भाइलाई चिठी
पौडेल बिमुन्स
प्रिय भाइ सुमधुर सम्झना
हुन त आजभोलि यस्तो पत्रको जमाना छैन । सबैले मेल, मेसेन्जर, ह्वाट्सएप गरेर पलभरमै आफ्नो कुरो सम्बन्धित ठाउँमा पु¥याउँछन् । तर, म यसरी तुरुन्त मेसेज पठाउन असमर्थ छु । किनकि तिमीले पटक–पटक ‘अनावश्यक कुरा लेखेको मलाई मन पर्दैन ब्लक गरिदिन्छु’ भनेर चेतावनी दिएका छौ ।
म मेरो प्रिय भाइलाई मेसेन्जर फेसबुकमार्फत दुःखी बनाउन पनि त चाहन्नँ । निकै तीर्थ, व्रत, पूजा, आराधनापश्चात् जन्मिएका तिमी, हामी सबैको हृदयको टुक्रा हौ । कसैले पनि तिम्रो मनमा चोट पु¥याउने काम गर्न सक्दैन । यद्यपि, तिमीले दिदीबहिनीलाई कहिल्यै पनि त्यस्तो स्नेह देखाउन सकेनौँ । चाडबाड आउँछन् र मनमा एक तूफानले झैँ चोट दिएर जान्छन् । यस्ता धेरै कथा छन् तर म यी कुरा मेरो पत्रमा लेख्न चाहन्नँ ।
तिम्रो बिहेको चर्चा खुबै चलेको छ । परिवारमा तिम्रा लागि एक असल केटी खोज्नु भन्ने खबरले आह्लादित बनायो र केही केटीका कुरा आए । तर, तिमीले तस्बिर हेरेर कुनै केटी मन पराएनौ भन्ने सुन्नमा आयो र चिन्ता बढेकाले यो चिठी कोर्ने आँट गरेकी हुँ ।
अर्को पनि कुरा सुन्नमा आयो, तिमी कुनै केटीलाई मन पराउँछौ रे तर त्यो केटी परिवारमा अन्य सदस्यलाई मन परेको छैन रे । हुन त जीवन आफ्नो हो । कसरी जीवनयापन गर्ने आफ्नै हातमा हुन्छ भन्छन् तर म यस कुरामा पूर्ण सहमत हुनसकेकी छैन । जसका केही कारण छन् । म प्रस्ट पार्न चाहन्छु ।
एक आमाले आफ्नो खेल्ने, कुद्ने, दौडने, हाँस्ने, नाच्ने सबै रहर मारेर एक शिशुलाई हुर्काउँछिन् । एक पिता आफ्ना लागि मात्र खान रमाउन पुग्ने आम्दानीमा आराम गरेर बस्न सक्दैन । समय, मिहिनेत र पसिना पोखिरहन्छ । मालिकको आदेशमा लतारिरहन्छ शरीर । अहँ उसको मनअनुसार बाँच्ने रहर त्यस्तो कदापि हुँदैन तर स्वीकार गरिरहेछ ती हरेक प्रताडनाहरू । आफ्नो मन परेको साथी सधैँ आफ्नो बन्न नसकेको र विभिन्न घात प्रतिघातद्वारा आफ्नो जीवन आफ्नो नरहेको पनि प्रशस्त सुनिन्छ ।
हाम्रो पौराणिक कथाअनुसार सतीदेवी र महादेवको बिहे भगवान् विष्णुको छलले गर्दा भएको थियो । तैपनि महादेव र सतीदेवीको प्रेमकथा सुन्दा मन आनन्दित नहुने कमै होलान् । तर, मननीय कुरा त्यो दाम्पत्य जीवनको थोरै आयु रहेको कथाले पाठकको मन पोलिरहन्छ । अत्यन्त प्रिय छोरी हुँदाहुँदै पनि आफ्नो मन नपरेको ज्वाईं हुनाले सम्भवतः मातापिताको आशीर्वाद नहुनु सतीदेवीको दाम्पत्य जीवन असफल हुनुको एक तर्क हुन सक्छ ।
संसारमा अत्यन्तै मन परेर बिहे गरेका जोडी सबै सफल र खुसी छन् भन्ने कुनै ठोकुवा गर्न सकिएको छैन । भागीबिहे गरेर पनि केही वर्षमै पारपाचुके गरेका घटना तमाम छन् । अझ विभिन्न किसिमका घटना भएको देखेका र सुनेका छौँ । यस्ता धेरै घटना परिघटना सुन्दा देख्दा दाम्पत्य जीवनको सफलता र असफलता केटी वा केटाको अनुहार राम्रो हुनु, अत्यन्त मन पराउनुमात्र पर्याप्त होइन रहेछ भन्ने लाग्छ ।
