‘थाहा’ आन्दोलनका सर्जक
शान्तराम बिडारी
असार ७ गते, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २२औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा जीवनभरि विभिन्न कारणले चर्चामा आउनुभएका मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो उहाँ । विष्ट एक विद्रोही जनप्रतिनिधि पनि हुनुहुन्थ्यो । उहाँले आजीवन मान्छे जगाउने यात्रामा आफूलाई होम्नुभयो । राजनीति गरिब, निमुखा, झुप्रे र छाप्रेका लागि हुनुपर्छ भन्ने उहाँको धारणा थियो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन,’ उहाँ भन्नुहुन्थ्यो, ‘आफ्नो राजनीति आफैँले गर्नुपर्छ । त्यसका लागि जनता जाग्नुपर्छ, जाग्नका लागि ‘थाहा’ चाहिन्छ ।’
रूपचन्द्र तत्कालीन परिवेशमा आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिनुभएको थियो । उहाँको बुवा नेपाली सेनाको मेजर हुनुहुन्थ्यो । उहाँको जन्म मकवानपुर जिल्लाको हाल थाहा नगरपालिकास्थित दामनको घर्तीखोला भन्ने ठाउँमा विक्रम संवत् १९९० पुस २६ गते भएको थियो ।
कलिलो उमेरमै रूपचन्द्रले घरपरिवारको कडा वातावरणमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको अङ्गरक्षक एवम् काठमाडौँ जिल्ला समिति सदस्य भएर काम गर्नुभयो । निर्मल लामालगायतसँग उहाँको घनिष्ठ सम्बन्ध थियो । उहाँलाई लामाले काठमाडौँको पश्चिमी इलाका कीर्तिपुर, पाँगा, नैकाप, थानकोटलगायत क्षेत्रमा किसान जागरण अभियानको जिम्मेवारी दिनुभएको थियो । विष्ट आफ्नो विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरूभन्दा फरक देखिनुहुन्थ्यो । आफ्ना केही स्वभावजन्य कारणबाट उहाँ श्रेष्ठ र लामासँग धेरै समय साथै भने रहनुभएन । पार्टीको सङ्गठन नगरेर पनि जनता जगाउन सकिन्छ भन्ने दृढ मान्यता राख्नुहुने रूपचन्द्र कम्युनिस्ट सिद्धान्तबाट भने कहिल्यै विचलित हुनुभएन ।
विसं २०१५ को आमनिर्वाचनमा रुदाने स्वतन्त्र कम्युनिस्टको परिचयमा उम्मेदवार हुनुभयो । त्यसबेलाका कम्युनिस्ट कार्यकर्ताले उहाँको पक्षमा खुलेर प्रचार गरेका थिए । राजनीतिमा लागे पनि उहाँले आफ्नो प्राज्ञिक स्वाध्ययनलाई छाड्नुभएन । उमेर ढल्केपछि पनि उच्च शिक्षा हासिल गर्न उहाँ स्नातक तहमा भर्ना हुनुभयो । कानुनमा स्नातक उत्तीर्ण भए पनि सबैको रोहबरमा ती प्रमाणपत्र उहाँले जलाउनुभएको उहाँका अत्यन्तै नजिकका राजनीतिक चेला रामनारायण बिडारी बताउनुहुन्छ । ती प्रमाणपत्र समाजलाई धोका दिनमात्र काम लाग्ने र असल मान्छे हुन त अनुभव, अनुभूति र साक्षात्कार अर्थात् ‘थाहा’ हुनुपर्छ भन्ने मान्यताका कारण विष्टले प्रमाणपत्र जलाएको बिडारीको भनाइ छ । दामन गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भई उहाँले निर्वाचन जित्नुभयो । यसअघि उहाँ वडाध्यक्षसमेत हुनुभएको थियो । त्यतिमात्र होइन, रुदानेले २०१९ मा काठमाडौँको कालीमाटी ग्राममा पनि निर्वाचन जित्नुभएको थियो । रूपचन्द्रले कम्युनिस्टको अभ्यास, व्यवहार र त्यसलाई सार्थकता दिने काम प्रधानपञ्चकालमै गर्नुभएको थियो । जसकारण उहाँलाई सार्वजनिक सुरक्षा ऐन लगाएर सरकारले कारागारमा राख्यो । त्यो बेला उहाँले नमुना विकास र जनमुखी काम धेरै गर्नुभएको थियो । यही समयमा पालुङ उपत्यकामा हाइस्कुल खुल्यो । ३८ वटा बिहानी साक्षर कार्यक्रम सञ्चालनमा आए । विकासघर निर्माण भयो । आधुनिक खेती चल्यो । जनतामा राजनीतिक चेतना निर्दलीय व्यवस्थाविरुद्ध ह्वात्तै उठ्यो । शासकबाट गरिने सबै ज्यादतीमा जनता जागरुक भए । सामन्त, जाली, फटाहाविरुद्ध गरिएका सङ्घर्षमा जनाताले साथ पनि दिए । यही कालमै जनमुखी अभ्यास प्रशस्त भए । उहाँले आफैँलाई नमुनाका रूपमा देखाउँदै क्रान्तिकारी तवरले विवाह गर्नुभयो । कालान्तरमा सो विवाह र परिवार पनि अस्तव्यस्त भयो । तर पनि उहाँ हरपल जनता जगाउने कार्यमा सक्रिय भइरहनुभयो ।
