विश्वेश्वरको साहित्यिक चिन्तन
राप्रउ पोखरेल
विश्वेश्वरप्रसाद कोइराला (विप्र) नेपाली राजनीतिका शिखर पुरुष थिए । उनको नेपाली राजनीतिमा हस्तक्षेपकारी प्रभाव आफ्नो देहावसान भएको चार दशकपछि पनि दृष्टिगोचर भइरहेकै छ । १६ वर्षको उमेरदेखि उनका साहित्यिक रचना सुरुताका हिन्दीमा र पछि इतिहासज्ञ सूर्यविक्रम ज्ञवालीको प्रेरणाबाट नेपालीमा प्रकाशित हुन थालेका थिए । उनी गुरुप्रसाद मैनालीका समकालीन कथाकार हुन् । साहित्यिक रचनाबाहेक २००५ सालदेखि जीवनको अन्तिम कालसम्म लेखेका र बोलेका समग्र राजनीतिक अभिलेखको सङ्ग्रह– जेल जर्नल (२०५४), फेरि सुन्दरीजल (२०५८), (दुवै कृति गणेशराज शर्माद्वारा सम्पादित), विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक अभिलेख (२०६६), प्रतिनिधि सङ्कलन (२०७३) (प्रदीप गिरिद्वारा सम्पादित) प्रकाशित छन् ।
साहित्यतर्पm उनका छवटा उपन्यास, दुई कथा–सङ्ग्रह छन् । त्यस अतिरिक्त साहित्यसम्बन्धी उनका फुटकर रचना हेर्दा उनमा उच्चकोटिको सौन्दर्यचेत थियो भन्ने पुष्टि गर्छ । ऐतिहासिक शिरोमणि बावुराम आचार्य, पण्डितराज सोमनाथ शर्मा सिग्देलजस्ता केही पारम्परिक सौन्दर्यशास्त्रीलाई अपवादमा लिने हो भने विक्रमको दोस्रो दशकदेखि आधुनिक समालोचना साहित्यको विकास हुन थालेको पाइन्छ । तिनैमध्ये एक विप्र कोइरालालाई पनि हामी पाउँछौँ । उनले २०११ सालमा प्रकाशित ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक लेखले त्यस कुराको पुष्टि गर्छ । त्यसपछि तारणीप्रसाद कोइरालाको सम्पादनमा प्रकाशित ‘कल्पना’ साप्ताहिकमा अल्वेयर कामुउपर पहिलो लेख ‘अल्वर्ट कामुको दर्शन’ तथा अर्काे ‘विचार लोकमा नयाँ लहर उचाल्ने अल्वेयर कामु’ लेख प्रकाशित भएको देखिन्छ ।
(कल्पना साप्ताहिक, २१ कात्तिक २०१४; २२ फागुन २०१४, स्रोत विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन २०७३ सम्पादक– प्रदीप गिरि) । समालोचनासम्बन्धी सबैभन्दा पछिल्लो लेख ‘आधुनिकतावाद ः शैली परिवर्तनको आन्दोलन’ भारतको प्रयागमा ‘परिमल’ रजतजयन्ती साहित्य सङ्गोष्ठीमा विशेष अतिथितिका रूपमा उनले प्रवचन दिएको मुद्रित रूप हो ।
विप्र कोइराला नेपाली आख्यानमा स्त्री–पुरुषको यौन मनोविज्ञानलाई आख्यानमा प्रवेश गराउने पहिलो साहित्यकार हुन् । त्यस अतिरिक्त, सुन्दरीजलको कारागारमा बन्दीजीवनमा रहँदा २०१७ सालदेखि २०२१ सालसम्म लेखिएका दैनिकी, जसलाई डायरी साहित्य भन्न सकिन्छ, गणेशराज शर्माको सम्पादनमा ‘जेल जर्नल’ शीर्षक दिएर प्रकाशित भएको छ । यस डायरीको राजनीतिक महŒव जे–जति छ, साहित्यिक मूल्य त्यत्तिकै गहन छ । कारागारमा रहँदा उनले आफ्नो अध्ययनलाई