शनिवार |

मानव सभ्यताको अभिलेख

शम्भुराम जोशी

केही दशकयता शिवराज श्रेष्ठ मल्ल इतिहास, संस्कृति र सभ्यताको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र लेखन कार्यमा व्यस्त हुनुहुन्छ । उहाँको वर्षौंको बौद्धिक साधनाको परिणामस्वरूप ‘मानव यात्रा’ कृति बजारमा आएको छ । यस कृतिमा ब्रह्माण्डको जन्मदेखि मानवको प्राग्ऐतिहासिक सभ्यता, संस्कृतिसम्मको बारेमा उल्लेख छ ।
जम्मा ३५० पृष्ठ र १६ परिच्छेदमा विभाजित तथा नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित यस कृतिले प्राचीन मानवका सभ्यता र संस्कृतिका विभिन्न पक्ष र आयामहरूसँग पनि पाठकहरूलाई परिचित गराउँछ । यसका अतिरिक्त पवित्र ग्रन्थका रूपमा रहेका ऋग्वेद र विभिन्न पुराणलाई मानव इतिहास, सभ्यता र संस्कृतिसँग जोड्ने पुनित प्रयास पनि यस पुस्तकले गरेको छ ।

एक किसिमले यस पुस्तकलाई सृष्टिको इतिहास भन्दा फरक पर्दैन । ब्रह्माण्ड र पृथ्वीको इतिहास, मानवलगायत अन्य सबै सूक्ष्म जीवजन्तु, नदी, सागर–महासागर, वनजङ्गलको सृष्टि र अन्तमा हुने सम्भावित विनाशको हकमा ‘बिग ब्याङ्’ जस्तो नवीनतम वैज्ञानिक दृष्टिकोण र मान्यतालाई अङ्गीकार गर्दै पुस्तकमा तिनीहरूलाई यथेष्ट महìव दिइएको छ । पाश्चात्य विद्वान् स्टेफन हकिन्सले जस्तै अदृश्य ईश्वरीय शक्तिको अस्तित्वलाई पनि यहाँ स्वीकारिएको छ । यसले लेखकका दृष्टिकोण र मान्यताहरू एक पक्षीय नभएर बहुपक्षीय र सन्तुलित रूपमा देखापरेका छन् । लेखकले ब्रह्माण्ड तथा पृथ्वीको सृष्टिको वर्णन, विकास र अन्तमा यी सबैको विनाशको कुरालाई परिच्छेद १ र २ मा वर्णन गर्नुभएको छ । दोस्रो परिच्छेद भने ‘क’ र ‘ख’ गरेर दुई भागमा विभाजित छ ।
सृष्टिको अनुपम रचनाको रूपमा मानिएको मानव अनेकौँ कालखण्ड पार गरेर मात्रै अहिलेको अवस्थामा आइपुगेको हो । उसले धेरै समय जङ्गली अवस्थामा रहेर बिताएको कुरालाई पुस्तकले व्याख्या गरेको छ । मानवका पुर्खाहरूको वर्णन परिच्छेद ३ देखि ५ सम्म गरिएको छ ।

पुस्तकले उक्त इतिहासको लेखाजोखा गर्ने क्रममा मानवले सुरुदेखि नै बिताउँदै आएका आदिम प्रस्तर संस्कृति, निम्न पुरापाषाण युग, मध्यपुरापाषाण युग, उच्च पाषाण र नवपाषाणजस्ता विभिन्न पाषाणकालका ५ देखि ७ परिच्छेदमा र ताम्र युगको वर्णन परिच्छेद ८ मा मिहिन, सरस तथा सरल ढङ्गले गरिएको छ । प्राचीन मानव उपयुक्त खाना र वासस्थलको खोजीमा एक स्थलबाट अर्को स्थलमा पुग्नुको कारण एकै खालका आदि मानवका अवशेषहरू एकभन्दा धेरै ठाउँमा देखिन गएको कुरामा लेखक सहमत देखिनुहुन्छ । मानवको आदि पुर्खाको खोजीनीतिको क्रममा बुटवलमा फेला परेको रामापिथेकसको अवशेषलाई विशेष महìव दिँदै नेपाललाई मानव इतिहासका अध्येता र अन्वेषकहरूका लागि गतिलो अध्ययनस्थलका रूपमा उभ्याइएको छ । आस्ट्रोलोपिथेकसलाई लुप्त कडी (मिसिङ लिङ्क) को मानवको रूपमा यस पुस्तकमा उभ्याइएको छ । तर लेखकको मतअनुसार, ‘नेपालमा हालसम्म अस्ट्रोलोपिथेकसको अवशेष भेटिएका छैनन् तापनि भेटिने सम्भावना अत्यधिक रहेको छ ।’(पृष्ठ ६६)

