शनिवार |

जापानको आँट

प्रजित शाक्य

ओलम्पिक त्यो रणभूमि हो, जहाँ हरेक खेलाडी युद्ध गर्ने सपना देख्छन् । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला भएकोले प्रत्येक खेलाडी ओलम्पिकमा खेल्न लालायित पनि हुन्छन् । यस खेलमा सहभागिता जनाउन खेलाडीहरूले गरेका त्याग र तपस्याको इतिहास पल्टाउँदा पनि यसको महŒव झल्कन्छ । ओलम्पिक यस्तो गौरवशाली किन बन्यो त ? यसको इतिहास पल्टाउँदा प्राचीनकालमा नै पुगिन्छ । प्राचीन कालमा ग्रीसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नाम ओलम्पिक रह्यो । प्राचीनकालमा राज्य राज्यबाट खेलाडीको सहभागिता ओलम्पिकमा रहन्थ्यो । ओलम्पिक चल्दा राज्य–राज्यबीच भइरहेको युद्ध पनि स्थगित हुन्थ्यो । प्राचीन ओलम्पिकको लोकप्रियताको अन्दाज यसबाट पनि गर्न सकिन्छ । प्राचीन ओलम्पिकमा लडाइँ र घोडा दौड सबभन्दा लोकप्रिय खेल थिए । ओलम्पिकको सुरुआत कहिले र कसरी भयो भन्ने बारेमा कैयौँ दन्त्यकथा पनि छन् ।
प्राचीन ओलम्पिकको सुरुआत ७७६ बीसीमा भएको मानिन्छ । यो ओलम्पिकमा सैनिक प्रशिक्षणअन्तर्गत रहने घोडासवारी, कुस्ती, बक्सिङ, दौड, भाला फ्याँक्ने, रथ दौड आदि नै खेलका रूपमा रहन्थे । विजेतालाई ट्रफीको रूपमा मूर्तिहरू दिइन्थ्यो । यसैगरी, कविता वाचनको माध्यमबाट पनि विजेतालाई सम्मानित गरिन्थ्यो । प्रत्येक चार वर्षमा ओलम्पिक हुन्थ्यो । यो वर्षलाई ओलम्पियाड वर्षको रूपमा सम्झना गर्न थालियो । यद्यपि रोमन साम्राज्यको शक्तिले ग्रीस प्रभावित भएपछि ३९३ इस्वीतिर ओलम्पिक खेलकुद नै बन्द भयो ।
१९औँ शताब्दीमा फ्रान्सका ब्यारोन पियरे डि कुवर्टिनले आधुनिक ओलम्पिकको सुरुवात गर्नुभयो । कुबर्टिन विश्वका सबै देशलाई शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा एकतामा बाँध्ने र युद्धलाई टार्न खेलकुद सबभन्दा सशक्त माध्यम हो, भन्ने विचार राख्नुहुन्थ्यो । सोही भावना अनुरूप उहाँले आधुनिक ओलम्पिकको सुरुआत गर्नुभयो । आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रीसको एथेन्समा सन् १८९६ मा भएको थियो ।
यतिखेर ओलम्पिकको ३२औँ संस्करण जापानमा सुरु भएको छ । विश्वका हरेक खेलाडीले आफ्नो खेल जीवनमा एकपटक मात्र ओलम्पिक खेल्न पाए पनि आफूलाई भाग्मानी ठान्छन् । ओलम्पिकले विश्व नै खेलकुदमय हुन्छ । ओलम्पिक आयोजना गर्न पाएकोमा आयोजित राष्ट्र पनि गौरन्वान्वित हुन्छ । तर शुक्रबारदेखि सुरु भएको टोकियो ओलम्पिकको कुरा गर्ने हो भने स्थिति अलि फरक छ । ओलम्पिक खेल्ने खेलाडीहरू, समर्थक मात्र होइन, जापानी जनता पनि ओलम्पिकलाई लिएर उत्साहित हुन सकेका छैनन् किनभने कोरोना भाइरसको डर यत्र तत्र सर्वत्र छ ।
टोकियो ओलम्पिकको विरोधमा आवाज नउठेको पनि होइन । तर यो खेल मेला कोरोनाले गर्दा एक वर्ष ढिलो भइसकेको थियो । त्यसैले यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकार जसरी भए पनि ओलम्पिक आयोजना गर्न तत्पर देखिए । प्रत्येक चार वर्षमा हुने ओलम्पिक अहिलेसम्म विश्वयुद्धले बाहेक अन्य कारणले रद्द भएको इतिहास छैन । प्रथम विश्वयुद्धका कारण सन् १९१६ मा बर्लिनमा हुने भनिएको ओलम्पिक रद्द भएको थियो । त्यसपछि दोस्रो विश्वयुद्धका कारण टोकियोमै हुने भनिएको ओलम्पिक पनि हुन पाएन ।
टोकियो ओलम्पिक यो वर्ष पनि आयोजना हुन नसकेको भए रद्द हुने सम्भावना थियो । ओलम्पिक एक वर्ष ढिला भएको भने यो पहिलो पटक हो । त्यसैले यस पटक ओलम्पिकको आयोजना गर्नु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारका लागि प्रतिष्ठाको विषय थियो । अझ जापानको भूराजनीतिक प्रतिद्वन्द्वी चीनले सन् २०२२ मा हिउँदे ओलम्पिक गर्दैछ । टोकियो ओलम्पिक समापनको छ महिनापछि यो ओलम्पिक हुनेछ । यदि टोकियो असफल भएमा र चीनले हिउँदे आलम्पिक आयोजना गरेमा चीनलाई वाहवाही कमाउने अवसर बढ्नेछ । जुन जापान चाहँदैनथ्यो ।
साथै, ओलम्पिक हुन नसकेमा अर्बौं डलर जोखिममा पर्ने अर्को खतरा पनि थियो । ओलम्पिक आयोजनाको आधिकारिक खर्च १५ अर्ब चालीस करोड डलर रहेको छ । यसमध्ये विभिन्न लेखापरीक्षणले योभन्दा धेरै रकम खर्च भएको देखाएको छ । यो रकममध्ये छ अर्ब ७० करोड डलर जापान सरकारको हो । आइओसीले कुल खर्चमा एक अर्ब पचास करोड डलर मात्र सहयोग गर्ने गर्छ । त्यसैले यो लगानीलाई डुब्न नदिन पनि ओलम्पिक आयोजना गर्नु बाध्यता थियो । गैरनाफामूलक तर व्यावसायिक रूपमा निकै माथि रहेको आइओसीले ओलम्पिकको टेलिभिजन प्रसारणबाट अर्बौं डलर आर्जन पनि गर्छ । अझ ओलम्पिक रद्द भएमा प्रायोजकबाट आउने ठूलो रकम पनि गुम्नेछ । ओलम्पिक रद्द भएमा आइओसीलाई तीनदेखि चार अर्ब डलर घाटा हुने बताइएको छ । त्यसो त खेलहरू खाली रङ्गशालामा खेलाउने भएपछि नै जापानलाई ठूलै घाटा भइसकेको छ । जापानले कोरोनाको कहर सुरु हुनुअघि टोकियो ओलम्पिकमा कुल ७८ लाख टिकट बिक्री हुने अनुमान गरेको थियो । गत वर्ष तोकिएको ओलम्पिकका लागि त जापानमा ४५ लाख टिकट विक्री भइसकेको थियो । जापानको पर्यटन मन्त्रालयले ओलम्पिकका लागि छ लाख पर्यटक टोकियो भित्रिने अनुमान गरेको थियो । त्यसैले आयोजक जापानले पहिले नै धेरै नोक्सानी बेहोरिसकेको छ ।
कोरोनाकै कारण स्थानीय र विदेशी दर्शकलाई खेल स्थलमा जानबाट वर्जित गरिएको हो । खुला ठाउँमा खेलाइने खेलमा मात्र दर्शकलाई अनुमति दिइएको छ । ओलम्पिकजस्तो खेलकुदमा दर्शकको आफ्नै महŒव रहेको हुन्छ । खेल हुँदा खेलको मुटु प्रत्यक्ष उपस्थित दर्शक नै हो । दर्शक नहुँदा खेलाडीहरूको उत्साह त्यसै पनि कम हुने नै भयो । यसो त खाली रङ्गशालामा ओलम्पिक गराउने कुरा गत वर्ष नै उठेको थियो । तर आइओसीले सो समय खाली रङ्गशालामा ओलम्पिकका खेल खेलाउने असम्भव र अवास्तविक हुनेछ भनेको थियो । यद्यपि आइओसी यस पटक दर्शक बिना नै ओलम्पिक खेलाउन बाध्य बनेको छ ।
यसबाहेक खेलाडीहरूका लागि टोकियो ओलम्पिक जेलभन्दा कम हुने छैन । टोकियो ओलम्पिकमा खेलाडी मात्र एघार हजारभन्दा बढी छन् । अझ प्रशिक्षक, पदाधिकारी, स्वयंसेवकको सङ्ख्या बेग्लै छ । यी सबैले टोकियो ओलम्पिकमा कडा नियमभित्र बस्नुपर्नेछ ।

