सांस्कृतिक योद्धा
सुकृत नेपाल
पञ्चायती निरङ्कुश तन्त्रविरुद्ध खरो रूपमा प्रस्तुत भएका जनवादी गायक जेबी टुहुरे अस्ताउनुभएको छ । मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका उहाँ कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा हुनुभयो । उपचारका क्रममा बल्खुको बयोधा अस्पतालमा रहनुभएका टुहुरेले अन्तिम सास त्यहीँ फेर्नु भयो र ७५ वर्षको उमेरमा यो संसारबाट बिदा हुनुभयो । भूमिगत कालमा गाउँगाउँ पुगेर उहाँले गीतसङ्गीतमार्पmत जागरण फैलाउनुभएको थियो । अब उहाँका सशक्त सिर्जना मात्र हामीमाझ रहेका छन् । आमनागरिकलाई देश निर्माण र परिवर्तनका लागि जुट्न अनुरोध गरिएका दर्जनौँ सिर्जना उहाँले दिएर जानुभएको छ । सामूहिक चेत उहाँका गीतको मुख्य विशेषता हुन् । ‘छोरा र छोरीको आँसु देख्दा छाती पोलेर आउँछ..., साहुको ऋण सम्झँदा मनमा डढेलो लाग्छ..., आँधी खोलैले मलाई रोइरहने बनायो साहुको जालैले... आदि टुहुरेद्वारा स्वरबद्ध हरेक गीतमा सामूहिक चेत र समानता भेटिन्छन् ।
टुहुरेको जन्म वि.सं. २००१ भदौ १५ गते धरानमा भएको थियो । उहाँको पूरा नाम जुठबहादुर खड्गी हो । सन्तान गुमाएको परिवारले अर्को सन्तान गुमाउन नपरोस् भनेर जुठोमा राखेका कारण उहाँको नाम जुठबहादुर रहन गएको हो । पिता कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका उहाँ जेठा सन्तान हुनुहुन्थ्यो । २०२१ सालमा पिताको वियोगमा परेका जेबीले आफ्नै नाममा टुहुरे उपनाम थपेपछि उहाँको नाम जेबी टुहुरे हुन पुग्यो । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ । जीवनका ऊर्जाशील ४५ वर्ष उहाँले एमाले पार्टीमा बिताउनुभयो । मदन भण्डारी, जीवराज आश्रित, झलनाथ खनाल, माधव नेपालसँग उहाँले एमालेमा रहेर काम गरे पनि पार्टीले उहाँलाई उचित स्थान दिएन । पार्टीभित्र उहाँको भूमिकालाई महìव दिइएन । एमालेका नेताहरूबाट उपेक्षा भएको महसुस गर्दै उहाँ माओवादी शान्तिप्रक्रियामा आएपछि यही पार्टीमा प्रवेश गनुभयो । दोस्रो संविधान सभा चुनावमा उहाँ समानुपातिकबाट सांसद बन्नुभएको थियो भने पछिल्लो समय उहाँ नेकपा माओवादीको केन्द्रीय सल्लाहाकारसमेत हुनुहुन्थ्यो ।
सधैँ सामान्य जीवन बाँच्न रुचाउने जेबीले केही समयअघि मात्रै काठमाडौँको कलङ्कीमा घर बनाउनुभएको थियो । सामाजिक अभियानहरूमा सर्जकहरूले पारिश्रमिकको मोलमोलाइ गरिरहँदा उहाँले भने बिनापारिश्रमिक नै आफ्ना प्रस्तुतिहरू दिने गर्नुहुन्थ्यो । जागरण र समाज परिवर्तनको साक्षी बन्न पाउँदा उहाँ यसमै खुसी देखिनुहुन्थ्यो । अन्याय सहनु हुन्न, नयाँ नेपाल निर्माणमा कोही पनि पछि हट्नु हुन्न भन्ने आशयका भाका मात्रै होइन, उहाँले भाषण पनि गर्नुहुन्थ्यो । आफू बाँचेको जीवन किन परिवर्तन हुन सकिरहेको छैन भन्ने छटपटी उहाँमा सधैँ देखिने गर्दथ्यो ।