यस प्रकार यस पुस्तकले रामापिथेकस जस्तै आस्ट्रोलोपिथेकसका बारेमा अध्ययन गर्न चाहनेका लागि नेपालका विभिन्न हिस्सा उपयोगी हुने सन्देश प्रवाहित हुन गएको छ । यति मात्रै नभएर लेखकले उरूजनहरूलाई आफ्नो कृतिमा विशेष महìव दिँदै सुदूरपश्चिमाञ्चलको बझाङलाई तिनीहरूको नेपालभित्र पस्ने प्रवेशद्वारको रूपमा स्थापित गर्दै त्यस जिल्लाको ऐतिहासिक महìव बढाउने अद्वितीय काम गर्नुभएको छ । उरूजनलाई लिपिको आविष्कारकका रूपमा उभ्याउनु भए पनि पणी जातिले सो कार्य गरेको भन्ने पनि कसै कसैको मत छ । उरूजन र पणी जातिमा सादृश्यता छ कि छैन, यो कुरा स्पष्ट हुनु जरुरी छ । ऋग्वेदले पणी जातिको कुरा गरे पनि धेरै ठाउँमा सम्मानजनक स्थान दिएको छैन । ज्ञातव्य छ, यो व्यापारी जाति थियो ।

विश्वका प्रमुख सभ्यताहरूमा गनिँदै आएका सूमेरियन, मिश्र, असिरियन, इजिरियन, हित्ती, मितानी, सेमेटिक यहुदी, प्राचीन चिनियाँ र सिन्धुघाँटीको सभ्यता समेतको सूक्ष्म वर्णनले पुस्तकलाई अझै ओजपूर्ण र ज्ञानबद्र्धक बनाएको छ । पुस्तकमा ती विभिन्न जातिहरूको संस्कृतिका गौरवका गाथाहरू मात्रै गाइएका छैनन् कि तिनीहरूको काला र सेता दुवै पक्षको निष्पक्ष भएर लेखकले वर्णन गर्नुभएको छ । यी कुराको वर्णनमा पुस्तकको आधाभन्दा बढी हिस्सा खर्च भएको छ । प्राचीन संस्कृति र सभ्यताका जिज्ञासुहरूले तिनीहरूका सम्बन्धमा यथेष्ट जानकारी लिँदै आफ्नो ज्ञानको तिर्खा मेटाउन सक्नेछन् ।

पुस्तकको दशौँ परिच्छेदमा मिश्रको इतिहास, संस्कृति र सभ्यताको सटिक वर्णन छ । तर मिश्रमा पितृसत्तात्मक सामाजिक व्यवस्था अघि त्यहाँ मातृशक्ति पुजनको परम्परा रहेको र बैबस्वत मनुका दस जना पुत्रमध्ये एक जना त्यहाँ पुगेर मानवधर्मको प्रारम्भ गरेको कुरामा केही विद्वान्को विश्वास छ । लेखकले त्यहाँका सम्राट मिनेसलाई पनि आर्यवंशीय शासकको रूपमा उभ्याउनुभएको छ ।
असिरियन सभ्यताको उल्लेख पुस्तकको सातौँ अध्यायमा गरिएको छ । असुर जाति पनि प्राचीन जातिका रूपमा रहेको तथ्यप्रति कसैको विमति रहँदैन । तर प्राचीन कालदेखि नै शिल्पीका रूपमा रहेको यो जाति शस्त्र र अस्त्रहरूको आविष्कारक रहे पनि यो युद्धप्रिय, लडाका र जितिएका शत्रुहरूप्रति अत्यन्तै क्रूर व्यवहार गर्ने जातिका रूपमा पुस्तकले औँल्याएको छ ।

आर्यहरूले इन्द्रको पुजन सुरु गर्नुभन्दा अघि बरुणको पुजन गर्ने चलन थियो । बरुणसँगै जोडिएर आउने अर्को देवताको नाम मित्र हो । यिनै बरुण र मित्रका पुजकका रूपमा मित्तिनी जाति रहेका हुन् । परिच्छेद १२ को खण्ड ‘घ’ मा मित्तिनी जातिको वर्णन छ । अङ्कहरूको एकरूपताको आधारमा यो जातिलाई वैदिक आर्यको एउटा अंशको रूपमा मानिएको छ ।
परिच्छेद १६ ले सिन्धु सभ्यताको कुरा गर्छ । यो सभ्यतालाई इसापूर्व २७५० भन्दा पछाडिको र इसापूर्व १७५० भन्दा अघिको भन्नेहरू पनि छन् । तर लेखकले भन्नुभएको छ– ‘‘निष्कर्षमा डा. राधाकुमुद बेनर्जीले सिन्धु सभ्यताको प्रारम्भ ईसापूर्व ३२५० देखि २७५० सम्मको मान्दै यस कालखण्डमा त्यसको निर्माताहरूमा भारतीय उपमहाद्वीपकै आदिवासी आद्यनिषाद र भूमध्यसागरीय जन (पणी) रहेको र केही अन्य मात्रामा पश्चिम एसियाबाट आएका अल्पाइन र ककेसियन नश्लका र मङ्गोल (किन्नर किराँत) जस्ता मानवहरू रहेका मानेका छन् ।’’ (पृष्ठ २९४)

