तपोभूमि नेपाल
रामप्रसाद पन्त
भूगोलमा नेपाल सानो होला तर औचित्यको दृष्टिले सानो छैन । भूगोलमा सानो भइकन पनि यसको महिमा महान् छ । हाइट र लाइट दुवै नेपालमा छ । अर्थात् पौराणिक कालमा सुमेरु भनेर चिनिएको र पछि नौबन्धन भनेर मानिएको अनि पछिल्लो पटक विश्वले नै महिमा गान गाउने गरेको सर्वाेच्च शिखर सगरमाथाको देश हो नेपाल । विश्वकै लाइट भन्नुपर्नेमा एसियाको लाइटमा सीमित गरिएका महात्मा गौतम बुद्धको देश हो नेपाल । विश्वकै अलग पहिचान भएको चन्द्रसूर्य अङ्कित त्रिकोण झन्डा भएको देश हो नेपाल । वीर गोर्खालीले चिनिएका देश हो नेपाल । हिमालपुत्र भनेर चिनिने शेर्पाहरूको देश हो नेपाल । जनसङ्ख्याको अनुपातमा सर्वाधिक सनातनधर्मी बस्ने गरेको देश हो नेपाल । विश्वमै छवटै ऋतु अवस्थित भएको देश हो नेपाल । विश्वकै फरक भूगोल र फरक संस्कृति भएको देश हो नेपाल ।
हिमालयमा शिवजीको बास छ । शिवले विश्वलाई योग, कला, गीत, सङ्गीत, नृत्य, ध्यान, औषधि, ज्ञान, विज्ञान र चिकित्सा पद्धति आदि उपलब्ध गराएको भूमि हो नेपाल । ब्रह्माले सृष्टि प्रारम्भ गरेको भूमि हो नेपाल । देवभूमि, ऋषिभूमि, तपोभूमि, पुण्यभूमि, यज्ञभूमि, योगभूमि र तीर्थभूमि हो नेपाल । ब्रह्माले चौध मनुको सृष्टि गरिसकेपछि कुशेश्वरमा गई तपस्या गरे र बाँकी चराचर जगत्को सृष्टि गरे । विश्वामित्रले आफ्नो तपस्थल कोसी किनारलाई बनाए । आद्यशक्ति पार्वती, पाथिभरा, महाकाली, महालक्ष्मी, महादेवी र महागौरीको जन्मस्थल हो नेपाल । पार्वतीले पर्वतमा, पाथीभरा माताले कुम्भकर्ण हिमालको काखमा र महादेवीले कञ्चनजङ्घामा तपस्या गरेको कुरा पुराणहरूमा वर्णित छ । जगत्प्रसिद्ध चौसट्ठी शिवलिङ्ग पाशुपत क्षेत्रमै अवस्थित छन् । वैदिक एवं संस्कृत साहित्य, कला, संस्कृति, सभ्यता र सङ्गीतको उत्पत्ति यसै हिमवत्खण्डबाट भएको हो ।
युगअनुसार नेपालको नामकरण भिन्न रूपले भएको भनिएको छ –
‘कृते सत्यपुरी ज्ञेया त्रेतायां च तपोवनी
द्वापरे मुक्तिसोपान कल्वै नेपालिका पुरी
ने नाम्ना मुनिना यस्मात् पालितं पुण्यकर्मणा
क्षेत्रं हिमवत् कुक्षौ ततो नेपाल संज्ञकम् ।’
अर्थात् सत्ययुगमा नेपाललाई सत्यपुरी भनिन्थ्यो, त्रेतामा तपोवनी । द्वापरमा मुक्तिसोपान भनिन्थ्यो, कलीमा नेपालिका । ‘ने’ नामका मुनिले तपस्या गरी पालनसमेत गरेकाले यस हिमवत्खण्डको काखमा रहेको देशलाई नेपाल भनियो ।
अठारौँ व्यास मानिने वेदव्यासले वेदको विभाजन यहीँ गरे । उनले पुराण र महाभारत दमौलीमा बसेर लेखे । वाल्मीकिले रामायण लेखेको ठाउँ त्रिवेणी हो । महर्षि कपिलले कपिलगीता र साङ्ख्यदर्शन यहीँ लेखे । भृगु ऋषिले भीरकोटमा बसेर भृगु संहिता लेखे । विश्वामित्रले गौरीशङ्कर हिमालमा गायत्री मन्त्र प्राप्त गरे । महर्षि दीर्धत्तमाले शिवपुरीमा ‘खं’ ब्रह्मको प्रयोग गरी विश्वसामु प्रचार गरे । श्रीमद्भागवत पुराणमा उल्लिखित अठासी हजार शौनकादि ऋषिलाई शुकदेवले कथा सुनाउनुभएको नैमिषारण्य क्षेत्र देवघाट हो । राजा जनकले अन्नको आविष्कार गरेको भूमि यही हो । पाश्चात्य जगत्का यौनशास्त्री सिग्मन्ड फ्रायड भएजस्तै पौरस्त्य जगत्का ‘कामसूत्र’का निर्माता वात्स्यायनको जन्मभूमि पनि नेपाल हो । उनले आफ्नो कामसूत्रमा चौरासी कामकलाको उल्लेख गरे ।
