के सिक्ने ? मेलम्चीको पीडाबाट !
प्रा.डा. तारानिधि भट्टराई
गत असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा अचानक आएको भीषण बाढीले ती दुई नदीको सङ्गमस्थलमा रहेको मेलम्ची बजारमा ठूलो मात्रामा ग्रेगान (ढुङ्गा, गिट्टी र बालुवाको मिश्रण) थुपारेर त्यहाँको जनजीवन तहसनहस बनायो । इन्द्रावतीको बाढीले मुख्यतः बालुवा मिश्रित माटो ल्याएको थियो भने मेलम्चीको बाढीले आथाह ग्रेगान र रूखका हाँगा र मुढालाई पनि ल्याएको थियो । धन्न घटना उज्यालो हुँदै सुरु भएको थियो र माथिल्लो तटीय क्षेत्रका जनप्रतिनिधिहरूले तल्लो तटीय क्षेत्रका मानिसलाई बाढी आउँदै गरेको सूचना फोनबाट दिएको हुनाले सर्वसाधारणले ज्यान जोगाउन सकेको देखिन्छ ।
त्यति हुँदाहँुदै पनि बाढीका कारण धेरैले ज्यान गुमाउनु प¥यो भने सयौँ अरू धेरै घाइते भए । मेलम्ची नदी किनारका माछा पालन स्थलहरूलाई नामोनिसान नरहने गरी बगायो । नदी किनारका अरू बस्तीमा पनि बाढीले व्यापक क्षति पु¥यायो । मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौँ उपत्यकामा ल्याएर खानेपानीको समस्या समाधान गर्ने हेतुले बनाइएको मेलम्ची खानेपानी आयोजनाको ‘इनटेक साइट’ लाई पनि मेलम्ची नदीको बाढीले नराम्रोसँग प्रभावित ग¥यो । बाढी आउनु एक दिनअघि नै विभिन्न प्राविधिक परीक्षणका लागि सुरुङको ढोका बन्द गरिएको हुनाले सुरुङभित्र बाढी पस्न पाएन र ठूलो क्षति हुनबाट बचेको कुरा सार्वजनिक भइसकेको छ । क्षतिको वास्तविक लेखाजोखा हुन बाँकी नै भए तापनि ‘हेडवर्क साइट’मा बनाइएका संरचनाहरूलाई गेग्रानले पूर्ण रूपमा पुरिदिएको, योजनास्थलमा जाने नदी किनारको बाटो धेरै ठाउँमा भत्काएको, पुलहरू बगाएको कुरा सञ्चारमाध्यममा आइसकेको छ ।
मनसुनी हावा नेपाल प्रवेश गरेको हप्ता दिन नबित्तै र धेरै वर्षा पनि नभई अचानक आएको यो गेग्रान मिश्रित बाढीको कारण चाहिँ मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रमा हिमताल फुटेको पनि हुनसक्छ वा पहिरोले नदी थुनिएको र उक्त पहिरो निर्मित बाँध अचानक फुट्नाले पनि बाढी आएको हुनसक्छ । कारणको यकिन गर्न स्थलगत अध्ययन जरुरी देखिएको छ । तर उक्त क्षेत्र अत्यन्त विकट, जङ्गलले ढाकिएको भीर, पाखा र मानव बस्तीविहीन अनकन्टार भएको हुनाले स्थलगत अध्ययन गरी सत्यतथ्य आँकडा प्रकाशित गर्न केही समय कुर्नुपर्ने देखिन्छ ।
मेलम्ची नदीमा गेग्रान मिश्रित बाढीको घटना योभन्दा अगाडि नसुनिएको, नदेखिएको र कल्पना पनि नगरिएको स्थानीयको भनाइ छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको तथ्याङ्कमा पनि यस्तो बाढीको प्रसङ्ग उल्लेख गरेको कुरा प्रकाशमा आएको छैन । राष्ट्रिय महŒवको मेलम्ची खानेपानी आयोजनाले सम्भावित बाढीको विश्लेषण गरेको भए तापनि पहिरोले नदी थुन्न सक्ने र गेग्रान मिश्रित बाढीको प्रकोप हुनसक्नेतिर ध्यान नदिएको कुरा क्षतिको विवरणबाट बुझिन्छ ।
