शनिवार |

छोरीको बिदाइ (कविता)

आयुष खनाल


छोरी भैकन जन्मियौ जगत्मा, यस्तै यहाँको रित
बाआमा परिवारबाट सजिलै, जाने नि अर्कैसित
सारा शान्त र मौन भो घर सबै, तिम्रै झझल्को भरी
तिम्रै याद जताततै छ घरमा, तिम्रै छ चिन्ता पनि ।

छोरी– प्रौढि तथा दयालु दिलकी, सम्प्रीति सौदामिनी
देवी दौलत दान औँ भगवती, मन्दार मन्दाकिनी
छोरी इज्जत, मान, शान घरकी, शृङ्गार सौन्दर्य हौ
छोरी दूर भए नसोच्नु कहिल्यै, हाम्रो तिमी प्राण हौ ।

आफँै जन्म दिएर आज अरूको, त्यो काखमा सुम्पिदा
आत्मा धर्धर रुन्छ यो विरहमा, छोरी त अन्माउँदा
कन्यादान गरेर दान जसरी, सुम्पाइ गर्छौं पनि
मारे पाप र पाल्नु पुण्य भनी त्यो, गर्छांै बिदाइ अनि ।

छोरो जन्म भए त लाग्छ घरमा, हुन्छौँ बुहारी धनी
हुन्छन् नाति र नातिनी र घर नै, हाँसो खुसीले भरी
कस्तो भिन्न प्रथा रहेछ जगमै, छोरा र छोरी बिच
छोरी कर्म–घरै छ जानु, घरमा छोरो हुने आखिर ।

यो संस्कार र सभ्यता जगत्को, कस्ले गरायो किन ?
लौ सन्तान समान हुन् तर यहाँ, संस्कार बेग्लै किन ?
छोरी छिन् घरमा भने त सबले, लक्ष्मी भनी पुज्दछौँ
छोरी दीप्त, प्रदीप्त, काञ्चन उषा, प्रद्योत हुन् ठान्दछौँ ।

बल्दैनन् घरमा दियो र भवमा, मिल्दैन है शान्ति नै
गर्छौ ईश्वर प्रार्थना हरपला, छोरी तिमी सम्झिँदै
आमा दाजु र भाउजू सब मिली, गर्छौं कुरा हर्घडी
न्यास्रो लाग्दछ शून्य भो घर सबै, छोरी बिदाइ गरी ।