शनिवार |

कथा : यही नै हो प्रेम ?

लक्ष्मी उप्रेती

आज किन किन मन त्यसै नरमाइलो लागिरहेको थियो बिहानैदेखि । हुन त मेरो जिन्दगी नै आगो लागेर बचेको घरको कालो खम्बाजस्तै भइसकेको छ । जसरी, जुन रूपमा भए पनि उभिनुछ । दिक्क लागेको बेलामा कहिलेकाहीँ तल नरबहादुरको चिया पसलमा चिया पिउन पुग्दथेँ म । आज पनि कहाँ जाउँ लागेकाले कपडा फेरेर लागेँ उही नरबहादुरको पसलतिर ।
“कता हिँड्नु भो सर ? यो मध्य दिउँसोको घाममा ?” बाटोमा जम्काभेट भएकी नम्रताले सोधिन् । “तल नरबहादुरको चिया पसलमा दुई चार जना गाउँले भेट भै हाल्छन् गफ गराँै र चिया पनि पिउँ भनेर हिँडेको ।”
त्यति टाढा चिया पिउन जानु हुन्छ तर मैले कतिपल्ट चिया पिउन आउनु न सर भनेर बोलाई सकेँ, आउनु हुन्न !” उनले मन छुने भाव व्यक्त गरिन् ।
हुन त नम्रताले मलाई चिया पिउने निम्ता दिएको धेरैपल्ट भइसकेको थियो । उनको घरमा मैले पाइला नटेकेको पनि होइन । तर, समय फेरिएकोले मेरा पाइला बढ्न सकेका थिएनन् उनको घरतिर । उनी यहाँ आएको लगभग १५ वर्ष जति भयो होला । उनी आएपछि बिस्तारै मेरी श्रीमतीकी अभिन्न मित्र भइन् । श्रीमती हुँदा त हामी हप्तामा दुई, तीनपल्ट नै उनको घरमा पुग्थ्यौँ भने उनलाई पनि जुनसुकै बेला हाम्रो घरमा आउन रोकटोक थिएन । अब फेरि कुनै दिन नम्रताले बोलाउँदा चाहिँ जान्छु । मनमनै तय गरेर चुपचाप ओरालो लागेँ ।
केही दिनपछि फेरि उनले मलाई चिया पिउन आउनु न सर भनेर बोलाइन् । त्यसबेला निकै तलबाट सुसाइरहेकी थिई सुनकोसी । मेरी श्रीमती होउञ्जेल बारम्बार गएको घरमा श्रीमती नभएपछि जान बढेका पाइला हरेक पटक मोड्ने गर्थें । त्यसबेला अँध्यारो छरेर रात बेपत्ता भएजस्तै मसँगै अँध्यारो मात्रै थियो । उनी शान्त तलाउमा हराएजस्तै देखिन्थिन् । यसो बाटोतिर भेट हुँदा बोलेर चित्त बुझाउने गर्थें । तर, आज उनले चियाका लागि दिएको निमन्त्रणामा म गएँ ।
उनी रातो वर्णकी, निधारमा सानो खत भएकी, हँसिलो अनुहार र हाँस्दा गालामा खोबिल्टा पर्ने सुहाउँदिलो जिउडालकी शान्त र शालीन छिन् । अन्दाजी ५० वर्षीय उनी विनम्र स्वभाव व्यवहारअनुसारको साधरण जीवन शैली नै उनको सौन्दर्यजस्तो लाग्ने ।
आज उनको निमन्त्रणाले ममा बेग्लै स्फूर्ति छाएको थियो । अनेक कुरा मनमनै सोच्दै उनले भनेको समयमा उनको घरमा गएँ । उनले खुसी हुँदै औपचारिकताका साथ मलाई स्वागत गरिन् । बनाई सकेको चिया तुरन्तै कपमा भरिन् र एउटा प्लेटमा केही बिस्कुट राखेको ट्रे ल्याएर टेबलमा राखिन् । चिया सुरूप्प पिउँदै बिस्कुट टोक्दै हाम्रा कुरा सुरु भए । कुरा गर्दै जाँदा म श्रीमतीको सम्झनामा अलि बढी नै अँध्यारिएछु । सहज हुन खोज्दा खोज्दै पनि मेरो उदासीलाई उनले के बुझिन् कुन्नि ।
