शनिवार |

विभाजित दूरीका बीच (कविता)

गोपाल पराजुली

टाढाको जीवन कसरी समात्ने
अन्त्य हुने डर छ
कि खाली राखेर समय
कि भरेर जीवन कथाले
गरेर प्रकाशित
अप्रकाशित दुःखान्त
इच्छा छैन देखाउने
कोही अगाडि छ
उसैले हानेका अस्त्र उसलाई
शताब्दी अगाडि छ
इच्छा छैन देखाउने
उसैले हारेका युद्ध उसलाई
एक र एउटै आँखा हेरिरहेछन्
किन अस्त्र खसिरहेछ
चारैतिर
वृद्धलाई मौन बनाएर
अफगानिस्तान मागिरहेछ धर्म
मेरै देश मागिरहेछ
पशुपति

ढोका खुलिसकेको छ
किन हतियार लिने
भित्रबाट भगवान् बाहिर निकालिरहेछ
को बोल्दैछ अहिले
मेरै शब्दले रात सपना भरिरहेछ
निषेध गरेको छ दोष लाउन
मेरै शब्दले मेरो शब्दलाई
आवाज खोज्दैछ आफ्नै शब्दको
कवितामा बोल्न नसकेपछि
आफैँलाई हत्या गरेर गोप्य बसेको
ऊ मेरो मान्छे खोज्दैछ