असार (कविता)
बद्रीप्रसाद दाहाल
वर्षा बोकी, रिमिझिमी बनी, नाच्न थालिन् असार ।
पाखाबँेसी, समतलगरा, गर्न थालिन् सुसार ।।
खोलानाला, कलुष झरना, बैँसमा जुर्मुराए ।
रोपारेका, रसिक रसना, प्रीत पोख्दै सुसाए ।।१।।
रोपार्नीका, तन वदनमा, बाउसे पङ्क छेप्छन् ।
रोपार्नी झन्, त्वरित गतिमा, मृित्तका लेपिदिन्छन् ।।
ब्याडे लाठे, चमचम भए, दोहरी गीतसाथ ।
रोपार्नीका, छमछमसँगै, खुल्दछन् प्रेम बात ।।२।।
ढाक्छन् व्योमै,‘घन’–सघन भै, गर्जिंदै धूमयोनि ।
धर्ती सिँच्ने, ‘प्रकृति–जननी’, विश्वब्रह्माण्ड ज्योति ।।
मानो रोपी फसल त मुरी, भर्नसक्ने असार –
भन्छिन्, मान्छे श्रमसिप खुलून्, सिर्जनाका जुहार ।।३।।
हेर्दा चारैतिर हरित छन्, वृक्षबल्ली र पात–
छोपे मिल्दै, ‘जलकण हवा’, हुन् कि घुम्टी अपार ।।
पञ्चे बाजा घनन बने, सिर्जना गीत गाई ।
स्वप्ना बुन्छन्, लहलह हुने, मार्गको शीर्षलाई ।।४।।