यो परिदृश्यले केही गम्भीर प्रश्नहरू उब्जाएको छ । मेलम्ची नदीको जस्तै भूगोलमा रहेका हामीसँग थुप्रै नदी छन्, जसको किनारामा पनि प्रशस्त सहर र बस्तीहरू छन् । सिँचाइ, सडक र जलविद्युत् आयोजनाका विभिन्न संरचना निर्माण भइसकेका वा निर्माणाधीन छन् ।
यी नदीहरूमा पनि मेलम्चीमा जस्तै पहिरोले नदीलाई थुनेर प्राकृतिक पोखरी बनाउने र पछि उक्त पोखरी फुटेर गेग्रान मिश्रित भीषण बाढीको सिर्जना हुने सम्भावना होला कि नहोला ? त्यस्तो सम्भावना भए, त्यहाँका बासिन्दाको जीउधनको सुरक्षा र त्यहाँ निर्मित भौतिक संरचनाहरूको रक्षा गर्न सकिएला कि नसकिएला ? यस्ता घटनाहरू विगतमा अरू नदीमा भएका थिए कि थिएनन् होला ? गेग्रान मिश्रित बाढी सिर्जना गर्ने नदीहरू नेपालबाहेक अरू ठाउँमा छन् कि छैनन् ? यो लेख यिनै प्रश्नहरूको सेरोफेरोमा केन्द्रित छ ।
भूगर्भशास्त्रीहरू नेपालको सम्पूर्ण भूगोललाई ‘नेपाल हिमालय’ भन्छन् । लगभग दुई हजार चार सय किलोमिटर लामो हिमालय पर्वत शृङ्खला पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको छ र बिचको लगभग आठ सय किलोमिटर लामो भाग ‘नेपाल हिमालय’ले ओगटेको छ । लगभग पाँच करोड वर्षअघि इन्डियन प्लेट र युरेसियन प्लेट एक आपसमा ठोक्किएपछि हिमालय पर्वत शृङ्खला बन्न थालेको थियो । हाम्रो देशको उत्तरी सिमानामा अवस्थित हिमशृङखलाहरू सबैभन्दा पहिले बनेका पहाड हुन् ।
हिमशृङ्खलाको दक्षिणमा अवस्थित पहाडहरू क्रमशः एकपछि अर्को गर्दै बनेका हुन् । महाभारत पहाड बनिसकेपछि बनेको चुरे पहाड यो क्षेत्रको सबैभन्दा कान्छो पहाड हो । झण्डै डेढ करोड वर्षअघि सुरु भएको चुरे पहाड बन्ने भौगर्भिक प्रक्रिया हाम्रो देशमा अझै पनि निरन्तर चलिरहेको छ । यहाँ उल्लेख्य कुरा के छ भने चुरे पहाड बन्नु अघिदेखि नै यस क्षेत्रमा वर्षा हुने गरेको थियो र वर्षाको पानीलाई प्राकृतिक रूपमा व्यवस्थित गर्न नदीहरूको सञ्जाल पनि बनिसकेको थियो ।
अहिले जसरी तराईमा नदीहरूले माटो थुपारिरहेका छन्, त्यसैगरी प्राग्ऐतिहासिक कालमा नदीहरूले ढुङ्गा माटो बगाउँदै ल्याएर अहिले चुरे पहाड भएको ठाउँमा थुपार्ने गरेका थिए । यसरी थुप्रिएको ढुङ्गा माटोको तह, जो लगभग पाँच किलोमिटर मोटो (बाक्लो) थियो, कालान्तरमा पत्रेदार चट्टान बनेको हो । त्यही पत्रेदार चट्टान पहाड बन्ने क्रममा चुरे पहाडको रूपमा अहिले हाम्रा सामु छ । चुरे पहाडको एउटा खण्डमा प्रशस्त मात्रामा ‘कङ्लोमरेट’ नाम गरेको चट्टान भेटिन्छ । चुरेमा भेटिने ‘कङ्लोमरेट’मा निकै ठूला, गोला (नदीले ढुङ्गा बगाउने क्रममा ढुङ्गा गुडुल्किँदै जाने हुनाले त्यसको आकार गोलो हुन्छ) ढुङ्गाका टुक्राहरू गेग्रान (गिट्टी र बालुवाको मिश्रण) मा टाँसिएर बसेका भेटिन्छन् ।
