कथा: घडेरी
सूर्यप्रसाद लाकोजू
“पर्ख.... पर्ख.......” रामदास कराउँदै अगाडि बढिरहेको डोजरलाई रोक्न खोज्दै थियो । “यहाँबाट बाटो फराकिलो बनाउन तिमीहरूले मलाई लास बनाउनु पर्नेछ ।” रामदास कड्किँदै थियो । ऊ थप्दै थियो, “गरिबलाई उठिबासै लगाउनु पर्ने ? देशमा जुन व्यवस्था आए पनि गरिबै मर्नुपर्ने ? अहँ यहाँबाट त बाटो फराकिलो पार्न दिन्नँ दिन्नँ ।” रामदास डोजरकै अगाडि गएर लम्पसार प¥यो । वडाका अध्यक्ष र तिनका सेनामेना आए र उनलाई उचालेर पाखा लगाए । रामदासमा कसरी यस्तो साहस आयो ? त्यहाँ भएका सबै अचम्मित थिए । कहिले कसैसँग नकराउने सोझो थियो त्यो । तर आज उसको मनमा हरि पसेको हुनुपर्छ । कसैसँग डगेको छैन । फेरि छेवैबाट उपँ्रmदै करायो, “हैन, यत्रो बाटो हामी यहाँका जनतालाई चाहिएको छैन । बाटो मात्र बनाएर जनताले घर चाहिँ कहाँ बनाउने हो ?”
रामदासलाई आफ्नो भएको सानो घडेरी पनि बाटोमै जाने पिरले खाएको छ । रामदास रिक्सा जलाएर जीविकोपार्जन गर्ने एक सामान्य मजदुर हुन् । उमेरले पचास ननाघेका भए पनि अनुहारले उमेरभन्दा बूढो देखिन्थ्यो । बिहान घाम झुल्कने वित्तिक्कै रिक्साको कर्ममा आफूलाई तल्लिन बनाउने र साँझ बोकेर घर फर्कनु उसको दैनिकी बनेको थियो । रिक्साको कमाइ पनि भनेजस्तो छैन । कहिले राम्रै आम्दानी हुन्छ । तर कहिले साहुलाई रिक्साको भाडा दिने पैसा पनि उठ्दैन । फेरि सबैले काम गरेअनुसारको पैसा पनि दिँदैनन् । एक सय भनेर काम गराएर पचास रुपियाँ मात्र दिनेहरू पनि थुप्रै छन् । तर पनि परिश्रम गरेर उसले केही पैसा जम्मा गर्दै थियो ।
त्यसो त उसकी श्रीमती कान्छीमाया पनि घरधन्दा सकेर अर्काको खेतबारीमा काम गरी दुई चार पैसा कमाउँछिन् । ढिलो विवाहका कारण नौ वर्षको एउटा छोरो पनि छ उनीहरूको । सबैले भुन्टे भन्छन् उसलाई ।
रामदास र उसकी श्रीमतीले अनेक कष्ट सहेर खाई नखाई पैसा जम्मा गरेर दुई लाख पच्चीस हजारमा किनेको थियो त्यो घडेरी । घडेरी ठूलो थिएन । घडेरी किन्दा आठ फिट बाटो थियो । बल्लतल्ल जोडेको घडेरीमा उनीहरूले घर बनाउन सकेका थिएनन् । तर आज नगरपालिकाको वडा अध्यक्षकै उपस्थितिमा आठ फिटबाट बढाएर अठ्ठाइस फिटको बाटो बनाउन डोजर आएको छ । आफ्नो सम्पत्तिको नाउँमा भएको त्यही एक टुक्रा जमिन पनि बाटोमा गएपछि रामदासका लागि अन्य कुनै विकल्प बाँकी रहने कुरा भएन ।
विस्तारै त्यहाँ स्थानीयबासीको भीड जम्मा भइसकेको थियो । वैकल्पिक बाटो भएका कारण त्यति ठूलो बाटो आवश्यक नहुने भन्दै सबै कराउन थाले । तर नगरपालिका एकोहोरो थियो । जसरी भए पनि बाटो बढाउने आत्मलापमा लीन थियो । सबैको विरोधका बाबजुद नगरबाट खटिएर आएकाहरू बाटो बनाएरै छोड्ने अडानमा थिए ।
बाटो समाजका लागि हो । समाजलाई आवश्यक नपर्ने बाटोको कुनै औचित्य छैन । जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावनाको कदर गर्नुपर्छ । विकासको नाममा भौतिक वा भावनात्मक विनास हुनुहुन्न भन्ने समाजका जान्नेसुन्नेहरूको ठम्याइ रह्यो । तर पनि वादविवादले समाधानतिर डो¥याएन । दिनभर विवादमै बित्यो । समाजले भनेको कुरा सुन्न तयार भएनन् सम्बन्धित निकाय । भोलिपल्ट फेरि छलफलमा बस्ने निधो भयो ।
