शनिवार |

सम्पदा : ओझेलमा इचङ्गु

विनोद नेपाल


घुमफिरको रुचि, कोरोनाका कारण टाढा पुग्न असम्भव परिस्थिति । यसैले नजिकै र उपत्यकाभित्रकै स्थानहरूको अवलोकन गर्नेक्रममा इचङ्गुनारायण पुग्ने इच्छा जाग्यो । घरसल्लाह मिलेपछि इच्छा पूरा गर्ने निर्णय लिइयो ।
यसपछि लक्षित गन्तव्यको अवस्थिति पत्ता लगाउन हातेफोनमा काठमाडौँ उपत्यकाको ‘गुगल म्याप’ खोलेँ । हेर्दा त झन्डै सात किलोमिटर दूरी अनि छोटो बाटो गए २३ मिनेटमा पुगिन्छ भन्ने जानकारीसहित नक्सामा बाटोसमेत देखियो । खरिबोटबाट ढुङ्गेधारा निस्कने, स्वयम्भू पुगेर दायाँ मोडिने अनि दायाँदायाँ हुँदै जाने, पुग्ने बेला बायाँतर्फ मोडिनुपर्ने रहेछ । यत्ति भएपछि ‘पुग्न सकिन्छ’ भन्ने लाग्यो ।
वैशाख ७ गतेका दिन बिहानको खाना खाइवरी बाटो लाग्यौँ । स्वयम्भू पुगेपछि दायाँ मोडिइ रामकोटतर्फको बाटो समायौँ । स्वयम्भू चोकबाट केही अगाडिसम्म पहिले पनि बेलाबेलामा पुगिएकाले नौलो थिएन । तरm झन्डै डेढकिलोमिटर भित्र पुगेपछि त्यहाँ अघिको बाटोका सम्बन्धमा भने अनभिज्ञ । यसैले त्यहाँबाट अगाडि ‘गुगल म्याप’मा उल्लेख भएका स्थान र संरचना हेर्दै तिनका आधारमा नक्साले देखाएको बाटो पछ्यायौँ ।
अलि अगाडि पुग्दा बायाँतर्फ यसअघि नक्सामा देखिएको ‘आदेश्वर महादेव’ मन्दिरको प्रवेशद्वार देखियो । त्यसपछि सही बाटोमै छौँ भन्नेमा ढुक्क भयौँ । ‘फर्कंदा पसौँला’ भन्दै प्रमुख गन्तव्यतर्फ अगाडि बढ्यौँ । त्यहाँभन्दा अगाडिको सडक बिग्रेको र धेरै चल्तीको जस्तो पनि थिएन । बस्ती बाक्लो भइनसकेकाले होला सडक पनि खाली नै थियो । केही पर पुग्दा आधुनिक घरहरूले थिच्दै मिच्दै र विस्थापित गर्दै लगेजस्तो देखिने एउटा बस्ती देखियो । ‘पक्कै यही बाटो हुनुपर्छ,’ हामी ढुक्क हुँदै अगाडि बढिरह्यौँ ।
सडकछेउ जीर्णोद्धार र संरक्षण अभावमा खण्डहरमा परिणत भइरहेका शिवलिङ्गसहितका मन्दिरहरू देखिए । अगाडि खस्नखस्न लागेको बसाहा रहेको, रङ खुइलिएको तथा छानामा झाडी बनेको एक्लो र त्यसभन्दा थोरै पर जोडी महादेव स्थान रहेछन् सँगसँगै । उपेक्षित लाग्ने ती सम्पदा स्थललाई फोहोर मिल्काउने ठाउँ बनाइएको रहेछ । यद्यपि, तिनका बीचमा खेल मैदान पनि छ तर फोहोरको उचित व्यवस्थापन नगरिँदा देवस्थलहरू रछ्यानमा परिणत भएका रहेछन् । यिनले इचङ्गुनारायण आइपुगेको आभास त गराए तर तिनको अवस्था देखेर भने मन कटक्क खायो ।
अगाडि बढ्दै थियौँ सडकछेउ एकजना ज्येष्ठ नागरिक देखिनुभयो । उहाँसामु रोकियौँ र सोध्यौँ, ‘मन्दिर कति टाढा होला हजुर ।’
