शनिवार |

निषेधाज्ञापछिको विजयोत्सव (कविता)

सुमन थापा ‘सङ्गम’

यतिबेला म–
हृदयको शिखरमा उभिएर
जाज्वल्यमान आस्थाको प्रतीक्षा गरिरहेकी छु ।

अहिले–
छायाले झैँ लखेटिरहेछ
अप्रत्याशित सूक्ष्म जीवाणुले
सूक्ष्म अस्त्रसँगै कोरोना घर घर डुलिरहेको छ
विषादी लिएर
मानव शरीरलाई मक्किएको भित्तोझँै
गर्लम्म ढलाउन
र त्रसित बनाएको छ
अभाव, पीडा, अत्यास दिएर

आकाशको निलो परिधि भत्किएर
निस्तब्ध बनेको परिवेशमा
आमाका आशीर्वचन वाणीहरू
युद्धमा विलिन भएका बेला
बाबाले डो¥याउने दर्विला हातहरू
खोसिएको बेला
इन्द्रेणी रुँदै धर्ती टेकेको देखेकी छु
र देखेकी छु –
आँखाबाट बगेका नदीका लवणधारहरू

हिँड्दा हिँड्दै खसेका आँसुका थोपाहरू
रातको मौनतामा हराएका मौन सपनाहरू
हत्केलाबाटै उडेर गएका मेरा वर्तमानहरू
र आफन्तसँग छुट्टिएर गएको यात्रामा
कतै पुगेर भेटिए भने
पुनर्जीवित बनाउने छु ।

सबै यात्राहरू सुन्दर नहुँदा रहेछन् ...

लमतन्न सडक माथि हिँड्ने पदचापहरू
शून्य छन्
चुपचाप–चुपचाप संझ्यालका चौकसबाट
छिरेको उज्यालोलाई औँलाहरूले छुन
भ्रमित छन् नानीहरू...
यो युद्धको महात्रासदीमा
हिम्मत हारेकी छैन

मलाई विश्वास छ–
भोलिको सूर्योदयसँगै
उज्यालाहरू मानव काँध चढेर आउनेछन्
मानव स्वतन्त्रता ब्यूँतनेछ
सूक्ष्म जीवाणुसँगको
यो युद्ध परास्त गर्दै
म हृदयको शिखरबाटै
निषेधाज्ञा पछिको विजयोत्सव मनाउनेछु ।