शनिवार |

साहित्यका सारथि


देशको साहित्यिक, बौद्धिक, शैक्षिक, प्रशासनिक र कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा समेत सम्मानित नाउँ हो यदुनाथ खनाल । मुलुकले यदुनाथको उचाइको विराट प्राज्ञिक व्यक्तित्व प्राप्त गर्न असम्भवजस्तै छ । यदुनाथमा संस्कृत र अङ्ग्रेजी शिक्षाको चाहिँदो ज्ञान थियो । जीवनका विषम परिस्थितिहरूसँग लड्दै–भिड्दै लेखन, अध्ययन र अध्यापन कलामा उच्च सफलता प्राप्त गर्नु यदुनाथको वैशिष्ट्य हो । उनले प्रबन्ध र समालोचनामा पाश्चात्य तरिका अँगालेर पनि नेपाली शैलीलाई आत्मसात् गरी नवचेतनाको प्रेरणा दिनुभयो । संवत् १९७० साउन २८ गते तनहुँको मानुङमा शिक्षित परिवारमा यदुनाथको जन्म भएको हो । उनको निधन ९१ वर्षको उमेरमा २०६१ असोज १६ गते काठमाडौँमा भयो । साहित्य, विज्ञान र दर्शनका त्रिवेणीरत्न यदुनाथको नेपाली भाषासाहित्यको क्षेत्रमा उच्च योगदान छ ।
संवत् १९९३ को कुरो हो, त्रिचन्द्र कलेजमा निबन्ध प्रतियोगिता भएको थियो । महाकवि देवकोटा उक्त प्रतियोगिताका परीक्षक थिए । प्रतियोगितामा आठ जना छात्र सहभागी थिए । प्रतियोगिताको शीर्षक ‘पृथ्वी, समुद्र र आकाश’ थियो । निबन्धमा भाषाशैली, भावुकता, प्रखरता, कल्पनाशक्ति, यथार्थ गहिराइ एवं चातुर्यजस्ता विषयमा अङ्क निर्धारण गरिएको थियो । यस प्रतियोगितामा साठी अङ्क प्राप्त गरी यदुनाथ प्रथम भई स्वर्णपदक प्राप्त गरे । हुने विरुवाको चिल्लो पात भनेझैँ जीवनको प्रारम्भिक चरणबाटै यदुनाथले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनी १९९१ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीमा प्रथम पनि भएका थिए । यसवापत उनले त्रिचन्द्र कलेजमा आइएस्सी अध्ययनका लागि मासिक छात्रवृत्ति प्राप्त गरे । छात्रजीवनदेखि नै बौद्धिक क्षेत्रमा चर्चित यदुनाथको पहिलो रचना संवत् १९९७ मा शारदामा प्रकाशित ‘बाटो बिलायो’ शीर्षकको निबन्ध हो ।
विशेषतः २००७ सालको जनक्रान्तिपश्चात् नेपाललाई एक स्वाधीन राष्ट्रको रूपमा स्थापित गराउन जेजति कूटनीतिक पहल र प्रयासहरू भए त्यसमा कूटनीतिज्ञ सरदार यदुनाथ खनालको संस्थागत योगदान छ । अङ्ग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वानहरूको कोटिमा उनी अग्रपङ्क्तिमा पर्छन् । उनका अन्तर्राष्ट्रिय परराष्ट्र मामिला सम्बन्धमा अङ्गे्रजीमा लेखिएका पुस्तक पनि छन् । अङ्ग्रेजीमा लेखिएका जति पनि आलेखहरू छन्, ती सबै आज कूटनीतिक मामिलासम्बन्धी ऐतिहासिक दस्तावेज बन्न पुगेका छन् । नेपाली भाषासाहित्यमा कविवर भानुभक्त आचार्यलाई नेपालका सन्त तुलसीदास भनेजस्तै यदुनाथलाई नेपालका हेनरी किसिन्जर भनिन्छ । विश्व–कूटनीतिज्ञ हेनरी किसिन्जरको कूटनीतिक क्षेत्रमा जुनस्तरको क्षमता, घनत्व र कलाकौशल छ, त्यही स्थानमा यदुनाथको भूमिका छ ।
