युवकवर्ग (कविता)
डा. बमबहादुर थापा ‘जिताली’
सकल शिल्पका चातुरी खुलून्
सरस लोकका चाँचरी बजून् ।
प्रकृति नाचमा रम्दछिन् धरा
सलल बग्नद्यौ छन्द इन्दिरा ।।
भ्रमर फूलमा टाढिँदै गए
युवक बैँसमा भाँडिने भए ।
मखमली फुले, देखिए दियो
खरखरी कला लेखिने थियो ।।
युवक खोजमा निस्किने मुना
सहज रोजमा रोजिने दुना ।
युवक–लक्ष्यमा छैन उन्नति
सबल पक्षमा थप्न सम्पत्ति ।।
रहरिलो पना कल्पना कला
र बिपना बन्यो, चिन्तना थला ।
मुलुकभित्रको यो समाजको
स्थिति बटारियो स्वप्न आजको ।।
युवकवर्ग हौ देशका बल
श्रमिक सीपका दीप उज्ज्वल ।
किन युवा चुक्यौ कर्म–बिन्दुमा ?
मुलुक स्वर्ग खै ? शिल्प–सिन्धुमा ।।