घाम पश्चिमबाट ओझेल परिसकेको थियो । पसिनाको पोखरीमा पौडी खेलेर कमाएको सम्पत्तिको रक्षार्थ बिहानदेखि खटेको रामदास पूरै गलिसकेको थियो । नातागतले होला रिङ्गटा लागे जस्तो हुन थाल्यो उसलाई । बल्लबल्ल डेरामा पुग्यो । अँध्यारो छिँडी । लुत्रुक्क परेर ओछ्यानमा पल्टिरहेको छोरा । मधुरो बल्दै गरेको बत्ती । रामदास पनि आएर छोरासँगै ओछ्यानमा पल्टियो ।
केही बेरमै कान्छीमायाले खाना पकाइन् । दुवैैलाई त्यो साँझ खाना राम्रोसँग रूचेन ।
खाना खाई पल्टेका दम्पत्ति निदाउन सकेनन् । “जग्गा सबै बाटोमा गयो भने हाम्रो त पाटीको बास हुने भयो । के गर्ने होला ?” अधीर हुँदै कान्छीले प्रश्न गरी । श्रीमतीको प्रश्नको जवाफ दिँदै रामदासले भने, “त्यसो नहोला । भगवान् त छन् नि । यिनीहरूले नहेरे पनि भगवान्ले त हेर्लान् नि ।”
“मर्न नसकेका असत्तीहरू ! अनावश्यक अर्कालाई दुःख दिनेहरूको त कहिल्यै भलो नहोस् । दुःखीको सराप त लाग्छ लाग्छ । हेरिराख्नु न ।” कान्छीमाया भट्भट्याइन् । “हाम्रोभन्दा पारिपट्टि ठूलो बाटो छ । यहाँ पनि सानो गाडी त छिरिहाल्छ । अन्त कतै बनाउनु नपरेको बाटो यहीँ मात्र किन ?” आफ्नो उकुसमुकुस फुकाउँदै कान्छी फेरि बोलिन् । श्रीमतीलाई शान्त पार्ने प्रयास गर्दै रामदासले फेरि भने, “समाजले मान्छेको उठिबास लगाउने ठूलो बाटो आवश्यक छैन भनेका छन् । विकास त गर्नुपर्छ तर त्यो विकास मान्छेका लागि हुनुपर्छ भनेर साइँला काकाले भन्नुभएको छ । उहाँजस्ता समाजले मानेको पाको मान्छेको कुरा कसो नसुन्लान् । त्यसैले तिमी धेरै पिर नगर । बरु सुत ।” रामदासले आफ्नी श्रीमतीलाई आश्वस्त पार्ने प्रयास गरे । तर आफ्नै मनभित्र उठेको पीडाको आँधी उसले देखाउन खोजेन ।
“होइन चुनावमा त ठूला कुरा गर्थे । गरिबको भलो हुने काम गर्छु भन्थे । तर आज के स्वार्थका लागि हो कुन्नि ? गरिबको कुभलो हुने काममा अघि सरे ।” उसको मन शान्त छैन । कुराले मनभित्र बेस्सरी पिङ मच्चाएको छ । “हैन के भयो ? किन सुँक्क सुँक्क गरेकी ?” रामदासले श्रीमतीलाई सोध्यो । “हाम्रो त उमेर गयो तर छोरा........! कहाँ बस्ला ? ओत लाग्ने ठाउँ पनि नहुने भयो हगी । छोराका लागि टाउको लुकाउने छाप्रोसम्म पनि हाल्ने जमिन नहुने भो ।” कान्छी भक्कानिइन् ।
“नरोऊ कान्छी हामीजस्ताको सहरा दैव हुन्छन् । फेरि समाजका सबै भद्र भलाद्रमीहरूको विरोध हुँदाहुँदै त्यस्तो नहोला ।” श्रीमतीलाई सान्त्वना दिँदै भन्यो रामदासले ।
त्यसपछि कान्छीमाया चुप लागिन् । तर रामदासको मनमा कुरा खेल्न छोडेको थिएन । उसको मनमा विभिन्न तर्कनाहरूको हुरी चलिरह्यो ।
“छोरो सानै छ । आफ्नो जीवनको सबै कमाइ लगाएर किनेको सानो जग्गा पनि गयो भने के गर्ने होला ?” श्रीमतीलाई आशाको दियो देखाउने प्रयास त गरे तर रामदास आफू भने निराश थिए । उसको मनमा कुरा खेलेकै छ । “पचास उमेर पुग्नै आँट्यो । अब काम पनि पहिले जस्तो गर्न सक्दिनँ । काम गर्न सकिएन भने परिवारै पाल्न नसक्ने अवस्थामा पुग्छु । घडेरी जोड्न त सपनामा पनि सोच्न सकिन्न ।” उसको आँट फतक्कै गलेर आयो । मध्यरातसम्म पनि रामदास सुत्न सकेको छैन । रात छिप्पिँदै गएको छ तर भोलि के होला ? सपनाहरू सबै उडाउने पो हुन् कि भन्ने सन्त्रासका बक्ररेखाहरू उसको मनमा दौडिरहेको छ । आज निद्रादेवी पनि ऊदेखि टाढा भाग्दै गरेको छ । रामदास भोलिको चिन्तामा टोलाइ रहन्छ ।