भुटानीको साङ्गीतिक कोसेली
ऋषिराम कट्टेल
हालै मात्र सम्पन्न गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को टाइटल किरण गजमेरले चुम्नुभयो । भुटानी शरणार्थी शिविर खुदुनाबारीमा जन्मेर हाल अमेरिकाको मिजौरी राज्यको सेन्टलुइस बस्दै आउनुभएका गजमेर गीत÷सङ्गीतमै सक्रिय हुनुहुन्थ्यो । भ्वाइस अफ नेपालको विजेता बनेर उहाँ सबैसामु चिनिनुभयो तर उहाँजस्तै अब्बल र प्रतिभावान् नेपालीभाषी भुटानी प्रशस्तै छन् । कति बाहिर चिनिएका छन्, कति ओझेलमै ।
औपचारिक रूपमा नेपाली गीत गाउन सुरु गर्ने भुटानीमा प्रताप सुब्बाको नाम लिइन्छ । सन् १९७८ मा ‘मायालुको मुस्कान मिठो’ बोलको गीत गाएर रेडियो नेपालमा उहाँले स्वर परीक्षा पास गर्नुभएको थियो । उहाँ नेपालीभाषी भुटानीका ‘पायनियर’ नै हुनुहुन्छ । सन् १९८८ मा ‘बन्धनको चिनो’ एल्बम ल्याएपछि चर्चित बन्नुभएका उहाँको गीत भुटानको रेडियो भुटान ब्रोडकास्टिङ सर्भिसमा सुपरहिट भएको थियो । सन् १९८९ मै नेपाल आउनुभएका उहाँले सन् १९९० मा ‘मुक्ति’ एल्बम निकाल्नुभयो भने सन् १९९७ मा ‘क्रान्तिको हुरी’ एल्बम ल्याउनुभयो । भुटानको चिराङमा जन्मनुभएका उहाँ हाल टेक्सासको फोर्थवर्थमा बस्दै आउनुभएको छ ।
आफ्नो स्वरमार्फत थुपै्र भुटानी नेपालीभाषी समुदायमा मात्र होइन, अरू धेरै सङ्गीतका पारखीमाझ चम्कँदै छन् । सात समुद्रपारिको देश अमेरिका आइपुग्दा पनि गीत/सङ्गीतप्रतिको लगाव बढ्दो छ । यहाँबाट पनि गीतसङ्गीत पस्किरहेका छन् । यस समुदायका अर्का प्रतिभा किशोर शिवाकोटी हुनुहुन्छ । वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको सङ्गीतमा आशा भोस्लेसँग गाएर ‘ट्रिब्युट’ एल्बम निकालेपछि एकाएक सबैको नजरमा पर्नुभएको थियो उहाँ । यस एल्बमको ‘गुराँस फुल्यो पानीसँग’ बोलको गीतले उहाँलाई उम्दा गायकका रूपमा चिनायो । बेलडाँगी शरणार्थी शिविरमा रहँदा नै उहाँले चार वर्ष सङ्गीत सिक्नुभएको थियो । सन् २००८ मा अमेरिका आउनुअघि ‘भूगोल’ एल्बम उहाँले निकाल्नुभएको थियो । उहाँको जन्मथलो भुटानको चिराङ हो । अमेरिका आएपछि सन् २०१७ मा मुम्बई पुगेर ‘ट्रिब्युट’ एल्बमका लागि उहाँले गीत रेकर्ड गराउनुभयो । अमेरिकामै पनि एल्बमबाहेक दुई दर्जन गीत उहाँले रेकर्ड गराइसक्नुभएको छ । नेपालमै बसेको भए सङ्गीतमा अझ धेरै गर्न सकिन्थ्यो भन्ने उहाँलाई लागेको छ । “यहाँ सङ्गीतको वातावरण छैन, समय निस्किँदैन, गीत÷सङ्गीतका लागि काठमाडौँजस्तो वातावरण यहाँ छैन,” अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी बस्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “यद्यपि सकेको गरिरहेका छौँ ।”