निर्दलीय व्यवस्थाले सताउँदा आफंैले स्थापना गरेको हाइस्कुलको प्रधानाध्यापक पद छाडेर दामनमा नौ वर्ष बाख्रापालन गरेर उहाँ बस्नुभयो । होटेल र लज खोलेर दामनको टावरमा पर्यटकलाई घुमाउने काममा समेत उहाँ संलग्न हुनुभयो । उहाँको यो कामले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो ।
खासमा २०२० देखि २०३७ सालसम्म नै उहाँको जनमुखी अभ्यासकाल थियो । आफूले प्राप्त गरेको ज्ञान र अनुभूतिलाई ‘थाहा’ दर्शनका रूपमा २०३८ सालको दोसं्रो आमनिर्वाचनदेखि २०५६ सालसम्म उहाँले सम्प्रेषण गर्नुभयो । यो अवधिलाई उहाँको विचार सम्प्रेषणकाल मान्न सकिन्छ । अहिले भन्ने गरिएको सूचनाको हकको कुरा ‘थाहा’ आन्दोलनमा समेटिएको विषय हो । हरेक कुरा सबै जनताले जान्नुपर्ने अर्थात् थाहा पाउनुपर्ने भन्ने तर्क रूपचन्द्रको थियो । मकवानपुरबाट थालिएको यो आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठूलो बल मिलेको थियो । ‘थाहासँग प्रेम गर, थाहा तिमीसँग आँउछ,’ उहाँ भन्ने गर्नुहुन्थ्यो । आफ्नो परिवार नै अस्तव्यस्त हुनेगरी रुदानेले आफूलाई चुर्लुम्म राजनीतिमा डुबाउनुभयो । राजनीतिले उहाँको पारिवारिक पाटो तहसनहस नै भयो । तर पनि उहाँ विचारको सतिसालझैँ अडिग रहनुभयो ।
रुदानेको गुणमात्र होइन, केही अवगुण पनि छन् । उहाँसँग सितिमिति मानिस टिक्दैनथे । उहाँ शारीरिक श्रम नगरीकन खान पाउँदैन भन्ने नीति अघि सार्नुहुन्थ्यो । काठको बाकसले घेरिएको र अलकत्राको ड्रमको छाना छाएर बनाइएको छाप्रोमा उहाँ बस्नुहुन्थ्यो । यो छाप्रो उहाँले श्रीमतीसँग मिलेर बनाउनुभएको थियो । तसर्थ, रुदानेको पारिवारिक जीवन न त दाजुभाइसँग राम्रो रह्यो, न त श्रीमती र बालबालिकासँग । कान्छो भाइसँग भने सामान्य सम्बन्ध थियो, त्यो पनि साथीको जस्तोे ।
उहाँको लवाइ, खुवाइ, हिँडाइ, बोलाइ, गराइलगायत सबै कुरा सरदर मानिसको भन्दा फरक थियो । सामान्य मानिस उहाँलाई हेरेर रमाउँथे, नजिकै झुम्मिन्थे । तर टाठाबाठा, शोषक, सामन्त, हुनेखाने नजिक आउन बडो सकस मान्थे । यसका विभिन्न कारण छन् ।
उहाँको बलिष्ठ शरीर, गहिरो अध्ययन, अपार ज्ञान भण्डारका कारण अदम्य साहस पनि थियो । शासक उहाँदेखि सधैँ आतङ्कित हुन्थे । राष्ट्रिय पञ्चायत सदस्य हुँदा उहाँलाई जेल हालियो । राजाका दूत जेलमा गएर भने ‘जीवन जेलमै बिताउने कि महाराजले दिएको सबै मन्त्रालय हेर्नेगरी मन्त्री बन्ने वा प्रधानमन्त्री ? वा रोजेको मन्त्री ?’
रूपचन्द्रले ती दूतलाई लेखेर दिनुभयो, ‘तिम्रा यस्ता बेठीक व्यवस्थामा हामीजस्तालाई मन्त्री पदमा पाइँदैन । मेरो ज्यान बाहिरभन्दा यही जेलमा राख्न उपयुक्त छ । किनकि यहाँ मारिँदा त दोष अरूलाई लगाउन मिल्दैन होला नि ।’ उहाँले एक अर्को प्रसङ्गमा भन्नुभएको छ, ‘जिउँदो मानिस अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ ।’
रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नुहुन्थ्यो, ‘जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन्, तब उसको प्रतिनिधि माननीय हुन्छ ।’ रुदानेले सार्वजनिकसभामा गर्ने सम्बोधनको मूल अंश यस्तो हुन्थ्यो–
सभाध्यक्ष !
