शनिवार |

चार्वाक दर्शनको प्रभाव

प्रेममान डङ्गोल

शरीरको सुख नै संसारको सार हो भन्ने एउटा नास्तिक दर्शन छ । बाँचुन्जेल मीठा–मीठा खानु, पिउनु र मोजमज्जा गर्नु नै उपलब्धि ठान्छ यो दर्शनले । यो दर्शनको नाम हो– चार्वाक । जीवन रहेसम्म सुख–सुविधापूर्वक बाँच्नुपर्छ । मोजमस्ती गर्नुपर्छ । मरेपछि शरीर खरानी भइहाल्छ । त्यसैले जिउँदो छँदै आफूलाई इच्छा भएको सबैथोक गर्न यो दर्शनले सुझाउँछ ।
मानव शरीरले भोग गर्ने जति पनि सुख छन्, त्यसमा मात्र ध्यान दिएर अरू कुराको वास्ता नगरौँ भन्ने उपदेश यो दर्शनले दिन्छ । जति पनि मानवीय मूल्य–मान्यता छन्, तिनलाई त्यागेर आफ्नोमात्र स्वार्थ पूरा गर्ने, आफूलाई मात्र फाइदा हुने काम गर्ने, आफन्त, साथीभाइको वास्ता नगर्ने र मानिस भएर मानिसलाई गर्नुुपर्ने व्यवहारसमेत नगर्ने शिक्षा पनि यो दर्शनले दिन्छ । यसलाई भोगवादी सिद्धान्त भनिन्छ ।
साँच्चै यो संसारमा चार्वाक दर्शन पालना गरेर आफ्नो स्वार्थ र सुख–सुविधा अनि भोगविलाशमा मात्र डुबेर बसेका मानिस कति होलान् ? सायद अर्बाैंको सङ्ख्यामा हुन सक्छ किनभने संसारमा यस्ता मानिस धेरै भएर नै व्यभिचार, अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार र पापाचारजस्ता कुकर्म दिनदिनै बढिरहेका छन् । हत्या, हिंसा, अपहरणजस्ता जघन्य अपराध बढिरहेको पनि यही चार्वाक दर्शनको प्रभावले नै हो भन्न सकिन्छ ।
आजको विश्वमा जति पनि विकसित भनेर चिनिएका देश छन्, ती देशका नेता पनि यही चार्वाक दर्शनको प्रभावमा परेर भ्रष्टाचारी, व्यभिचारी र शोषक, सामन्ती बाटोतिर लम्किरहेका छन् । अविकसित वा अल्पविकसित देशका नेता त झन् धेरै भ्रष्टाचारी, दुराचारी र सामन्ती नै भइरहेको देखिन्छ । तर, एउटा आश्चर्यलाग्दो कुरा के छ भने यो भोगवादी शिक्षा दिने अरू कोही होइन, देवताका गुरु स्वयम् वृहस्पति नै हुन् । भए छ के भने देवता र दैत्यको जहिले पनि झगडा भइरहने । घमासान युद्ध चलिरहने । युद्धमा जहिले पनि दैत्यकै मृत्यु भइरहने । तर, देवता भने कहिले पनि नमर्ने र अमर भइरहने । यसरी जहिले पनि दैत्यमात्रै मरिरहने भएकाले युद्ध गर्न नै कठिन भयो । देवताले अमृत पिउनाले अमर भइरहेका रहेछन् । यस्तो अवस्थाले गर्दा दैत्य गुरु शुक्राचार्यलाई ठूलो चोट पा¥यो र अत्यन्तै दुःखित भए । दैत्यलाई कसरी बलियो बनाई देवतासँग युद्ध गराउन सकिएला ? कसरी देवतासँग दैत्यलाई पनि प्रतिस्पर्धा गराउन सकिन्छ भन्ने विषयमा विचार गर्दा देवतासँग भएको सबैभन्दा ठूलो शक्ति नै अमृत रहेको निष्कर्ष निस्कियो । अमृत पिउनाले नै देवता युद्धमा कहिल्यै पनि नमर्ने र बलियो हुने बुझियो । अनि शुक्राचार्यले पनि मृत सञ्जीवनी अमृत प्राप्त गर्नुप¥यो भनी मृत सञ्जीवनी विद्या प्राप्त गर्ने उद्देश्य राखी तपस्या गर्न गए । शुक्राचार्यले मृत सञ्जीवनी ल्याउन सकेमा दैत्य देवतासँगको युद्धमा मरे पनि पुनः बाँच्न सक्नेछन् भन्ने ठाने ।