वास्तवमा सिन्धु सभ्यताको मूल जनक कुन जाति हो भन्ने कुरामा मतैक्यता छैन । कसैले असूर जाति, कसैले द्राविड र कसैले नाग जातिलाई समेत यो श्रेय दिन खोजेका छन् । सिन्धु घाँटीको सभ्यताको विनाशको वर्णन कसरी भएको हो भन्नेबारेमा लेखकले आफ्नो मत अभिव्यक्त गरिरहँदा उक्त सभ्यता र त्यसअन्तर्गत स्थापित नगरहरूलाई ऋग्वेदले किन न्यून महìव दियो होला भन्ने जिज्ञासाको समाधान पुस्तकले गरिदिएको भए यसको महìव अझ बढ्न जाने थियो । सिन्धु सभ्यताको विनाशको कुरा गर्दा यस घटनालाई स्कन्द पुराणको त्रिपुर दहनको मिथकसँग पनि नेपालकै केही विद्वान्हरूले जोडेर हेरेका छन् ।

परिच्छेद १४ ‘क’ले चीनको सभ्यताको कुरा गर्दछ । छ हजार वर्ष अघिदेखिको प्रामाणिक ऐतिहासिक दस्तावेजहरूले सुसम्पन्न मुलुकको इतिहास र सभ्यतालाई पुस्तकमा सटिक ढङ्गले वर्णन गरिएबाट पुस्तकको रोचकतामा वृद्धि भएको छ । लाउत्से र कन्फ्युसियसको दर्शनको अद्यापि अनुसरण गरिरहेको उक्त मुलुकको अहिले अन्तर्राष्ट्रिय गौरव र प्रतिष्ठाका पछाडि गौरवपूर्ण इतिहासको पनि भूमिका रहेको प्रष्टिन्छ ।

अन्तिम र सोह्रौँ परिच्छेदमा उरूजनको उरई दर्रा (बझाङ) हँुदै नेपाल प्रवेशका अतिरिक्त यसै अध्यायमा बैबस्वत मनु र उनका वंशजको बारेमा उल्लेख छ । लेखकले पुराणहरूमा बेग्लै नामले परिचय पाएको जुम्लाको पनि वर्णन गर्नुभएको भए ज्यादा उपयुक्त हुने थियो । बैबस्वत मनु र उनका १० पुत्रहरूले नै पृथ्वीमा मानव धर्म फैलाएका हुन् भन्ने भनाइ छ । लेखकले यस अध्यायमा अन्य आर्यहरूका साथै मनुपुत्री इलाका वंशजलाई पनि सिन्धु सभ्यताका विनाशका रूपमा उभ्याउनु भएको छ । तर उक्त सभ्यताको विनाशको कारणमा भने मतैक्यता भने छैन ।

प्रत्येक परिच्छेदका शीर्षकहरूलाई सानै अक्षरले देखाउनुको सट्टा ठूलो अक्षरले देखाइदिएको भए अझ राम्रो हुने थियो । यति गहन विषयवस्तुसँग सम्बन्धित पुस्तक छाप्न प्रयोग गरिएको कागजको गुणस्तर केही उच्च हुनुपर्ने थियो । यसबाहेक पुस्तकमा आवश्यक मात्रामा चित्रात्मक अभिव्यक्तिको अभाव रहेको देखिन्छ तापनि पुस्तकको आवरण पृष्ठमा आराध्य देवाधिदेव महादेवको वासस्थान कैलाश पर्वतको तस्बिर राखिएबाट पुस्तकको महìव बढ्न गएको छ । पुस्तकले छलफल गरेको विषयवस्तु र यसले प्रवाहित गर्ने ज्ञानलाई विचार गर्दा यसको मूल्य ३००।– रुपियाँ न्यून नै हो भन्ने लाग्छ । यद्यपि माथि उल्लिखित विषयवस्तुलाई आधार बनाएर हिन्दी, अङ्ग्रेजी वा अन्य भाषामा पुस्तकहरू लेखिए पनि नेपाली भाषामा भने यो पहिलो पुस्तक भएकोले नेपाली बौद्धिक समाज लेखकप्रति कृतज्ञ हुनै पर्छ ।