पूर्वीय र पाश्चात्य साहित्यको अध्ययन गरी समालोचना क्षेत्रमा यदुनाथको महŒवपूर्ण भूमिका छ । नेपाली समालोचना क्षेत्रमा साहित्यिक योगदान र विकासका लागि भाषा मात्र होइन, सैद्धान्तिक समालोचनाको आधारस्तम्भ नै उनले प्रस्तुत गरे । कवि भानुभक्त आचार्यबारे पहिलो समालोचना प्रस्तुत गरेर मोतीराम भट्टले नेपाली–साहित्यमा आलोचनाको शिलान्यास गरेका थिए । उनले प्रारम्भ गरेको समालोचनालाई सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा, बाबुराम आचार्य र डा.ईश्वर बरालले अगाडि बढाए । त्यतिबेलासम्म समालोचनात्मक आधार थिएन, बरु प्रमाणपरक समालोचना गरी गुण–दोषलाई औँल्याएको मात्र देखिन्छ । वस्तुको गुण, दोष र तिनका समस्याको मन्थन गरेर यथार्थमा मार्गचित्र प्रस्तुत गर्नु नै सही समालोचना हो ।
कविता, काव्य, संस्मरण, लेख र समालोचनाबाट साहित्यमा प्रवेश गरेका यदुनाथका संस्कृत, अङ्ग्रेजी र नेपालीमा प्रशस्तै रचना प्रकाशित छन् । जीवनमा प्राध्यापनदेखि प्रशासनिक एवं कूटनीतिक क्षेत्रमा यदुनाथको अनुभव व्यापक छ । उनको प्रयोगात्मक समालोचना पनि प्रशस्तै छन् । तर बढी महŒव दर्शाउने ग्रन्थ समालोचनाको सिद्धान्त हो । यो नेपाली साहित्यको प्रथम सैद्धान्तिक समालोचना कृति हो । पूर्वीय र पाश्चात्य मान्यता तथा प्रयोगलाई दृष्टिगत गरी नेपाली समालोचनाको मौलिक स्वरूप निर्माणार्थ यो कृति महŒवपूर्ण छ । नेपाली भाषामा पूर्वीय र पाश्चात्य समालोचना नभएको अवस्थामा यसले प्रथम तुलनात्मक विवेचना गरेको छ । विधागत परिचय र समालोचनात्मक दृष्टि प्रवद्र्धन गर्न लेखिएको यस कृतिमा बौद्धिक विषयवस्तु भएर पनि सरल र कलापूर्ण चयन हुनुसक्नु उनको नेपाली भाषा लेखनमाथि विशेषाधिकार प्रतिविम्बित हनु हो । नेपाली समालोचनाको सिद्धान्त नवीन भएर पनि गहन हुनु र प्रथम भएर पनि अनन्तसम्म उत्तिकै मूल्यवान् रहनु यसको घनत्व पक्ष हो । यदुनाथको समालोचना सिद्धान्त नेपाली भाषा प्रकाशिनी समितिले २००३ सालमा प्रकाशित गरेको थियो । यस्तो महŒवपूर्ण ग्रन्थबारेको गहन अध्ययन उनले एकतीस वर्षको उमेरमै सम्पन्न गरेका थियो । नेपाली साहित्यका निमित्त समालोचनाको सैद्धान्तिक आधारका साथै उनका यथेष्ट व्यवहारात्मक आलोचनाहरू पनि प्रकाशित छन् । पूर्वीय र पाश्चात्य दर्शनलाई समेटेर नेपाली समालोचना गर्ने पहिलो सर्जक नै हुन् यदुनाथ । जीवनमा अन्य क्षेत्रको सेवामा रहँदा पनि यदुनाथको नेपाली भाषासाहित्य र समालोचनाको विषयमा आजीवन अभिरुचि कायमै थियो ।