यस तथ्यले के पुष्टि हुन्छ भने चुरे पहाड बन्नुभन्दा अघि पनि नदीमा गेग्रान मिश्रित बाढी बारम्बार आउने गर्दथ्यो । चुरेमा पाइने अरू चट्टानहरू (जस्तै, स्यान्डस्टोन र मडस्टोन) मा पनि त्यस बखत आएका बाढीका प्रमाण यथेष्ट भेटिन्छन् । यस्तो बाढी आउनुको कारणमा नदीको पानीढलो क्षेत्रमा भीषण वर्षा हुनु, पहिरोले नदीलाई केही समय थुनेपछि बाँध अचानक फुट्नु, भूकम्पका कारण ताल वा पोखरीहरू फुट्नु, आदिलाई लिइन्छ ।
अब के बुझिन्छ भने मेलम्ची नदीमा आएको गेग्रान मिश्रित बाढी पनि प्राग्ऐतिहासिक कालदेखि निरन्तर चलिरहेको प्रक्रियाको एउटा दृश्य मात्र हो । यो नितान्त नयाँ कुरा होइन । गुगल नक्सालाई सूक्ष्म रूपले हेर्दै जाने हो भने माथिल्लो तटीय क्षेत्रमा मेलम्ची नदी साँघुरो खोँच बनाएर बगेको भए पनि एकादुई ठाउँमा चाहिँ यसले फराकिलो बगर पनि बनाएको छ, जसको नजिकै तलतिर वा छेउमा नदी साँघुरिएको पनि देखिन्छ । यसको अर्थ के हो भने सयौँ वर्षअघि पनि मेलम्चीमा नदी थुनिने र खोलिने प्रक्रिया चलेको थियो । यस्ता घटना मेलम्चीमा मात्र सीमित नभई अरू नदीमा पनि भएका छन् ।
‘लोल्यान्ड टेक्नोलोजी इन्टरन्यास्नल’ जर्नलको सेप्टेम्बर २०१६ मा प्रकाशित अङ्कमा नेपालका केही नदीलाई पहिरोले थुनेर बनेका बाँध (पहिरेबाँध) हरूको प्रकृतिबारे प्रकाश पारिएको छ । जसअनुसार, ३० देखि ४० हजार वर्षअघि डोल्पाको सुलीगाढ नदीमा बनेको पहिरेबाँध अहिलेसम्म पनि सुरक्षित छ । मुस्ताङको कालोपानी भन्ने ठाउँमा लगभग ५५ हजार वर्षअघि काली गण्डकीलाई पहिरोले थुनेको थियो । त्यो बाँध लगभग १० हजार वर्षअघिसम्म पनि थियो । त्यसपछि नदी बाँधको एक छेउबाट खोलिएर गयो र अहिले भने त्यहाँ बस्ती बसेको छ ।
त्यस्तै, मनाङ जिल्लाको ढुकुरपोखरी भन्ने ठाउँमा लगभग १० हजार वर्षअघि पहिरोले मस्र्याङ्दी नदीलाई थुनेको थियो । तर त्यो बाँध लामो समयसम्म रहन सकेन । दोलखाको लामाबगर बन्ने ठाउँमा पनि हजारौँ वर्षअघि तामाकोसी नदीलाई पहिरोले थुनेको थियो । त्यहाँ बेग्लाबेग्लै समयमा तीन पटक पहिरो गएको बताइएको छ र पहिरेबाँधको मुख्य भाग अहिलेसम्म पनि छ ।
यस्ता घटना पछिल्लो समयमा पनि निकै ठाउँमा दोहोरिएका छन् । जस्तै, सन् १९७० मा तिनाउ नदी (रुपन्देही), सन् १९८२ मा बलेफी नदी (सिन्धुपाल्चोक), सन् १९८७ मा सुनकोसी (सिन्धुपाल्चोक), सन् १९८८ मा म्याग्दी खोला (म्याग्दी), सन् २०१२ मा सेती नदी (कास्की), सन् २०१४ मा सुनकोसी (सिन्धुपाल्चोक, जुरे) मा पहिरोले नदीलाई केही समय थुनेको थियो । यी घटनामा निकै जनधनको क्षति भएको थियो ।