व्यापक विस्तार दिने अवसर पाए । उनको कारागारमुक्त जीवन अत्यधिक राजनीतिक व्यस्तताको जीवन थियो । त्यस्तोमा साहित्य सिर्जना गर्ने अवसर पाउँदैनथे, अनुकूल वातावरण पनि नहुँदो हो । ‘दोषी चश्मा’ सङ्ग्रहमा परेका कथामा धेरैजसो कलेजमा पढ्दाताका र दार्जिलिङमा वकालत गर्ने अवधिमा लेखेको अनुमान हुन्छ । अनुमान किन गरिएको हो भने विप्र कोइरालाले ती कथाहरू कुन समयमा कहाँ रहँदा लेखेका थिए भनेर कतै चर्चा गरेको पाइएको छैन । तर, सुन्दरीजलको बन्दीजीवन साहित्यिक सिर्जनाको हिसाबले अत्यन्त उर्वर र फलदायी रह्यो । भनिन्छ, प्रत्येक नराम्रो कुरामा राम्रोको पनि केही अंश रहेकै हुन्छ । यो ठीक हो होइन, तर विप्रको हकमा भने सोह्रैआना फलदायी रह्यो । उनले आफ्नो अध्ययन र साहित्यिक सिर्जनाद्वारा आफ्नो उचाइलाई धेरै माथि पु¥याए । ब्रिटिस हिन्दुस्तानमा त्यतिखेरका शीर्षनेताहरूले कारागामा रहँदा नै अन्तर्राष्ट्रियस्तरमा चर्चित ग्रन्थहरू लेखेका थिए । विप्र कोइरालाले पनि कारागारमा रहँदा त्यो समयलाई सदुपयोग गरेका थिए, नेपालका अरू नेताले बन्दी जीवनलाई सार्थक बनाउन सकेनन् ।
विसं २००७ को आन्दोलनले देशमा परिवर्तनको ढोका खोल्यो । साहित्य–कलाको क्षेत्रमा पनि त्यस्ता परिवर्तन परिलक्षित हुँदै थिए । त्यो सङ्क्रमणकाल थियो । तर, त्यस परिवर्तनलाई ताŒिवक परिवर्तन नमान्ने केही लेखक पनि थिए । त्यस्ता लेखकका साहित्यलाई विप्रले प्रगतिशीलताको आवरणमा ‘अनुभूतिहीन’ फोस्रो वृत्ति भनेका छन् । आफ्नो नितान्त निजी असन्तुष्टिलाई सरकारी निकायका पदाधिकारीमाथि वा व्यक्तिविशेषउपर लाञ्छना लगाएर रिस, इबी वा नैराश्य पोखिएका सिर्जनालाई प्रगतिशील साहित्य होइन, बरु पलायनवादी साहित्यको संज्ञा दिएको पाइन्छ । कलात्मक साहित्य के हो ? त्यस प्रश्नलाई उनी प्रस्ट पार्दै भन्छन्– साहित्य र कलाको स्रोत प्रकृति र समाज नै हुन्छन् । समाजमा देखिएका विसङ्गति, रिस, इबी, निराशा, आक्रोश आदि कलात्मक साहित्यका स्रोत हुन सक्छन् । तर, त्यसका लागि पनि संवेदनशीलता र अनुभूति चाहिन्छ । कलाको आधार विषयभन्दा बढी भावनामा हुन्छ र भावनाको आधार अनुभूतिमा हुन्छ ।
त्यसै प्रसङ्गमा उनले २०११ सालको ‘प्रगति’ द्वैमासिक पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक निबन्ध लेखेका थिए । त्यहाँ उनले प्रगतिशीलताको अमर्यादित प्रयोग हुन थाल्यो भनेर कडा आलोचना गरेका छन् । उनी भन्छन्– २००७ सालको परिवर्तन अत्यन्त छिटो र हठात्जस्तो भयो । परिवर्तनको व्यापकता र महत्ताको अनुभव सामाजिक चेतनाले ग्रहण गर्न नसकेर बुद्धिग्राह्यतामा सीमित भयोे । (प्रगति द्वैमासिक साहित्यिक पत्रिका, अङ्क ८, २०११ साल) । यस आलोचनालाई आजको केही विसङ्गतिवादी नेपाली साहित्यको प्रवृत्ति र शैलीको परिप्रेक्ष्यमा पनि असान्दर्भिक छ भन्न मिल्दैन ।