“तपाईं किन सिरियस ?” अचानक उनले सोधिन् । त्यसबेला म झस्किएँ । तर सबै वाक्य अनायासै बन्द भए । हठात् मेरो बाहिर जानुथ्यो झण्डै भुलेछु भनेर म त्यहाँबाट उठेर हिँडे ।
केही दिनपछि फेरि चियाका लागि उनले मलाई निमन्त्रणा गरिन् । ठूलो कम्पाउन्ड भएको उनको घर अगाडि सुन्दर बगैँचा छ । बगैँचामा थरीथरीका फूल फुलेका छन् । ती फूलमा रङ्गिन पुतली र भँवराहरू उड्दै बस्दै, बस्दै उड्दै गरिरहन्छन् । अलि छेउमा तीन÷चार वटा रूख छन् । ती रूखमा विभिन्न खाले चराहरूको चहलपहल भइरहन्छ । नम्रताको घरमा जाँदा आनन्द आउँछ भनेर मेरी श्रीमती हुरुक्क हुन्थिन् उनीकहाँ जान । पाँच वर्षअघि मेरी श्रीमतीको देहान्त भयो । अनि उनीकहाँ जाने सम्भावनाका ढोका बन्द भएको सोचेर चुपचाप उनलाई सुटुक्क नियाल्थेँ ।
सबैको मनमा लोकप्रिय भएर पनि पहिलेदेखि नै अनौठो उदास उनको अनुहार । कतै केही खाली भएजस्तै रित्तो भएजस्तै के नपुगेजस्तै । तर मनले चाहेका सबै कुरा कहाँ र कसका पो पुग्छन् भनेजस्तो लाग्थ्यो । कति पटक उनको यो उदासीको कारण जान्न चाहँे, पढ्न चाहँे मैले । तर भेउ नै पाइनँ । आज लगाइरहेका मेरा पातला लुगा, मुटुको धड्कनबाट निस्कने श्वास र अमूक प्रेमको नजानिँदो संवेदना लिएर उनको घरमा गएँ ।
बरण्डामा बसेर चिया पिउँदै कुरा गर्न थाल्यौँ हामी । त्यसबेला जीवनको ढोका उघार्ने उनले सुर गर्छिन् कि भन्ने आभास ममा भयो । अनि मैले सहज पार्न “नम्रता, तपाईं किन शान्त तलाउ हुनुहुन्छ हरपल । तपाईंको यस्तो स्वभावले मलाई निकै चिथोरिरहन्छ । मलाई भन्न मिल्छ भने भन्नुस् तपाईंलाई पनि हलुका हुन्छ ।”
मेरो प्रश्नमा उनी मौन भइन् । तर जीवनका आँसु उनका आँखामा रसाउँदै परेली भिजिसकेको थियो । उनले भनिन्– “तपाईंकी श्रीमतीले मेरो बारेमा केही भनिन् या भनिनन् थाहा छैन । तर, मैले उनलाई खुला पुस्तकजस्तै मेरो जीवन पढ्न दिएथेँ । त्यसपछि नै उनी मेरी अन्तरङ्ग मित्र भइन् । तपाईंलाई श्रीमतीले छाडेर गए पनि उनले जन्माएको तपाईंको छोरो छ । तर हेर्नु त मसँग को छ । कुनै दिन भनौँला तपाईंलाई पनि मेरा मनका कुरा । आजलाई बिदा दिएँ भनेर जुरुक्क उठिन् । उनी उठेपछि नचाहेर पनि म उठेर लुरुलुरु घर आएँ । ढोकामा उभिएर हेरिरहेँ । त्यसबेला उनी न त हास्न सकिन् नत रुन नै ।
समय न हो । एकदिन उसै गरेर मलाई बोलाइन् । बरन्डाको कुर्सीमा पहिलेझँै गुमसुम बसिरहेकी रै’छन् । म पुगेपछि झटपट उठेर चिया लिएर आइन् । अनि सन्चो बिसन्चोको औपचारिक कुरोबाट हाम्रा कुरा सुरु भए । बिस्तारै उनले आफ्नो जीवनका पाना पल्टाएर मलाई यसरी पढाउँदै गइन्–