पहिरेबाँधहरू बनिनुको प्रमुख कारणमा त्यस क्षेत्रमा भीषण वर्षा हुनु, शक्तिशाली भूकम्प जानु, चट्टान र माटोको किसिम एवं तिनीहरूको भौगर्भिक गुण, भूमिगतजलको अवस्थिति, नदीको बगर साँघुरो हुनु र किनारमा अग्ला भिरपाखा हुनु, इत्यादि हुन् । बाँधको आयु र जलाशयमा पानीको मात्रा बाँधभन्दा माथिल्लो भूभागमा रहेको नदीको पानीढलोको क्षेत्रफल, नदीमा बगिरहेको पानी र गेग्रानको मात्रा, बाँधको चौडाइ र उचाइ, बाँधमा भएका ढुङ्गा र माटोको भौगर्भिक गुण, इत्यादिमा भर पर्छ । सामान्यतः पहिरेबाँधहरूको आयु केही मिनेटदेखि हजारौँ वर्षसम्म हुने भए पनि झण्डै ८७ प्रतिशत पहिरेबाँधहरू एक वर्षभित्र आफैँ भत्किएको कुरा माथि उल्लिखित जर्नलमा प्रकाश पारिएको छ । धेरैजसो पहिरेबाँध बन्ने र फुट्ने घटना हिमाली भागको दक्षिणपट्टि (महाभारत पर्वत र यसको आसपासको क्षेत्र, जसलाई भूगर्भशास्त्रीहरू ‘लेसर हिमालय’ भन्छन्) को भागमा हुने गरेको देखिन्छ । गेग्रान मिश्रित बाढी आउनुको कारण एउटा त माथि उल्लेख गरिएको पहिरेबाँध फुट्नु हो भने अर्को चाहिँ उच्च भूभागमा रहेका हिमताल फुट्नु हो । काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २०२० मा प्रकाशित गरेको एउटा दस्तावेजअनुसार नेपालमा भएका २०७० वटा हिमतालहरूमध्ये २१ वटा फुट्ने जोखिमको सूचीमा छन् । नेपालमा अहिलेसम्म २६ वटा हिमताल फुटेको तथ्याङ्क उपलब्ध छ । हिमताल फुट्दा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले जनधनको क्षति गर्नुका साथै पुलपुलेसा, बाटाघाटा र केही जलविद्युत् आयोजनाहरूमा पनि व्यापक नोक्सानी गरेको थियो ।
‘न्याचुरल हाजर्डस्’ जर्नलको अङ्क ५२ (जनवरी २०१०) मा प्रकाशित एउटा वैज्ञानिक लेखका अनुसार ३ सेप्टेम्बर १९९८ मा सोलुखुम्बु जिल्लामा रहेको ताम पोखरी (हिमपोखरी) फुटेर ईंखु खोलामा भीषण गेग्रान मिश्रित बाढी आएको थियो । पोखरी फुट्ता पोखरीको ४० प्रतिशत पानी (एक करोड ८० लाख क्युबिक मिटर) निक्लिएको थियो । बाढीको पानीमा पोखरीको डिल फुट्दा निक्लिएको गेग्रान (जहाँ निकै ठूलाठूला ढुङ्गा पनि थिए) पनि मिसिएको थियो । बाँध फुटेपछिको सुरुको आधा घण्टासम्म ईंखु खोलामा उच्चतम बाढी बग्यो र त्यसपछि पनि नदीलाई सामान्य हुन घण्टौँ लागेको थियो ।
त्यसले माथिल्लो तटीय क्षेत्रमा व्यापक कटान ग¥यो भने तल्लो तटीय क्षेत्रका विभिन्न ठाउँमा गेग्रान थुपारेको थियो । पुलपुलेसा बगाउनुका साथै खोला किनारका खेतीयोग्य जमिन र बस्तीहरूलाई यसले व्यापक क्षति पु¥यायो । हिमताल फुट्नुको कारणमा भूकम्पले जमिन हल्लाउनु, धेरै वर्षा हुनु र पोखरीको किनारमा ठूलो पहिरो गई पोखरीभित्र पहिरोले ल्याएको गेग्रान पस्नुलाई आँैल्याइएको छ । नदीलाई पहिरोले थुन्ने र हिमताल फुट्ने प्रक्रियाहरू प्रायः वर्षाको मध्य वा अन्त्यतिर हुने गरेको देखिन्छ । यसको अर्थ यी प्रक्रियाहरूलाई सक्रिय बनाउन पानीको अहम् भूमिका रहेको देखिन्छ । त्यसैले, पहाडी भागमा भीषण वर्षा हुँदा पहिरो गई नदी थुनिने वा हिमाली भेगमा व्यापक हिमपात हुँदा हिमतालमा पानीको मात्रा बढ्न गई (हिउँ पग्लिएपछि) ताल फुट्ने सम्भावना रहने कुरा विज्ञहरूले बताउँदै आएका छन् । सोही अनुरूप वर्षा ऋतु सुरु भएपछि मात्र बाढीबाट बच्नका लागि केही पूर्वतयारी गर्ने हाम्रो चलन छ । तर हालसालैका बाढीका केही घटनाले थप नयाँ कुरातिर नीतिनिर्माता र विज्ञहरूको ध्यान मोडिदिएका छन् ।
