपाईंलाई ? व्यङ्ग्यचेतना र दर्शनको प्रयोगशाला बनेको चिन्तनशील तपाईंको यस कृतिका निबन्धले मान्छेको माइन्डवास गर्छन् राजेन्द्र सर ! ‘आफ्नै यात्रा ः आफ्नै परिवेश’ भित्रका निबन्धमा तपाईंले आफूलाई कत्ति पनि नढाँटीकन पोख्नुभएको यथार्थ र आफ्ना यात्राका निजात्मक अनुभूतिलाई मीठो तरिकाले व्यक्त गर्ने तपाईंको कलमले सधैँका लागि विश्राम लिएको कुरा मनमा आउँदा पनि झसङ्ग हुन्छ मेरो मन ।
छोडिजाने कैयौँ स्रष्टालाई नेपाली साहित्यमै पहिलोपटक तपाईंले निबन्धहरूमा ‘गुडबाई छोडिजानेहरूलाई’ भन्दै बिदाइका हात हल्लाउनुभयो । यसै निबन्ध कृतिमा चौधजनालाई तपाईंले गुडाबाई ! को हात हल्लाएपछि आज म तपाईंलाई भन्न विवश छु– ‘गुडबाई ! राजेन्द्र सर ! गुडबाई !’ तपाईं जहाँ रहनुहुन्छ, शान्तिसँग रहनुहोला ! तपाईंलाई फेरि गुडबाई ! भन्न म आउने छैन ! मलाई थाहा छ– समयले अहिलेको कुरूप अनुहार नदेखाएको भए तपाईंलाई आर्यघाटबाट हजारौँले अश्रुपूरित नयनले ‘गुडबाई !’ भन्दै बिदाइको हात हल्लाउँथे र शिर झुकाएर तपाईंप्रति श्रद्धा जनाउँथे । त्यही एउटा कुनामा म पनि गह्रुँगा हातले तपाईंलाई ‘गुडबाई राजेन्द्र सर’ भन्न आउँथेँ तर आज घरको एउटा कोठाभित्र कैद भएर तपाईंलाई मनमनै ‘गुडबाई’ भन्न विवश छु !
तपाईंले ‘अनन्त यात्रा’ निबन्धसङ्ग्रहमा पनि त छोडिजाने स्रष्टाहरूलाई अर्थात् अनन्तयात्रामा त्यसरी नै महाप्रस्थान गर्नेहरूलाई ‘गुडबाई’ भनेर बिदाइका हात हल्लाउँदै तिनीहरूप्रति गहिरो शब्दश्रद्धा व्यक्त गर्नुभएको थियो । मलाई थाहा छ– पहिलो ‘गुडबाई ! छोडिजानेहरूलाई’ कृतिको तेह्र वर्षपछि अर्को ‘गुडबाई !’ तयार गर्नुभएको थियो । त्यसले अनुहार देखाउन नपाउँदै तपाईं आफैँ हामीलाई ‘गुडबाई !’ को हात हल्लाउँदै महाप्रस्थान गर्नुभयो ! निःशब्द छु, राजेन्द्र सर !
‘म हुँ औँला नकाटिएको एकलव्य’ पनि तपाईंको बेजोड निबन्ध कृति हो । राजनीतिक, सामाजिक विकृति र विसङ्गति तथा दर्शन र मिथकको कति गहिरो विश्लेषण गर्नुभएको छ तपाईंले । ‘जीवनको गोप्य शीलबन्दी खाम’भित्र तपाईंले हेरेको, देखेको, भोगेको र विश्लेषण गरेको जीवनको गहिराइ बुझ्न दर्शनकै गहिराइ त छिचोल्नुपर्छ नि ! धर्म, कर्म, संस्कार र तीर्थाटनप्रतिको तपाईंको गहिरो आस्था सायद कमैलाई थाहा होला । ‘तीर्थपर्यटन’भित्रका धार्मिक, साँस्कृतिक निबन्धहरूले तपाईंभित्रको आस्थाशील व्यक्तित्वलाई राम्रोसँग देखाएका छन् । नेपाली साहित्यका भानुभक्तसम्बन्धी कार्यक्रमहरूका अझ भनौँ भानुभक्तमाथिका निबन्धहरूले दिएका पृथक् स्वादका निबन्धहरूको सँगालो ‘सम्राट्का सीमारेखाभित्र र बाहिरका भानुभक्त’लाई सम्झिरहेको छु, यति बेला । पौने दर्जन निबन्ध कृतिहरूमा तपाईंलाई पढेपछि तपाईंभित्रको पृथक् मान्छे चिनेको हुँ मैले ।
राजेन्द्र सर, तपाईंको विराट् कवित्वलाई छाम्न अलि ढिला गरँेछु मैले । ‘आत्मनिर्माण’ महाकाव्यमा तपाईंले दिएको दर्शनको गहिराइ र ‘आरोहण’ (संयुक्त महाकाव्य)मा तपाईंले खिचेको मान्छेको अद्भुत चित्र साँच्चै अद्भुत देखेँ मैले । शास्त्रीय वार्णिक छन्दका सुललित पद्यहरूमा तपाईंले छोडेको काव्यकलाबाट अभिभूत भएको छु म ।
नेपाली समालोचना क्षेत्रका दिग्गज व्यक्तित्व राजेन्द्र सर, तपाईंले करिब दुई दर्जनजति आफ्ना समालोचनामा ज्ञान र प्रतिभाको जुन अतुल गहिराइ दिनुभएको छ, त्यसबाट निकै उपकृत भएको छ– नेपाली वाङ्मय जगत् । ‘विषय गहन सतह चिन्तन’, ‘स्रष्टासृष्टि द्रष्टादृष्टि’, ‘समवर्ती साहित्यकार र झपटबहादुर राणा’, ‘केही समीक्षण ः केही विश्लेषण’, ‘नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति’, ‘सृजनविधाका परिधिमा पारिजात’, ‘सृजनविधाका परिधिमा ध्रुवचन्द्र गौतम’, ‘सृजनात्मक लेखन ः सिद्धान्त र विश्लेषण’, ‘नेपाली समालोचना ः परम्परा र प्रवृत्ति’, ‘काव्यनिबन्ध केन्द्रका देवकोटा’,
‘चलचित्र सिद्धान्त र नेपाली चलचित्र’, ‘समसामयिक नेपाली उपन्यास’, ‘समसामयिक नेपाली उपन्यास’–(२), ‘साँस्कृतिक अध्ययन र नेपाली साहित्य’ लगायतका धेरै समालोचना कृतिमा जीवन्त हुनुहुन्छ तपाईं । समालोचनामा तपाईंले के लेख्नुभएन र ! जीवनीपरक, व्यक्तित्वपरक, कृतित्वपरक, साहित्येतिहासपरक, सैद्धान्तिक, प्रायोगिक सबै–सबै किसिमका समालोचनामा त जीवन्त हुनुहुन्छ नि तपाईं अब !
तपाईंले सम्पादन गरेका असङ्ख्य कृतिहरूको फेहरिस्त म दिन सक्दिनँ राजेन्द्र सर ! देवकोटाका निबन्धको त तपाईं आधिकारिक व्याख्याता !
तपाईंको सम्पादन कलाको पृथक् र व्यापक पाटो कसरी उतारुँ ? हो, एउटा कुरा भन्न मन लाग्यो– ‘रत्न वृहत् नेपाली समालोचना’ (भाग १ र २) जस्ता विराट् ग्रन्थहरूको सम्पादनमा तपाईं र मेरो सहकार्य साँच्चै उपलब्धिपूर्ण रहेको कुरा भनिरहन पर्ला र ? तेस्रो भागको पनि अन्तिम तयारी हुँदै थियो । अन्तिमपूर्वको सम्पादन चलिरहेको थियो । यसैबेला तपाईंले महाप्रस्थान गर्नुभयो । तपाईंसँगको सहकार्यको यो अन्तिम चिनो चाँडै आउनेछ राजेन्द्र सर !
कोटेश्वरको घरको तेस्रो तलाको बाहिरी कोठा ! पुस्तकका दराज, उत्तरतिर फर्केका तपाईंका कुर्सी टेबल ! दायाँतिर आगन्तुक बस्ने सोफा र कुर्सी ! जतिपटक म तपाईंकहाँ पुगेँ नि ! त्यही कुर्सीमा, त्यही टेबुल अगाडि तपाईं अगाडि पुस्तकहरू फिँजारेर, खुलेको ल्यापटपलाई अलि पर सारेर हातले अक्षरहरूसँग खेल्नुहुन्थ्यो र मुखले मसँग संवाद पनि गर्नुहुन्थ्यो तपाईं ! कति अद्भुत क्षमता थियो तपाईंसँग !
