सिउँडीका काँडाजस्तै लघुकथा
लव गाउँले
कथाकार महेश प्रसाईंका सतहत्तर वटा लघुकथा समेटिएको पुस्तक हो, ‘एउटा कथाको पुनर्जन्म’ । कथाकार किशोर पहाडीले भनेजस्तै सङ्गृहीत कथाहरू ‘रेच्की गल्प’ अर्थात् खुद्रा कथाजस्तै लाग्छन् । तर तीक्ष्ण छन् सिउँडीका काँडाजस्तै मनमस्तिष्क घोचिरहने ।
तीसका दशकका चर्चित कवि तथा कथाकार महेशले बाल्यसमय हजुरबुवा महानन्द सापकोटासँग बिताउनुभयो । त्यतिबेला उहाँले संस्कृतका शब्दहरू चिन्न भ्याउनुभयो । अध्यात्म संसारको सौन्दर्य बुझ्न पाउनुभयो । त्यसैले उहाँका हरेक सिर्जना चाहे त्यो कविता होस् या मुक्तकजस्तो सानो रचना गर्भमा पनि संस्कृतको त्यो सौन्दर्यचेत र अध्यात्म जगत्को कुनै किस्सा पाउन सकिन्छ । कथा सिर्जनामा त कुरै भएन । उहाँले लामो समय प्राध्यापन गर्नुभयो । उहाँको लेखनमा विश्वप्रसिद्ध लेखक, दार्शनिक, राजनेता र तिनका मननयोग्य भनाइहरू पनि कतै विम्ब, कतै उदाहरण, कतै सन्देशको रूपमा बडो मिठासपूर्ण तरिकाले आई नै रहेका हुन्छन् ।
सङ्ग्रहको आरम्भ कथा ‘प्रेम–२’ मा कुनै लोग्नेले स्वास्नीलाई भनिरहन्छ कि ऊ उनलाई यति अगाध प्रेम गर्छ कि जसको तुलना कसैसित हुनै सक्दैन । त्यसैबेला भुइँचालो आउँछ । कसैले कसैको बचाउ गर्ने सोच्दैनन् । लोग्ने स्वास्नीलाई छोडेर घर बाहिर पुग्छ । कथाकारले यस कथामार्फत संसारमा मान्छे जति स्वार्थी प्राणी अरू कोही हुँदैनन् भन्ने देखाउन खोज्नुभएको छ । त्यस्तै विदेशको ग्रीनकार्ड पाएपछि एउटा स्वाभिमान नागरिकले पनि आफ्नो देश, मानव धर्म, नागरिकत्व, नैतिकता मात्र होइन आपूmलाई जन्मदिने आमा पनि बिर्सन्छन् भन्नुहुन्छ– ‘ग्रीनकार्ड’ मा ।
मुलुकका भूकम्पग्रस्त क्षेत्रमा राहत वितरण गर्न रेडक्रस, लायन्स, मानव अधिकार, एनआरएन, देशका नेतालगायत सञ्चार माध्यम पुगेर सबैले आआफ्ना डम्फु बजाइरहेको एक वृद्धले सुनिरहेको हुन्छ । उनीमार्फत ‘सरकाररहितता’ कथामा–जोजो पुगे पनि सरकार त पुगेन नि भनेर सरकारप्रति गम्भीर व्यङ्ग्य गरिएको छ । त्यसरी नै सर्प र भ्यागुताबीच कसै गरी पनि मित्रता हुन सक्दैन । कुनै पनि अवस्थामा सर्पले आफूभित्र अन्तरनिहित स्वभाव देखाइहाल्छ भन्ने दृष्टान्त दिनुभएको छ ‘विभाव’ कथामा ।
सङ््ग्रहको मूल शीर्षकको कथा एउटा कथाको पुनर्जन्मको पहिलो शब्दावली–‘डेरिडा ! कथालाई सरम भा’छ’ छ । जेक्स डेरिडा अल्जेरियामा जन्मेका फ्रान्सेली दार्शनिक हुन् जो विनिर्माणवाद सिद्धान्त सम्बद्ध छन् । विनिर्माणवाद–दर्शन र साहित्यको एउटा रूप हो । यसलाई ‘क्रिटिकल एनालिसिस’ अर्थात् शाब्दिक आलोचना पनि भनिन्छ । विनिर्माण सूक्ष्म अर्थमा भत्काउनु, बिगार्नु हुन्छ भने पूर्ण अर्थमा परिवर्तन गर्नु भन्ने बुझिन्छ । उदाहरणका लागि–यदि कुनै उपन्यासको पाठ वा मूलपाठलाई दुईपल्ट पढ्यो तर बीस वर्षपछि त्यो मूलपाठतिर फर्किंदा त्यसको अर्थ नै परिवर्तन भइसक्छ भन्ने मान्यता हो । त्यसैले कथाकारले विनिर्माणवादको यथार्थतीय धरातललाई प्रस्तुत कथामा पठन, विपठन र पुनर्पठन संस्कृतिसँग जोड्नुभएको छ । यदि यसो हुनसक्यो भने मात्र कथामा कथोपन, घटना, कथाको उत्तेजना, कथेतर पात्रेतरता, कथास्थापछि एउटा सुन्दर कथा निर्माण हुनसक्छ । त्यति नभए कथालाई सरम भएको मान्यता राख्नुहुन्छ उहाँ ।
