कोरोनाविरुद्ध मानवताको जित
प्रजित शाक्य
कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको डेढ वर्ष नाघिसक्यो । यस्तो विषम पस्थितिमा विश्वको सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिक आयोजना गर्नु असम्भव जस्तै थियो । सन् २०२० मै हुनुपर्ने टोकियो आलम्पिक कोरोनाकै कारण एक वर्ष पछाडि त सारियो । तर विज्ञहरू नै एक वर्षपछि पनि यो ओलम्पिक हुनेमा आशावादी थिएनन् । यसबीच जब टोकियो ओलम्पिक आयोजना गर्ने भनियो अरू त अरू जापानी जनता समेत रुष्ट भए किनभने कोरोना त्रास जस्ताको तस्तै थियो । एघार हजारभन्दा बढी खेलाडीका साथमा आउने अन्य पदाधिकारी र स्वयंसेवकलाई टोकियोमा कसरी स्वागत गर्ने र खेल खेलाउने भन्ने चिन्ता र चुनौतीले सताएको थियो । यस्तो बाधा र व्यवधानबीच पनि टोकियो ओलम्मिक सफल र सुरक्षित रूपमा सम्पन्न भयो । शान्त र सौम्य ढङ्गको पनि भयो । दृढ सङ्कल्प भए असम्भव पनि सम्भव हुन्छ भन्ने उदाहरण जापानले देखायो । ओलम्पिक सफल आयोजनापछि जापानको प्रशंसा विश्वभर भइरहेको छ । यस पटकको ओलम्पिकमा खेलबाहेक अन्य तामझाम भएन । ओलम्पिक खेलको आयोजना दर्शकविना नै भयो । यसले ओलम्पिकलाई खल्लो बनायो तर यसको विकल्प पनि थिएन ।
बरु कोरोना सङ्क्रमण नपैmलियोस् भनेर कडा नियम बन्यो । खेलाडी र पदाधिकारीलाई ओलम्पिक भिलेजमा ‘बायो सेक्युअर बबल’ भित्र सुरक्षित वातावरणमा राखियो । उनीहरूको यात्रा खेल स्थल र ओलम्पिक भिलेज मात्र बन्यो । बाहिर घुम्न निषेध गरियो । ओलम्पियनहरूले एक अर्कासँग भेट्न पाएनन् । आफ्ना समर्थकको प्रत्यक्ष समर्थनविना नै खेल्नुप¥यो । खेलाडी, पदाधिकारीहरूले हरेक दिन कोरोना परीक्षण गराउनपर्ने, खेल सकिना साथ तुरन्तै माक्स लगाउनुपर्ने र प्रतिस्पर्धा सकिएको दुई दिनभित्रै जापान छोड्नुपर्ने प्रावधान थियो । यति मात्र होइन, यस पटकका विजेताहरू स्वयं आफैँ घाँटीमा पदक भिर्नसमेत बाध्य बने । हुन त यस्तो कडा सुरक्षाबीच पनि टोकियो ओलम्पिकमा कोरोनाको ४५८ केस अगाडि नआएको होइन । तर यसमध्ये खेलाडीको सङ्ख्या २९ मात्र थियो । यसलाई ओलम्पिकजस्तो खेलकुद मेलाको आयोजनामा बेवास्ता गर्न सकिने सङ्ख्या हो भन्दा फरक पर्दैन ।
त्यसो त यस्तो अवस्थामा पनि ओलम्पिक खेलकुदको आयोजना सफल रूपमा गर्नु चानचुने कुरा होइन । यो खेलकुद मेलामा विश्वकै ध्यान केन्द्रित हुन्छ । ओलम्पिक आयोजक देशले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेका हुन्छन् । यसका लागि आयोजकले अर्बौं डलर खर्च पनि गरेको हुन्छ । त्यसैले विश्वका समृद्ध देशबाहेक अन्य राष्ट्रले ओलम्पिकको आयोजना गर्ने आँट गर्दैनन् । हरेक राष्ट्रका शीर्ष खेलाडीले भाग लिने ओलम्पिक आर्थिक दृष्टिकोणले बोझिलो हुन्छ । ओलम्पिकमा सुरक्षालगायत अन्य पक्ष पनि उत्तिकै चुनौतीपूर्ण हुन्छन् । तर यसबीच ओलम्पिक आयोजनालाई आफ्नो देश र सहरको भव्यता र सम्पन्नता देखाउने अवसरको रूपमा पनि लिइन्छ । पछिल्लो संस्करणमा रियो सहरले १२ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । त्यसभन्दा अघि लन्डन ओलम्पिकमा लन्डन सहरले १४.