मुलुकमा गरिबी छ र परिवर्तनको उद्देश्य त्यसलाई हटाउनु हो । तर, त्यस समस्याका बारेमा राम्रो अध्ययन भएको छैन । परिवर्तनको सामथ्र्यलाई पनि मनन गरिनुपर्छ । तर, त्यसो नगरेर सोझै लेख्ने प्रयत्न गर्छन् भने त्यो लेखककोे अल्लारेपन हो । त्यसो गर्दा समस्यासँग सङ्घर्ष नगरेर उनीहरू भाग्ने मनोवृत्ति देखाइरहेका हुन्छन् । प्रगतिशीलताको नाममा रचिएका त्यस्ता साहित्य पलायन प्रवृत्तिका द्योतक हुने गर्छ । उनी भन्छन्– साहित्य जीवनजस्तै व्यापक छ । त्यसर्थ, जीवनको प्रतिविम्ब नै साहित्य हो । कार्ल माक्र्सका अनुयायीहरूले उनको सिद्धान्तलाई माझ्दामाझ्दा कारण र परिणाम सम्बन्धित भएजस्तै अर्थ र साहित्य पनि सम्बन्धित हुन्छ भन्ने निष्कर्ष निकाले । कट्टरवादीले त्यसलाई सनातन धर्मझैँ सङ्कीर्णतामा ग्रहण गर्न पुगे । यसको प्रत्यक्ष प्रमाण वर्तमान राजनीतिमा पनि देखापरेको छ । विश्वमा जहाँ पनि वैज्ञानिक ज्ञानको विस्तार साहित्यको आधारशिलामा भइरहेको छ । निश्चय पनि माक्र्सको अनुसन्धान, फ्रायडको सिद्धान्त साहित्यमा प्रतिविम्ब हुनुपर्छ ।
विश्वमा आर्थिक, वैज्ञानिकलगायत विभिन्न क्षेत्रमा अनुसन्धान कार्य भइरहेका छन् । मानव सभ्यता ती यावत् अनुसन्धान कार्यको सामूहिक परिणाम हो । साहित्य सभ्यताको प्रतीक हो । आजको सभ्यता लामो इतिहासको सञ्चित फल हो, इत्यादि ।
साहित्यमा आधुनिकतावादलाई विप्रले शैली परिवर्तनको आन्दोलन भनेका छन् । ‘परिमल’ रजतजयन्ती साहित्य सङ्गोष्ठी, प्रयाग (भारत)मा विप्र कोइरालालाई विशेष अतिथिका रूपमा आमन्त्रित गरिएको थियो । उनले सो गोष्ठीमा बडो सारगर्भित प्रवचन दिएका थिए । त्यतिखेर हिन्दी साहित्यकारमा समेत सो प्रवचन चर्चित बनेको पङ्तिकारलाई सम्झना छ । उनले त्यहाँ साहित्यमा केन्द्रित रहेर हिन्दी साहित्यलाई कुन प्रकारले नयाँ अर्थ दिइँदै छ, कस्तो नयाँ प्रयोग भइरहेछ ? भन्नेजस्ता प्रश्न गरेर व्याख्यान सुरु गरेका थिए ।
उनको व्याख्यानको सार यस्तो थियो– राजनीति र कला दुई भिन्न परस्पर विरोधी उद्देश्यका लागि स्थापित जीवनका क्षेत्र हुन् । राजनीतिको उद्देश्य सङ्गठन हो । यसको वृत्ति सामाजिक हुन्छ र यो नियममूलक हुने गर्छ । केन्द्रीभूत राजनीतिबाट छुट्कारा पाउन नानाथरीका सिद्धान्त र कार्यक्रम सञ्चालन गरेर प्रयोग गरिन्छ । कला–साहित्य भने आदर्श र प्रेरणाले परिचालित हुने विधा हो । यो सङ्गठनात्मक हुने गर्दैन । यसको वृत्ति व्यक्तिगत हुन्छ । यो नियम र मर्यादाबाट मुक्त हुन खोज्छ । यो अराजकतावादी हुन्छ । जोखिममा रहँदै नयाँ दिशाको खोजीमा रहन्छ । तर, वर्तमानमा समग्र सामाजिक स्थितिको वैज्ञानिक विवेचनाको अभावमा सुधारका नयाँ–नयाँ योजना अर्थहीन प्रमाणित भएका छन् । मानवजीवन स्वतन्त्रताप्रेमी स्वभावको हुन्छ । तर, उसको सामाजिक सहजवृत्ति पनि सँगसँगै हुने गर्छ भन्ने स्थापनालाई उनले स्वयम्सिद्धका रूपमा लिएका छन् । ती दुवै परस्पर विरोधी वृत्तिको द्वन्द्व–अनुभूतिको विस्तार विप्र साहित्यमा हामी पाउँछौँ । उनी मानिसको स्वतन्त्रताप्रेमलाई व्यक्तिवादी वृत्तिका रूपमा लिन्छन् । मनुष्य दोहोरो जैविक प्रवृत्तिमा सञ्चालित हुने प्राणी हो भन्ने चिन्तनमा सङ्केन्द्रित रहेर विप्र कोइरालाले आफ्नो साहित्यको धारा प्रवाहित गरेका छन् ।
उनी विषयलाई थप प्रस्ट पार्छन्– मनुष्यको दोहोरो प्रवृत्तिमा एउटा सामाजिक सहजवृत्ति हुन्छ, जुन व्यक्तिको आत्म रक्षार्थ निम्ति हो । व्यक्ति सामाजिक प्राणी हुनुका साथै सभ्यताको निर्माता पनि हो । तर, सँगसँगै मौरी वा कमिलाको जस्तो सामाजिकतामा सीमित रहँदैन, व्यक्तिवादी र अराजक स्वभावले गर्दा ऊ विद्रोहतिर अघि बढ्छ । ऊ नयाँ खोजी र अझै उन्नत अवस्थातिरको उसको दिशा हुन्छ । मनुष्यको त्यही विद्रोहको व्यक्तिवादी प्रवृत्ति र सामाजिकताको द्वन्द्वको अवस्थालाई अनुभूत गरेर कला–साहित्यले विस्तार दिन्छ । उनको अनौठो लाग्ने तर गहन तर्क के छ भने सामाजिकता निकै समाजवादी हुन सक्छ तर प्रगतिशील नहुन सक्छ । उनको यो प्रस्थापनामा एउटा प्रश्न अन्तरनिहित रहेको पाइन्छ । के समाजवादमा विद्रोहको स्थान छ ? यो सबै समाजवादी चिन्तकसमक्ष खडा हुने प्रश्न हो । विद्रोह समाजको समस्या र अन्तरविरोधको पृष्ठभूमिमा उठ्ने गर्छ र यो विकासको प्रेरणाले हुने गर्छ । आधुनिक चीनका स्वप्नद्रष्टा देङस्याओ पिङ प्रचलित बाटो छोडेर आफ्नै बाटो समात्ने विद्रोही किन होइनन् ?
विप्रको साहित्य व्यक्तिको प्रकृतस्थ यौनवृत्ति र सामाजिक सहजवृत्तिमाझ हुने द्वन्द्वको अनुभूतिको विस्तारमा संरचित छ । राजनीतिमा आपूmलाई समाजवादी विचारमा अडिग राखेका उनी समाजवादमा विद्रोहको स्थान रहन्छ वा रहँदैन भन्ने विषयमा स्पष्ट छैनन् ।
लेखक र पाठकबीचको आदान–प्रदानको प्रश्नलाई उनी लेखकको सीपसित जोड्छन् । व्यक्तिगत अन्तस्चेतना (अनुभूति !) लाई सामूहिक चेतनामा उतार्ने काम सीपको हो । सीप प्रयोजनका लागि कलाकार अनवरत नयाँ–नयाँ प्रयोग गर्छ । जसबाट उसले आफ्नो सहजानुभूतिलाई अभिव्यञ्जित गर्दा निजी नबनेर सामान्यकृत हुन सकोेस् ।
