नेपालमा थेरवादी विहार
मुनीन्द्ररत्न वज्राचार्य
रगत–मासुले बनेको मानव शरीरको रक्षा गर्न अन्न, वस्त्र र आवास आदिको आवश्यक छ भन्ने कुरालाई गौतमबुद्धले पनि भन्नुभएको छ । मानव शरीर रक्षानिम्ति आवासीय आवश्यकताको सत्यलाई बुझाउन बुद्धले विहार दानको पुण्य कार्यको अनुमोदन गर्नुभयो । बुद्धका पालामा पनि विहार रहेको कुरा धेरै सूत्रमा उल्लेख छ । विहार भन्नाले बस्ने क्रिया अर्थात् आराम लिने, ज्ञान लिने केन्द्रका रूपमा बोध हुन्छ । त्यो बेला बौद्ध विहारहरूलाई गन्धकुटी पनि भन्ने गरिन्थ्यो । त्यो बेलाका प्रसिद्ध बौद्ध विहार अर्थात् गन्धकुटीहरूमा वेणुवन, जीवक आम्रवन, जेतवन, पूर्वाराम, राजकाराम, निग्रोधराम, कालखेमकाराम, अम्बपालीवन, घोषिकाराम, कुक्कुराम, कालकाराम, अम्बठकवन आदि हुन् । बुद्ध परिनिर्वाणको दुई सय वर्षपछि भारत वर्षको मौर्य सम्राट् अशोक कलिङ्ग युद्धको भयानक दृश्यबाट अति नै छटपटाए । यसपछि उनी मानवीय सेवाका लागि समर्पित भए । उनले बुद्धको मृत्युपछि ८४ हजार बौद्ध चैत्य र विहार निर्माण गर्न लगाए । यसै सन्दर्भमा उनका छोरा महेन्द्र र छोरी चारुमती नेपालमण्डल आए । चारुमतीको नेपालका राजकुमार देवपालसँग बिहे पनि भयो । काठमाडौँ उपत्यकाको चाबहिलमा चारुमती विहार बनाई सहर नै निर्माण गरिदिए । यस्तै सम्राट् अशोकले अन्य स्थान जस्तो ललितपुरको पुल्चोक, लगनखेलको इमाडोल र इबहीमा बौद्धस्तूप निर्माण गरे ।
नेपालमा बौद्धधर्मसम्बन्धी क्रमबद्ध इतिहास नभए पनि लिच्छवि राजा वृषदेवको पालादेखि बौद्ध इतिहास स्पष्टिन थालेको पाइन्छ । लिच्छविकालमा विभिन्न विहार रहेका थिए । जस्तो गुँंविहार, श्रीमान विहार, श्री शिवदेव विहार, कल्याणीगुप्त विहार, श्री राजविहार, खर्जुरिका विहार, मध्यमविहार, चतुर्भालटस विहार, अभयरूपि विहार, महाप्रतिहार विहार, वातसुजात विहार आदि हुन् । लिच्छविकालमा चिनियाँ यात्री ह्ेवनसाङले (ई. ६२९ देखि ६४४) आफ्नो यात्रा वृत्तान्तमा नेपालमा स्थविरवाद रहेको उल्लेख गरेका छन् । त्यसबेला कपिलवस्तुका भिक्षुहरूसँग कोलीय, शाक्य र वज्जीहरू काठमाडौँ उपत्यकामा आएर बसिसकेको हुनाले नेपालमा स्थविरवादी बुद्धधर्म भएकोे अनुमान गर्न सकिन्छ । थेरवादी र महासाङ्घिक तीन हजार भिक्षु एकै ठाउँमा अध्ययन गर्छन् भन्ने उनको यात्रा वृत्तान्तले पुष्टि गर्छ । लिच्छविकालमै महायान हुँदै वज्रयान सम्प्रदाय अझ विकसित हुँदै गयो । हीनयानका बौद्ध भिक्षुहरूको अवस्था कम हुन गयो । मध्यकालमा जयस्थिति मल्लले वर्ण व्यवस्थामा बाँधेर जातअनुसारको मात्र भिक्षु बन्ने प्रक्रियामा ठूलो परिवर्तन ल्याए । वज्राचार्यहरू विहारमै गृहस्थीका रूपमा रहनुपर्ने भयो । यसबाट बौद्धधर्म विहारवहीबाट सञ्चालन हुँदै आयो । बौद्ध दर्शनको आधार कर्मकाण्डको नयाँ रूपले जनजीवनमा प्रभावित पार्दै गयोे । नेपालको इतिहासमा स्थविरवादको पुनर्जागरण भने ईस्वीको बीसौँ शताब्दीमा सुरु हुन पुग्यो ।