असाध्यै राम्री केटी श्रीमतीका रूपमा पाउने इच्छा, मन मुटु चुँडेर दिनेजत्तिकै माया लाग्ने अवस्था भनेको बिहेअघि महसुस हुने क्षणिक अस्थिर मनमात्र रहेछ भन्ने लाग्छ । बिहेपछिको जिम्मेवारी र कर्तव्यबोधलाई स्वीकार गर्ने र जीवनलाई सबल, सफल, सहज बनाउन हरकदम साथ हिँड्न कोसिस गर्ने, आफ्नो साथसाथै आफ्नो जोडीको समेत खुसीका लागि पहल गर्न मनपराउने स्वभावले भविष्य निर्धारण गरिएको देखिन्छ । मेरी श्रीमती कति राम्री छ या मेरा श्रीमान् कति राम्रा छन् भन्ने हृदयदेखि व्याख्या गरिरहेका हुन्छन् । यसरी देखिएको मनको सुन्दरता र चोखो प्रेम नै वास्तविक प्रेम हो । त्यतिबेलाको सुन्दरताले नै संसार जित्नेलाई प्रेरणा मिलेको यथार्थ हाम्रोसामु छ ।
कुनै ग्यारेन्टी छैन, असाध्यै मनपरेकी केटी या केटा नै जीवनभर खुसी बन्न सक्छन् । अत्यन्त सुन्दरी र आफैँ मन पराएर बिहे गरेका श्रीमती हुनेहरू पनि प्रताडित बनेका तमाम चर्चा छन् समाजमा ।
मान्छेलाई सुन्दरताको आकर्षणले कहिल्यै छाडेको हुँदैन । सर्वश्रेष्ठ सुन्दरी पत्नी बिहे गरेपछि पनि पति अरू महिलातर्फ आकर्षित भइरहेको देखिन्छ । स्वयम् भगवान् विष्णुले वृन्दालाई छल गरेर सतित्व डगाएको कथा छ, माता लक्ष्मीसँग सुन्दरतामा तुलना योग्य नारी अरू छैनन् भन्ने कथा हुँदाहुँदै ।
सर्वश्रेष्ठ सुन्दरी अप्सरा र महारानीहरूले भरिपूर्ण छन् स्वर्ग तर त्यहाँका राजा इन्द्रले ऋषि पत्नीलाई सतित्व डगाएको र ऋषिद्वारा श्रापित अहिल्या शिला बन्नुपरेको कथा पनि छ । आखिर किन ? किनकि सुन्दरता जीवनभर आकर्षित गर्ने तŒव हो, कहिले अन्त्य नहुने ।
तर, वास्तविक जीवनमा सुन्दरताको प्रकृति भिन्नभिन्न छन् । केही संसार जित्ने सफल व्यक्तित्वले मनको सुन्दरताको व्याख्या गरेका छन् । जो यी नयनरूपी छालाले भन्दा मनरूपी दृश्यले चिन्न सके जीवन खुसी र सफल बन्ने छ । एक सुन्दर परिवार भन्नु नै परिवारबीच एक–अर्कामा समर्पण हो । यही समर्पणले परिवारका हरेक सदस्यलाई मायाको बन्धनमा बाँधेको हुन्छ ।
यसकारण कुनै एक आकर्षणमा बाँधिएर अगाडिको उत्पादनमूलक जीवनलाई रोक लगाउने र निरर्थक बनेर बस्ने निर्णय गलत हो भन्ने मलाई लाग्छ । जीवन सौहार्दपूर्ण र सम्बन्ध सुमधुर बनाउन दुवै पक्षको पहलकदमी अपरिहार्य हुन आउँछ ।
परिवारको यो माया पनि एक अपरिमित सुन्दरता हो । यो सुन्दरतालाई लत्याएर प्राप्त गर्न चाहेको अर्को सुन्दरता कतिसम्म सत्य सुन्दर होला ?
यस्तो क्षणभङ्गुर सुन्दरताको निम्ति शाश्वत सुन्दरताको हत्या नगर मेरो भाइ । जस्तोसुकै आमाको आशीर्वादसहितको एक केटी बिहे गर र प्रयास गर अगाडिको जीवन साँच्चै सुन्दर बन्न सकोस् । मेरो आशीर्वाद सदा तिम्रो साथ छ ।
उही दिदी ।