विप्र कोइरालाले अल्जेरियाका फ्रान्सेली भाषाका साहित्यकार अल्वेयर कामुका उपन्यासलाई अन्याय, निराशा र कायरताकोे दर्शनका रूपमा उच्च मूल्याङ्कन गर्दै सराहना गरेका छन्् । कामुको महŒवपूर्ण उपन्यास ‘ल्पेग’का प्रमुख पात्र डाक्टर भन्छ– जीवन एउटा कहिल्यै पनि समाप्त नहुने पराजय हो । कामुको यस्तो दर्शनलाई विप्र कोइरालाले निराशावादी, निष्क्रियवादी वा शून्यवादी दर्शन भनेका छन् । तर, यहाँ उनको कायरता र निष्क्रियताको दर्शनलाई समर्थन दिने विप्रको साहित्यिक चिन्तनमा परस्पर विरोध देखापर्छ । उनले मानवजीवनलाई ऊर्जावान, गतिशील, परिवर्तनकामी प्रकृतिको हुने गर्छ भनेर मानेका छन् । साहित्यलाई जीवनको प्रतिविम्ब हुन्छ भन्ने मान्यता पनि राख्छन् । मानव सभ्यतालाई विश्वमा भइरहेका यावत् वैज्ञानिक अनुसन्धान कार्यको सामूहिक परिणाम हो भनेर पनि स्वीकार गर्छन् । उनको सम्पूर्ण राजनीतिक र साहित्यिक व्यक्तित्व मानव सभ्यताको ऊर्जावान तŒवलाई गतिशील बनाउने चिन्तन रह्यो । यस्तो चिन्तनको पृष्ठभूमिमा द्वितीय महायुद्धको विभीषिकाले युरोपेली सभ्यतालाई दिएको त्रासदीको प्रभावले ग्रसित नैराश्य र पलायनको कथित दर्शनमा भविष्यलाई प्रेरणा दिने कुनै तŒव नभएको संरचित साहित्यलाई उच्च मूल्याङ्कन गर्छन् भने उनको चिन्तन त्यति प्रस्ट देखिँदैन । मानिसमा यदाकदा नैराश्य, पलायन र सङ्घर्षप्रति विमुखता पनि हुन्छ । तर, त्यसैलाई मानव प्रवृत्तिको स्थायी भाव स्वीकार गरेर साहित्य–कलाको सिर्जना हुनु सभ्यताको विकासका लागि पक्कै पनि स्वस्थकर हुँदैन ।
विप्र कोइरालाको साहित्य चिन्तनमा जेल जर्नलको विशेष स्थान छ । उनले सुन्दरीजलको कारागारमा रहँदा अनेक विषयमा प्रशस्त पुस्तक पढेका थिए । उनले ती पुस्तकमा चर्चित साहित्यकारका कृतिहरूउपर स–साना आलोचनात्मक टिप्पणी गरेका छन्, जसले साहित्यमा निकै महŒव राख्छ । त्यसर्थ, यसै आलेखमा त्यसको विवेचना गर्दा न्यायपूर्ण हुन सक्तैन । त्यसैले यसलाई एक छुट्टै विश्लेषणको खाँचो छ भन्ने लागेकाले अहिलेलाई थाती राखिएको पाठकवृन्दमा अनुरोध बिसाउँछु ।
जाँदाजाँदै, विश्वेश्वरप्रसाद कोइरालाको जीवनका अधिक समय ब्रिटिस भारतमा बितेको हामी सबैलाई ज्ञात भएको कुरा हो । भारतीयले ब्रिटिसको अनुकरण गरेर उनका पिताजीले बडो स्नेहसाथ दिएको नामलाई संक्षेपीकरण गरेर अङ्ग्रेजीमा ‘बीपी’ बनाइदिएका थिए । हामी नेपालीले त्यसैलाई अनुशरण गर्नु आवश्यक थिएन । स्वयम् विप्रले नामसम्बन्धी दूषित अनुकरणलाई रुचाएका थिएनन् । उनलाई सम्बोधन विप्र कोइराला भनेर गरियोस् भनेर आफ्नो चाहना राखेका थिए (जेल जर्नल पृष्ठ २५४,२०५४ साल) । तर, विप्रका अनुयायीले उनको सदीच्छालाई बेवास्ता गरेर भारतीयको ‘बीपी’ सम्बोधनलाई अझै निरन्तरता दिइरहेकै छन् । अब यस प्रवृत्तिलाई फेरिनुपर्छ ।