बौद्धधर्म पुनस्र्थापित गर्ने कार्यमा नेपालमा थेरवादको अत्यन्तै सङ्घर्षमय इतिहास छ । सन् १९२१ मा जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) कोलकातामा रहँदा अनागारिका धम्मपालसँगको भेटपछि थेरवादी बुद्धधर्म प्रचार गर्ने कार्यमा समर्पित भए । सन्् १९२३ मा काठमाडौँ फर्केर उनले धम्मा साहुको कोठामा नेपाल बुद्धोपासक सङ्घ स्थापना गरे । सन् १९२५ मा बौद्धधर्म पुनरुत्थान गर्ने उद्देश्यले कोलकातामा बसेर नै ‘बुद्धधर्म’ नामक पत्रिका पनि उनले प्रकाशित गरेका थिए । पछि यसको नाम नै फेरिएर ‘बुद्धधर्म व नेपालभाषा’ राखियो । यस्तै तिब्बतको खामबाट आएका क्यान्छे लामाको प्रभावले काठमाडौँका एक श्रेष्ठ कुलका नानीकाजी पल्देन शेर्व (धेलुं बौद्ध ऋषि महाप्रज्ञा) रूपमा प्रवजित भए । गेरु वस्त्र लगाएर धर्म प्रचार गरेको आरोप लगाई उनलाई देश निकाला गरियो । साथै उनी बुद्धको महापरिनिर्वाण स्थल कुशिनगरमा पुग्नु भई ऊ भदन्त चन्द्रमणिको प्रभावले पुनः महाप्रज्ञा थेरवादी परम्पराअनुसार प्रवजित हुनुभयो । यस्तै वि.सं. १९८४ मा पनि इतुंवहालका वैद्य कुलमानसिंह (थीनले छुंल्यान कर्मशील) नाउँबाट घेलु भए । कर्मशील बौद्ध तीर्थाटनका क्रममा कुशिनगर पुगी उही ऊ भदन्त चन्द्रमणि महास्थविरको उपाध्यायत्वमा ने.सं. १०५० मा थेरवादअनुसार श्रामणेर भए ।
वि.सं. १९९३ तिर श्री ३ जुद्धशमशेरको पालामा बौद्धधर्म प्रचार गरियो भनेर स्थविरवादका भिक्षु महाप्रज्ञा र उनका शिष्य श्रामणेर अमृतानन्दलाई भोजपुरको जेलमा कैद गरियो । पछि फेरि नेपालबाट निष्कासित गरियो । २००१ साल (सन् १९४४) मा श्री ३ जुद्धशमशरले भिक्षुहरूमा प्रज्ञानन्द (कर्मशील), धम्मालोक, सुबोधानन्द, प्रज्ञारश्मि तथा श्रामणेरहरू अग्गधम्म, रत्नज्योति, प्रज्ञारस र कुमार काश्यपसहित आठ जना भिक्षु र श्रामणेरलाई देश निकाला गर्ने आदेश दिइयो । उनीहरू भारतको सारनाथमा शरण लिन पुगे । यसको लगत्तै गृहस्थ धर्म परित्याग गरेका धर्मपाली, सङ्घपाली, रत्नपाली र धम्मचारी नामका अनागारिका गुरुमाहरूलाई पनि देश निकाला गर्न खोजिएकोमा उनीहरू त्रिशूलीमा गएर बस्न थाले ।
