म बाउसे (कविता)
चोपनारायण बन्जाडे
म बाउसे
एक आममान्छे
असारको आगमनसँगै
मेरो भूमिका फेरियो
म गह्रागह्रामा मार्चपास गरिरहेको छु
माटोका अग्ला ढिस्कालाई सम्याउँदै
झारहरूलाई हिलोमा दफन गर्दै
जीवितलाई जैविक पार्दै ।
हलीदाइ तत्तत्त आवाजसँगै
सिर्जनाका डोब लगाउँदै अघि बढ्छन्
म पछ्याउँदै छु समथल सुनिश्चित गर्न
र त
यो एक उत्सवमा
भेट भयाँै तिमी
गोडहारबाट रोपाहारमा रूपान्तरित भएपछि
रूपान्तरित भयौँ तिमी स्थानान्तरित भयौँ
मानो रोपेर मुरी फलाउने निश्चित भएपछि
के हामीले मङ्सिर कुर्नुपर्ला र ?
हिलो–माटोको सुवास,
हिलो–माटोको ऋतुधर्म
हिलो– हाम्रो सम्बन्धको कारण
हिलोसँगै तिमी झन्झन खुल्दै गयौ
बीउ तिम्रो नजिक आउने बहाना
म बाउसे
म बाँझो र भरिलो बीचको सम्बन्ध
म बाँझो र भरिलो बीचको सिमाना
म बाँझो र भरिलो बीचको बाधा
म लक्ष्यलाई आत्मसात् गर्दा
म बाँझोको अवसान भरिलोको थालनी
कहिले म स्वार्थी बन्छु, पारिश्रमिक खोज्छु
भौतिकीले तान्छ, म भोगवादी बन्छु
कहिले त्यागमा रोमान्चित हुन्छु
म बाउसे
म एक आममान्छे
कहिले हली र रोपाहारको सम्बन्धलाई हेर्छु
कहिले रोपाहार र रोपो बीचको मात्र देख्छु
म आफू हुन्न समाहित हुन्छु रोपाहारमा
र रोमान्चित हुन्छु
सोच्छु, त्यागमा कत्रो दम छ
कहिले आफूमा उनीहरू खोज्छु
बनमारा र तितेपातीले जितेका कान्लामुनि
सिरु र बन्सोले ढाकेका गह्राहरूमा
सुनौलो बाला झुलाउने मिसनमा
बाउसे र रोपाहारको नियमित भेटमा
तिम्रो र मेरो आकस्मिक भेटले
लक्ष्य भेट्न त मङ्सिर नै कुर्नु पर्ला ।।