शरणार्थी हुनुको पीडालाई गीत/सङ्गीतमार्फत पोख्दै आउनुभएका डम्बर खापुङ सुब्बा भुटानी नेपालीभाषी समुदायका अर्का गायक/सङ्गीतकार हुनुहुन्छ । सन् १९९३ देखि झापाको खुदुनाबारी शिविरमा बस्नुभएका उहाँले सन् १९९६ मा ‘भुटानी चित्कार’, सन् २००० मा ‘उजाड’, सन् २००५ मा ‘पल्स’ ल्याउनुभएको थियो । नर्थ डाकोटा राज्यको फार्गोमा बसेर कामसँगै गीत/सङ्गीतमा उहाँ सक्रिय हुनुहुन्छ । उहाँले ‘यो मन’, ‘भक्ति समर्पण’जस्ता एकल एल्बमदेखि अरू दुई दर्जन फुटकर गीत गाउनुभएको छ । भुटानको घुमाउनेमा जन्मनुभएका उहाँले भारतको सिलगुडीदेखि जनकपुरको जनकराज श्रीसङ्गीत विद्यालयबाट सङ्गीत सिक्नुभएको छ ।
यसैगरी अमर तुम्बापो सुब्बाले पनि अमेरिका आएपछि गीत÷सङ्गीतलाई छाड्नुभएको छैन । “अमेरिकाको व्यस्त दैनिकीबीच फुर्सद भयो कि गीत/सङ्गीतको काममा लागिहाल्छु,” ओहायोको एक्रोनमा बस्दै आउनुभएका सुब्बाले फुर्सद भयो कि गीत गाउनुहुन्छ, सङ्गीत भर्नुहुन्छ । काठमाडौँको साधना कलाकेन्द्रमा प्रकाश गुरुङ र गुरुकुल सङ्गीत पाठशालामा शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतसँग उहाँले सङ्गीत सिक्नुभएको हो । भुटानको चिराङमा जन्मेर बेलडाँगी शरणार्थी शिविरमा १७ वर्ष बिताउनुभएका अमरले छ दर्जनभन्दा बढी गीतमा सङ्गीत भर्नुभएको छ ।
यस्तै गोविन्द फुयाल भारतको सिलगुडीबाट शास्त्रीय सङ्गीतमा विशारद गरेर यो क्षेत्रमा लाग्नुभएको हो । झापाको गोलधापमा रहँदा पनि उहाँले चन्द्रगढी, विर्तामोड, भद्रपुरका स्कुलमा सङ्गीत सिकाउनुभयो । झापामै रहँदा ‘भक्तिरस’ भाग १, २ भजनको एल्बम आफ्नै शब्द, सङ्गीत र स्वरमा निकाल्नुभएको थियो । सन् २००९ मा तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका आउनुभएपछि सन् २०१४ मा ‘जोडेर सम्झनाहरू’ र २०१८ मा ‘सौगात’ एल्बम उहाँले ल्याउनुभयो । भुटानको गेलेफु सर्वाङमा जन्मनुभएका उहाँ हाल केन्टकीको लुइभिल सहरमा बस्दै आउनुभएको छ । यहाँ पनि उहाँ सङ्गीत सिकाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले पढेको शास्त्रीय सङ्गीतको ज्ञान अमेरिकामा हुर्किंदै गरेको पुस्तालाई बाँड्न चाहन्छु ।”
चर्चित गायिका मेलिना राईसँग गाएको ‘नीलो कुर्ताले’ गीतबाट चर्चित बन्नुभएका लोक पौडेल अमेरिकामै बसेर नेपाली गीत/सङ्गीतमा सक्रिय हुनुहुन्छ । सेन्ट्रल ओहायोको एट्नामा बसोबास गरिरहनुभएका पौडेलको गीत ‘नीलो कुर्ता’को म्युजिक भिडियो युट्युबमा ५० लाखले हेरिसकेका छन् । भुटानको दागनामा जन्मनुभएका पौडेल बेलडाँगी शिविरमा रहँदा नै साङ्गीतिक क्षेत्रमा लागिसक्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “शिविरमा बस्दा नै देखेको साङ्गीतिक सपना पूरा गर्दै छु ।” ‘पूर्णिमा’, ‘क्यारेङग्याङ २’, ‘नीलकाँडा’ चलचित्रका गीतमा स्वर दिनुभएका पौडेलको ‘लगाइदिन्थे तिमीलाई’, ‘वल्ली हैन पल्ली’, ‘अर्काको नासो’ आदि गीत लोकप्रिय छन् ।