भारत र श्रीलङ्काका बौद्ध भिक्षुहरूले नेपाली भिक्षुहरूलाई नेपाल फर्काउन विभिन्न प्रयास गर्न थाले । सर्वप्रथम बुद्धिष्ट गुडविल काउन्सिल बौद्ध शुभेच्छुक धर्मदूत मण्डल मिसन प्रमुख भिक्षु नारद महास्थविर २००३ सालमा नेपाल आई तत्कालीन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेरसँग भेटी नेपाली बौद्ध भिक्षुहरू नेपाल फर्किनका लागि आवश्यक वातावरण मिलाउन सुझाव दिए । त्यसैगरी ऊं चन्द्रमणिको प्रयासले पनि नेपाली भिक्षुहरू नेपाल फर्किने काममा निकै सहयोग मिल्यो । बिस्तारै बिस्तारै विभिन्न स्थानमा निर्वासित भिक्षुहरू नेपाल फर्किए । काठमाडौँको स्वयम्भूस्थित किण्डोल विहारमा भिक्षु, श्रामणेर र अनागारिकाहरू बस्न थाले ।
विसं २००३ मा (सन् १९७३) भिक्षु धम्मालोकको प्रयासमा सर्वप्रथम थेरवादी विहारका रूपमा स्वयम्भूस्थित आनन्दकुटी विहार निर्माण गरियो । श्रीलङ्काका नारद महास्थविरद्वारा अनुराधापुरबाट ल्याइएको बोधिवृक्ष रोपेर आनन्दकुटी विहारको उद्घाटन गरियो । यो विहार थेरवादी इतिहासमा पहिलो विहारका रूपमा रहेको छ । पछि यस विहारका प्रमुख अमृतानन्द महास्थविरले ४० वर्षसम्म थेरवाद प्रतिस्थापन गर्ने कार्यमा ऐतिहासिक योगदान दिए ।
विसं २००७ मा प्रजातन्त्रको उदय भएपछि विशेषतः यहाँका नेवारहरू स्वतन्त्र रूपमा थेरवादी बौद्धधर्ममा आश्रित हुन पुगे । राजा त्रिभुवनको पालामा २००८ सालदेखि वैशाख पूर्णिमालाई राष्ट्रिय पर्वका रूपमा मनाउन सार्वजनिक बिदा दिन थालियो । यस्तै नेपालमा बिस्तारै बिस्तारै थेरवादी बौद्धधर्मको विकासका लागि यहाँका भिक्षुगण, साहु, महाजन र धर्मप्रेमीहरूले यसको उत्थानमा चासो देखाउन थाले । २०२३ सालमा संयुक्त राष्ट्रसङ्घका महासचिव उथान्तले लुम्बिनी भ्रमण गरे । भ्रमणका क्रममा उथान्तले लुम्बिनीको यथाशीघ्र विकासका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय जगत्लाई आह्वान गरे । यसपछि नेपाल बौद्धभूमि हो भनेर विश्वमा परिचित हुन ठूलो मद्दत पुग्यो । अनि थेरवादी विहारहरूको पनि धमाधम निर्माण हुन थाल्यो ।
नेपालमा अब थेरवाद एउटा प्रभावशाली बौद्ध निकाय भएको छ । थेरवादप्रति धेरै नेवार सम्प्रदाय आकर्षित छन् । वज्रयान शाक्य र वज्राचार्यहरूमा मात्रै सीमित छ भने थेरवाद सम्पूर्ण नेवार समाजमा व्यापक हुनाका साथै ज्यापू, मानन्धर, श्रेष्ठ, रञ्जितकार, नकर्मी आदि धेरै जातजातिले अँगालेका छन् । विभिन्न जातजातिका परिवारबाट भिक्षु, श्रामणेर र अनागारिका गुरुमा बने । विसं २०४६ को जनआन्दोलनपछि थेरवादी बौद्धधर्ममा मगर, थारू, तामाङ, गुरुङ र थकालीजस्ता समुदाय पनि समावेश भए ।