‘कुन मन्दिर ? इचङ्गु ?’ उहाँ आफैँले भन्नुभयो ।
‘हजुर, हो’ भनेपछि उहाँले भन्नुभयो ‘ए, आइपुग्नुभयो, खुरुखुरु जानूस्, दुई/तीन मिनेटमा पुग्नुहुन्छ ।’
सही बाटोमै छौँ भन्नेमा त ढुक्कै थियौँ, उहाँको जवाफले हामी झनै ढुक्क भयौँ र अगाडि बढ्यौँ । नभन्दै केही क्षणमै मन्दिरको प्रवेशद्वार आइहाल्यो । मोटरसाइकल सडकछेउ अड्याई हामी मन्दिरतर्फ अगाडि बढ्यौँ ।
सडकछेउ नयाँ प्रवेशद्वार बनेको रहेछ । शिलालेख अनुसार यस द्वारको उद्घाटन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री रहेको बखत २०६७ साल मङ्सिर ४ गते भएको रहेछ ।
उक्त द्वारबाट प्रवेश गर्नासाथै ढुङ्गा छापेको बाटो सुरु भयो । दायाँबायाँ प्राचीन कलात्मक पौवा र सत्तल देखिए । चाहे देवस्थल होऊन् वा ऐतिहासिक स्थान नै, यस्ता संरचना देख्दा आफैँमाथि गर्व गर्न मन लाग्छ । यी हाम्रा पहिचान हुन् । धन्य छन्– ती कलाकार जसले ढुङ्गालाई कुँदे, काठलाई कलाले सजाए । धन्य छन्– हाम्रा पूर्वज जसले यस्ता सम्पदाको संरक्षण गरेर पुस्तौँ पुस्तासम्मले गर्व गर्न सक्ने बनाए ।
अगाडि बढ्दै थियौँ, मन्दिरको पुरानो प्रवेशद्वार आइपुग्यो । नजिकै भित्तामा टाँसिएको सूचनाबाट अवगत भयो मन्दिर परिसरमा विवाह, व्रतबन्धलगायत पूजाआजा र धार्मिक एवम् संस्कारजन्य कार्यक्रम पनि हुँदारहेछन् । त्यसका लागि स्थान उपलब्ध हुँदोरहेछ । सूचनामा मर्मत–सम्भार तथा संरक्षण र आवश्यक व्यवस्थापनका लागि त्यस्ता कार्यक्रम गर्नुपर्दा निश्चित रकम दस्तुर लाग्ने कुरासमेत उल्लेख गरिएको थियो । सहर बाक्लिँदै र खुला स्थान साँघुरिँदै जाँदा यस्ता स्थानको यसरी उपयोग गरिनु राम्रै हो भन्ने लाग्यो ।
मन्दिरपरिसरमा प्रवेश गर्नासाथै दायाँतर्फ भित्तामा निरन्तर पानी बहिरहने धारा रहेछ । यसबाट यस स्थानमा पानीको अभाव छैन भन्ने प्रस्ट भयो । हात धोई शिरमा जल सेचन गरी हामी मन्दिरको अवलोकनमा लाग्यौँ ।
मन्दिरपरिसरमा थुप्रै मूर्ति रहेछन् । उपत्यकाका चारै नारायणको मूर्ति स्थापना गरिएको रहेछ । पुग्न बाँकी रहेका एक नारायण विशङ्खुको यहीँ नै दर्शन गरी छिट्टै पुग्ने वाचा गरियो । ठाउँठाउँमा इतिहास र मन्दिरको प्राचीनता बोल्ने शिलालेखहरू रहेछन् । पढ्ने कोसिस गरियो । केही बुझियो केही बुझिएन ।
