कथा : लेखनदास हाकिम
दिनेश बस्नेत
त्यति बेला गाउँमा उनका बारेमा यस्तै यस्तै गुणात्मक कुरा चल्थे– ‘मोहितबहादुर जस्तो छोरो पो छोरो । एसएलसी पास हुनेबित्तिकै लोक सेवा लड्यो । मान्छे तगडा हो, प्याट्ट नाम निकालेर सरकारी जागिर खाएर छोड्यो । अहिले हाकिम भएको छ । अब उसलाई कसले भेटोस् ।’
–‘छोटो समयमा नै त्यति धेरै कसले कमाएको थियो । बजियाले के विधि कमाएको कमाउन पनि– पोखरामा २ वटा घर छन् । त्यति मात्र होइन काठमाडौँमा पनि घडेरी जोडेको छ अरे । गाउँको जमिन टसमस छ ।’
–‘सरकारी जागिर भनेको सरकारी जागिर हो बाबै । कर्मचारीले कमाउने पैसा कसले कमाउँछ । सही चल्ने जागिर हो, सरकारी जागिर भनेको ।’
–‘छोराछोरीलाई त लोक सेवा दिन लाउनुपर्दाे रहेछ, सरकारी जागिर खान लाउनुपर्दाे रहेछ । हेर त गाँठे, मोहितबहादुरको परिवारको जिन्दगी । तिनको ठाँट र सान । छोराछोरी कति महँगा स्कुलमा पढाएको छ, सहरमा गाडी चढेर हिँड्छ, आडको सिटमा गहनाले धपक्क बलेकी श्रीमती लिएर । हामी त उसका दाँजोमा कुवाका भ्यागुता ।’
–‘हर्केका दिन फर्के भनेजस्तो भयो । एउटा हलो जोत्नेको छोरो हाकिम टोपलिएर देखाइदियो । कम्ता दुःख र कम्ता मिहिनेत गरेर पढेको होइन । जसरी घोटिएर दुःख गरेको थियो, त्यसका बाबुले जसरी दुःख गरेर पढाएका थिए त्यसरी गरी पु¥याएर देखायो ।’
त्यस्ता कुरा सुनेर मात्र होइन, मोहित दाइबाट प्रभावित भएको । गाउँमा आउँदा उसको सुकिलो हाउभाउ हुन्थ्यो । धेरैले ‘नमस्कार’ गर्दथे । धेरै आशावादी हिसाबले नजिकिन्थे । उसका नराम्रा कुरा काट्न कोही तम्सिदिँदैनथे । समग्र गाउँको नक्षत्र जस्तो ठान्थे । व्यावहारिक सल्लाह लिन्थे । गाउँ समाजमा विकासका कुरा कहन्थे । उसले मुखले ठिकठाक पार्दथ्यो । तर कुनै पनि चन्दा उठाएर गरिने विकासे काममा त्यति धेरै चन्दा मोहित दाइले दिएको सुनिदैनथ्यो ।
एक हिसाबले अकुत सम्पत्ति कमाएको मान्छेले किन अरू सरह चन्दा दिँदैन ? मैले धेरै घोत्लिन आवश्यक ठानिनँ । पैसाको महìव बुझेर होला भन्ने ठानँे । सबैले राम्रो देखेका मान्छेलाई अन्यथा अर्थ लाग्न मन लाग्दो रहेनछ । उनको त्यो आचरण पनि अनुकरणीय लाग्यो । मलाई थप प्रभावित पा¥यो । अझ मोहित दाइले लगाएको सर्ट पाइन्ट, टोपी, छालाका जुत्ता मोजा र चस्मा मलाई औधी मन प¥यो ।
वास्तवमा मोहित दाइ मेरा आदर्श व्यक्तित्व बने । प्रायः पुरानो टिसर्ट र टालेको कट्टु लाउँथेँ म । एक प्रकारको लालचाले वशिभूत पा¥यो । एक दिन बजार जाँदा बुबालाई भने । चस्माबाहेक बुबाले मेरा माग पूरा गरिदिनुभयो । अनि मैले आपूmलाई ‘म पनि चानचुने मान्छे होइन’ झैँ गर्व गरेर पोखरा डुलेँ । सर्ट, पाइन्ट र जुत्ता आपूmलाई मोहित दाइलाई झैँ सुहाएको लाग्यो ।
