सीमा (कविता)
विनोद नेपाल
कुनै उत्साह छैन
कुनै जोस जाँगर छैन
निर्बन्ध उडिरहेको मान्छे
काटिएका छन् पखेटा
परेको छ समयको घेराबन्दीमा
र, एकाएक खुम्चिएको छ ।
कसले सोचेको थियो र
समय यति निष्ठुर हुन सक्छ
समय यतिसम्म क्रूर हुन सक्छ
आफू निर्बाध चलिरहन्छ र
मान्छेलाई यसरी कैद गर्न सक्छ ।
अनेक कल्पनामा
कावा खाँदै उड्ने मान्छे
महत्वाकाङ्क्षाका शिखर चुम्ने मान्छे
पखेटा काटिएको चराझैँ भएको छ
आफैँलाई चिमोट्दै
जीवित रहेकोमा सन्तोष गर्न बाध्य भएको छ
मन्द पवनसँगै घुम्न नसक्ने
मनमोहक दृश्यहरूसँग रम्न नसक्ने भएको छ ।
कसले पो सोचेको थियो र
समयले मान्छेको गतिलाई यतिसम्म रोक्न सक्छ
यसरी, मान्छेको चौहद्दी–सीमा तोक्न सक्छ !