यादहरूको बिस्कुन (कविता)
सरिता आचार्य
प्रिय ! आखिर तिमीले माया मारेकै हो
तिम्रो यादमा मैले सधैँ आँसु झारेकै हो
लाख प्रयास गरँे यो जुनीमा तिम्रो हुन
तर केही लागेन मेरो अनि मैले हारेकै हो ।
कसैको हुन हतार थियो तिमीलाई र पो
जिउँदै हँुदा तिमीले मेरो बरखी बारेकै हो
तिमी पनि अवसरवादी रहेछौ बल्ल बुझेँ
तिमीले नै मलाई माया जालमा पारेकै हो ।
धोका दिनु पनि पेसा हुन्छ थाहा भयो
आज यताको ओछ्यान उता सारेकै हो
फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ
के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ ।
कुरूप लाग्यो ? महोदय यो हजुरकै अनुहार हो
ऐनाको आफ्नो अनुहार छैन ऐना फुटाए हुन्छ
कसले गरिदिन्छ उपचार कसले दिन्छ ओखती ?
मेरो अगाडि कसैको पनि धाक नलाए हुन्छ ।
दुनियाँ दुनियाँलाई भन्छन् तिमीलाई भन्दैनन्
तिम्रो कुरा तिमीलाई के थाहा मुस्कुराए हुन्छ
फेरि ओसिनु पर्छ तिमी त ओझेल पर्न लाग्यौ
लाग्छ मैले अब रहरको बिस्कुन उठाए हुन्छ ।