अस्तित्व (कविता)
दिनेश अधिकारी
मैले ढाका वा भादगाउँले टोपी लगाएको
तिमीलाई मन नपर्न सक्छ
तानपुरासँग खेल्दै
मैले निमग्न गाइरहेको गीत
तिमीलाई रुचिकर नलाग्न सक्छ
मेरो बगैँचामा सयपत्री फुलेको
गुलाफ मन पराउने तिमीलाई
त्यसकाप्रति वितृष्णा जाग्न सक्छ
लाग्न सक्छ –
तिमीलाई मेरो चेप्टे नाक नराम्रो लाग्न सक्छ
लाग्न सक्छ –
तिमीलाई मेरो ध्वाँसे वर्ण नराम्रो लाग्न सक्छ
लाग्न सक्छ –
तिमीलाई मेरो लवज नै पनि नराम्रो लाग्न सक्छ
एउटै नाप, आकार र रङमा
कारखानामा उत्पादन हुने
छाता वा जुत्ता त होइन नि मान्छे !
मिलेन त मिलेन
विचार नमिलेकै कारण
के तिमीले मलाई यसरी हेप्न मिल्छ ?
तिम्रो इच्छाको फ्रेमभित्र अट्न नसकेकै कारण
के तिमीले मलाई यसरी थुक्न मिल्छ ?
शक्तिशाली हुने होडमा
किन ङ्याक्दै छौ यसरी आफ्नै चेतनाको घाँटी ?
नबिर्स ! यो जीवन हो
जत्ति नै उज्यालो भए पनि के गर्नु ?
देख्नका लागि आफ्नो वरिपरि कोही भएन भने
आँखाकै पनि अस्तित्व सङ्कटमा पर्छ !
हो,
आफ्ना लागि जुनसुकै व्यञ्जन पकाउन चाहिँ
तिमी सधैँ स्वतन्त्र छौ
यसमा न कसैको नोक्सानी छ
न कसैले विरोध गर्छ !!