कलिलाबाट विद्रोहकारी परिवर्तन,
श्रमिकबाट क्रान्तिकारी परिवर्तन,
जीवन विषयी बुद्धिजीवीबाट बौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन र नारीबाट सामाजिक परिवर्तन पाइने मुख्य मुहान भएकाले यही सम्बोधन गरियो । यसमा सबै परे होलान् । नपर्नेहरू सम्बोधनमा परेनन् ।
विसं. २०३९ मा रुदानेले सार्वजनिक प्रश्न जनतासमक्ष गर्नुभयो । उहाँले भन्नुभयो, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महŒवको छ । यसैगरी, एउटा पर्चा प्रकाशन गरेर भन्नुभयो, ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।’ त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए । व्यवस्थाका अगुवा राजा थिए । तसर्थ, दोषी राजा नै हुन् भन्ने कुरा किटान गरिएको कुरा पर्चामै आएको थियो । अहिलेका दल र नेताले यो मनन गर्नुपर्ने बेला भएको छ । यही कुरामा ध्यान जाओस् र रुदानेलाई सम्झना राज्य तहबाटै गरियोस् । यो देश सप्रिए वा बिग्रिए दोष अहिलेको नेतृत्वलाई जान्छ ।
जीवनको उत्तराद्र्धमा उहाँ नराम्ररी थाक्नुभयो । निराशामा चुर्लुम्म डुब्नुभयो । २०५६ असार ७ गते उहाँको निधन उपचारक्रममा वीर अस्पतालमा भएको थियो । त्यसको केही अघि आफ्ना निकटसँग उहाँले भन्नुभएको थियो, ‘मानिस या त जाग्दै जागेनन् । जे–जति जागे, जाली फटाहालाई काम लागे । अब मेरो कुनै काम रहेन, बाँच्नुपर्ने कुनै कारण रहेन ।’
उहाँले आदर्श ठानेकोजस्तो राजनीति छैन । राजनीति भनेको ठगिखाने भाँडोजस्तो भएको छ । मानिस यसलाई फोहोरी खेल भन्छन् । जनता जस्तो खाना खान्छन्, उहाँको खाना त्यस्तै । जनता खेतबारीमा कसरी खटिन्छन् उहाँको खटाई त्यस्तै । उहाँ गाउँ गएर भन्नुहुन्थ्यो, ‘म तपाईंहरूको प्रतिनिधि ! अधिवेशनमा के कुरा राखूँ ?’ उहाँ जनमत बोकेर रापस बैठकमा छिर्नुहुन्थ्यो र हुबहु जनताको कुरा सुनाउनुहुन्थ्यो ।
त्यसैले रूपचन्द्र धेरै अर्थमा भिन्न हुनुहुन्थ्यो । उहाँको अर्को सिद्धान्त थियो, ‘निष्पक्ष सक्रियताको अभ्यास ।’ कुनै मान्छे निष्पक्ष छ तर सक्रिय छैन भने त्यो काम छैन । सक्रिय छ तर निष्पक्ष छैन भने त्यो पनि काम छैन । समाज राम्रो बनाउन ‘निष्पक्ष सक्रियताको अभ्यास’ गर्ने मानिस चाहिन्छन् । उहाँ जनप्रतिनिधि, नेता वा पत्रकार सबैले यो पङ्ति अनुशरण गर्नुपर्ने बताउनुहुन्थ्यो ।
रूपचन्द्र एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदै हो, उहाँको व्यवहार, आचरण, कार्यशैलीलगायतका सबै पक्ष विचार गर्दा उहाँ अद्भुत क्षमता र विलक्षण प्रतिभाको धनी रहेको स्पष्ट हुन्छ । ‘सादा जीवन उच्च विचार’का अनुयायी रूपचन्द्र विष्ट अर्थात् रुदाने असली कम्युनिस्ट र व्यवहारवादी नेताका रूपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँका जीवनकालभरि सुनिएका, पढिएका र जनमुखी सहकर्मीद्वारा भोगिएका पक्षलाई दृष्टिगत गरी एक वृहत् खोज तथा अध्ययन गर्नु आवश्यक छ । जुन खोजबाट रुदाने को
हो ? उहाँले किन त्यस्ता व्यवहार प्रदर्शन गर्नुभयो र ती सबै व्यवहारको सार तथा निचोड के थियो भनेर नयाँ पुस्तालाई रुदानेबारे चेतना जागृत गर्न र पढाउन मद्दत पुग्छ । रुदाने सामान्य होइन, असामान्य व्यक्तित्व हुन् । उहाँ विशिष्टप्रकारको हुनुहुन्थ्यो । यस्ता विलक्षण मान्छे युगले एकपटकमा एकफेर मात्र जन्माउँछ ।