तर मोहित दाइ जस्तो बन्न त उनले लगाएको लाएर मात्र कहाँ हुन्थ्यो । एक दिन बुबाले भन्नुभयो, ‘त साँच्चिकै मोहितबहादुर जस्तो बन्न चाहन्छस् भने मेरो कुरा सुन्– आईएपास गरिस्, अब सरकारी जागिरका लागि लोक सेवा दे । विदेशको कमाइ भनेको त भल पानीजस्तै हो । सरकारी जागिर दिगो हुन्छ । त्यही मोहितले गरेको प्रगति देखेकै छस् ।’
मलाई बुबाको कुरा सोह्र आना ठीक लाग्यो । अझ भनौँ मनमा च्वास्स छोयो । एक हिसाबले बुबाको भनाइले ऊर्जा प्रदान गरेजस्तो लाग्यो । मनमनै सोचँे, ‘म सरकारी जागिर खाएरै छोड्छु ।’ सोच्दा मात्र पनि त्यसै त्यसै मुखमा गुलियो रस आयो । त्यसरी बुबाको सदिच्छा मेरो सपना बन्यो । तर सरकारी जागिर खानु त्यति सहज थिएन । त्यति सजिलै लोक सेवा पास गर्न सकिँदैनथ्यो । आफूभित्र आगो बाल्न पथ्र्यो । चिसो जाँगरलाई आरनमा तताएको रातो फलामलाई जसरी पिट्नु पर्दथ्यो र मिहिनेतको वशमा एउटा आकार बनाउनु पर्दथ्यो । ताकि फलाम तातेका बेला पिट्दा जोस् र जाँगर सेलाउँदैनथ्यो । तर मसँग अनुभव र ज्ञान थिएन ।
फेरि बुबाले भन्नुभयो, ‘टाढाको भए पनि दाइ नै पर्ने हो, एक पटक गएर भेट् । आफ्ना कुरा नम्र भएर राख् । केही न केही सल्लाह त देला क्यारे नि । पैसा लाग्ने भए पो दिन गाह्रो मान्थ्यो ।’
बुबाको सल्लाह मलाई उचित लाग्यो । प्रायः अन्धकारमा रुमलिएको मलाई मार्ग निर्देशनको हिसाबले उज्यालो मिल्यो । म मोहित दाइलाई भेट्न पोखरा गएँ ।
त्यस दिन उनी घरमै रहेछन् । भेटँे । अनि भेट्न आउनुको कारण विनय भावमा सविस्तार गरँे । मोहित दाइले अलिक अनुत्साहित मुद्रामा भनँे, ‘हाम्रो गाउँमा लोक सेवा लडेर नाम निकाल्ने खाले हुबीखुबी भएको कोही देख्दिनँ । त्यस्ता केटाकेटी जन्मेको जस्तो लाग्दैन । स्याङ्जाली जस्तो टुप्पी कसेर पढ्नुपर्छ । अनि बल्ल नाम निस्कन्छ । त्यही पनि प्रयास गर्नु नराम्रो होइन । आफ्नोतर्फबाट साहस र प्रयास नै नगरी केही पनि हातलागी हँुदैन ।’
म उनको अनुभव सुनिरहँे । जुन कुरा लोक सेवाको परीक्षासँग नाता सम्बन्ध राख्थेँ । मर्मस्पर्शी भने थिएनन् । झन् लाभांश त न्यून थियो । म जाऊँ कि बसूँ, केही कुरा थपूँ कि, चुप लागेर हिँडूँ जस्तो स्वगतमा अलमलिएँ । मेरो दुविधाग्रस्त मनस्थिति बुझेर उनले भने, ‘मेरो एउटा साथी छ, भवानी प्रसाद । नदिपुरमा लोक सेवाको ट्युसन पढाउँछ । मेरो नाम लिएर उसलाई भेट्नू । कस्ता किताब पढ्नुपर्छ, कसरी पढ्नुपर्छ उसले नै सल्लाह दिन्छ । उसैसँग ट्युसन पढिस् भने बेटर हुन्छ ।’
