तराई छ नि डोल्पामा
जुफालमा हरेक दिन बिहानैदेखि आफ्नै खालको वातावरण झल्किन्छ । स्याउ, ओखर बेच्नेहरूको बजार हुन्छ । शाहीको आँगनमा हामी बसेका छौँ । हामीसँग अरू निकै पहेँला त्रिपाल गाडिएका छन् । टेन्टको जिपर स्वार्र लाग्छ । फेरि खुल्छ । यी त्रिपालमा महिनौँदेखि बसेका छन्– ओखलढुङ्गा, खोटाङ, सोलुका शेर्पाहरू ।
‘जहाजबाट आउँदा खर्च जोगिँदैन । कम्पनीले सामान हालेर गाडी भएर पठाएको । बीस दिन भो आएको,’ खोटाङका नरबहादुर गिरीले भने । गिरीसँगै अरू निकै छन् । आफैँ पकाउँछन् । खान्छन् । ‘ग्रुप आउँछ । अनि ट्रेकिङ जाने,’ सोलुकै गोम्बु शेर्पाले कुरेर बसेको बताए । ती नुहाउँछन् । दिनभरि घाममा सुत्छन् । कति घाँस काट्न नि जान्छन् । काम गर्नेलाई केको यो ठाउँ, त्यो ठाउँ । पैसैका लागि यहाँसम्म आएका यिनका घाँस र हँसिया उही– अलिकति ठाउँ प-यो भिन्न । ‘काम नगरी बस्दा जिउ दुख्छ । बिरामी भएको भएकै गरिन्छ,’ भरिया त्यै भन्छन् । डोल्पालीलाई घाँस कटाउने कुरामा सघायो ।
४ गते दिउँसो । घाम लागेर वरपर खुलेपछि कता जाउँ, कता जाउँ भइरहेथ्यो । खुट्टा जरकमरक भइरहेथे । आँखा चटपटाइरहेथे । छातीमा डाह उम्रिरहेथे ।
शान्तले भने– ‘बाईस दिनलाई पुग्ने तरकारी टिप्न जानु छ । चाँड–चाँडो भात खाउँ रे !’
डोको घोप्टाएर कुर्सी बनेछ । त्यसमै बसेर भातका गाँस निलेँ हतार–हतार । एउटा तातो लुगा पनि खापेँ ।
‘डाँगीलाई भेट्नु छ । खच्चड फिक्स गर्नु प¥यो,’ शान्त बोल्दै आए ।
उनी बाटो लागेपछि निमा, वाङ्गेल, तेन्जी पछिपछि लागे । पुच्छर भएँ मै पनि । तेन्जी र वाङ्गेलले प्लास्टिकका धोक्रा बोकेथे ।
जुफालबाट ओर्लिरहेका छौँ ।
खच्चडको ताँतीले बाटो ढाकेको छ । ती सबै दुनै पुगेर आएका रै’छन् । ओरालीमा लिदी गनाएर कहाँ टेकुँ, कहाँ टेकुँ भयो । यता टेके उता चिप्लिने, उता टेके यता भासिने । रास लिदी छल्नै मुस्किल भो ।
घामले सबै खुलेको छ । तिखुल्ले डाँडाहरू झनै चिल्ला देखिन्छन् । रङले पोतिएकाजस्ता छन् । पश्चिमतिरका काला भीरहरू ।
त्यसै पनि भीर र खोँचले आपट्टे लाग्ने यी चुलीहरू यहाँको रङरूपले पनि झनै मन आत्तिने खालका देखिन्छन् । रूप र रङ मिलेको भन्या यै होला ।
झुरुप्प बजार नाघेर अलिक तल पुगेपछि ठूलो बाटो चुँडिएर गयो– भेरीतिर । हाम्रो हुल लाग्यो पश्चिमतिर । एउटा फाँटिलो टार भेटियो ।
खेतैभरि आइमाई, केटाकेटीको सिलिङबिलिङ देखियो । कोही उभिएर उवा काटिरहेका । कोही बसेर फापर केलाइरहेका । कोही खाजा खाइरहेका । कोही केटाकेटीको कपाल कोरिरहेका । समयको केस्रा–केस्रा केलाइरहेका देखिरहेको छु ।