५ अर्ब डलर खर्च गेको थियो । टोकियो ओलम्पिकमा १५.४ अर्ब डलर खर्च भएको आधिकारिक भनाइ आएको छ । एक वर्ष ओलम्पिक ढिला भएपछि टोकियो ओलम्पिकको खर्च २२ प्रतिशतले बढ्यो । टोकियोलाई धेरै नोक्सानी भयो । यो नोक्सानीका विषयमा टोकियो ओलम्पिक आयोजक कमिटी र आइओसीबीच नोक्सानी कसले तिर्छ भन्ने अन्योल पनि रह्यो ।
यति धेरै रकम खर्च गरेर पनि टोकियो भाग्यमानी बनेन । कोरोनाका कारण अनुमानित छ लाख पर्यटक टोकियो आउन पाएनन् । जापानी जनता पनि आफ्नै देशमा भएको ओलम्पिकको साक्षी बन्न पाएनन् । यसबाहेक खेलाडी र पदाधिकारीलाई पनि टोकियोले आफ्नो समृद्धि देखाउन पाएन । तर ‘रिकभरी’ ओलम्पिकको रूपमा व्याख्या गरिएको यस खेल मेलालाई कोरोनाविरुद्ध मानवताको जितको रूपमा अथ्र्याइएको छ । आयोजक कमिटीले नै टोकियो ओलम्पिकलाई कोरोनाविरुद्ध मानवताको जितको सन्देश दिने अभियानको रूपमा लिएको थियो ।
अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा
विश्वका हरेक खेलाडीको सपना ओलम्पियन बन्ने हुन्छ । अझ ओलम्पिकमा पदक जित्न सके खेलाडीहरू त्यसलाई आफ्नो जीवनकै ठूलो उपलब्धि ठान्छन् । विश्वको सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकमा पदक जितेपछि मात्र होइन, हार्दा पनि खेलाडीहरूमा उर्लिने भावनाको मापन गर्नै सकिन्न । यसपालिको ओलम्पिकमा सबभन्दा बढी अमेरिकी खेलाडीहरूले पदक जिते । त्यसो त ओलम्पिकको पदक तालिकामा प्रायः अमेरिका नै शीर्ष स्थानमा रहँदै आएको छ । तर यसपालि अमेरिकाका लागि चीन ठूलो खतरा बन्यो । पछिल्ला केही संस्करणदेखि अमेरिका र चीनबीच विश्वको सबभन्दा उत्कृष्ट खेल राष्ट्र बन्ने प्रतिस्पर्धा नै चलेको छ । चीनले ओलम्पिकमा अमेरिकाको दबदबा तोड्ने प्रयास गरिरहेको छ । सन् २००८ मा आफ्नै देशमा भएको बेइजिङ ओलम्पिकमा चीनले अमेरिकाको वर्चस्व तोड्दै शीर्ष स्थान पनि बनाएको थियो । तर त्यसपछि लन्डन र रियो ओलम्पिकमा अमेरिकाले पुनः आफ्नो दबदबा कायम राख्यो । खेलकुदमा अपेक्षावृmत कमजोर मानिने एसियाली राष्ट्र भए पनि चीनसमक्ष यसपालि एसियाली भूमिमा पुनः अमेरिकालाई चुचुरोबाट झार्ने मौका थियो । अझ सत्र दिन चलेको टोकियो ओलम्पिकको अन्तिम दोस्रो दिनसम्म चीन पदक तालिकामा बढी स्वर्ण जितेर अग्रस्थानमा थियो । तर अमेरिकाले अन्तिम दिन महिला बास्केटबल, साइक्लिङ, महिला भलिबलमा स्वर्ण पदक जितेर चीनलाई पहिलो स्थानबाट तल झारिदियो । यसरी यो ओलम्पिकमा अमेरिकाले अन्तिम दिन चीनभन्दा एक स्वर्ण पदक बढी जितेर ओलम्पिकमा आफ्नो साम्राज्य कायम राख्न सफल भयो । शीर्ष स्थानका लागि भएको यस्तो रोचक प्रतिस्पर्धा पहिले शायदै भएको थियो । विगतमा यस्तो हेर्नलायक प्रतिस्पर्धा अमेरिका र तत्कालीन सोभियत सङ्घबीच हुन्थ्यो ।
टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्यसहित पदकको शतक पूरा ग¥यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यसहित ८८ पदक जितेर दोस्रो स्थानमा रोकियो । अमेरिकाले सबभन्दा बढी पौडीमा ११ स्वर्ण पदक जितेको छ । चीनले भारोत्तोलन र डाइभिङमा सात÷सात स्वर्ण जितेर यी खेलमा वर्चस्व जमायो । जापानका लागि घरेलु भूमिमा भएको ओलम्पिक अहिलेसम्मकै सबभन्दा सफल रह्यो । जापानले घरेलु मैदानको भरपूर फाइदा उठाउँदै आफूलाई तेस्रो स्थानमा उभ्यायो । जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्यसहित कुल ५८ पदक हात पा¥यो । जापानले नौ स्वर्ण पदक जितेर जुडोमा दबदबा बनायो । नयाँ खेल स्केटबोर्डिङमा पनि जापानले चारमध्ये तीनमा स्वर्ण पदक प्राप्त ग-यो ।
रियो ओलम्पिकमा चीनलाई समेत पछाडि पारेर दोस्रो स्थान बनाएको बेलायत यस पटक चौथो भयो । डोपिङ काण्डबाट अझै बाहिर आउन नसकेको रुसले पूर्ण शक्तिको टिम नहुँदा पनि पाँचौँ स्थान हासिल ग¥यो । रुसले यस पटक आफ्नो देशको ओलम्पिक कमिटीको झन्डामुनि खेलेको थियो । त्यसपछि अस्ट्रेलिया छैटौँ, इटाली सातौँ, जर्मनी आठौँ, नेदरल्यान्ड्स नवौँ र फ्रान्स दशौँ स्थानमा रहे । फिलिपिन्स, बर्मुडा र कतारले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जीतको गौरव हासिल गरे । तुर्कमिनिस्तान, सान मारिनो र बुर्किना फासोले पहिलो पटक आलम्पिक पदक जिते । टोकियो ओलम्पिकमा २०५ राष्ट्रमध्ये ९४ देशले पदक तालिकामा आफूलाई उभ्याउन सफल भए । यस खेल मेलामा ३७ खेल स्थलमा ३३ खेलका ३३९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जुन ओलम्पिकको इतिहासमा अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक हो ।
चम्किएका खेलाडी
यसपालि विगतमा जस्तो दबदबा बनाउने खेलाडीको अनुमान गर्न सजिलो थिएन । ओलम्पिकका लिभिङ लिजेन्डहरू युसेन बोल्ट र माइकल फ्लेप्सले सन्न्यास लिइसक्नुभएको छ । अझ कोरोना महामारीले सन् २०२० मा थुप्रै प्रतियोगता रद्द भए । केही अन्तर्राष्ट्रिय प्रतियोगिता भए तर त्यसमा पनि धेरै देशका खेलाडी सहभागी भएनन् । गत वर्ष थुप्रै छनोट चरण हुन सकेनन् । त्यसैले यसपालि विगतमा जस्तो ओलम्पिकका हेर्नलायक खेलाडीको चर्चा गर्नु पनि कठिन नै बन्यो । तर पनि केही खेलाडीले यो ओलम्पिकलाई अविस्मरणीय बनाएका छन् ।
ओलम्पिकको एक सय मिटर दौडमा विजेता धावकको ठूलो नाम हुन्छ । जेसी ओवेन्स, कार्लस लुइस, युसियन बोल्ट यसका केही उदाहरण हुन् । यस इभेन्टमा विजेतालाई विश्वकै तेज दौडने व्यक्तिको रूपमा लिइन्छ । छोटो दूरीको दौडका महान् खेलाडी उसियन बोल्ट सन्न्यासपछि टोकियो ओलम्पिकको एक सय मिटर दौडमा स्पष्ट उपाधि दाबेदार पनि थिएनन् । विश्व विजेता क्रिस्टियन कोलम्यान डोपिङका कारण प्रतिबन्धित थिए । यस्तो समीकरणबीच इटालीका मार्सेल ज्याकाब्सले एक सय मिटरको दौड जितेर आफूलाई ओलम्पिकको अमर खेलाडी बनाउनु भयो ।