मोहित दाइले भवानीप्रसादको मोबाइल दिनुभयो । त्यो मोबाइल नै मलाई चाबी पाएजस्तो लाग्यो । जुन चाबीले सरकारी कर्मचारी बन्ने ढोकाको ताल्चा खुल्न सक्छ । सायद त्यतिबेला म आवश्यकताभन्दा बढी खुसी भएर मोहित दाइको घरबाट निस्केँछु ।
भोलिपल्टै भवानीप्रसादलाई भेटेँ । ‘मलाई मोहितबहादुर केसी दाइले पठाउनुभएको हो ।’ भन्दै आफ्ना विचार राखँे । उनले हार्दिकतापूर्वक सल्लाह दिए । उसकै सल्लाहबमोजिम सन्दर्भ पुस्तकहरू किनें । उनीसितै ट्युसन पढ्न थालेँ । कहिल्यै ननिकालेको जोश, जाँगर र उत्साह निकालेर पढेँ । परीक्षा नसकिउन्जेल घरबाट निस्किनँ । कुनै हलचल र चलमल नगरी किताबसँग झगडा गरेर कोठाभित्र भूमिगत भएँ ।
लोक सेवाको परीक्षा भयो । परीक्षा दिएँ । तर नाम निस्केन । अर्काे पटक पनि प्रयास जारी राख्नु पर्दथ्यो । फेरि अर्काे पटक परीक्षा दिने मन प¥यो । मरेको मन फर्केन । बरु पासपोर्ट बनाएँ र कोरियाका लागि ईपीएस परीक्षा दिएँ । अचम्म लाग्यो, आफ्नै भाषाको लोक सेवा पास नगरेको मैले ईपीएस परीक्षा पास गरेँ । अर्थात् कोरियन भाषा पढेर पास गरेँ । म बुद्धि नै नभएको लन्ठु त रहेनछु जस्तो लाग्यो । एक अर्थमा खुसी लाग्यो ।
केही समयपछि मेडिकल जाँच भयो । कोरियाबाट भिसा आयो । म कोरिया गएँ । म कोरिया पाँच वर्षसम्म बसेँ । फर्केर आउँदा मोहित दाइ अवकाशमा बसेका रहेछन् । पोखराको घर छोराहरूलाई सुम्पेर गाउँमा बस्न थालेका रहेछन् । एक दिन बाटोमा भेटिए । आपसी कुराकानी भयो । ‘अब के गर्ने विचार गरेको छस् त नि ।’ उनले सोधे ।
‘यतिको पाखो बारी छ, बाख्रा पालेर बस्छु दाइ ।’ मैले छोटकरीमा जवाफ दिएँ ।
मैले केही समयपछि थाह पाएँ, मोहितबहादुर दाइलाई गाउँमा कसैले गन्दा रहेनछन् । एउटा प्रशासनिक दख्खल भएका मान्छे ठानेर उनलाई विभिन्न समितिको अध्यक्ष बनाएछन् । उनमा नेतृत्व क्षमताको आकलन गरेर वडा भेलाबाट जिम्मेवारी दिएछन् । उनले पनि गाउँमा आएका योजनाको अध्यक्ष बनेर सामाजिक काम गर्ने इच्छा जाहेर गरेछन् । तहअनुरूप पानी समिति, बाटो समिति र वन समितिको अध्यक्ष भएछन् । तर सबै समितिका हरहिसाब कुम्ल्याएछन् । पछि गाउँलले हिसाब खोज्दा स्पष्ट पार्न सकेनछन् । अर्थात् धेरै रकम मोहित दाइले हिनामिना पारेको देखिएछ । त्यसपछि उनको कुनै समितिमा बसेर सामाजिक काम गर्ने योग्यता निमिट्यान्न भएछ ।