एउटा घुम्ती नाघियो । जुफाल पढ्न गएका भुराभुरीको हल्लीखल्ली देख्छु । खास सिकाइ त यो पो । केटाकेटीले बाटो काटिरहेको ढुङ्गा, माटो र स–साना लहरामा ठोक्किँदै गएको देख्दा कुरा खेलाउँछु म ।
पश्चिम हिँडेको हामी दक्षिणतिर जोडिन्छौँ । खेतैभरि मकै, चिनु, फापर र उवाका डाँठ जताततै रहेछ । मकैका ढोड र चिनुका बोट उस्तैउस्तै छन् ।
‘फरक मात्र फरक । बोट एकै लागे ।’ मैले खङ्ग्रङ बोट हेर्दै भनेँ । एक मकैका १० दाना बन्छन् चिनु तर फल्ने बोट चैँ एकै खालका ।
एउटा फाँटिलो नाघेपछि अर्को खोँच रमाइलो खालको देखियो । केही फाट्टफुट्ट घर देखिए ।
‘ऊ त्यता छ डाँगीबाडा,’ उत्तरतिर देखाए ।
डालप्रसाद डाँगीले औँल्याए । उनी हाम्रै टोलीमा जाँदै थिए ।
डाँगीबाडा झुरुप्प थियो । दुई तले माटे घरहरू टाँसिएर बसेका लाग्थे ।
मैले ओराली झर्दा सोधेँ, ‘के कस्ता बस्छन् गाउँमा ?’
‘डाँगी, शाही, घर्ती, श्रेष्ठ, बुढा रोकाया छन् । खासमा डाँगीको गाउँ हो । अचेल घरज्वाइँ थपिएर छासमिसे बढी भए,’ डालप्रसादले उकुसमुकुस पोखे ।
मैले अलिक माथिबाट सरर्र हेरेँ, डाँगीबाडा । माथि कालै चुलीबाट थामिँदै–थामिँदै सेतो भिरालोमा यो बसेको थियो । पहाडको चेप । त्यो चेपको पठार फैलेको रहेछ । त्यही पठारमा गुजुमुज्जसँग बसेको थियो– डाँगीबाडा ।
उत्तर–दक्षिण तन्के पनि बीचमा कुचुक्क देखिन्थ्यो बस्ती ।
ठाउँ त रसिलो लाग्यो ।
गाउँमा अलिक पर–पर भित्रैसम्म पहेँलपुर तोरी फुलेका गरा थिए । तोरीका गरा देख्दा डोल्पाको अनकन्टारमा छु भन्ने कुराको ख्याल छातीबाट बेपत्ता हुन्थ्यो । विकट, आपट्टे र कहालिलाग्दा छाँगा छन् । भीर हराउँथे कता–कता ।
डाँगीबाडालाई बाटोले फन्को मार्न खोजेको रहेछ । गाउँबाट छुट्टिएको अर्को मूल बाटो तल भेरीतिर गएको देखिन्थ्यो । अरू डोजरका दाँत र नङ्ग्रा यता नि पस्दै गरेको देख्थेँ म । ‘चाइनाले सातवटा डोजर यता दे’छ रे । ती माथ्लो डोल्पाभरि छरिएका छन् भन्ने सुन्या हुँ,’ डालप्रसादले बोलिरहँदा थपथाप पारे रेशम डाँगीले नि ।
मैले रोकिएर हेरिरहन मन गरेँ– डाँगीबाडालाई । यसको एकान्तलाई, यसको चुपचाप उपस्थितिलाई, यसको सनातन अनुहारलाई, यसको मौन अनुहारलाई ।
कति मलिला गरा र बारी । कति उर्बर खेत र टार । कति उब्जाउ संसार । आँखामा त्यहाँको मलजलले ठाउँ पाउँछ ।
रेशमले भनेको सम्झन्छु, ‘डोल्पाको तराई भनेकै यै हो ।’ उनले भनेको कुरामा यतिखेर नाइँनास्ति गरिनँ । थपक्क मानेँ । कुरामा सही थापेर फेरि डाँगीबाडाकै वरपरमा पस्न खोजेँ ।
