शनिवार |

यात्रा शे–फोक्सुण्डोको

फ्रान्सेली निर्देशक एरिक भ्यालीको ‘क्याराभान’ चलचित्र हेरेपछि डोल्पाको शे–फोक्सुण्डो ताल हेर्ने रहर लाग्नु स्वाभाविक नै हो । एरिक भ्यालीले शे–फोक्सुण्डो तालको सौन्दर्यलाई चलचित्रमार्फत संसारसामु पस्किनु भयो । त्यसैले हुनसक्छ, डोल्पा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रान्सेली हुन्छन् । फोक्सुण्डो तालको सौन्दर्यलाई शब्दमा व्याख्या गर्न सकिन्न । एरिकले त्यसलाई पर्दामा उतार्नु भयो ।
नेपथ्यका गायक अमृत गुरुङले गाएको तथा अभिनयसमेत गरेको गीत ‘सा कर्णाली ..’को म्युजिक भिडियो हेर्ने जोकोहीलाई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यलाई नजिकबाट हेर्ने इच्छा लाग्छ । शे–फोक्सुण्डो ताल माथिल्लो र तल्लो डोल्पाको मध्यतिर अवस्थित छ । ‘क्याराभान’ चलचित्र हेर्नेले यसको प्राकृतिक सौन्दर्य देखेका पनि छन् तर प्रत्यक्ष दृश्यावलोकन गर्नु छुट्टै स्वर्गीय आनन्द मिल्छ ।
समुद्री सतहबाट तीन हजार ६४० मिटरको उचाइमा रहेको यो ताल संसारकै दुर्लभ तालहरूमध्ये पर्दछ । अङ्ग्रेजी अक्षर ‘वाई’ आकारमा फैलिएको यो ताल उत्तर–दक्षिण ४.८ कि.मि. र पूर्व पश्चिम (चौडाइ) १.६ कि.मि. क्षेत्रफलमा फैलिएको छ भने ६५० मिटर गहिरो छ । यो तालमा हालसम्म कुनै जलचर पाइएको छैन । तालको पानी फरक–फरक समयमा फरक–फरक रङमा देखिन्छ । यसरी पृथक् परिचय बोकेको यो ताल रारापछिको दोस्रो ठूलो ताल हो ।
यसलाई पहिले रिग्मो ताल भनिन्थ्यो । २०२३ सालमा डा. हर्क गुरुङले तालको आकर्षक रङ्गीन फोटोसहित विभिन्न पत्रपत्रिकामा फोक्सुण्डे ताल भनेर यसका बारेमा प्रकाशित गरेपछि यस तालको नाम शे–फोक्सुण्डो रहन गएको हो । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ ।
तालको नजिकै सुन्दर रिग्मो गाउँ छ । गाउँमा पर्यटकका लागि पाँच–छवटा सामान्य होटल छन् । तालको छेवैमा गुम्बा छ । वोन्पो बौद्धधर्मावलम्बीका लागि यो महìवपूर्ण धार्मिक स्थल हो । बौद्धधर्मावलम्बीहरू यसलाई मानसरोवरको अवतार मान्छन् । सुन्दर रिग्मो गाउँको पहिचान पृथक् छ ।

कसरी पुग्ने ?
पहिलो दिन नेपालगञ्जबाट आधा घण्टाको हवाई यात्रापछि डोल्पाको जुफाल विमानस्थल पुगिन्छ । यहाँबाट तीन घण्टाको पैदल यात्रापछि दुनै पुग्न सकिन्छ । हाल जुफाल विमानस्थलबाट दुनैसम्मको १२ कि.मि. दूरीका लागि जिपबाट पनि यात्रा गर्न सकिन्छ । ठूलीभेरी किनारमा अवस्थित दुनै बजार पनि आफैँमा सुन्दर छ । दोस्रो दिन दुनैबाट छेप्का, तेस्रो दिन छेप्काबाट झर्ना र चौथो दिन सबेरै शे–फोक्सुण्डो तालसम्मको आरामदायी यात्रा तय गर्न सकिन्छ । बाटोमा पर्ने स्याङ्टा, छेप्का तथा साइजलमा होटलहरूको व्यवस्था छ । हिँड्न नसक्नेका लागि भाडामा घोडाहरू पाइन्छ । बाटोमा पर्ने सुलिगाढ झर्ना अति मनमोहक देखिन्छ । शे–फोक्सुण्डो तालको भ्रमण हिउँदमा गर्न सकिन्न । यहाँको भ्रमणका लागि भदौदेखि कात्तिकसम्म उपयुक्त मौसम हो । भारतको नैनीतालभन्दा उचाइमा रहेको यस ताललाई नैनीताल जस्तै पर्यटकीय गन्तव्य बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न सक्छ । हाल शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेटको व्यवस्थासमेत गरिएको छ ।

शब्द तथा तस्बिर : वसन्त राई