अनि दिन बिताउन उनी तासको खालमा जान थालेछन् । त्यहाँ पनि मोहित दाइले आफ्नो औकात देखाउन छोडेनछन् । त्यो कसरी भने तासको खेल रमि र कल ब्रेकमा लेखनदासको काम गरेर । एक गेम सिद्धिएपछि २० रुपियाँ गेम खानेबाट काट्दा रहेछन् । १० रुपियाँ तास खेलाउने घरबेटीलाई दिँदा रहेछन् । १० रुपियाँ आफ्नो साथमा राख्दा रहेछन् । सुन्दा पनि अचम्म लाग्ने । झन् अचम्म त मैले त्यहाँ गएर साक्षात हँुदा भएँ ।
एक दिन घरमा काम नहँुदा यसो समय कटाऔँ भनी तास खेल्ने ठाउँमा गएको थिएँ । घर नजिकै अखडा थियो । त्यहाँ जे देखेँ मोहित दाइलाई नियतिले ओरालोमा खोदिरहेको देखेँ । एकदम अविश्वसनीय दृश्य जस्तो लाग्यो ।
एउटा अधिकृतमा अवकास लिएका मान्छे । करोडौँको सम्पत्ति भएका मान्छे । एउटा छोरो इन्जिनियर छ, एउटा छोरा डाक्टर छ । के नपुग्दो छ र । मोहित दाइ भने दस रुपैयाँ लागि सामान्य मान्छेहरूसँग विवाद र भनाभन गरिरहेका थिए ।
मैले हेर्दाहेर्दै खेल सकियो । झपटबहादुर नेपालीले गेम खाए । उनले एक सय बीस रुपियाँ दिएर भने, ‘अघिल्लो क्यासमा ६० रुपियाँ तिर्नु छ । तैँले पाउने यति हो ।’
‘के हिसाब गर्छाै तिम्ले हाकिम ? मैले तिर्नु त ३० मात्र हो । खोइ लेऊ ३० थपेर ।’ झपटबहादुर नेपालीले भन्यो । ऊ जस्तो दिनहीन अवस्थामा भए पनि इमानदार थियो ।
‘होइन झपटे तैँले विर्सिस् । तिसै रुपियाँ हो तैँले दिनु ।’ मोहित दाइले भने ।
‘ल त भैगो, तीस रुपियाँ मेरो तर्पmबाट तिम्लाई दान गरँे । भोलिदेखि तिम्ले लेखनदास गर्छाै भने म खेल्न आउन्न ।’
त्यसपछि मोहित दाइ केही बोलेनन् ।
‘त्यसरी जति बेला पनि हिसाब नबिगार है हाकिम । मर्कामा परिन्छ । अर्काले भन्यो ।
‘बिगारेको के भन्छस्, सपारेको भन् न । तँ पनि कस्तो कोक्ल्याँटो कुरा गर्छस् । हिसाब सपारेपछि पो आफ्ना लागि फलिफाप हुन्छ । आफ्ना गोजाँ पाइसो घुस्छ ।’
सबै हाँसे । मोहित दाइ मात्र हाँसेनन् ।
‘यी हाकिम त चुम्बक जस्ता छन् । जति बेला पनि आपूmतिर तान्छन् ।’ अर्काले भन्यो ।
‘यस्तै हाकिम भएर त हो नि देश उत्तानाटाङ लागेको,’ अर्काले तासको पत्ति फाल्दै भन्यो ।
ती थरिथरि कुरा मलाई सपनाको संवाद जस्तो लाग्यो । मेरो बाल्यकालमा मेरा आदर्श बनेका मोहित दाइको बारेमा थप अन्टसन्ट कुरा सुन्न मन लागेन तर एउटा कुरा लागिरह्यो, मैले पनि लोक सेवा पास गरेर सरकारी कर्मचारी भएको भए म पनि त्यस्तै हुन्थेँ कि ! पैसाको मामलामा इमानदारीसँग सम्झौता गर्दथँे कि त्यतिसम्म घटिया हुन्थेँ कि, हुन त हातका पाँच औँला पनि त बराबर कहाँ हुन्छन् र ? सबैलाई एउटै ड्याङका मूला ठान्नु पनि अन्याय होला है ?
पोखरा–२०, भलाम
मधुपर्क, असोज २०७८