अलिक तल पनि भण्डारी, कठायत र कार्कीहरूको गाउँ रहेछ– पुरानो आरुपानी । ‘दमै, विक छन् केही !’ आरुपानीतिर औंला तेर्सिए उनका ।
ओरालै ओरालो कुदेपछि डाँगीबाडा पुगिएछ । बाटैमा धनबहादुर डाँगी भेटिए । उनीसँग शान्तले खच्चडका कुरा गरे, ‘२० खच्चड ठीक पार्नु है बड्डा । खच्चडवाला राम्रा परून् ।’ बाटो ओरालो नाघेपछि तेस्रोतिर लाग्यौँ । धुलो खच्चडको लिदी नाक खुम्च्याउने खालको थियो । अरूको समेत मैले नै दुई–तीन पटक हाच्छिउँ गरिदिएँ ।
बाटोमा सङ्लो खोला भेटियो । बारी, खेत, घर, आँगनमा कुलेसोमा पानी कुदेको देखेपछि मैले हातमुख धोएँ । ‘लौ, फुट्ने भए नि हत्केला,’ शान्तले ख्याल गरे ।
‘हिमालको पानी तिख्खर हुन्छ । नछुनु,’ उनले सम्झाए ।
मैले यतिञ्जेलमा धोइसकेथेँ । हात मात्रै होइन, मुखै धोएर अनुहारमा यसको चिस्यान दलिसकेथेँ ।
‘कुन खोलाको पानी यो ?’
‘घट्टेखोलाको ।’ धनबहादुर अघि–अघि निस्केर बोले । गाउँ पसेर पश्चिमतिर लाग्दा अन्नपातले भरिएको देखेँ– मैले डाँगीबाडा । बाटोका दुवै छेउमा सिस्नोले गाउँ घेरिएथे ।
‘यी खाँदैनन् ?’
‘हेर्छन् मात्र ।’
डाँगीले भन्दा म छक्क परेँ ।
‘नयाँले खाँदैनन् । पुरानालाई अरूले नै पुगिहाल्छ ।’ सुनेँ धनबहादुरका कुरा ।
धान, मकै, सिमी, फापर, गहत, भटमास राम्रो उत्पादन हुँदो रहेछ यहाँ । हिजोआज सरकारी तालिम पसेर गाउँलेलाई तरकारी रोप्ने सीप र तालिम पनि मनग्गे दिने रहेछ ।
डाँगीबाडा गाउँ पसिरहँदा बाटो, ढोका, छानोमा काठका मान्छेका अनौठा–अनौठा मूर्ति राखिएका देखिन्थे । ठूला–ठूला ओठ, मुख, आँखा भएका ती मूर्तिलाई स्वाँखे भनिँदो रहेछ ।
‘घरको रख्खे गर्छ,’ डालप्रसादले भने ।
कसैका आँखा नलागून्, भूतप्रेतले दुःख नदेओस् भनेर स्वाँखे राखिँदो रहेछ । धामीले जोखाना हेरेपछि मात्रै स्वाँखेको आकार, उचाइ, रङ र मोटाइ तोकिने रहेछ । आपूmखुसी स्वाँखे राख्न नमिल्ने विश्वास रहेछ ।
‘हजारौँ पर्छ नि एउटा स्वाँखे बनाउँदा,’ डालप्रसादले थपे । डाँगीबाडामा बुढाल मस्टालाई औधी मानिने रहेछ । ‘वैशाख पूर्णी, साउन पूर्णी र कार्तिक पूर्णीमा पुजिन्छ,’ उनले औँला भाँचे । बोका–भेडा बलि दिएर भव्य पूजा गरिने रहेछ यो बेला ।
मैले फेरि भिट्टो र तरमान जिउलातिर हेरेँ । फाँट र किनारले डाँगीबाडालाई छेकबार लगाएजस्तो देखिन्थ्यो । धेरैजसो तीन तहका घर थिए– माटो, काठ र ढुङ्गाका । ढुङ्गाका ठूला–ठूला बल्ढ्याङ्ग्रा पर्खालमा टाँसेर माटोले लिपपोत गरिएका देखिन्थे । साना कुचुक्के झ्याल र साँघुरा कोठा देखिन्थे घरमा । तल्लो तलामा गाई गोठ, बीचमा भान्सा र सुत्ने कोठा, माथ्लो तल्लामा कौसी हुन्थे हरेक घरमा ।