उदाहरणका लागि, ‘साइन्स जर्नल’मा जुन १०, २०२१ मा प्रकाशित एउटा लेखका अनुसार भारतको उत्तराखण्डमा अवस्थित हिमाली क्षेत्रमा लगभग दुई करोड ७० लाख क्युबिक मिटर आयतन भएको चट्टान र हिउँ (आइस) को मिश्रण अचानक पाँच हजार पाँच सय मिटरको उचाइबाट एक हजार आठ सय मिटर तल झ¥यो (पहिरो गयो) र रोन्तीगाड (नदी)को बगरमा बजारियो । घटनाको बेला रोन्तीगाडमा धेरै पानी थिएन । पहिरो नदीको बगरमा बजारिँदा चट्टान टुक्रिएर धुलोपिठो भयो भने बज्रिँदा उत्पन्न भएको तापका कारणले पहिरोमा रहेको हिउँ पग्लिएर पानी निक्लियो । फलस्वरूप रोन्तीगाडमा गेग्रान मिश्रित बाढी (डेब्री ल्फो) सुरू भयो, जुन सुरुमा ऋषिगङ्गामा मिसियो र त्यसपछि धौली गङ्गामा पुग्यो । यो गेग्रान मिश्रित बाढीले दुई सयभन्दा बढी मानिस हताहत भए (वा हराए) भने दुई वटा जलविद्युत् योजनालाई तहसनहस बनायो ।
यो घटना हुँदा त्यस क्षेत्रमा पानी पनि परेको थिएन, हिमपात पनि भएको थिएन र भुइँचालो पनि गएको थिएन । यसको अर्थ के हो भने विपद्लाई निम्त्याउने कारक तŒवहरू(पानी, तापक्रम, जलवायु परिवर्तन, भौगर्भिक अवस्था, इत्यादि) धेरै समय अघिदेखि नै एकत्रित हुनथालेका थिए, जुन कुरालाई हाम्रो अहिलेको ज्ञानले सजिलै उजागार गर्न सकेन, किनभने घटनास्थल विकट भएको हुनाले स्थलगत अध्ययन असम्भव जस्तै भयो । माथि उल्लिखित घटनाले के कुराको उजागार गर्छन् भने हाम्रो हिमालय क्षेत्रमा कुनै पनि बेला यस्ता विपद्का घटना हुन सक्छन् किनभने, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि हुन गई पहिलेको दाँजोमा अहिले हिउँ चाँडो पग्लने, हिमताल र हिमनदीमा पानीको मात्रा बढ्ने, नयाँ हिमताल बन्ने, पुराना हिमताल फुट्ने, हिमपहिरो बारम्बार जानेजस्ता घटनाहरू हाबी हुँदै गएका छन् ।
बाढी पहिरोजस्ता प्राकृतिक घटना रोक्न सजिलो छैन । तर, तिनीहरूको प्रभाव कम गर्न अवश्य सकिन्छ । त्यसैले, सम्भावित विपद्को पूर्वानुमान गर्न र त्यसको प्रभाव कम गरी जीउज्यान एवं भौतिक संरचनाहरूलाई पनि जोगाउन प्रत्येक महŒवपूर्ण नदीको पानीढलोको सूक्ष्म निगरानी (अध्ययन र अनुसन्धान) गर्न अब ढिलो गर्नु हुँदैन । साथै, भरपर्दो पूर्वचेतावनी प्रणालीको पनि विकास गर्नुपर्छ । त्यसका लागि नभई नहुने कुरा भनेको वर्षा र हिमपात मापन उपकरणहरू जडान गर्नु हो ।
