शनिवार |

मुक्तक

कृष्ण बाउसे


वन नासेरै धन बटुल्दैछौँ; मरेझैँ गर्दैछौँ रुख रोप्नु पर्दा
बेहद अज्ञानी भएका छौँ ज्ञानलाई स्वार्थले छोप्ने गर्दा
हामीलाई भोलिको पुस्ताले अवश्य नै सराप्नेछ
प्रातः भ्रमणमा जाँदासमेत छुट्टै अक्सिजन बोक्नुपर्दा !

भिज्नेहरू भन्छन्– पानी भएर भिजाउँछ मायाले
उड्नेहरू कहन्छन्– हुरी भएर उडाउँछ मायाले
धन्न उम्किएछु भनेर आनन्द लाग्छ यस बैरागीलाई
तैपनि किन चिमोटिरहन्छ त्यै फुत्किएको छायाँले !

माया देखाउँदै मुटु नजिकैको खल्तीमा बोकेर
लगातार चुम्बा खाँदै दुवै औँला र ओठले चेपेर
मलाई आगोले झोस्दा के पायौ ए मूर्ख मनुवा ?
धुवाँ उडाउँदै छातीमा क्यान्सरको वृक्ष रोपेर !

हिजोआज फलामजस्ता मान्छे पनि भइरहेछन् रूवा
ईश्वर–गड–अल्लाह स्वयं गरिरहेछन् प्रार्थना–प्रेयर–दुवा
ए वैज्ञानिक, कहिलेसम्म उखान सुनेरै अल्मलिरहुँ म !
चाँडै बनाइदेऊ न यो कोरोना विषाणुलाई छियाछिया !

हुन त बुद्ध र शिवकै तपोभूमिको माटोले सिर्जित हुँ
अहिले जो क्षुद्र स्वार्थका ऐंजेरुहरूले सुसज्जित छु
आफैँले यसोभन्दा आफैँलाई नङ्ग्याएजस्तो लाग्ने–
आज म आफ्नै गौरवमय इतिहाससामु लज्जित छु ।