वैज्ञानिकहरूले एक्काइसौँ शताब्दीमा आएर प्रयोगमा ल्याएको टेस्टट्युब बेबीको पद्धति पौरस्त्य जगत्मा हजारौँ वर्षपहिले ‘नियोग प्रथा’को नामबाट विकसित भइसकेको थियो । राजा जनकको जन्म निमीको देहमन्थनबाट भएको हो । धृतराष्ट्र, पाण्डु र विदुरको जन्म पनि नियोग पद्धतिबाटै भएको हो । गुरु द्रोणाचार्य पनि नियोग पद्धतिबाटै उत्पन्न भएका हुन् ।
हो, वास्तवमा विश्वकै एउटा अद्भुत देश हो नेपाल । ज्ञान र ध्यानको उद्गम भएको देश हो नेपाल । देवमय, ऋषिमय र औषधिमय देश हो नेपाल । गणितबाट पृथ्वीको गोलाद्र्ध र व्यास पत्ता लगाउने ऋषिमुनिहरूको देश हो नेपाल । पौरस्त्य जगत्का खगोलवेत्ता ज्योतिषीहरूले उहिल्यै पत्ता लगाएका नवग्रह र आकाशगङ्गाको अहिले खोजी गर्दैछन् वैज्ञानिकहरू । खगोलको अध्ययन गर्ने सिद्धान्त ज्योतिष, पृथ्वीको अध्ययन गर्ने संहिता ज्योतिष र प्राणी मात्रको शुभाशुभ अध्ययन गर्ने फलित ज्योतिष पौरस्त्य जगत्का विद्वान्हरूले हजारौँ वर्षपहिले नै प्रयोगमा ल्याएका थिए । अधिकमास, क्षयमास र सूर्यचन्द्र ग्रहण कसरी हुन्छ भन्ने पत्ता लगाउने दूरद्रष्टा र सूक्ष्मद्रष्टा आद्य वैज्ञानिक ऋषिमुनिहरूको भूमि हो नेपाल । विज्ञानले पहिले सात ग्रह मान्थ्यो, अहिले नवग्रह हुँदा रहेछन् भन्ने स्वीकार ग¥यो, जुन नवग्रहको अध्ययन उहिल्यै पौरस्त्य जगत्का ऋषिमुनिहरूले गरिसकेका थिए ।
हिन्दकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बङ्गलादेश र बर्मासम्मको भूमि नै मानव सभ्यताको उद्गमस्थल हो । यसैमा पनि हिमवत् खण्डअन्तर्गत रहेको नेपालभूमि ऋषिमुनिहरूको प्रमुख तपस्थल हो । उनीहरूको जन्मस्थल जहाँ भए पनि तपस्थलका लागि उत्तम भूमिका रूपमा उनीहरूले नेपालको उत्तराखण्डलाई नै रोजे ।
दुई हजार ४७० किलोमिटर लामो हिन्दुुकुश पर्वतमध्ये आठ सय किलोमिटर भूमि नेपालमा पर्छ । भौगोलिक हिसाबले हिन्दुकुश पर्वत शृङ्खलालाई पाँच भागमा विभाजन गरिएको छ । सिन्धुदेखि सतलजसम्म पञ्जाव हिमालय, महाकालीसम्म कुमाउँ हिमालय, मेचीसम्म नेपाल हिमालय, टिष्ठासम्म सिक्किम हिमालय र ब्रह्मपुत्रसम्म आसाम हिमालय । विश्वविख्यात भूगोलविद् बुड्सडेनले नेपालको भौगोलिक विभाजन यसरी गरेका छन्– तिब्बती पठार, उच्च हिमाली शृङ्खला, भित्री हिमाल, महाभारत शृङ्खला, चुरे शृङ्खला र समतल तराई ।
पौराणिक एवं ऐतिहासिक आधारअनुसार स्वायम्भुव मनु कालीकोटमा जन्मे र मान्मलाई तपस्थल बनाए । वाल्मीकि ऋषिको आश्रम त्रिवेणीधाम भएको पुष्टि भइसकेको छ । विश्वामित्र ऋषिको कोसी किनार भएको कुरा धेरैले बुझेकै हो । यसैगरी मार्कण्डेय ऋषिले दार्चुलामा र भृगुले स्याङ्जामा तपस्या गरे । दुर्वासाले अर्घाखाँची र वृहस्पतिले बाजुरालाई आफ्नो तपस्थल बनाए । अत्रिको तपस्थल बझाङ र भारद्वाजको तपस्थल कालीकोट हो । गौतम ऋषिले रुकुम र जुम्लामा तपस्या गरे भने जैमिनीले पनि दैलेख र जुम्लामा तपस्या गरे । द्रोणाचार्यको तपस्थल पनि दैलेख र दाङ मानिएको छ ।