सन् २०१५ मा भुटानी नेपाली समुदायको गायन प्रतिभा जितेपछि रमेश कँडेल भुटानी समुदायमा चल्तीका गायकका रूपमा दरिनुभएको छ । सन् २०१७ मा उहाँले ‘प्रयास’ एल्बम ल्याउनुभयो । उहाँ अमेरिकामा हुने धेरैैजसो कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । भुटानको दागना उहाँको जन्मथलो हो । नेपालको बेलडाँगी शिविर हुँदै सन् २००८ मा उहाँ अमेरिका आउनुभएको हो । कँडेल ओहायोको सिन्सिनाटीमा बस्नुहुन्छ । दुई दर्जन गीत गाइसक्नुभएका उहाँ भन्नुहुन्छ, “एउटै सपना गीतमार्फत विश्वभरिका नेपालीभाषीमाझ चिनिनु छ ।”
‘आकाशैमा चिल हो कि बेसारा’ गीतबाट लोकप्रिय महेश थुलुङ नेपालमै रहँदा चर्चित भुटानी नेपालीभाषी गायकका रूपमा परिचित भइसक्नुभएको थियो । आधुनिकदेखि चलचित्रसम्मका गीत गाउनुभएका उहाँ जर्जियाको एट्लान्टा बसेर सङ्गीतकर्ममा सक्रिय हुनुहुन्छ । अर्का गायक अर्जुन रसाइली ओहायोको राजधानी कोलम्बसमा बसेर गायन/सङ्गीतमा तल्लीन हुनुहुन्छ । नेपालमा रहँदा नै गायनमा सक्रिय उहाँले अमेरिका आएपछि नियमित साङ्गीतिक कोसेली पस्किँदै आउनुभएको छ । यस्तै भ्वाइस अफ नेपालको ताज पहिरिनुभएका किरण गजमेरले सङ्गीत दिनुभएको गीत ‘पूर्णिमाको चन्द्रमालाई’का गायक लोकेश गुरुङ अर्का प्रतिभाशाली गायक हुन् । युट्युबमा यो गीत एक करोड ५२ लाख जनाले हेरिसकेका छन् । यो गीत अमेरिकामै रेकर्ड गरिएको हो ।
पुनर्बास कार्यक्रमबाट अमेरिका आउनुअघि सन् २०११ मा काठमाडौँमा सिङ्गिङ आइकनमा टपटेनमा पुग्नुभएको थियो, टेक दुधराज । उहाँ पनि ओहायोको सिन्सिनाटीमा बस्नुहुन्छ । अमेरिका आएपछि गायनमा लाग्नुभएकी सुचिता गुरुङ हिजोआज अमेरिकामा आयोजना हुने धेरै कार्यक्रममा प्रशंसा बटुलिरहनुभएको छ । ‘रोदी घर’, ‘बारुली कम्मर’, ‘आमा तिमी मनको ज्योति’ आदि गीत उहाँका लोकप्रिय छन् ।
गायन/सङ्गीत सिर्जनामा सक्रिय खडा गौतम र नरेश गौतम दाजुभाइ ओहायोको सिन्सिनाटीमा बसेर एनके ब्रदर्स रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आइरहनुभएको छ । त्यसो त सङ्गीत सिर्जना, गायनमा सक्रिय गौरी रसाइलीले कोलम्बसको ओहायोमा साधना रेकर्डिङ स्टुडियो खोलेर सङ्गीतमा आउनेलाई उत्प्रेरित गरिरहनुभएको छ । पुष्प गजमेरले ओहायोकै एक्रोनमा हिमालयन एकेडेमी खोल्नुभएको छ ।
अमेरिकामा बसेका नेपालीभाषी भुटानीहरूले नेपाली गीत÷सङ्गीतलाई यसरी हुर्काउनुमा गायन प्रतियोगितादेखि फेस्टिभलसम्म कारक बनेका छन् । यस्ता मञ्चमा नवप्रतिभा प्रोत्साहित भइरहेका छन् । इन्ट्रा फाउन्डेसनले नियमित गर्दै आएको मेरो भ्वाइस कप यूएसए एउटा महìवपूर्ण मञ्च हो । बामा (भुट्निज अमेरिकन म्युजिक एसोसिएसन)का अध्यक्ष खेम रिजाल अमेरिका आएपछि गीत÷सङ्गीतको क्षेत्रमा लागिपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले समग्र नेपाली गीत/सङ्गीतलाई पनि सहयोग पु¥याउँछ ।”