मन्दिरपरिसरको पश्चिममा महालक्ष्मी स्थान रहेछ । एउटा विशाल वृक्षको फेदमा रहेछ– सो स्थान । हाम्रो ध्यान निकै वर्ष पुरानो लाग्ने सो वृक्षमा गयो । गाउँ र वनपाखामा हुर्केका भए पनि हामीले सो वृक्षको पहिचान गर्न भने सकेनौँ । यसपछि परिसरमै भेटिनुभएकी एक स्थानीय महिलालाई सो वृक्षबारे जिज्ञासा राख्यौँ । उहाँले भन्नुभयो, ‘नेवारीमा नसिमा भन्छौँ, पर्वते भाषामा त के भन्छ थाहा भएन ।’ वृक्ष सदावहार रहन्छ भन्नेचाहिँ उहाँबाट जानकारी भयो ।
त्यसपछि मूल मन्दिरतर्फ लाग्यौँ । फलामे ढोका बन्द भएकाले बाहिरैबाट नारायणको दर्शन ग¥यौँ । मन्दिरमा टाँसिएको सूचनाबाट यस मन्दिर र सत्तलको २०१५ सालमा जीर्णोद्धार गरिएको जानकारी भयो । मन्दिर तथा कलात्मक झ्यालढोकासहितका सत्तल नेपाली कलाका नमुना लागे ।
वरपरको दृश्य सुन्दर, अग्लो पहाडको खोँचमा रहेको यस स्थानको वरपर फूल खेती हुँदोरहेछ । केही तस्बिर लिइयो र केही समय मन्दिरवरपरको रमणीय दृश्य हेरी फिर्ता भयौँ । फर्कनेक्रममा मन्दिरभन्दा अलि वर बाटोमा भेटिनुभयो सुवर्ण लामा । उहाँ त्यसै क्षेत्रका स्थानीय बासिन्दा हुनुहुँदो रहेछ । उहाँसँग परिचय गरेपछि मैले इचङ्गु क्षेत्रका विविध विषयमा जानकारी लिने प्रयास गरेँ ।
यसक्रममा मैले सोधें, ‘त्यो महालक्ष्मी स्थानमा रहेको विशाल वनस्पति के होला ?’ मैले उहाँलाई अघि भर्खरै एकजना दिदीले भनेको कुरा पनि सुनाएँ । उहाँले भन्नुभयो, ‘ए... त्यो त वन मयल हो ।’
त्यस क्षेत्रमा कुन जातिको बसोवास र बाहुल्य छ भन्ने जिज्ञासा पनि राखेँ । लामाले भन्नुभयो, ‘नेवार र तामाङ जाति बढी, क्षेत्री, बाहुन कम छन् । सहरबाट टाढा नभए पनि यहाँको बसाइ ग्रामीण शैलीको र आफ्नैखालको छ ।’
‘भूमि उर्वर छ, पानीको स्रोत पनि देखिन्छ तर धान मकैको याममा पनि यहाँ धान नभई फूलकै खेती हुन्छ जस्तो लाग्यो देख्दा त’ मैले भनेँ । लामाले भन्नुभयो,
‘फूल खेतीबाटै राम्रो आम्दानी हुने भएकाले होला फूल खेती नै बढी हुन्छ । यहाँ पुतवार समुदायको बसोवास छ । उनीहरूको पेसा नै यही हो ।’
अगाडिका अग्लो थुम्कोलाई देखाउँदै मैले सो थुम्को र त्यसका ठाउँठाउँमा देखिएका संरचनाका बारेमा जिज्ञासा राखेँ ।
‘ऊ त्यो ठाउँ छ नि, ढुङ्गाखानी भन्छन्, पहिले ढुङ्गा निकाल्थे यहाँबाट, ऊ त्यहाँदेखि निकाल्दानिकाल्दै पर पुगेको हो त्यो ठाउँ ।’ उहाँले औँलाले देखाउँदै भन्नुभयो, ‘त्यो ढिस्कोमात्रै होइन लगभग पूरै डाँडो व्यक्तिगत जमिन हो ।’
हल्का बुट्यानमात्र भएको सो पहरोको टुप्पोमा चाहिँ मन्दिरजस्तो संरचना देखियो, मैले सोधँे ‘कुन देवताको थान हो त्यो ?’