‘यो थारो,’ धनबहादुरले देखाए ।
मटानलाई थारो भनिँदो रहेछ । अन्न कुट्ने, सुकाउने, केलाउने काम त्यहीँ हुँदो रहेछ । हामीले गाउँ नाघिरहँदा थारोमै सबै असिनपसिन देखिन्थे । पराल जाल ठौरो चलाउने काम पनि थारोमै हुँदो रहेछ ।
मूलबाटो छोडेर अलिक दक्षिणतिर लागेपछि धनबहादुरले आफ्नो घरमा लगे । ढुङ्गैढुङ्गाको गारोको घर । थारोमा पुग्न काठे लिस्नो उक्लेँ ।
‘स्याउ काँचा, सुक्खा जे भए नि ल्याऊ,’ डाँगी कताबाट हो माथिल्लो तलामा पुगेर बोल्दै गरेको सुनेँ ।
थारोमा बसेर वरपर हेरेँ । डाँगीबाडा खेतीपाती र पसिना चुहाउन भ्याई नभ्याईको हालतमा थियो । गाउँलेहरू थारोमा बसेर फापर, चिनु र उवा केलाइकुलाइमा जुटेका थिए । छानाभरि सुकेका स्याउ चाना र खुर्सानीका रास ओल्टाइपल्टाई गरिरहेथे ।
‘घरको खाने कि वनको ?’ हरेक घरमा काठे मुढामा मौरी पालिँदो रहेछ । मैले मह चाट्ने रहर देखाउँदा धनबहादुरले सोधेथे ।
अघि ओरालो झर्दा मकै, सिमी र धानबारी खुबै सप्लाएको देखिएथ्यो । मनमनै धनबहादुरका अँगेनामा मकै पोलिखाने रहर राखेथेँ ।
सुकेका मकै थारोभरि देखेर रहर पोखेँ, ‘लौन भुटेर, पोलेर, उसिनेर के के हुन्छ । मकै खाऊँ ।’
डाँगीलाई भ्याई–नभ्याई थियो । उनले बारीमा लगेर साग चुँडे, खुर्सानी निमोठे, गाजर उखेलेर हाम्रा धोक्रा भरिदिए । मूला, चुच्चे करेली भेला पारे ।
साँझ पर्दासम्म डाँगीबाडामै थियौँ । काला, सेता, पहेँला ठूला, लामा धजा घरका छत–छतमा फहराइरहेको हेरेर आनन्द लिएँ । धानको पहेँलपुर र उज्यालोमा मन छोडिदिएको थिएँ ।
एक सय तीस घरधुरी भएको डाँगीबाडामा घरैपिच्छे खच्चड र घोडाका बगाल देखिन्थे । अन्तको जस्तै विदेशिने रोग यता पनि सरेछ । डालप्रसादले, रेशमले पनि त्यही दोहो¥याए । धनबहादुरले पनि तेहे¥याए, ‘तन्नेरी जतिले गाउँ छोडेकाछोडेकै छन् ।’
घाम डुबिसक्दा हामीले डाँगीबाडा छोड्न सक्यौँ । घनघोर एकान्तमा बसेको यो गाउँको बाटो भएर इतिहासका अनेक साँझहरू गए । अथाह चकमन्नमा रहेको यो बस्तीसँग शासनमा चलेको बिहानहरू खुसुक्कै गए । डाँगीबाडाका आँगनमा घाम त्यहीँ छ, जून त्यहीँ छ, ताराहरू त्यहीँ छन् । ढुकढुकिने छातीभित्र भए तिनै । परेली झिमझिम पार्ने आँखा उही भए । अनुभूति गर्ने दुःख अर्कै भए । भेरीका लहरले बगाएको देखिनँ डाँगीबाडाको दुःखलाई ।