ओलम्पिकमा नयाँ खेल
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजक राष्ट्रलाई एउटा अधिकार दिएको हुन्छ, आफ्नो देशमा लोकप्रिय खेललाई ओलम्पिकमा समावेश गर्ने । यही खेलबाट आयोजक राष्ट्रले स्वर्ण पदक कुम्ल्याउन पनि सक्छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछन् । जुन ओलम्पिकको इतिहासमा अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक हो । यी स्वर्ण पदकका लागि ११,०९१ खेलाडी मैदानमा ओर्लिने छन् ।
आयोजक राष्ट्रलाई नयाँ खेल थप्न दिएको अवसरलाई भजाउँदै जापानले नयाँ चार खेल थपेको छ । ती खेल कराँते, स्केटबोर्ड, सर्फिङ, स्पोर्ट्स क्लाइम्बिइङ हुन् । कराँते जापानको परम्परागत खेल हो । जुन खेलको जन्म जापानको आकिनावामा भएको हो । युवा दर्शकलाई ओलम्पिकमा तान्ने योजनासहित यसपालिको संस्करणमा स्केटबोर्ड, सर्फिङ र स्पोर्ट्स क्लाइम्बिङलाई पनि समावेश गरिएको छ ।
यसबाहेक ओलम्पिकबाट हटाइसकिएको बेसबल र सफ्टबल पनि टोकियोमा खेलिनेछन् । बेसबल र सफ्टबल ओलम्पिकमा पहिले पनि समावेश भइसकेका खेल हुन् । टोकियोमा ओलम्पिक हुने भएपछि जापानका लोकप्रिय यी दुवै खेलले ओलम्पिकमा पुनः समावेश हुने मौका पाएका हुन् ।

