जीवनीकार जीवनचन्द्र
जीवनाथ धमला
जीवनचन्द्र कोइरालाको नाम नेपाली स्रष्टा, लेखक जगत्मा सुपरिचित रहेको छ । उनी मूलतः जीवनी लेखन र सम्पादनका क्षेत्रमा बढी सक्रिय रहे र दुवैमा अब्बल भए । राष्ट्रिय व्यक्तित्वका जीवनी लेखन वा दिवङ्गत व्यक्तित्वप्रतिका स्मृतिग्रन्थका सम्पादनमा उनको अविश्राम योगदान रह्यो । अभिनन्दनग्रन्थ वा स्मृतिग्रन्थका लागि स्वाभाविक रूपमा अन्वेषण, अनुसन्धानको उत्तिकै जरुरत पर्छ । जीवनचन्द्रले आफूले सम्पादन गरेका ग्रन्थलाई चीरकालीन उपादेयता प्रदान गर्नका लागि सकेसम्म मिहिनेत गरेको देखिन्छ । उनको सिर्जनात्मक लेखकीय व्यक्तित्व सामान्य बौद्धिक व्यक्तित्वमा मात्र सीमित नरहेर एक सिद्धहस्त जीवनीकार, गम्भीर अन्वेषक, अनुसन्धाता एवम् कुशल ग्रन्थ सम्पादकका हैसियतमा सम्मानित रह्यो ।
जीवनचन्द्र कोइराला एक निष्ठावान् एवम् इमानदार प्रजातन्त्रवादी लेखक हुन् । प्रजातान्त्रिक आदर्श र मूल्य–मान्यताप्रतिको अविचलित, अखण्डित निष्ठाद्वारा निर्मित सामथ्र्यद्वारा उनको कर्मशीलता निर्देशित रह्यो । उनी मूलतः बीपी कोइरालाको राजनीतिक दर्शन एवम् वैचारिकीबाट दीक्षित र निर्देशित रहे तथा त्यसको मर्यादित जगमा उभिँदै उनले आफ्नो व्यक्तित्वलाई परिष्कार गर्दै आए । जीवनचन्द्रले मूलतः नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रही आधुनिक राष्ट्रिय इतिहासको निर्माण गर्न सर्वाधिक र विशिष्ट भूमिका खेल्ने शीर्ष प्रजातन्त्रवादी राजनेता, राजनीतिज्ञका कर्तृत्व र कीर्तित्वका बारेमा बढी खोज, अनुसन्धान गरी महŒवपूर्ण कृति एवम् ग्रन्थको लेखन, सम्पादन गरेका छन् । ती राजनीतिज्ञका बारेमा वर्तमान र भावी पिँढीका लागि अध्ययन, अनुसन्धान गर्न उनीद्वारा सम्पादित ग्रन्थ महŒवपूर्ण आधार सामग्री बनेका छन् । त्यस्ता कृति वा ग्रन्थमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, बलबहादुर राई, सुन्दरराज चालिसे, दिवानसिंह राई, सरोज कोइरालालगायतका विशिष्ट राजनीतिज्ञ समेटिएका छन् । त्यस्तै, उनले सुशीला कोइराला, नेतृ सुशीलादेवी चालिसेका स्मृतिग्रन्थको सम्पादन तथा सहसम्पादन पनि गरे । नेतृ शैलजा आचार्यको स्मृतिग्रन्थ प्रकाशोन्मुख रहेको बुझिएको छ । यसैगरी, बद्रीविक्रम थापा, सुवर्णविक्रम थापा, गोविन्द शर्मा ‘विमल’, भीमबहादुर अधिकारी, श्यामप्रसाद अर्यालजस्ता समाजसेवी, स्रष्टा एवम् विभिन्न कर्मक्षेत्रका प्रतिष्ठित व्यक्तित्वमाथि पनि उनीद्वारा सम्पादित ग्रन्थ प्रकाशित छन् । यसैगरी, उनले नै समाजसेवी कृष्णप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्यायलगायत व्यक्तित्वसम्बन्धी लेख–रचना आदिको सम्पादन गरिसकेको जानकारी पनि प्राप्त हुन्छ ।