कुनै पनि प्रतिभा विशेषको योगदान र उसको मूल्याङ्कन गर्ने परिपाटी र परम्परामा यदुनाथको क्षमता विशिष्ट छ । उनले नेपालका तीन जना मूर्धन्य प्रतिभा सोमनाथ सिग्देल, हेमराज शर्मा र नयराज पन्तका बारेमा गरिएको समालोचना यसको उदाहरण हो । यी मूर्धन्य प्रतिभाको सम्बन्धमा यदुनाथको सटिक तर्क छ– मलाई अनुभव हुन्छ । हामीले हेर्नेभन्दा अर्को दृष्टिबाट हेमराज र सोमनाथको सम्बन्धलाई नयराजले हेर्नुभएको छ । हेमचन्द्रिका, पुस्तकालयको सङ्ग्रह, सर्वस्वीकृत विद्वता आदिले हेमराजको आफ्नै व्यक्तित्व छ । त्यो व्यक्तित्व इतिहासको चर्चाको विषय हुन सक्छ । तर यसरी आफ्नै स्वतन्त्र व्यक्तित्व भएका हेमराजलाई उचाल्न सोमनाथलाई पछार्नुपर्ने आवश्यकता म देख्दिनँ । यसमा नयराजको ठूलो गुनासो छ– जब हेमराज राणावंशमा स्थिर रहे सोमनाथले भने हेमराजलाई त्याग गरे । २००७ सालको जनक्रान्ति राणावंशको होइन वल्की व्यवस्थाको विरोधमा थियो । क्रान्तिका प्रवर्तक राणा अराणा सबै थिए, तब क्रान्तिपछि हेमराज राणावंशमा स्थिर रहे भन्नाको के तात्पर्य हो ? नयराजप्रति यदुनाथको प्रश्न छ, कति गम्भीर र सन्तुलित रूपमा एउटा घटनाक्रमसँग जोडेर व्याख्या विश्लेषण गरिएको छ । यदुनाथको यो मूल्याङ्कन आजका युवापुस्ता र विशेष गरी राजनीतिक दलका एकलकाटे र एकसरो चिन्तन बोकेका पात्रहरूले अध्ययन मनन गर्नु राष्ट्रकै हितको पक्षमा छ । यसैगरी सूक्तिसिन्धु मूल्याङ्कनको खोजका बारेमा दुई प्रतिभाशाली विद्वान व्यक्तित्व यदुनाथ खनाल र रामकृष्ण शर्माबीच दरो बौद्धिक बहस भएको छ, जुन अत्यन्त पठनीय छ । विशेष गरी नेपाली साहित्यको माध्यमिककालीन एउटा मौलिक परम्परा, प्रवृत्ति र वस्तुस्थितिको पहिचानसँग सुक्तिसिन्धु केन्द्रीकृत छ ।
यदुनाथले अङग्रेजी कविता संस्कृतमा र संस्कृतका श्लोकहरू अङ्ग्रेजीमा अनुवाद गरे । उनले महाकवि देवकोटा, सिद्धिचरण र भूपि शेरचनको विश्लेषणात्मक परिचयको अङ्ग्रेजीमा अनुवाद पनि गरे । उनको सुक्तिसञ्चय संस्कृतमा लेखिएको महŒवपूर्ण पद्यकृति हो । मौलिक र अनुवादमा विभक्त यस कृति संस्कृतसाहित्यको फाँटमा दुर्लभ प्राप्ति हो । प्रस्तुत सुक्तिसञ्चय केही मौलिक र केही विविध अन्य भाषाहरूबाट संस्कृतमा अनुवाद गरिएका कविताहरूको सङ्कलन हो । उनको नेपाली भामिनीविलास ग्रन्थ पण्डितराज जगन्नाथको संस्कृत भामिनीविलासको समश्लोकी समच्छन्दी नेपाली अनुवाद हो । साहित्य, समालोचना र अन्तर्राष्ट्रिय मामलासम्बन्धी कृतिहरूले यदुनाथलाई प्रतिभाशाली सर्जकको कोटिमा उभ्याएको छ । साझा प्रकाशनबाट प्रकाशित एवं प्राडा. जयराज आचार्यद्वारा लिखित ‘यदुनाथ खनाल जीवनी र विचार’ उनको बारेमा आत्मकेन्द्रित भएर लेखिएको ज्यादै गहन र पठनीय पुस्तक हो । यदुनाथका नेपाली संस्कृत र अङ्ग्रेजी भाषामा लेखिएका एक दर्जनभन्दा बढी कृतिहरूले नेपाली वाङ्मय भण्डारलाई खँदिलो, स्वादिलो र पोषिलो बनाएको छ ।