‘थान होइन, त्यो त तामाङहरूको समाधिस्थल हो । उतापट्टिको चाहिँ ह्वाइट गुम्बा’ उहाँले भन्नुभयो ।
कुराकानीको क्रममा लामाले भन्नुभयो, ‘पुराना सम्पदाप्रति चासो राख्नुुहुँदोरहेछ यता माथिको मन्दिरमा पनि पुगेर जानूस् है ।’ उहाँले बायाँतर्फ माथितिर देखाउँदै हुनुहुन्थ्यो ।म उत्सुक भएँ । अनि मैले ‘कता ? कुन मन्दिर ?’ भन्दा उहाँले भन्नुभयो, ‘यता माथि छ, अलि अगाडि गएपछि, देब्रेतिर उकालो लाग्नुहोला, धेरै समय लाग्दैन, मेरो घर त्यहीँनेर हो, त्यहाँ ऐतिहासिक मन्दिर छ । नालापानी युद्ध र बलभद्र कुँवरसँग सम्बन्धित मन्दिर हो त्यो देवीको तर मन्दिर भने मूर्तिविनाको छ ।’
‘मूर्ति नभएको मन्दिर ?’ ममा उत्सुकता बढ्यो । सोधेँ ‘मूर्ति नै नराखेको ?’ उहाँले भन्नुभयो, ‘धेरै वर्ष अगाडि चोरी भएको रे, अहिले पुरातŒव विभागमा छ भन्छन् ।’ सुन्दा लाग्यो तस्करको कुनै सङ्गठित गिरोहले बहुमूल्य सम्पदा चोरी गरी विदेश पु¥याएका र कतिपय फिर्ता हुनेक्रममा त्यो मूर्ति पनि फिर्ता भएको होला । जेसुकै भए पनि उहाँको कुरा सुनेपछि त्यहाँसम्म पुग्नैपर्ने लाग्यो । अब हामी धन्यवाद दिँदै उहाँसँग बिदा भई अघि बढ्यौँ ।
केही वर आएपछि बायाँतर्फ उकालो लाग्यौँ ।
थोरै माथि पुग्दा मन्दिर देखियो । हामी मोटरसाइकल अड्याएर मन्दिर ताक्दै उकालो लाग्यौँ । उकालो उक्लँदा आरुका फल, लिची, आँप, भोगटे, कोइरालो आदि फुलेको देखियो । उत्तर–पूर्व कोल्टो फर्केको सो स्थान पुग्दा आफ्नै गाउँ पुगेको अनुभूति भयो । त्यस क्षेत्रलाई डाँडागाउँ भनिँदोरहेछ ।
माथिको घनाजङ्गलको हरियाली तथा वरपरका दृश्यमा रमाउँदै हामी मन्दिर परिसरमा पुग्यौँ । मन्दिरलाई ‘वीर भगवती मन्दिर’ र ‘काली मन्दिर’ पनि भनिँदोरहेछ । अत्यन्त आकर्षक, छरितो आकारको सो मन्दिरको चारैतर्फ विभिन्न भावभङ्गीका आकर्षक कलात्मक टुँडाल रहेछन् । छेवैमा ढुङ्गाको अग्लो स्तम्भ रहेछ । टलक्क टल्केको गजुरले शोभायमान देखिन्थ्यो मन्दिर । कलात्मक ढोका झनै आकर्षक लाग्यो । ढोकाको प्वालबाट चियायौँ मन्दिर साँच्चिकै मूर्तिविहीन रहेछ । श्री पुरानो गोरख गणले झन्डै सात वर्षअघि मन्दिरको जीर्णोद्धार सम्पन्न गरेको रहेछ । नालापानीमा साहसिक युद्ध लडेका बहादुर योद्धा बलभद्र कुँवर पुरानो गोरख गणका कप्तान थिए । उनी नेपालका राष्ट्रिय विभूति हुन् । मन्दिरको अवलोकनपश्चात् हामी त्यस उचाइबाट वरपरका दृश्य नियाल्न थाल्यौँ । भगवती मन्दिरबाट हेर्दा ठाउँठाउँमा गुम्बा देखिए । विभिन्न बोटबिरुवामा आएका नयाँ पालुवाले यो स्थानलाई अझ सुन्दर बनाएको महसुस भयो । तलको फाँट माथितिरको हरियो वन, बाक्लिँदो बस्ती हेरेर केहीबेर भुल्यौँ । यस्तो सुख्खा याममा त ठाउँठाउँमा प्रशस्त फूल फुलेका थिए भने हराभरा याममा त्यस स्थानमा पुग्दा कस्तो होला ? कल्पनामै मन रमायो ।