पदकको आश छैन
हरेक ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित छ । यस पटक पनि नेपालले सहभागिताको परम्परालाई पछ्याउँदै ओलम्पिकमा भाग लिएको छ । टोकियो ओलम्पिक जाने नेपाली टोलीमा पाँच खेलाडी र चार प्रशिक्षक छन् ।
ओलम्पिकमा हरेक राष्ट्रको सहभागिता रहोस् भन्ने अभिप्रायले पौडी र एथलेटिक्समा अनिवार्य सहभागिताको नियम बनाइएको छ । जसलाई ‘युनिभर्सियालिटी प्लेस’ भनिन्छ । यस नियम अनुसार पौडीमा गौरिका सिंह र एलेक्जान्डर शाह तथा एथलेटिक्समा सरस्वती चौधरीले प्रतिष्पर्धा गर्नुहुनेछ । यसबाहेक वाइल्डकार्डमाफत् पनि खेलाडीहरूलाई ओलम्पिकमा सहभागी गराइन्छ । जुन प्रावधान अनुरूप सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले खेल्नुहुनेछ । स्रोत साधनले नेपालभन्दा कमजोर कैयौँ राष्ट्रले ओलम्पिकमा पदक जितेका छन् । यसपालि पनि पदकको आशाभन्दा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य नेपालको रहेको छ । ओलम्पिक जाने नेपाली टोली यसपालि पनि विवादरहित बन्न सकेन । नेपाली टोलीमा यसपालि पनि खेलाडी र प्रशिक्षकभन्दा पदाधिकारीकै बाहुल्य रह्यो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलाडी पाँच, प्रशिक्षक चारसहित १७ जना टोली बनायो । तर सहभागी खेलका पदाधिकारीका स्थानमा असम्बन्धित पदाधिकारीलाई टोलीमा समावेश गराइयो । राखेपका उपाध्यक्ष शिव कोइराला भने एथलेटिक्सको पदाधिकारी बनेर टोकियो जान मान्नुभएन । नेपाली टोलीको ‘सेभ दि मिसन’ (टोली प्रमुख) मा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल हुनुहुन्छ ।
हुन त ओलम्पिक टोलीको घोषणा हुनुअघि नै गोपीचन्द्र पार्कीको काण्डले नेपाली खेलकुद तातिसकेको थियो । एनओसीले टोकियो ओलम्पिकको म्याराथनमा सहभागी हुने भन्दै पार्कीलाई झण्डै डेढ वर्षदेखि विशेष प्रशिक्षणमा राखेको थियो । तर केही हप्ता अघि निकालिएको ओलम्पिकमा खेल्न जाने खेलाडीको सूचीमा गोपीचन्द्रको नाम थिएन । उहाँको स्थानमा घरमै विश्राममा रहेकी धाविका सरस्वतीको नाम रहेको थियो । यस सम्बन्धमा सम्बन्धित निकायले म्याराथनतर्फ कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथलेटिक्सको महिला विधाको एक सय मिटर दौडमा कोटा छुट्याइएको स्पष्टीकरण दियो । यद्यपि यो घटनाले नेपाली खेल निकायको लापरबाही छर्लङ्ग भएको छ ।
यसपछि एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ल कोरोना पोजिटिभ भएपछि अर्का प्रशिक्षक सन्तोष श्रेष्ठलाई टोकियो पठाउने निर्णय भयो । तर प्रशिक्षक मल्लले आफैँले चार स्थानमा कोरोना परीक्षण गराउनुभयो । यी परीक्षण सबैमा नेगेटिभ रिपोर्ट आएको देखाउँदै उहाँले आफूमाथि अन्याय भएको सार्वजनिक गर्नुभयो । यी यावत् कुराले पनि नेपाली टिम कुन मानसिकतामा टोकियो गएको छ भन्ने चाल पाउन सकिन्छ ।