महेशका कुनैकुनै कथा–श्वैरकल्पनाजस्तै लाग्छन् । उहाँको एउटा कथा छ– ‘एउटा यस्तो शर्लक होम्स’ । शर्लक होम्स–सन् २००९ तिर एडिनवर्ग विश्वविद्यालयका एक वास्तविक फरेन्सिक वैज्ञानिक डा. जोसेफ बेलमा आधारित एउटा काल्पनिक पात्रमाथि बनाइएको रहस्यपूर्ण एक्सन सिनेमा हो । जसका निर्देशक थिए– गाय रिच्सी । ग्ल्यामर र सेलिब्रेटीको रङ भरिएको यस कथामा विभिन्न क्षेत्रका गिनेचुनेका पात्र छन् र छ –म सर्जक पात्र जसलाई चर्चित आत्मकथा लेख्नुछ । खाका तयार भएपछि प्रकाशन गृहले सर्जकलाई खबर गर्छ– शर्लक होम्सको भेषमा अरू कोही आइरहेछ । सर्जक जवाफ दिन्छ–मभन्दा वास्तविक शर्लक होम्स अरू हुन सक्दैन । सिनेमाको कथाजस्तै कथा रहस्यमै सकिन्छ ।
‘सरस्वती’ कथामा अयोनिज–योनी अर्थात् सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको (अयोनिजा–रामायणअनुसार सीता) र सरोगेसी)–ईन भेट्रो फर्टिलाइजेसन (आइभीएफ) को माध्यमबाट गर्भधारण (अपवादमा व्यापारजन्य प्रयोजनका लागि गैरपुरुषको संसर्गबाट गर्भधारण गर्ने प्रवृत्ति पनि छ) ब्रह्माजीको अमूक हस्तप्रणालीबाट सरस्वती जन्मेको कुरा छ भने ‘ख्याक र प्रहरी’ कथामा ख्याक हिँड्ने र प्रहरी रमण गर्ने ठाउँमा दुवैको भेट हुँदा भएको संवादपछि अप्रिय सम्झौता हुन्छ । जहाँ ख्याकले त्यो बाटो हिँड्न मोलाहिजा (अनड्यू बेनिफिट) गरेर प्रहरीलाई खुसी पार्नुपर्ने र प्रहरी नैतिकता त्यहीँ समाप्त भएको सङ्केत गरिएको छ ।
आफूले सृष्टि गरेको प्राणीका जीवन चेतनाको विकासमाथि नयाँ प्रयोगको सोच राखेर ब्रह्माले मान्छेको दिमागमा कुकुरको मगज । कुकुरको दिमागमा मान्छेको । यसैगरी सम्पूर्ण प्राणीमा एकअर्काका विपरीत प्राणीका मगज हाले । यो कुरा महादेवले पत्याएनन् । उनी परीक्षणका लागि मत्र्यलोक पुग्दा थाहा पाउँछन् ब्रह्माजीको दिमागमा समेत अर्कैको मगज रहेछ– ‘रिमिक्स’ कथामा । इज्जत र आबरु शब्दलाई एकै ठाउँमा समेट्ने गल्ती पनि गर्नुभएको छ कथाकारले ‘आसिकी’ कथामा ।
उहाँका केही कथामा विदेशी पात्रहरू आइरहन्छन् । एउटा कथा छ– ‘ट्राफिकी’ । रात्रिक्लबमा नृत्य चलिरहेछ । जोहानिका र जुहानका जोडी छन् अर्धवस्त्रमा । जोहानिका जुहानलाई सोध्छे– के तिमीलाई टेस्ट चेन्ज गर्न मन छ ? उत्तर निरुत्तर छ । यहाँ एक कपलले अर्को कपलसँग साटिएर नयाँ स्वाद लिने यथार्थको सङ्केत गरिएको छ । जोडी साटेर स्वाद परिवर्तन गर्ने चलन नेपालमा दशकौँ अघिदेखि चलिआएको कुरा मिडियाले लेखेका छन् ।
महेशका लघुकथाहरू आम नेपाली लघुकथाभन्दा प्रस्तुति, भाषा, शैली र कथानक कोणबाट पृथक देखिन्छन् । धेरैजसो कथाहरू दोहो¥याइ तेह¥याइ पढ्नुपर्ने हुन्छ । कतिपय कथामा प्रयोग गरिएका नाम (अब्जेक्ट) चिन्न बुझ्न नै समय लाग्छ । जे होस् ‘एउटा कथाको पुनर्जन्म’ हरेक पाठक लेखकले पढ्नैपर्ने सङ्ग्रह हो । यी कथाहरू पढेपछि कथा लेखनप्रतिको कौतूहलता, भाषा प्रयोग, कथानक बान्की, अध्यात्मचेत, विज्ञान संसारका अतिरिक्त विश्वप्रसिद्ध दार्शनिक, राजनेता, कवि लेखकको नाम पनि जानकारीमा आइरहन्छ । प्रस्तुत कृतिका लागि कथाकार महेशलाई बधाई । आगामी दिनमा यस्तै कथाहरू पढ्न पाइयोस्– शुभकामना ।