एक सय मिटर दौडमा समर्थक र विशेषज्ञका लागि मात्र होइन, ज्याकोब्सका लागि पनि अपेक्षाविपरीत नतिजा थियो यो । एक सय मिटर दौडमा उहाँ दौडदा अर्को लेनमा रहने धावकलाई पनि ज्याकोब्सबारे केही थाहा थिएन । तर टोकियो अोलम्पिकमा स्वर्ण पदक जितेपछि ज्याकोब्स विश्वले चिन्ने नाम बन्न पुग्यो । ज्याकोब्सले इटालीलाई रिलेमा पनि स्वर्ण पदक दिलाउनुभयो । टोकियो अोलम्पिक अघि फुटबलका महाशक्ति राष्ट्र इटालीको एथलेटिक्समा भने खासै नाम थिएन । ज्याकोब्सको सफलताले ट्रयाक एन्ड फिल्डमा पनि इटालीको गौरव बढेको छ । इटाली एथलेटिक्सतर्फ पाँच स्वर्ण पदक जितेर अमेरिकापछि दोस्रो स्थानमा रह्यो ।
अस्ट्रेलियाकी इमा म्याकियोन सात पदक जितेर टोकियो ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी बन्नुभयो । इमाले टोकियोमा चार स्वर्ण र तीन कांस्य पदक जित्नुभयो । इमाले ओलम्पिकमा महिला खलाडीले जितेको सर्वाधिक पदकको बराबरी पनि गर्नुभयो । सन् १९५२ मा हेलसिन्कीमा भएको ओलम्पिकमा तत्कालीन सोभियत सङ्घका जिम्न्यास्ट मारिया गोरोकोभ्स्कायाले सात पदक जितेर कीर्तिमान राख्नुभएको थियो । अमेरिकाका सैलेब ड्रेसेलले पनि कुल पाँच पदक जितेर टोकियो ओलम्पिकलाई स्मरणीय बनाउनुभयो । उहाँले दुई विश्व कीर्तिमान र दुई ओलम्पिक कीर्तिमान पनि बनाउनुभयो ।
टेनिसबाट स्विट्जरल्यान्डलाई स्वर्ण पदक प्राप्त भयो । यद्यपि स्विट्जरल्यान्डलाई स्वर्ण पदक दिलाउने रोजर फेडरर वा स्टान वारिन्का थिएनन् । स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिचले आफ्नो पहिलो सहभागितामा नै टोकियो आलम्पिकको महिला एकलमा स्वर्ण पदक जितेर त्यस्तो गौरव हासिल गर्नुभयो । जुन २० पटक ग्रान्डस्लाम जितिसकेका फेडररर र अर्का ग्रान्डस्लम उपाधिधारी वारिन्काले पनि स्वीट्जरल्यान्डका लागि यो गौरव हासिल गर्न सक्नुभएको छैन । त्यसैले पनि टोकियो ओलम्पिकमा बेन्सिचको धेरै चर्चा भयो । यसैगरी, क्यानाडाको महिला फुटबल टिमले पनि स्वर्ण पदक जितेर वाहवाही कमायो ।
ओलम्पिक भावना भनेको जित मात्र होइन, मित्रता र सद्भावना पनि फैलाउनु हो । टोकियो ओलम्पिकमा कतारका मुताज बर्सिम र इटालीका जियनमार ताम्बेरीले हाइजम्पमा स्वर्ण पदक बाँडेर यस्तै ओलम्पिक भावनाको सन्देश विश्वभर फैलाउनुभयो । दुवैले २.३७ मिटर उचाइ नाघे । त्यपछिको थप प्रयासमा ताम्बेरी घाइते हुनुभयो । बर्सिमसमक्ष अर्को प्रयासको अवसर थियो । तर उहाँले स्वर्ण पदक दुवैले बाँड्न सकिन्छ भन्ने प्रश्न गर्नुभयो । आयोजकले यस्तो प्रावधान भएको बताएपछि दुवैले खुसीका साथ स्वर्ण पदक बाँडेर खेल भनेको जितहारभन्दा पनि माथि छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