औपचारिक शिक्षा हासिल गर्न नपाए पनि उहाँभित्रको समाज परिवर्तनको चेत अत्यन्तै तिखो थियो । औपचारिक शिक्षा जम्मा तीन कक्षा पढेको ठ्टयौली जवाफ दिने गर्नुहुन्थ्यो उहाँ । आर्थिक अभावका कारण औपचारिक शिक्षा पूरा गर्न नपाए पनि टुहुरेले क्रान्ति र परिवर्तनबारे लेखिएका प्रशस्तै पुस्तक र दस्तावेजहरूको अध्ययन गर्नुभएको थियो । उहाँमा समाज परिवर्तनको हुटहुटी बेजोड थियो । नेतृत्वले आमनिमुखा जनतालाई आशा मात्रै बाँडेर भ्रष्टाचार गरेकोप्रति उहाँ कडा आलोचना पनि गर्नुहुन्थ्यो । जीवनको उत्तरार्धमा पनि सार्वजनिक मञ्चहरूमा प्रस्तुति दिन उक्लने उहाँले जनताको गाँसबासको कुरा बोलिरहनुभयो र नेतृत्वलाई प्रश्न गरिरहनुभयो । चौतर्फी मौलाएको भ्रष्टाचार र समाज परिवर्तनमा बाधक बनेका कुरीतिलाई समावेश गरिएको गीतले उहाँलाई थप चिनायो ।
‘जनता सबै देशलाई, देश जनतालाई, कोही पनि आफ्नो हुन्न भ्रष्टाचारीलाई...’ सदीयौँदेखि जरा गाडेको भ्रष्टाचार उन्मूलनका लागि भन्दै उहाँले सार्वजनिक मञ्चहरूमा यो गीत दर्जनौँ पटक प्रस्तुत गर्नुभयो ।
ज्यानमाराभन्दा पनि खतरनाक हुने भ्रष्टहरूले लाखौँ जनता मार्न तयार हुने यथार्थलाई जेबीले सशक्त ढङ्गबाट गीतका भाकामार्फत प्रस्तुत गर्दै शासकलाई खबरदारी गरिरहनुभयो । शोषण, दमन, छुवाछूत, नेपाली नारीले भोगेका दुःख पीडा उजागर गर्न एक सशक्त स्रष्टाका रूपमा उहाँ नयाँ पुस्तामाझ परिचित हुनुहुन्थ्यो । जेबीका समर्थकहरू कोसौँ हिँडेर उहाँको सांस्कृतिक कार्यक्रममा सरिक हुन सातुसामल बोकेर आउँथे । मञ्च बनाउन आफैँ खटिन्थे । कार्यक्रमलाई हौसला प्रदान गर्थे ।
साङ्गीतिक अभियानमा रामेश, रायन, मञ्जुलसँग पनि उहाँ निकट रहनुभयो । उहाँले आफ्नो जीवनकालमा रचनाकार भूपाल राईका सिर्जनाहरूमा स्वर दिनुभयो । कतिपय रचनाहरूमा शब्द परिमार्जन गरेर पनि गाउनुभयो । गीतलाई जीवन्त बनाउन उहाँको अथक् प्रयत्न रहिरहन्थ्यो । झन्डै एक वर्षअघि राष्ट्रिय सभागृहमा भएको प्रस्तुति नै उहाँको अन्तिम बन्न पुग्यो । नौ वर्षको उमेरदेखि नै गीतसङ्गीतमा झुकाव राख्ने टुहुरे धर्मराज थापाका गीतबाट प्रभावित हुनुहुन्थ्यो ।
२०२३ सालदेखि उहाँ बामपन्थी आन्दोलनमा सक्रिय हुनुभयो । २०३३ सालमा उहाँको परिचय जनगायक बन्यो । चुलोचौकोमा सीमित आमा, दिदीबहिनीलाई समाज परिवर्तनमा सरिक गराउन उहाँको सिर्जनाले धेरै मद्दत गरेको छ । भूमिगत कालमा गाउँगाउँ पुगेर जागरण फैलाएका जेबीका सशक्त सिर्जनालाई कहिल्यै बिर्सन सकिँदैन । धेरैलाई समाज परिवर्तन र अन्यायविरुद्ध ऊर्जा थप्ने गीत बन्यो, “आमा दिदीबहिनी हो कति बस्छौँ दासी भई सुखको सधैँ प्यासी बनेर...।” यज्ञ ज्ञवालीले लेख्नुभएको यो कविता टुहुरेले केही शब्द परिवर्तन गर्न लगाउनुभयो सर्जक देवन राईलाई र त्यसलाई स्वरबद्ध गर्नुभयो । टुहुरेलाई कम्युनिस्ट आचरण वास्तविक रूपमा अँगाल्ने एउटा सच्चा क्रान्तिकारी सांस्कृतिक योद्धाका रूपमा पनि लिइन्छ । उहाँको ‘आमा, दिदीबहिनी’ बोलको गीतले सधैँ लैङ्गिक विभेद र असमानताविरुद्ध उद्घोष गरिरहने छ ।