खण्डवृष्टि र अतिवृष्टिका घटनाहरू बढिरहेको परिप्रेक्ष्यमा वर्षामापन यन्त्र डाँडापाखाका साथै प्रत्येक स्कुल, पालिका र वडा कार्यालयमा पनि जडान गर्नु उचित देखिन्छ । स्मरण रहोस्, मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रमा मात्र होइन, मेलम्ची बजारभन्दा माथिको इन्द्रावतीको तटीय क्षेत्र र लार्के र याङ्ग्री नदीको पानीढलोमा एउटा पनि वर्षामापन यन्त्र जडान नभएका कारण असार १ गतेको विपद्को कारण खुट्याउन मुस्किल परेको हो ।
नदीमा पानीको सतह नाप्न जडान गरिएका उपकरणहरूलाई बाढीले बगाउने सम्भावना भएको हुनाले, नयाँ प्रविधि (जस्तो कि बाढीले उत्पन्न गरेको आवाजलाई आधार मानेर बाढीको मात्रा, गति र शक्तिको आकलन गर्ने प्रविधि छ, जसका लागि उपकरण नदीभन्दा टाढा, बाढीले नभेट्ने ठाउँमा राख्न सकिन्छ) भित्र्याउनु राम्रो हुन्छ ।
सारांशमा भन्नुपर्दा, मेलम्चीको घटनालाई चेतावनीको रूपमा लिनुपर्छ किनभने, माथि उल्लेख गरेअनुरूप यस्ता घटना अरू नदीमा जुनसुकै बेला हुन सक्छन् । यसका साथै हामीकहाँ अन्तर्देशीय नदीहरू पनि छन्, जसको मुहान तिब्बतमा छ, विगतमा हिमताल फुटेर वा पहिरेबाँध भत्किएर भीषण बाढी आई नेपालका विभिन्न ठाउँमा व्यापक क्षति पु¥याएको तथ्याङ्क पनि हामीसँग छ ।
त्यसैले, अहिलेको समय भनेको पूर्वतयारीको हो तर हामी सचेत भएका छैनाँै । मेलम्ची घटनाको दुई हप्ता बितिसक्दा पनि हामीले न त विपद्को कारण निक्र्योल गर्नसक्यौँ न क्षतिको लेखाजोखा नै । त्यस्तै, बाढीले सिर्जाएका अनुत्तरित प्रश्नहरू अझैसम्म पनि जस्ताका तस्तै छन् । तीमध्ये केही यस्ता छन् ः क्षति पु¥याएका नदी किनारका गाउँ वस्तीहरूलाई त्यहीँ राख्ने कि स्थान्तरण गर्ने ? क्षतिग्रस्त सडक र पुललाई पहिलेकै डिजाइन अनुरूप मर्मत गर्ने कि नयाँ डिजाइन अनुरूप नवनिर्माण गर्ने ? मेलम्ची खानेपानी आयोजनाको ‘इनटेक साइट’को क्षति लापरबाहीका कारणले हो या प्राकृतिक कारणले हो ? यसै आयोजनासँग गाँसिएका याङ्ग्री र लार्के नदीमा यस्तै विपद् आइलाग्ने सम्भावना छ कि छैन ? मेलम्चीको जस्तै भूगोलमा निर्माणाधीन वा निर्माण भइसकेका विद्युत् आयोजनाहरूलाई सम्भावित गेग्रान मिश्रित बाढीबाट बचाउन नयाँ प्राविधिक निर्देशिका बनाउनुपर्छ कि
पर्दैन ? यस्ता बाढीबाट जीउधनको रक्षा गर्न कुन खालको पूर्वचेतावनी प्रणाली बढी फलदायी हुन्छ ? अन्तर्देशीय नदीमा आउने बाढीको पूर्वसूचना प्रणाली तयार गर्न वा परिमार्जन गर्न बहुदेशीय संयन्त्रलाई कसरी सञ्चालन गर्ने ?
यस्ता सवालहरूको जवाफ हामीले यथासम्भव चाडो खोज्नु जरुरी भएको छ । त्यसका लागि एउटा उच्चस्तरीय बहुविधाका प्राविधिक संलग्न समिति गठन गरी अध्ययन अनुसन्धान गराउनु उपयुक्त देखिन्छ । यसका साथै, सर्वमान्य अवधारणा तयार गर्न विज्ञ, नीति निर्माता, पेसागत सङ्घ संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरूबीच छलफल चलाउनु पनि उत्तिकै आवश्यक छ ।
(लेखक भूगर्भशास्त्रका अध्येता हुनुहुन्छ)