नितान्त एक्लो भएको छ मान्छे (कविता)
पवन आलोक
यो उकुसमुकुस परिवेश
टक्क अडिएको यो समय
सर्वत्र व्याप्त अन्धकार
एउटा भयङ्कर आँधीले
निभाउन खोजिरहेछ
सम्पूर्ण मानव बस्तीका बत्तीहरू
घरमै नजरबन्द कैदी बन्दी हामी
जोगाउने असफल प्रयत्न गरिरहेछौँ
ती बत्तीलाई !
धित मरून्जेल हाँस्न पनि नपाइने
आफन्तहरू गुमाएका क्षणहरूमा
धक फुकाएर रून पनि नपाइने
यो कस्तो विवशता !
यो कस्तो विडम्बना !
यति निरीह कहिल्यै भएको थिएन मान्छे
उभिएको छ प्रश्नहरूको घेरामा
हाम्रो अस्तित्व
यो कुरूप समयमा
मान्छेहरूको भीडमा पनि
नितान्त एक्लो भएको छ मान्छे !!