विहार, बहावही नेवार बौद्धहरूको केन्द्रस्थानका रूपमा चिनिन्छ । विशेषतः शाक्य र वज्राचार्यहरूको सक्रियतामा बौद्ध विहारहरूको संरक्षण र विकास भइरहेको थियो । केही विहार तथा वहीहरू मम्र्मत, सम्भार तथा जीर्णोद्धार गर्न नसकेकाले नेपालमा थेरवादी भिक्षुहरूको आगमनपछि थेरवादी भिक्षु तथा अनागारिकाहरूलाई सङ्घदानका रूपमा प्रदान गरियो । जस्तो– नःघलको श्रीघः विहार, गणवहालको गणमहाविहारमा भिक्षुहरू बस्छन् । यस्तै कोटेश्वरमा कुटी विहारको स्थापना भएको छ । जुन नब्बे सालको महाभूकम्पअघिसम्म ललितपुरका ज्यावहालका वैद्य शाक्यहरूले हेर्ने गर्थे ।
आनन्दकुटी विहारबाट सुरु भएको थेरवादी विहार आज नेपालको धेरै ठाउँमा भिक्षु तथा अनागारिकाहरूको सक्रियतामा स्थापना भएका छन् । ती थेरवादी विहारमध्ये धर्मकीर्ति विहार पनि एक हो । जुन २०२० सालमा अनागारिका धर्मावतीको अथक् प्रयासले स्थापना भयो । जहाँ भिक्षुणी तथा अनागारिकाहरू बसोबास गरिरहेका छन् । यस्तै धर्मशीला अनागारिकाले सर्वप्रथम पोखरामा बौद्ध विहार स्थापना गरे । पछि थेरवादी भिक्षु र अनागारिकाहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सम्बन्ध रहन गयो । यस्तो सम्बन्धले जस्तो कि कीर्तिपुरस्थित श्री कीर्तिपुण्य विहार निर्माणमा सहयोग पुग्यो । यो विहार थाइल्यान्डको सहयोगमा निर्माण भएको हो । भिक्षु सुमङ्गल महास्थविरले २०३५ सालमा भृकुटीमण्डपस्थित बौद्ध विहारको निर्माण गरे । २०३८ सालमा अश्वघोष महास्थविरले सङ्घाराम विहारको स्थापना गरे । यस्तै २०५२ सालमा भिक्षु ज्ञानपूणर््िाक महास्थविरको प्रयासमा विश्वशान्ति विहार नयाँबानेश्वरमा स्थापना भयो । यस्तै शङ्खमूल बुद्धनगरमा बृहत् रूपमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको स्थापना भयो । हालै अनागारिका अनोजा गुरुमाबाट चोभारनेर सुलक्षणकीति विहारको स्थापना गरिएको छ । यहाँ थेरवादी विहारहरू बनाउनमा भिक्षु तथा अनागारिकाहरू लागेका छन् । २०७१ सालमा तयार गरिएका बोधिज्ञान महास्थविरबाट सङ्कलन गरिएको थेरवादी बौद्ध डाइरेक्टरी तथ्याङ्कअनुसार नेपालभरि भिक्षु तथा अनागारिकाहरू निवास गर्ने थेरवादी विहारहरू काठमाडौँमा ३५, ललितपुरमा २६, भक्तपुरमा चार र उपत्यकाबाहिर ५८ वटा छन् । यस्ता विहारहरूमा भिक्षुगण र अनागारिकाहरू मात्र बसोबास गर्ने होइन कि यहाँ बुद्धको आराधना गर्ने, परित्राण प्रार्थना गर्ने, अध्ययन–अध्यापन गर्ने, केटाहरूलाई प्रवज्या दिने र केटीहरूलाई ऋषिणी बनाउने, परियत्ति शिक्षा सञ्चालन गर्ने, उपासक–उपासिकाहरूलाई धर्मदेशना गर्नेजस्ता धार्मिक कार्य हुने गर्छन् तर यसबाहेक अन्य विहारमध्ये उपासक उपासिकाहरूले आफ्नै सक्रियतामा ससाना विहारहरूको पनि स्थापना गरेको पाइन्छ । यसकारण नेपालमा थेरवादी बौद्धधर्मको स्थान निकै महìवपूर्ण रहँदै आएको छ ।