जीवनचन्द्रले वनारस हिन्दु विश्वविद्यालयका संस्थापक प्रसिद्ध भारतीय शिक्षासेवी एवम् राजनीतिज्ञ महामना मदनमोहन मालवीयजीको १५०आँै जन्मजयन्तीका सन्दर्भमा एक स्मृतिग्रन्थको संयोजन, सम्पादन गरेका छन् । नेपालका प्रायः पहिलो पुस्ताका बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायत अनेकाँै राजनीतिज्ञ, प्राध्यापक एवम् अन्य विद्वान्हरूले बीएचयूबाट उच्च शिक्षा प्राप्त गरेको ऐतिहासिक पृष्ठभूमिमा त्यस संस्थाका सस्थापक मालवीयजीको व्यक्तित्व बुझ्नका लागि सो ग्रन्थ निकै महŒवपूर्ण देखिन्छ ।
उनले आफ्ना विद्वान् पिताजी, संस्कृतिविद् कुलचन्द्र कोइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानबाट पिताजीद्वारा लिखित एवम् अन्य कैयाँै स्रष्टा लेखकका कृति पनि प्रकाशनमा ल्याए । उनको संस्थागत क्रियाशीलता निकै रहेको देखिन्छ । बलबहादुर राई प्रतिष्ठान, सुन्दरराज चालिसे–सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठान, बद्रीविक्रम थापा स्मृतिसेवा गुठी, प्राकृतिक स्वास्थ्य संस्था (बानेश्वर) लगायतका संस्थासँग प्रत्यक्षतः आबद्ध रही तिनका संस्थागत गतिविधिमा उनी सक्रिय रहे । प्राकृतिक स्वास्थ्य संस्थाको स्थापना (२०५१ साल) मा जीवनचन्द्रको नेतृत्वदायी भूमिका थियो । स्थापनाकालदेखि नै उनी त्यस संस्थाको कार्यसमितिको अध्यक्षका जिम्मेवारीमा रहेर जनस्वास्थ्य सेवाका क्षेत्रमा आजीवन सक्रिय रहे । मुलुक कोभिड–१९ को चपेटामा परी अस्तव्यस्त भइरहेको समयमा पनि उनले त्यस संस्थाप्रतिको जिम्मेवारी वहन गरिरहनबाट आफूलाई अलग्याएनन् । यो उनको अनवरत सक्रियता र जिम्मेवारीपनको एउटा पछिल्लो उदाहरण हो । यसरी जीवनचन्द्र कोइरालाद्वारा सम्पादित स्मृतिग्रन्थ, साहित्यिक र व्यक्तित्वमूलक ग्रन्थ एवम् संस्थागत रूपमा सम्पादित वा सहसम्पादित ग्रन्थ, कृतिको सङ्ख्या दर्जनाँै छ ।
यसप्रकारका अनेकाँै बौद्धिक वाङ्मयिक, प्राज्ञिक क्षेत्रमा समर्पित भएर क्रियाशील रहिरहनुमा जीवनचन्द्रलाई प्रथमतः पारिवारिक तहबाटै प्रेरणा प्राप्त भएको महसुस गर्न सकिन्छ । उनका पिताजी कुलचन्द्र कोइरालाको प्रारम्भिक सार्वजनिक व्यक्तित्वको पृष्ठभूमि राजनीतिक देखिए पनि पछि आएर नेपाली संस्कृति र साहित्य जगत्मा एक विशिष्ट विद्वान्, अन्वेषक एवम् स्रष्टाका हैसियतमा उनले राष्ट्रियस्तरमै प्रसिद्धि प्राप्त गरे । उनका साँस्कृतिक, सिर्जनात्मक एवम् अन्वेषणात्मक गरी दर्जनाँै कृति प्रकाशित छन् । अझै कति प्रकाशोन्मुख होलान् । साधक पिताजीका सुपुत्र जीवनचन्द्रमा पैत्रिक गुण रहनु स्वाभाविक रहन्छ । त्यसो त जीवनचन्द्र स्वयम्कै आत्मनिर्देशन वा स्वःप्रेरणाद्वारा आफू हिँड्ने यात्रा मार्गको निर्माण गरेरै अगाडि बढ्न सकेका हुन् भन्नु पनि अन्यथा हुँदैन किनकि पितामाता वा अन्य परिवारजनको उत्प्रेरणा मात्रैबाट हिँडिएको कर्मयात्राभन्दा स्वःप्रेरणाद्वारा हिँडिएको यात्राले अझै माथिसम्मको उकालो चढ्न बढी आत्मबल दिन सक्छ । सम्भवतः जीवनचन्द्रले यी दुवै प्रेरणालाई अखण्डित रूपमा अपनाए र बौद्धिक, वाङ्मयिक सिर्जना सम्पादन एवम् अन्वेषणको मार्ग रोजे अनि त्यस मार्गमा अनवरत हिँडिरहेर आफ्नो छुट्टै परिचयका साथ यश प्राप्त गरे ।