मन्दिरको जग्गाको हकमा त्यहाँ भेटिनुभएकी एक स्थानीय वृद्धाले मन्दिरपरिसरको सीमा छुट्याइएको ढुङ्गाको चौघेरो भित्र देखाउँदै ‘यत्तिमात्रै हो, सबै सिध्याए टाठाबाठाले’ भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँको अभिव्यक्तिमा मन्दिरको जग्गामा भएको चलखेल र सार्वजनिक सम्पत्तिमाथिको गिद्धेदृष्टिप्रति तीव्र असन्तुष्टि झल्कन्थ्यो ।
इचङ्गुनारायणको स्थापनाको विषयमा कसैले मल्लकालमा र कसैले लिच्छविकाल भएको दाबी गरेका पाइन्छ । तर, लिच्छवि शासक हरिदत्त बर्माले काठमाडौँ उपत्यकाको रक्षाका लागि चार दिशामा चार नारायणको स्थापना गरेको र यो त्यसैमध्येको एक भएको मानिँदै आएको छ । त्यसो त काठमाडौँ उपत्यका मन्दिरै मन्दिरको खाल्डो हो र यहाँ नारायणका थुप्रै मन्दिर छन् तर उपत्यकाका प्रमुख चार नारायणमध्ये एक र कान्छा मानिन्छ– इचङ्गुनारायणलाई । स्मरणीय छ, चार नारायणमा जेठा चाँगुनारायण, माइला विशङ्खुनारायण साँइला शेषनारायण हुन् भन्ने मान्यता रहेको छ ।
यो प्राचीन सम्पदा हो । एकादशी र कात्तिक महिनामा विशेष मेला लाग्ने यहाँ नित्य पूजा हुन्छ भने कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म ठूलो मेला लाग्छ । हरिबोधनी एकादशीका दिन यहाँ दर्शनार्थी र भक्तजनको भीड र विशेष चहलपहल हुने स्थानीय बासिन्दाबाट जानकारी पाइयो । यहाँ दसैँको नवमीको दिन जात्रा लाग्ने र रथयात्रा पनि हुन्छ । हरिबोधनी एकादशीमा विशेष चहलपहल हुनुका कारण हो यस दिन हिन्दु धर्मावलम्बीले व्रत बसी चार नारायणको दर्शन गर्ने परम्परा हुनु । यस दिन व्रत बसी सके चारै नारायण नसके एक नारायणको मात्रै भए पनि दर्शन गर्दा सम्पूर्ण पाप मोचन हुने र मोक्ष मिल्ने विश्वास गरिन्छ ।
इचङ्गुनारायण परिसरमा विभिन्न देवीदेवताका मूर्ति स्थापित छन् । ढुङ्गेधाराबाट निरन्तर पानी बगिरहेको छ । मन्दिरसामु पोखरीमा भगवान् विष्णुको शयन गरेको मूर्ति छ । गणेश, कुमार, गरुड, हनुमान, सरस्वती आदिका मूर्ति र शिवलिङ्ग पनि स्थापित छन् । मन्दिरको दक्षिण–पूर्वमा बौद्ध चैत्य रहेको छ । प्राङ्गणमा पुराना शिलालेख र साना–ठूला घण्ट छन् । उत्तरतर्फ भजनस्थल रहेको छ ।
‘बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैँ लाग्यो इचङ्गु यात्रा गरेपछि । काठमाडौँकै पुरानामध्येको एक मन्दिर भएर पनि यसले न अरू मन्दिरको जस्तो महŒव पाएको छ न त यहाँसम्म पुग्ने आन्तरिक पर्यटक र उल्लेख्य सङ्ख्यामा दर्शनार्थी नै ।
फर्कंदा आदेश्वर महादेवको स्थानमा पुग्यौँ । सडकभन्दा माथि थुम्कोमा अवस्थित यो अर्को एउटा ओझेलमा परेको महŒवपूर्ण सम्पदा रहेछ । यहाँ थुप्रै मन्दिर रहेछन् । यो संरक्षण र प्रचार प्रसारको प्रतीक्षामा रहेको नजिकको अर्को धार्मिक गन्तव्य लाग्यो । यस्ता महŒवपूर्ण सम्पदाको अवलोकन गरी फर्कंदा परिस्थितिजन्य बाध्यताले आकस्मिक रूपमा बनेको एउटा यात्रा योजना पूरा गरेकोमात्र होइन, एउटा सार्थक यात्रा सम्पन्न गर्न सकेकोमा मन प्रफुल्ल थियो ।