यस खेल मेलामा यस्ता सुपरस्टार खेलाडी पनि थिए, जसको नतिजाले निराश पनि हुनुप¥यो । अमेरिकाकी जिम्न्यास्ट सिमोनी बाइल्स पाँच वर्षअघि ओलम्पिकमा आफ्नो पदार्पण खेलमै महान् ओलम्पिक खेलाडीको सूचीमा पर्नुभयो, कुल चार स्वर्ण र एक कांस्य पदक जितेर । तर टोकियो आउँदा उहाँले आफू मानसिक रूपमा अहिले दुरुस्त नभएको भन्दै केही इभेन्टबाट नाम फिर्ता लिनुभयो । यद्यपि उहाँले ब्यालेन्स बिम फाइनलमा खेल्दै कांस्य पदक जितेर शानदार पुनरागमन गर्नुभयो । उहाँले पनि खेलकुद जीतमात्र होइन भन्ने सन्देश दिनुभयो ।
यसैगरी विश्व टेनिसका नम्बर एक खेलाडी नोभाक जोकोभिच र जापानकी टेनिस सुपरस्टार नाओमी ओसाकाले पदक जित्न सक्नुभएन । यी दुवै खेलाडीलाई स्वर्ण पदकको दाबेदार मानिएको थियो । अमेरिकी महिला फुटबलको वर्चस्व पनि टोकियो ओलम्पिकमा तोडियो । अमेरिका महिला फुटबलमा शीर्ष वरीयताप्राप्त र विश्व विजेता टिम हो । पाँचौँ पटक ओलम्पिक महिला फुटबलको स्वर्ण जित्ने अभियानमा अमेरिका जापानमा आएको थियो । तर अमेरिका यसपटक कांस्य पदकमा सीमित भयो ।
नेपाल सहभागितामै सीमित
टोकियो ओलम्पिकले नेपाललाई खुसी दिन सकेन । टोकियो जानुअघि नै नेपालका पाँच जना खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य लिएका थिए । हुन त युनिभर्सिटी प्लेस र वाइल्डकार्डको माध्यमबाट मात्र ओलम्पिक पुगेका नेपाली खेलाडीबाट अपेक्षा गरिएको पनि थिएन । टोकियो ओलम्पिकमा नेपालका सबै खेलाडी पहिलो चरणबाटै आउट भए । पौडीका गौरिका सिंह, अलेक्ज्यान्डर शाह र सुटिङकी कल्पना परियारले भने अोलम्पिकजस्तो ठूलो खेलकुद मेलामा राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो सहभागितालाई अविस्मरणीय बनाउनुभयो ।
गौरिका ५२ खेलाडीमध्ये ५१औँ स्थानमा रहनुभयो । १३ औँ दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जित्ने गौरिकासमक्ष यस पटक ओलम्पिकमा केही राम्रो प्रदर्शनको आशा गरिएको थियो । अलेक्ज्यान्डर पनि आफ्नो हिटमा पहिलो स्थानमा रहेपनि समग्रमा निकै पछाडि पर्नुभयो । कल्पना ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुभयो । महिला एक सय मिटर दौडमा सरस्वती चौधरीले आफ्नो उत्कृष्ट समयमा पनि सुधार गर्न सक्नुभएन । हिट–२ मा दौडिएकी सरस्वतीले काजकस्तानकी खेलाडीलाई भने पछाडि पार्नुभयो । जुडोकी सोनिया भट्ट पनि रुसी खेलाडी डोल्गोभा इरिनाविरुद्ध भिडन्तमा एक मिनेट १६ सकेन्ड मात्र रिङमा टिक्नुभयो ।
नेपालका लागि प्रदर्शनको हिसाबले टोकियो अोलम्पिक फलिफाप भएन । त्यसो त विश्वका अन्य देश र नेपालको खेल स्तरमा आकाश जमिनको फरक छ । त्यसैले पनि नेपाली खेलाडीहरू आफूले सक्दो प्रयास गरे पनि ओलम्पिकजस्तो प्रतियागितामा पछाडि पर्ने गर्छन् । यसमा खेलाडीहरूलाई मात्र दोष दिन मिल्दैन ।