आदरणीय राजेन्द्र सर ! अब तपाईं कहिल्यै त्यस कुर्सीमा बस्नुहुन्न हगि ? अब त्यस टेबुलमाथिको ल्यापटपमा तपाईंका औँलाहरू चल्ने छैनन् र फिँजारिएका पुस्तकका अगाडि अग्लो कदको भव्य व्यक्तित्व देखिने छैन हगि ? ‘लक्ष्मणजी ! बागबजारको पाठ्यसामग्रीमा अथवा मेरो घरमा यति बजे भेटौँ न !’ अब तपाईंले कहिल्यै भन्नुहुने छैन यो वाक्य ! यस्तै सयौँपटकका वाक्यबाट हामीले सयौँपटक साक्षात्कार गरेका थियौँ । यी सबै स्मृतिशेष त भए नि अबदेखि !
कति भनूँ तपाईंका बारेमा ! तपाईंको स्वार्थ भाषासाहित्य र भाषासाहित्यका साधकबाहेक केही भएन । तपाईंले लेखेका सयौँ फुटकर समालोचना, कार्यपत्र, भूमिका, मन्तव्य आदिका शब्दशब्दमा तपाईं नै सञ्चरित हुनुहुन्छ नि ! हो, अब सायद तपाईं तिनै शब्दहरूमा बाँचेर आलोक छर्नुहुनेछ । शब्दहरूमा अक्षरहरूमा अनन्त जीवन बाँचिरहनुहोस् सर !
तपाईंले आफ्नो शैक्षणिक यात्राको करिब चार दशकको अवधिमा हजारौँ विद्यार्थीलाई पढाउनुभयो, शिक्षित बनाउनुभयो तर साँच्चै दीक्षित (विश्वविद्यालयको औपचारिक दीक्षित होइन) कति भए, म भन्न सक्दिनँ तर तपाईंलाई साँच्चै प्राज्ञिक अभिभावक ठान्ने धेरै व्यक्तित्वहरू मैले देखेको छु । जीवनभर तपाईं सधैँ अरूका लागि खट्नुभयो, अरूकै लागि घोटिनुभयो, आफ्ना लागि ? अहँ, त्यो कहिल्यै थाहा पाइनँ मैले ।
संस्कृत तथा संस्कृतिप्रतिको तपाईंको निष्ठा; संस्कृत, नेपाली र अङ्ग्रेजी भाषामाथिको तपाईंको दख्खल, पूर्वीय पाश्चात्य समालोचनाका नयाँ चिन्तनलाई पचाएर लेख्ने शैली र ज्ञानको गहिराइ यिनै त हुन् अब तपाईंका जीवन्त सम्पत्ति !
नेपाली विषयमाथि निष्ठा र समर्पण थियो तपाईंको, त्यही भएर त तपाईं ‘मास्टर’ मात्र हुन चाहनुभएन ! त्यो निष्ठा र समर्पण अर्को पुस्तामा हस्तान्तरणका लागि तपाईं प्रयत्नशील रहनुभयो । यही भएर त तपाईं त्यही राजेन्द्र सुवेदी हुनुहुन्छ नि !
राजेन्द्र सर, कक्षाका औपचारिकतामा तपाईं मेरो गुरु हुनुहुन्छ । २०४८/४९ को वर्षायाममा विश्वविद्यालयको यही परिसरमा नेपाली केन्द्रीय विभागमा साक्षात्कार भएको हो तपाईंसँग । एमए पढ्न आएको मेरानिम्ति बेग्लै छाप थियो तपाईंको मसँग र अहिलेसम्म छ । अब कहिल्यै मेटिने छैन त्यो छाप । पछि सहकर्मी बनाउनुभयो, साथी बनाउनुभयो । तपाईंको मित्रवत् व्यवहार र आत्मीयताको शिखर यति चुलिँदै गयो कि परिवारजस्तै भएर रह्यौँ तपाईं र म । तपाईंले स्नेहसीक्त भावमा कहिल्यै कमी हुन दिनुभएन ।
राजेन्द्र सर, तपाईंलाई देशले चिन्यो चिनेन म भन्न सक्दिनँ तर यत्ति भन्छु– सारा प्रज्ञा जगत्ले तपाईंलाई चिनेको छ । धेरैका हृदयमा तपाईंप्रतिको श्रद्धाभाव छ । तपाईंप्रतिको यही असीम श्रद्धालाई अबको नेपाली प्राज्ञिक जगत्को तपाईंको आशीर्वाद सम्झेर आलोकित पार्नेछ । तपाईं मर्नुभएको छैन राजेन्द्र सर, तपाईंले पाञ्चभौतिक शरीरमात्र बिसाउनुभएको हो, अक्षरहरूमा तपाईं सधैँ–सधैँ अमर रहनुहुनेछ । अन्त्यमा तपाईंकै शब्द सापटी लिएर भन्छु– गुडबाई राजेन्द्र सर ! 