“नचाहेर पनि आज तपाईंलाई मेरो जीवन कथा सुनाउँछु अन्यथा नलिनु होला । म प्रेमको अभिशप्त छायाँभित्रको एउटा निस्तो जीवन बाँचिरहेछु । प्रेममा जीवन बिर्सिएर हार्ने मान्छेहरू पनि त छन्, जसले प्रेमलाई नै जीवनको मार्ग ठानेर निख्रिन्छन् । तर मैले त प्रेमलाई त्याग्दा न हार्न सकँे न जित्न नै सकेँ । त्यसबेला उनलाई सुनकोशीको पानी सुसाएझँै सुसाउन केही बेर लागेन ।
बोल्दाबोल्दै वाक्य पूरा नगरी उनले परपर आँखा डुलाइन् । अनि एकैछिनमा फेरि पोख्न थालिन् प्रेमिल आँसुका लयहरू । प्रेम त्याग्नु मेरो चाहना र रहर थिएन, बाध्यता थियो बाध्यता । बालखा भाइबैनीलाई मेरो जिम्मा छाडेर बाआमा एउटा दुर्घटनामा बित्नु भएकाले उनीहरूलाई हेर्नुपर्ने बाध्यता । कहिलेकहीँ त लाग्छ भाइबहिनीकै कारण मेरो प्रेमिल जीवन हात लाग्यो शून्य भयो । जसले आफ्नो स्वार्थ सिद्ध भएपछि मेरो मतलब नै राखेनन् । उनीहरूकै लागि सुरु हुनुअघि नै मैले मेरो प्रेमको अवशान गरेथेँ । हुन त कति प्रेमीहरूले अनेक कारणले प्रेमको बलिदान दिन्छन् म जस्तै । यही सोच्दै असल गुण लिएर संयमका साथ बाँचिरहेकी छु । तर खालिखालि, अपूरो अपूरो जीवन । यी सबै अनुभूत गरेर म जीवनको एउटा अर्थमा पुग्छु । त्यस्तो परिस्थितिमा उसलाई समर्पित यो जीवनको निर्णय गर्ने जिम्मा पनि उसलाई दिन्थेँ होला । तर दिइन् र उनले अधिकार पनि जताएनन् । हुन त ऊ नहुनुमा म शिशिरको कठ्याङ्ग्रिएको रातजस्तो उजाड उजाड पतझर बन्नेछु भन्ने मलाई थाहा थियो । तर जीवनलाई निरन्तरतामा गति दिएर सजाउँदै रङ भर्दै गएँ । उसको अनुपस्थितिले जीवनलाई व्यर्थ ठानेँ पनि कहिलेकाहीँ हावाको झोँक्कामा, पानीको लहरमा, प्रकृतिका अनेकौँ सिर्जनामा उसको कल्पना गरेर म एक्लै रमाउँछु ।
एउटा कुरा उसलाई यति बिघ्न मन पराउनु, माया गर्नुको कारण के मेरो आसक्ति नै हो ? आसक्ति नै हो भने पनि मनबाहेक हामी एकआपसमा केही लेनदेन गर्न नै सक्दैनौँ ।
जहाँबाट हाम्रो प्रेम सुरू भयो, त्यहीँबाट अन्त भयो । उप्m ! हाम्रो प्रेमलाई कसरी परिभाषित गर्नु खै ! तर एउटा कुरा मेरो मनमा उनको प्रेम जुगजुगसम्म बाँचिरहनेछ । लाग्छ मृत्युको अन्तिम क्षणमा आफ्नो मृत्युको दुःखभन्दा पनि उनको सम्झनामा दुख्छु होला म ।
जहाँ प्रेमको सुरुआत भयो, त्यो ठाउँमा उनको दिनचर्या देखेर मलाई अनौठो पीडा भइरह्यो । हुन त उनलाई अर्को जीवनको याचना म आफँैले गरेकी थिएँ, मन दुखाउँदै भए पनि । मेरो इच्छामा नै उसले अर्को जीवन रोज्यो । तर मैले न कुनै जीवन रोज्न सकेँ न शान्तिले जीवन बाँच्न नै सकेँ । जब मबाट जिम्मेवारी पन्छियो तब उनी अर्काको भइसकेका थिए । त्यसबेला पो उमेर नै नपुगी जीवनबाट प्रेम सकिसकेको दुःखद आभास भयो । उनको प्रेम पाउन मैले बेग्लाबेग्लै अनुहारहरू खोजिरहेँ । तर अहँ पाउन नै सकिनँ ।