जीवनचन्द्रले कविता लेखनबाट आफ्नो सिर्जनात्मक यात्रा थालेका थिए । २०४० सालमा मातृभूमि साप्ताहिकमा उनको कविता पहिलोपटक प्रकाशित भएको जानकारी प्राप्त हुन्छ । उनी बिस्तारै गद्य साहित्यिक क्षेत्रमा जीवनी वा व्यक्तित्व चिनारीसम्बन्धी लेखन विधातर्फ आकर्षित भए । यसक्रममा प्रारम्भमा उनको ‘राष्ट्रिय व्यक्ति र व्यक्तित्व’ नामक कृति प्रकाशित भयो । २०४० का दशकको पूर्वाद्र्धमा उनको तुलसी मेहरको जीवनी प्रकाशित भएको देखिन्छ । २०४६ को प्रथम राष्ट्रिय जनआन्दोलनपछि जीवनचन्द्रको लेखन, सम्पादनको यात्राक्रमले गति लियो । २०४७ सालमा विचारप्रधान साप्ताहिक पत्रिका ‘पानस’मा आबद्ध रही उनीसहितका सम्पादक सदस्यहरूको तत्परतामा बीपी स्मृति अङ्क प्रकाशित भएको देखिन्छ । २०४९ सालमा बीपीका कविताको सङ्कलन गरे । बीपीले कविता विधामा कमैमात्र सिर्जना गरेका देखिन्छन् । उनका १३ वटा कविता बीपी कोइरालाका छरिएका सामग्री (२०५८) मा पुनः सङ्कलित, प्रकाशित भएका देखिन्छन् । जीवनचन्द्रले विभिन्न संस्थाका ध्येयचिन्तन, सेवा नेपाल, सम्प्रेषण आदि वार्षिक मुखपत्रको पनि सम्पादन गरे ।
उनीद्वारा निकै मिहिनेत गरी सम्पादन गरिएका ग्रन्थमध्ये एक हो– ‘बीपी कोइरालाका छरिएका सामग्री’–२०५८ । यो ग्रन्थ बीपीको साहित्यिक वैचारिकतालाई बुझ्नका लागि बढी उपयोगी छ । यस्तै, ‘सर्वोच्च नेता गणेशमान सिंहका विचार’–२०६५ नामक ग्रन्थमा गणेशमान सिंहका कैयौँ राजनीतिक लेख–रचना, संस्मरण, मुख्य भाषण तथा वक्तव्य, शुभकामना तथा भूमिका, चिठीलगायतका अनेकौँ सामग्री सङ्कलित छन् । यी केही उदाहरणमात्र हुन् । जीवनचन्द्रद्वारा सम्पादित यस्ता सामग्री नेपालको लोकतान्त्रिक इतिहासका अमूल्य दस्तावेज हुन् । उनले गरेको मिहिनेतलाई भविष्यले अझ बढी अनुभूत गर्दै जानेछ ।
सिन्धुलीमा २०१७ साल असारमा जन्मेका जीवनचन्द्र कोइरालाले औपचारिक रूपमा स्नातक तह एवम् योग र प्राकृतिक चिकित्सामा डिप्लोमा तह पूरा गरी स्वअध्ययनबाट आफूलाई उच्च बौद्धिक व्यक्तित्वका हैसियतमा पु¥याए । उनको लोकतन्त्रवादी राजनीतिक व्यक्तित्वको अर्को पाटो पनि छँदै छ । उनले राजनीति क्षेत्रबाट भन्दा बौद्धिक, सिर्जनात्मक एवम् वाङ्मय जगत्भित्रकै सक्रियता र निरन्तरताबाट आफूलाई उचाइमा पु¥याए । उनीद्वारा सम्पादित राजनेताका जीवनवृत्तसम्बन्धी अझै कैयौँ ऐतिहासिक ग्रन्थ प्रकाशनको क्रममा रहेका छन् भन्ने बुझिन्छ । यी कर्मशील जीवनीकार एवम् सम्पादक व्यक्तित्व जीवनचन्द्र कोइरालाको देहावसान २०७८ साल वैशाख २९ गते भयो । उनका कर्मपथका निशानको संस्थागत रूपमै संरक्षण हुँदै जानेछ भन्ने विश्वास गर्न सकिन्छ ।
सरल, सक्रिय एवम् उच्च विचारका पर्याय जीवनचन्द्र कोइरालाको वाङ्मयसेवी इमानदार व्यक्तित्वका कर्मचिह्नले अरूलाई प्रेरणा दिइरहून् । उनीप्रति हार्दिक श्रद्धाञ्जली ।