आमा (कविता)
रन्जु पाण्डे
आमा म तिम्रै डिम्ब त हुँ नि
यी हेर त,
म मक्केकी छैन, सुकेकी छैन
बरु तिम्रो आँखाको मुजा
ममा देखिन थालेको छ
तिमीले म्वाइँ खाएको मेरो गालाले
आफ्नो ओठ बिचमा
बाक्लो सीमा कोरिसकेको छ
बिस्तारै बिस्तारै
तिमी ममा सरेकी छ्यौ
म तिमी नै त हुँ नि
फेरि मलाई केको सुर्ता
कि तिमी गल्दै छौ भन्ने
यो डर केका लागि आमा
कि तिमी रहन्नौ कि भन्ने !
तिमी त मभित्र छिरिसकेकी छौ
सर्पले काँचुली फेरेजस्तो
तिम्रो शरीर फेरिँदैछ
एउटा यस्तो दिन आउँछ
काँचुली थपक्क नचली बस्छ
सर्प आफ्नै गतिमा सरर अगाडि बढ्छ
तिमी मभित्र रहेर आफ्नो कर्म गछ्र्यौ
हामी अझै केही वर्ष सशरीर हुन्छाँै
म बिस्तारै आफ्नो डिम्ब
तिम्रा दोस्रो पुस्तामा सार्नेछु ।
अनि तिमी र म मिसिएर उनीहरूमा जानेछौँ
एकदिन मैले पनि काँचुली फेर्नेछु
हामी उनीहरू भएर अझै आफ्नो कर्म गर्नेछौँ
यसरी हामी लामो समय यहाँ बाचिरहनेछौँ आमा
फेरि केको विस्मात्
कि रहिन्न कि भनेर
आमा तिमी चिन्ता नगर
घुमिफिरी तिमी हामी यहीँ रहन्छौँ ।