प्रेमलाई त्याग गरेर जीवन नयाँ ढङ्गले अघि बढाउनेबारे पनि सोचेँ । तर जीवनको गति ढङ्ग न रङ्गको खै केके जस्तो भएर बढिरहेछ हेर्नु न । जब भाइबैनीहरू पढाइ सकेर लाखापाखा लागे । त्यसबेलादेखि मलाई एक्लो जीवनले अत्याउन थाल्यो । तब त्यो ठाउँलाई चटक्क छाडेर उनलाई बिर्सने बहानामा यहाँ आएँ, तर मेरो मुटु त्यहीँ छुटेछ । समयले बिस्तारै बिस्तारै अलिअलि गर्दै मलाई सान्त्वना दिन थालेको हो कि भन्ने आभास पनि हुन्छ कहिलेकाहीँ त । आफूलाई आजीवन रित्तो अनुभूत गरे पनि उनको खुसीका सम्झनाहरू आफू भित्रभित्रै थन्क्याएर रमाउँछु । जीवनलाई कुन रूपले सजाउँदा सुन्दर होला मलाई पटक्कै थाहा छैन् । तर सजाउन छाडेकी चाहिँ छैन । नचाहँदा पनि खै किन र कसरी कसरी मेरो जीवनको हरेक मोडमा गाँसिदो छ ऊ हुँदाको समय ।
जीवन र मृत्युबीचको सम्बन्धमा पनि प्रेमको महŒव हुने शक्तिबोध भएको छ मलाई । अनि त हरक्षण उसको खुसीको कामना गरिरहन्छु । ईश्वरसँग भरोसा नभए नि प्रेममा विश्वास गर्ने अधुरो प्रेमी ठान्छु म आफूलाई । तर प्रेममा हैन, जीवनमा विश्वास गरे सुख हुन्छ होला भनेको त खै.....!”
उनका कुरा सुनेर आँखा अगाडि उनको प्रेमिल जीवनको चित्र प्रतिविम्बित भयो । मलाई त्यसक्षण खै कस्तो कस्तो खुसी र पीडा भन्नै नसक्ने गरी एकैपटक उर्लिएर आयो । उनी कवि थिइनन् तर कविताभन्दा सुन्दर भाव व्यक्त गरिरहेकी थिइन् । कसैका लागि हृदयमा जति चिन्ता भए पनि शब्दमा वर्णन गर्न नसकिने रहेछ । सके शब्दमा आक्रोश भए नि हृदयलाई छुन सक्नु नै अटुट प्रेम हो । प्रेमभन्दा ठूलो त्याग हो भनिन्छ ।
छ्याङ्ग खुलेको आकाशमा कालो बादल अचानक मडारिएर बाहिर पानी दर्किन थालेको छ । उनले आफ्नो जीवन कथा भन्न छाडेको हो या यतिमै टुङ्ग्याएको हो मैले भेउ पाइनँ । तर सिलसिला सकिएको छैनजस्तो भइरहेछ । संवेदनाले मानिसलाई कति छिटो प्रेमिल बनाउने रहेछ । उनको कुराले म अमूक प्रेमी नै भएँ सायद । थाहा नै नपाई म पनि कुन बेलादेखि पग्लिएर बगेछु, उनी पनि पग्लिएर बगिरहिछिन् । उनका आँखाबाट झरिरहेछ पानी बाहिरको झरीजस्तै अविरल । निकै बल गरेर उनका आँखाबाट बगेका आँसु गालामा मेरा हात पुगेर औँलाले बिस्तारै सोहरे । त्यस क्षण उनले चुपचाप एकोहोरो मलाई हेरी मात्र रहिन् । मौन थियौँ हामी । तर, मौनतामा पनि थुप्रै कुर बुझ्दै थियौँ, बोल्दै थियौँ । प्रेमको मौन भाषामा हामी बाँधिन थालिसकेछौँ । जीवनको यो मोडमा यस्तो हुन्छ भन्ने के थाहा र ? योजना बिना नै संवेदित भावमा बहकिनु के यही नै हो त प्रेम ?