मृत सञ्जीवनी प्राप्त गर्न दैत्यगुरु शुक्राचार्य तपस्या गर्न गए । यो कुरा देवताले थाहा पाए । शुक्राचार्य तपस्यामा सफल भए भने देवता नै नाश हुने ठानी देवताका राजा इन्द्रले शुक्राचार्यको तपस्या भङ्ग पार्ने उद्देश्यले अप्सराहरू पठाइदिए । उता देवताका गुरु वृहस्पतिले शुक्राचार्यको भेष लिएर दैत्यकहाँ गए । सबै दैत्यले ठाने कि तपस्या गरेर गुरु फर्केका हुन् । सबैले गुरुलाई स्वागत गरे । अनि शुक्राचार्यको भेष लिएका वृहस्पतिले दैत्यलाई उपदेश दिनेक्रममा भने, ‘हेर यो शरीर एकपटकमात्र पाइने वस्तु हो । मरिसकेपछि स्वर्ग जाने भन्ने कल्पनामात्र हो । जन्मेपछि एक दिन मर्नैपर्छ, मरिसकेपछि के हुन्छ कसैलाई पनि थाहा छैन । त्यसैले आफ्नो शरीरको सुखका निम्ति यो संसारमा भएकाजति पनि स्रोत–साधन छन्, ती सबै हामीले प्राप्त गर्नुपर्छ । शरीरको सुख र इन्द्रिय सुखभोग नै सबैभन्दा ठूलो सुख हो । त्यसैले जति सकिन्छ, त्यति सुख–सयल गरेर भोग गर्नुपर्छ । आफ्ना लागि सुख र आनन्दले बाँच्नु नै संसारमा जन्मनुको सार हो । वृहस्पतिले दिएको यही उपदेश नै चार्वाक दर्शनका रूपमा परिचित छ ।
गुरुको उपदेशअनुसार दैत्य सबै मोजमज्जा र सुख–सयलजस्ता आमोदप्रमोदमा लिप्त हुन थाले । उनीहरूलाई के आफ्नो के अरुको भन्ने ज्ञान पनि हुन छाड्यो । आफ्नो शरीरको भोगमा मात्र उनीहरू अल्झिरहे । त्यही भएर उनीहरूसँग काम, क्रोध, लोभ, मोह र अहङ्कार बढ्दै गयो । जसले गर्दा आजसम्म एकढिक्का भई एकतामा आबद्ध भइरहेका दैत्य आफू–आफूमै मनमुटाव भएर विभिन्न समूहमा विभाजित हुन पुगे । दैत्यलाई परास्त गर्न र पतनको मार्गमा लैजान नै चार्वाक दर्शन आएको हो ।
यो दर्शनलाई सनातनवादी हिन्दुहरूले नास्तिक धर्म भन्छन् । यो दर्शन छलकपटबाट आएकाले सबैलाई भ्रमित पार्ने किसिमको छ । तर, यसै दर्शनको प्रभावस्वरूप आज विश्वमा देखापरेका छाडापन, स्वतन्त्रताको नाममा भइरहेका नाङ्गोपनले विश्व विनाशतिर धकेलिँदै गइरहेको छ । कसैले केही भने यो त समयको माग हो भन्दै जे मन लाग्यो त्यही गर्दै हिँडिरहेका छन् आजका मानिस । यो सबै चार्वाक दर्शनको प्रभाव हो र विनाशकाले विपरीत बुद्धि हो, जुन आजका मानिसले भोग्दै पनि आइरहेका छन् ।