भनिन्छ, जसको नामबाट ‘च्यवनप्रास’ नाम रह्यो, ती च्यवन ऋषिको तपस्थल खेचराद्री (खप्तड) हो । धौम्य र दत्तात्रय ऋषिले जुम्लामा तपस्या गरे भने गार्गीले पनि जुम्लामै तपस्या गरिन् । विभाण्डक ऋषिले कोसी किनारमा तपस्या गरे भने उद्दालकले कालीकोटमा । कश्यपले कास्कीमा तपस्या गरे भने ऋष्यशृङ्गले गुल्मीको रेसुङ्गामा । दशरथपुत्री शान्ताको विवाह यिनै ऋषिसँग भएको थियो । यिनले राजा दशरथको पुत्रेष्टियज्ञ पनि गराएका थिए । यस्तै लोमस ऋषिले जुम्ला र मुगुमा अनि गर्गले जुम्ला र पर्वतमा तपस्या गरेको कुरा पुराणमा वर्णित छ ।
अष्टाध्यायीका प्रणेता पाणिनिको तपस्थल पणेना हो । पाकिस्तानमा जन्मेका पाणिनिले उचित तपस्थल खोज्दै अर्घाखाँचीको पणेना आएर तपस्या गरे । तपस्याबाट प्रसन्न भएका शिवजीको आज्ञाअनुसार उनले ‘अष्टाध्यायी’ त्यहीँ बसेर लेखे । यसैगरी कात्यायनले ‘कात्यायन गृहसूत्र’ र पतञ्जलिले योगसूत्रको रचना पनि यहीँ गरे । यी तीन मुनिलाई त्रिमुनि भनेर सम्मान गरिन्छ । ‘ने’ मुनिको जन्मस्थल तनहुँ हो, जसले बागमती र विष्णुमतीको दोभानमा र सिन्धुलीको कुशेश्वरमा तपस्या गरे ।
हालको पाकिस्तानको पञ्जावमा जन्मेका गुरु नानकले पनि नेपाल आई विष्णुमती किनारमा तपस्या गरेका थिए भन्ने कुरा इतिहासमा वर्णित छ । युधिष्ठिरले अश्वमेघ यज्ञ गरेको सुनसरीको विजयपुर हो र पाण्डवले गुप्तवास बसेको ठाउँ विराटनगर हो । मणि निकालिएपछि अन्ततः अश्वत्थामा पनि जुम्ला पुगेर तपस्या गरेका थिए भन्ने कुरा स्कन्धपुराणमा उल्लेख छ । ‘स्वर्गद्वारी महाप्रभु’ले परिचित हंसानन्द गिरी, ‘रेसुङ्गा महाप्रभु’ले परिचित शशिधर स्वामी, ‘अर्चले महाप्रभु’ले परिचित स्थानेश्वर पन्थ, ‘शिवपुरी बाबा’ले परिचित गोविन्दानन्द सरस्वती, ‘खप्तड बाबा’ले परिचित सच्चिदानन्द सरस्वती र ‘श्यामचेतन बाबा’ले परिचित वासुकी ब्रह्मचारीलगायतका साधुसन्तहरूले पनि यसै भूमिमा तपस्या गरेर प्रसिद्धि कमाए । जनकनन्दिनी सीता, भृकुटी, जनक र बुद्धजस्ता विभूतिहरूको जन्म नेपालमै भयो । कैयौँ पटक क्षेत्रीय शक्तिलाई परास्त गर्ने परशुरामको आश्रम यहीँ थियो । कागभुसुण्डीको तपस्थल र रामलक्ष्मणको दीक्षाभूमि नेपाल हो । महर्षि अष्टाबक्रले‘अष्टाबक्र गीता’ लेखेको भूमि यही हो । अर्जुनले महाभारत युद्ध जित्नका लागि किराँतेश्वर महादेवबाट पाशुपतास्त्र प्राप्त गरेको भूमि यही हो । देवाधिदेव महादेवले त्रिपुरासुरलगायतका राक्षसहरूलाई संहार गरेको भूमि यही हो । वेद, त्रिपिटक, मुन्धुमले धार्मिक सहिष्णुता पाएको देश नेपाल नै हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे । वैदिक, पौराणिक वा ऐतिहासिक कुनै पनि कालमा नेपाल परतन्त्र भएन । यस्तो देशमा जन्मन पाउने हामीले गर्व गर्नुपर्छ र शिर ठाडो गरेर भन्नुपर्छ– म नेपाली हुँ, मेरो देश नेपाल हो ।