धरोहररूपी धरहरा
रमेश गोर्खाली
वीरगन्ज महानगरको बासिन्दा भए पनि समय–समयमा राजधानी काठमाडौँ आउँदा प्रमुख गन्तव्य धरहरा हुने ग¥यो मेरा लागि । धरहरावरिपरि नागस्थानछेउछाउको विभिन्न बस कम्पनी (सवारीकर्मी र यातायात उद्यमी)को कार्यालय हुने गथ्र्यो तथा प्रायः थुप्रै यात्रुले त्यहीँबाट टिकट लिने गर्थे । आफू र आफ्नो परिवारमात्र नभएर, थुप्रै निकटस्थ र अन्यान्यको निम्ति टिकट लिने कार्य मैले त्यहीँबाट गर्थें । भीडभाडयुक्त धरहरावरिपरिको परिवेश मलाई सानैदेखि प्रिय थलो रह्यो । वीरगन्ज मीनाबजारको रोचक चोकमा घर भए पनि मावली काठमाडौँको इन्द्रचोक भएकाले बस वा कुनै सवारीबाट झर्ने र झार्ने काम मुख्यतः धरहराको परिवेशबाट हुने गथ्र्याे । संवत् १८८२ मा प्रधानमन्त्री भीमसेन थापाको कार्यकालमा उच्च मीनाररूपी यो वास्तुकला गृह तयार भएको मानिन्छ । राष्ट्रिय विभूति भीमसेन थापाको समयमा निर्माण गरिएकाले थुप्रैले यसलाई भीमसेन स्तम्भका रूपमा सम्झिने गरेका छन ।
संवत् १९९० को माघ २ गते नेपाल राज्य ठूलो महाभूकम्पको मारमा प¥यो । त्यसक्रममा थुप्रै मठमन्दिर, प्राचीन दरबार र ठूला भवन भत्किए तथा कतिपय पाताल बने । नेपाल सरकारका तात्कालिक प्रधानमन्त्री जुद्धशमशेर जबराको कार्यकालमा जीर्णोद्धार गरेर धरहरा पुनः ठडियो । कतिपय बुद्धिजीवीले जुद्धको सुकीर्तिका रूपमा समेत यसलाई सम्झना गरेको मैले पाएँ । संवत् २०७२ को वैशाखको भयानक भूकम्पमा धरहरा पुनः ठनक्क भत्किन पुग्यो । नेपाली बौद्धिक क्षेत्रमा स्रष्टा साहचर्यवादका प्रयोक्ता रहेका प्रा. नगेन्द्रराज शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति सामान्य आर्तव पत्रिकाको वैशाख–जेठको पूर्णाङ्क–१७७’ मा ठुटे धरहराको मार्मिक आवरण चित्र छापिएको अगन्य पाठकवृन्दले पाए । मेरो विचारमा दक्षिण एसिया र वैश्विक परिवेशको विभिन्न थलोमा रहेका असङ्ख्य भावुक नेपालीका आँखा ‘अभिव्यक्ति’को उक्त गाताचित्र देखेर अनायास रसाएको हुनुपर्छ । वस्तुतः दैवी नियतिप्रति अनगिन्ती वास्तुकलाप्रेमीले थकथकी मानेको परिदृश्य मैले अनुभूत गर्न पाएँ ।
लोकतान्त्रिक गणतान्त्रिककालमा सम्पूर्ण नेपालीको सदीच्छा आत्मस्थ गरी धरहरा (धवलगृह) पुनः छड, सिमेन्ट, मसला र नवीनतम प्रविधिमा आधारित भएर निर्मित हुन पुग्यो । वैशाख ११, २०७८ विक्रम संवत् (२४ अप्रिल २०२१ ई.) शनिबार नयाँ धरहराले नेपाली लोकतान्त्रिक गणतन्त्रको वृहत् महानगर तथा राजधानी काठमाडौँको ऐतिहासिक पहिचानस्वरूप आफूलाई खडा ग¥यो । सापेक्षतः धरहराको नवीन स्वरूपको निर्माणले वास्तुकलाविद्, इतिहासकार, बुद्धिजीवी र लोकतन्त्रप्रेमी समस्त नयाँ पुस्ता अभिभूत भए तथा ती अत्यधिक रमाएको स्थिति छ ।
महाभूकम्पमा जीर्ण र ध्वस्त भएका नेपालभरि छरिएका यस्ता कतिपय अन्य स्थापत्य कलाको समेत पुनःनिर्माण हुनुपर्ने चर्चा उठ्ने गरेको छ । सगरमाथा र महात्मा बुद्धविहीन नेपालको परिकल्पना गर्न नसकिएझैँ घण्टाघर एवम् धरहराविहीन काठमाडौँको सोच कदापि गर्न सकिँदैन र मिल्दैन पनि । धरहरानिकट, छेउ, वरिपरि र परिवेश भनी पर्यायवाची शब्दार्थको रूपमा यसको महŒवलाई अधिसङ्ख्यकले चित्रण गर्ने गरिएको पाइन्छ । प्रतीकात्मक रूपमा देश र विदेशका लाखौँ एवम् करोडाँै नेपालीको मन तथा मथिङ्गलमा धरहराको दृश्य विम्बले वस्तुगत धरातलको उच्चतालाई कायम गरेको यथार्थ हो । विश्वमण्डलीकरण (ग्लोबलाइजेशसन)को यस युगमा संसारभरिका मान्छे आ–आफ्नो सन्दर्भ र आस्थासहित नवीनतम थलोमा भाग्य जाँच्न परिभ्रमणमा लागेको पाइन्छ, नेपाली युवा जमात स्वयम् त्यही परिभाषामा पर्छ । संसारको छवटा महादेशको विविध मुलुकको विभिन्न थलोमा नेपाली पुगेका छन् तथा नेपालको युग र शताब्दीसुहाउँदो परिभाषा दिन ती लालायित छन् । सापेक्षतः नेपालको परिचय दिनेक्रममा काठमाडौँको पशुपतिनाथ, स्वयम्भूनाथ, महाबौद्ध, जीवित देवी कुमारी, घण्टाघर र धरहराको विशेषताको चर्चा तिनको कुराकानीमा समाहित रहने गर्छ ।
नेपालको सातवटा प्रदेश र सतहत्तर जिल्लाको आआफ्नौ वैशिष्ट्य एवं निजत्व भएपनि ऐतिहासिक कान्तिपुरको परिचय धेर–थोर पृथक ढङ्गले मिल्ने गर्छ । महर्षि महामञ्जुश्रीद्वारा प्रारम्भिक चिनारी दिइएको प्रथम परिवेश हो– काठमाडौँ उपत्यका । नेपाली संस्कृति र सभ्यताको विविध मानकको आकर्षणलाई वृहत् काठमाडौँको परिदृश्यले सुरक्षित राखेको प्रस्ट छ । आध्यात्मिक, धार्मिक, भौगोलिक विशेषताले गर्दा पर्यटन संस्कृति (टुरिस्ट कल्चर)को प्रमुख चासो एवम् आकर्षणलाई काठमाडौँले केन्द्रमा राखेको हामी देख्छौँ । यही बिन्दुबाट शुभारम्भ हुन्छ– साँस्कृतिक धरोहररूपी धरहराले एकप्रकारले हृदयभूमि (हर्टल्यान्ड)को ठाउँ ओगटेको सुन्दरतम परिदृश्य ।